25th August | 2019 | Sunday | 6:41:22 PM

जीवनका संकेतहरू

कृष्णहरि बास्कोटा   POSTED ON : श्रावण २२, २०७६ (१०:४४ AM)

जीवनका संकेतहरू

समूहमा मानिस भेला हुँदा वा कुनै निकायको कार्यक्रम हुँदा आमन्त्रितहरूको जमघट हुन्छ । सो बखत कुनै एक व्यक्तिले त्यो संगठनको कुनै एक पदाधिकारीका विषयमा सद्भावका दुई शब्द व्यक्त गर्छ भने त्यसले संगठनको सार्वजनिक छवि स्वच्छ रहेको संकेत गर्छ । तर, यस्तो बखत संगठनका अर्का सदस्यलाई केही असजिलोपनाको महसुस हुन सक्छ । किन मेरो प्रशंसा गरेनन् भन्ने जिज्ञासा उठ्न सक्छ । कतै यिनले प्रशंसाको बहानामा ‘चाकडी’ गरेका त होइनन् भनी शंका पैदा हुन सक्छ । यसले कलुषित व्यक्तित्वको संकेत गर्छ । यस्ता मानिस अर्काको ईष्र्यामा समय व्यतित गरेर सम्भावित लाभको अवसर गुमाउन पुग्छन् । संगठनभित्र थुप्रै मानिसले काम गर्छन् । 

कोही हाँसीखुसी काममा व्यस्त रहन्छ । कोही तनावबीच आफ्नो जिम्मेवारी पूरा गरिरहेका हुन्छन् । यस्तो बखत कसैको मनमा हामी यस संगठनका समान सदस्य हौँ, हामी सबैले समान सुविधा पाएका छौँ । यो संगठन माथि गएमा हामी समानरूपले लाभान्वित हुन्छौँ । संगठन नोक्सान गएमा हामी सबै दुःखी हुन्छौँ भन्ने सोच जागृत भएमा सो मानिसको सोचले माथि उक्लिने संकेत गर्छ । उसले जीवनमा प्रगति गर्ने पक्का हुन्छ 

सोही बखत कसैको मनमा कोही सधँै हँसमुख छ । यसको मतलब उनी हाकिमसँग नजिक छन् । शायद उनले संगठनबाट अतिरिक्त सुविधा पाइरहेका छन् । जसको कारण उनी खुसी छन् । यिनी जो भन्छन् त्यो गर्दैनन् र जे भित्रभित्रै गर्छन् सो भन्दैनन् भनी आशंका गर्न थाले मानिस अधोगतिमा लागेको संकेत प्राप्त हुन्छ । सधैँ शंका गर्ने मानिस दुःखी हुन्छ । खुसीले खुसी र चिन्ताले चिन्ता बढाउने हुँदा यस्ता मानिस जीवनमा केही पाएर पनि सधैँ खुसी गुमाइरहन्छन् । 

केही मानिस जीवनमा जे उपलब्ध छ त्यसैप्रति कृतज्ञ हुन्छन् । उपलब्ध समय, परिस्थिति र घटनालाई सकारात्मकरूपमा लिन्छन् । एकपटक एउटा पानी जहाजमा यात्रा गरिरहँदा समुद्र किनारामा पानी जहाज दुर्घटनामा प¥यो । यात्रुहरू बिचल्लीमा परे । दुई युवा मित्र आपसमा कुरा गर्दै नजिकको जङ्गलमा खानेकुरा खोज्न थाले । एउटाले दुःखी हुँदै वनको फल खान थाल्यो । जीवनमा कत्रो दशा आइप¥यो भनी चिन्ता प्रकट ग¥यो । अर्कोले प्रशन्न भएर फल खाँदै भन्यो हामी भाग्यमानी रहेछौँ । पानीजहाज समुद्रको बीचमा दुर्घटना भएको भए हाम्रो मृत्यु भइसक्थ्यो । 

पानीजहाजले किनारा भेट्टायो, हामीले फलफूल खान पाएका छौँ । यो खुसीको विषय हो । ती दुवै एक दुई दिन चारैतिर भौँतारिएर कुनै उपाय नभएपछि एउटा छाप्रो बनाएर बसे । दैनिक जङ्गलको फल टिपेर खान थाले । एक दिन बिहान समुद्रमा नुहाउँन जाँदा छाप्रोमा अचानक आगलागी भयो । एक जनाले निराश हुँदै छाप्रो पनि खरानी भएकोमा ठूलो दुःख मान्यो । 

अर्काले आफू छाप्रोबाहिर रहेको बखत आगलागी हुनु ठूलो शौभाग्यका रूपमा लियो । हामी छाप्रोभित्र भएका बखत आगलागी भएको भए डढेर सकिन्थ्यौँ भन्ने उसको भनाइ रहृयो । एकछिनपछि सो छाप्रो जलेको धुवाँ देखेर उद्धार टोली आइपुग्यो र दुबैको उद्धार भयो । सकारात्मक सोच भएकाले सबै घटना हाम्रै हितको पक्षमा भएको भनी मित्रलाई सम्झायो । 

एकाथरि मानिस काममाथि काम थोपरिएकामा खुसी हुन्छन् । तिनले काम पाउनुलाई पुरस्कार पाएको रूपमा बुझ्छन् । कामको अवसरले आफ्नो क्षमता तिखारिने तिनको विश्वास रहन्छ । यसले कामप्रतिको लगाव र इमानदारीको संकेत गर्छ । केही मानिस काम आइपरेमा तपाईं जान्ने हुनुहुन्छ भनेर अर्कालाई पन्छाउँछन् । मेरो अर्को जरुरी काम छ भनी नक्कली कुरा गर्छन् । म कुनै वहाना बनाएर कामबाट मुक्त हुन्छन् । 

तर, जब अवसर आउँछ, सो बखत म दुर्गमको मानिस, म नजान्ने मानिस हुँदा जान्ने अवसर पाऊँ वा म पाको उमेरकाले वा कच्चा उमेर भएकाले अवसर पाउनु पर्ने भनेर दाबी गर्छन् । इमानदारीपूर्वक कार्य सम्पादन गर्नेलाई यस प्रकारको समावेशी सिद्धान्त अनुसारको अवसर दिनु पनि पर्छ । कामबाट भाग्न खोज्ने र अवसर खोजी गर्ने प्रवृत्तिले स्वार्थी र अवसरवादी चरित्र उदाङ्गो गर्न पुग्छ । 

केही मानिस अर्काको प्रशंसा गर्न खुसी मान्छन् । उनीहरूको विचारमा असल मानिसको गुण सम्झिँदा आफूमा पनि त्यसको राम्रो असर पर्छ । ‘रोलमोडल’ बाट सधँै सिक्नुपर्छ भन्ने सोच भएका मानिसले भविष्यको मार्ग प्रशस्त भएको संकेत प्रदान गर्छ । ठीक यसको विपरीत एकथरि मानिस अर्काको आलोचना गर्न निकै उत्सुक हुन्छन् । अर्काले दुःख पाएको कुराको विश्लेषणबाट आफूलाई मनोरञ्जन पुग्ने तिनको सोच हुन्छ । मानिस स्वभावैले खराब हुने हुँदा तिनलाई हप्काई दप्काई गरेर काम लिनुपर्छ भन्ने सोचले यस प्रकारका मानिस निर्देशित हुन्छन् । यस कुराले मानिस दुष्टताको पथमा अग्रसर भएको संकेत गर्दछ । 

केही मानिस खुसीका कुरा बताउन निकै आतुर हुन्छन् । ती कुनै पनि समस्या र अप्ठ्यारा बताउन चाँहदैनन् । आफ्नो कुराले अरू खुसी होऊन्, दुःखी भने नहोऊन् भन्ने उनीहरूको मान्यता हुन्छ । यस्ता मानिस राति सँगै सुतेकालाई आफू बिउँझिए पनि उठाउँदैनन् । कुनै खानेकुरा आफ्नो भागमा नपरेर अर्काले खान लागे पनि चित्त दुखाउँदैनन् । यसले समृद्ध मानिसको संकेत गर्छ । 

केही मानिस प्रत्येक समस्या, दुःख, असजिलो मैले मात्रै किन लिने, यसको जानकारी अर्कोलाई पनि दिनुपर्छ भन्ने ठान्छन् । आफूलाई असजिलो भएको र अरूलाई सजिलो भएकोमा यिनलाई निकै पीडा बोध हुन्छ । मैले खान नपाए सबैले खान पाउनु हुँदैन भन्ने यिनको मान्यता हुन्छ । आफूलाई लाभको हिस्सा प्राप्त नहुने भए पूरै लाभ अन्यत्रै पठाइदिन्छन् । यी स्वार्थी मानिसका संकेत हुन् । 

कुनै संगठनमा बसेर काम गर्दा एक अर्काको सहयोगबाटै उपलब्धि हासिल हुने हुन्छ । यस्ता उपलब्धिमा केही मानिस दाबी गर्न चाहँदैनन् । यो काम मैले गरेको होइन, हामीले गरेका हौँ भन्ने सोचले ती ओतप्रोत हुन्छन् । म एक्लैले के गर्न सक्थेँ र सहयात्रीहरू नभएका भए भन्ने सोचले मानिसको सकारात्मकताको संकेत गर्छ । केही मानिस राम्रो उपलब्धि जति मेरो प्रयासले भएको र हुन नसकेको कामको दोषी अरू भएको देखाउन चाहन्छन् । यस्तो मानिसले नकरात्मकताको संकेत गर्छ । 

संगठनमा केही मानिस सधँै काममा संलग्न रहन्छन् । हरेक समय केही न केही काम उत्पादन गरिरहन्छन् । कर्म गर्ने र फल प्राप्तिको आश नगर्ने सोचबाट यी प्रेरित हुन्छन् । यथार्थमा यी उत्प्रेरित व्यक्तिका संकेत हुन् । केही मानिस पटक्कै काममा रुचि देखाउँदैनन् । काम गर्ने वातावरण नै भएन, काम नै छैन । काम गरेर जस नै पाइँदैन वा म व्यस्त भएकाले काम गर्न सक्तिनँ भन्छन् । यसले मानिसको उत्प्रेरणाकोस्तर निकै तल गिरेको संकेत गर्छ । 

हामी पसलमा गएर सामान किन्दा वा होटलमा गएर केही खाँदा पसलेसँग वार्तालाप हुन्छ । यस स्थितिमा केही मानिसले यति आत्मीयताका साथ कुरा गर्छन् कि पसलेको मन पग्लिन्छ । उसले गुणस्तरीय सामान दिन्छ । गुणस्तरीय खाना तयार गर्छ । सम्भव भएसम्मको भाउ घटाइदिन्छ । यतिसम्म कि फिर्ता दिने नोट नयाँ दिने कोसिस गर्छ । यसले ‘गरिखाने मानिस’ को संकेत दिन्छ । 

अर्काथरि मानिस पसलमा वा होटल पुगेपछि प्रत्येक कुरामा खोट देखाउँछन् । पसलेलाई निच प्रमाणित गर्ने कोशिस गर्छन् । हरेक सामानमा ठगी गर्न खोजेको आरोप लगाउँछन् । यसबाट उनीहरू गुणस्तरहीन सामान र खाना पाउन बाध्य हुन्छन् । ती उच्च मूल्य तिर्न बाध्य हुन्छन् । पसले पनि यी व्यक्ति छिटै पसलबाट बाहिरिए हुन्थ्यो भन्ने ठान्छन् । यसबाट मानिस खत्तम छ भन्ने संकेत गर्छ । 

एकाथरि मानिस सधँै हँसमुख हुन्छन् । यी फूलको आँखामा फूलै संसार भन्नेमा विश्वास गर्छन् । अर्काथरि मानिस सधँै तनावमा देखिन्छन् । यी काँडाको आँखामा काँडै संसारमा रमाउँछन् । केही मानिस लिन हिचकिचाउँछन् र दिन इच्छुक रहन्छन् तर केही मानिस अर्काले पाउन लागेको खोस्ने उद्यम गर्छन् । अर्काको डाह गर्छन् । आफूले पाएर पनि खुसी हुन जान्दैनन् । 

एकथरि मानिस पाइला पाइलामा आफूलाई सकारात्मक सोचका साथ परिवर्तन गर्न चाहन्छन् । अर्काथरि मानिस अरूलाई परिवर्तन गराउन अर्ती उपदेश दिन्छन् तर आफू जस्ताको तस्तै रहन्छन् । एकथरि मानिस अर्कालाई आदर गरेर आदर पाउँछन् । अर्काथरि मानिस अर्कालाई अनादर गरेर आफू पनि बहिष्कृत हुन पुग्छन् । 

एकैपटक माउले कोरलेका एकजोडी सुगाका बच्चा एउटा असल मानिसको घरको संगतमा र अर्को खराब मानिसको घरको संगतमा पुग्छन् । एक वर्षपछि सँगै हुर्किएका सुगाका ती बच्चामध्ये एउटाले सबैलाई नमस्कार गर्छ र दिन शुभ रहोस् भन्ने कामना गर्छ भने अर्कोले भेटेका मानिसलाई दुर्वाच्य बोलेर गाली गर्न थाल्छ । आखिर घर पालुवा केही जनावर पनि मानिस देखेपछि लुटपुट हुन आउँछ । केहीले मानिस देख्ने बित्तिकै टोक्न र कोतर्न खोज्छन् । 

संगत गुनाको फल भनेझैँ राम्रो संगतको परिणाम राम्रो र खराब संगतको परिणाम खराब नै हुने गर्छ । असल सोच र व्यवहारले लाभबाहेक केही नराम्रो गर्दैन । खराब सोच र व्यवहारले हानी पु¥याउनेबाहेक केही हुन दिँदैन । प्रत्येक मानिसले आफैँले राम्रो नराम्रोको विचार गरी सुध्रिनु पर्ने हुन्छ । 


Views: 90