25th August | 2019 | Sunday | 5:18:24 PM

साउन, हरियो र संस्कार

राजन कार्की   POSTED ON : श्रावण २३, २०७६ (८:१९ AM)

साउन, हरियो र संस्कार

हो, समयसँगै सभ्यता र रहनसहन बदलिन्छन्, बदलिनु पनि पर्छ । समय परिवर्तनशील छ, मान्छे समयसँगै परिवर्तन भइरहन्छ ।

साउनमा महादेवको पूजा र महिलाले लगाउने हरियो पहिरन आडम्बर होला, कुसंस्कार होला, अन्धविश्वास पनि होला । तर, बजार हरियै छ, घरघर हरियो छ । हरियो लुगा, हरियो चुरापोते, मेहन्दीको प्रचलन झन बढ्दो छ । पितृसत्ताको प्रतीक भनेर केही नारीपुरुष जतिसुकै उफ्रिए पनि नारीहरू हरियै बन्न थालेका छन् । एकातिर समानताको आवाज उठ्दैछ, अर्कोतिर पुरुषका लागि ब्रत, तीर्थ, पूजा, हरियो पहिरनमा महिला सजिनमा कुनै कमी छैन ।

एकजना टिप्पणीकारको टिप्पणी मननयोग्य थियो । विषालु तरकारी खाएर र ख्वाएर पतिको आयु लम्बिँदैन, कौशीमै तरकारी खेती गरेर भए पनि फलाएर ख्वाऊ, आयु बढ्छ, निरोगी भइन्छ । ब्रत, पूजा, हरियोले भन्दा एकापसमा सहयोगी, सद्भाव र प्रेमको भावनाले आरोग्य बढ्छ, जीवन सुखमय हुन्छ ।

त्यसो भनेर के गर्ने ¤ महिलालाई फुर्सद छैन । के के न बितेजस्तो, सबै हतारमा छन् । जतिसुकै हतार भए पनि महिलालाई हरियो चुरापोतेमा सजिन, ब्रत बस्न, शिवपूजा गर्न र मेहन्दी लगाउन फुर्सदै छ । मन्दिरमा घण्टौँ लाइन बसेर पूजा आराधना गरेकै छन् । बजार गुल्जार छ, साउन हरियै छ ।

सत्यवान मर्दा सावित्रीले बचाइन्, सावित्रीका लागि कुनै सत्यवानले न ब्रत गरे, न ज्यान दिए । यो कथा कण्ठस्थ छ आजका महिलालाई तर उनीहरू पितृसत्तालाई मलजल गर्दैछन् । पुरुषका लागि निराहार ब्रत बसेर, लोग्नेको खुट्टाको पानी खाएर, खुट्टा ढोगेर आपूmलाई सन्तुष्ट पारिरहेका छन् । लोग्नेले खुट्टाको पानी नखाऊ, ढोग्न पर्दैन भन्दा पनि नमान्ने महिला कति छन् कति ¤

साउनमा हरियै हुनुपर्छ, शिवमन्दिर जानुपर्छ, पूजा गर्नुपर्छ र पतिको आरोग्यताको वरदान माग्नुपर्छ भन्नेमा सबैभन्दा बढी पढेलेखेका महिलाहरू छन् । सांसद कोमल वली ‘पोइल जान पाम् शिव’ भनेर गाउँदै छमछमी नाचेकै छिन् । तिजमा महिलालाई नाच्नुपर्छ, दर खानुपर्छ । मातृसत्ताका कुरा गर्नेहरूले नै पितृसत्ताको हल्लिएको खाँबो झन दह्रो पारेर उभ्याएका छन् । 

नपत्याए पशुपति जानोस्, देशका जुनसुकै भागमा रहेका महादेवको मन्दिरमा हेर्नोस्, साधारणदेखि धनाढ्यसम्म, अपठितदेखि शिक्षित महिलाको लामो लामो लाइन देखिन्छ । अझ सोमवार त कुनै पनि शिव मन्दिरमा खुट्टा हाल्ने ठाउँ हुँदैन । के हो यो, संस्कार कि कुसंस्कार ¤

ब्रत, बोलबम र हरियो त आजकल नयाँ फेसन भएको छ । एसइईदेखि प्लस टु पढ्ने युवतीहरू राम्रो पति पाऊँ भनेर हो कि के हो, मन्दिरमा हुलका हुल भेटिन्छन् । साथीले सोमबारे ब्रत बसेर घरवार जोडी, मनपर्ने पति पाई, म पनि ब्रत बस्छु भन्नेहरूको भीड मन्दिर मन्दिरमा भीड बढेको छ ।

बोलबमको महिना पनि हो साउन । महिला, युवतीहरूसमेत बोलबम भन्दै नदीदेखि मन्दिर मन्दिर धाइरहेका छन् । शिवजीलाई खुशी पार्न जल चढाइरहेका छन् । निराहार रहेर स्वास्थ्य बिग्रिन्छ, लोग्नेका लागि किन ब्रत बस्ने ? स्वास्नीका लागि लोग्नेले कहिले ब्रत बसे ? यस्ता जस्ता प्रश्न गर्नेमा शिक्षित कम छन्, ब्रत र पूजा गर्नेहरू कति छन् कति ।

सत्य युगमा पार्वतीले कठोर ब्रतपूजा गरेर महादेव पति पाएको कथनबाट सुरु भएको भनिएको सोमबारे ब्रत, साउने हरियो चुरापोतेले लट्टै लिएको छ । एककाइसौँ शताब्दीमा पनि यस्तो भनेर जतिसुकै आलोचना गरे पनि महिला र युवतीहरू शिवभक्त, पतिब्रता बन्दै गएका छन् । यसलाई विकृति भन्नेहरू पनि छन्, शिवभक्तिमा लाग्नेहरू आस्था, विश्वास भन्छन् ।

होला संस्कृति कुनै समय रौनक होला, विकृतिमा पुगेर टुंगिएला । धेरैले भन्छन्– अरूले लगाए मैले पनि लगाएँ । कसैले भन्लान्– मन लाग्यो लगाएँ । विना इच्छा कसैले पनि केही लगाउँदैनन् । फेसनमात्र होइन, साउने हरियो चुरापोते । कहीँ न कहीँ आस्था छ, विश्वास छ र युवतीदेखि महिलासम्म शिवलिङ्ग पूजा गर्छन् ।

केही पढेलेखेका महिलाहरू यो प्रचलनलाई देखासिकी पनि भन्छन् । केही महिलाले यो पितृसत्तालाई पक्षपोषण गर्ने प्रचलन हो, बहिष्कार गर्नुपर्छ भनेर अभियान पनि चलाए । अभियान थाक्यो तर साउनमा हरियो पहिरन, चुरापोते, ब्रत, मेहन्दी लगाएर राम्री हुने, आत्मशान्ति हुने प्रचलन झन् बढ्यो । 

प्रश्न के पनि छ भने युवती र महिलाहरू जो पढेलेखेका छन्, तिनले समेत साउनमै आफूलाई किन हरियाली बनाउँछन् ? यो कुसंस्कार हो भने यसको जरो उखेल्न महिला आन्दोलन, अभियान, चेतना कहाँ छ खोइ ? गएको सोमबार संसद्मा सांसद महिलाहरू हरियै भएर पुगेका देखिए । विधि निर्माताले के बुझेर लगाए, नबुझी लगाएको भए तिनले कस्तो विधि निर्माण गर्लान् ¤ कुसंस्कार हो भने संसदले, सरकारले साउनमा शिवजीको पूजा नगर्नू, हरियो चुरापोते, मेहन्दी नलाउनू भनेर कानुन बनाउनु पर्ने । कानुन बनाए पनि महिलाको मनमा रहेको विश्वास डगमगाउँदैन, यो पक्का छ । यसकारण प्रश्न उठेको छ, साउनमा हरियो, संस्कार कि कुसंस्कार ?

नेपाली महिलाहरू जन्मजात आध्यात्मिक हुन्छन् । कतिपय महिलाले आर्थिक लोभका कारण धर्म परिवर्तन गरेका छन् तर कृष्णाष्टमी, शिवरात्रि, दशैंमा देव देवीहरूको पूजा गर्न चुक्दैनन् । अन्योल भएर, परम्परादेखि चलिआएको भनेरमात्र महिलाले साउनमा हरियो लगाएका, उनीहरू पर्व पर्वमा मठमन्दिर गएका होइनन् । मुख्य कुरा हो, आत्मतुष्टिको, आस्थाको । मनको पीडा हरण गर्ने अदृश्य शक्तिप्रतिको आशक्तिको । जतिसुकै अन्धविश्वास भने पनि पूर्वीय दर्शनमा ठूलो शक्ति छ, त्यही अदृश्य शक्तिले मान्छेलाई मन्दिरतिर डो¥याउँछ । महाकवि लक्ष्मीप्रसाद देवकोटालाई आखिर श्रीकृष्ण रहेछ एक भनेर केले लेख्न लगायो होला ¤ कम्युनिष्टका मण्डेला मोहनचन्द्र अधिकारी यतिबेला रुद्राक्ष गन्दैछन् । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्री प्रचण्ड, माधव नेपालहरू हिन्दुमय बन्दै गएका छन् । प्रचण्डले त भैंसीपूजा पनि गरे । 

चञ्चल मनले मन्दिर पुगेको व्यक्ति शान्त, सौम्य भएर फर्किन्छ र आफ्नो नियमित काममा लाग्छ । यो हो अदृश्य शक्तिको आकर्षण । यो संस्कार कि कुसंस्कार ?

तर्क हो, गर्न सकिन्छ । कुसंस्कार भिœयाएर व्यापारीले महिलाको संवेदना भजाएर व्यापार बढाएका छ्न्, कमाएका छन् भन्नेको कमी छैन । घरघरमा महिलामाथि हिंसा छ, महिलाले कमाएर लोग्ने पालेका पनि छन् । लोग्नेले स्वास्नीको दुःखको कमाइबाटै जाँड खाएर त्यही स्वास्नी भकुरेका पनि छन् । कतिपय महिलाले पुरुषमाथि अत्याचार गरेका घटना पनि छन् । जेसुकै र जतिसुकै हिंसा भए पनि आखिरमा त्यो हिंसाबाट मुक्ति खोज्नसमेत मान्छे मन्दिर नै जान्छ, लौन प्रभू भन्छ ।

प्रधानमन्त्री बनेका माधवकुमार नेपालकी पढेलेखेकी श्रीमतीले किन लोग्नेको खुट्टा ढोगिन् ¤ आज पनि श्रीमतीहरू श्रीमान्को खुट्टा ढोग्छन्, खुट्टाको पानी खान्छन् । ब्रत बस्छन्, हरियो बनेर भगवान खुशी पार्छन्, आफू राम्री हुन्छन् । यो कुसंस्कार होला, अव्यावहारिक र अमानवीय पनि होला तर महिलाको मन मान्दैन । आजका महिला विवेकी छन्, चेतनशील छन्, तिनै महिलामा धर्मप्रति आस्था बढी जागेको देखिन्छ । यसमा पुरुषको के दोष ? संस्कार चलेको छ, चल्छ, क्रान्तिकारी कुरा गरेर यो विभेदपूर्ण विश्वासको छाप मेटिनेवाला छैन । देशै स्वर्ग बनाउँछु भनेर जनक्रान्ति भएको होइन, क्रान्तिनायक आफैँ बने । न देश बन्यो, न देशवासी । त्यो चरित्रहीनताले संस्कार सुधार्न, नयाँ थिति बसाल्न सक्दैन ।

केही सुधार्न आफू सुध्रिनुपर्छ । चरित्रवान हुनुपर्छ । नीति र निष्ठाको सीमामा बस्नुपर्छ । सत्ता र शक्तिमा, संसद् र सरकारमा जो छन्, तिनीहरू सुधारक होइनन् । तिनले नयाँ संस्कार, मानवीय संस्कार, समानताको संस्कार, महिला पुरुषप्रति सम्मान, आदरको संस्कार कसरी बसाल्न सक्छन् ?

साउन महिना, कुनै पनि महिलालाई सोध्नोस्, भनिदिन्छन्– श्रीमानको सुखका लागि हरियो, भगवान खुशी पार्न पहेँलोे लगाएको हो । यो हल्लामा चलेको संस्कार होइन । 

नारी क्षमतावान, आत्मबल भएको प्राणी हो भन्ने भावना जागृत नगराउने, नारीले कुसंस्कार बोकेर हरियो लगाए भनेर आलोचना गर्ने काम हिजोआज केहीको जागिर नै भएको छ । नारी आमा हुन्, छोरीबुहारी हुन्, श्रीमती हुन्, सृष्टि हुन् । नारी पृथ्वी हुन् । नारीको जति प्रशंसा गरे पनि कम हुन्छ । तिनै नारीलाई पितृसत्तात्मक सोच बदल्नुपर्छ भनेर दबाब दिने हो भने यसबाट के परिणाम निस्केला ? नारीलाई त चेतना दिने हो, नारी आफैँले के ठीक के बेठीक छुट्याउँछन् । गलत सच्याउँछन् । नारी पहिलो पाठशाला हुन्, आमा गुरुआमा पनि हुन् । पूजा ठीक कि ब्रत, हरियो ठीक कि रातो, मेहन्दी ठीक कि चुरा । आजका नारी निर्णय गर्न सक्छन् ।

महिलालाई सबलीकरण गर्न मास्टर डिग्रीसम्म निःशुल्क शिक्षा दिनुपर्छ । राज्यका सबै सञ्जालमा आधा आकाशको आधा अधिकार स्थापित गर्नुपर्छ । अनि भन्नै पर्दैन, महिलाका कुन कर्म कति ठीक कति बेठीक ? कुन स्वतन्त्रता, के बन्धन ? सीमा ठीक कि स्वच्छन्दता ?

शिक्षाको विकास नभएसम्म जतिसुकै घोट्टा बनाएर पिलाए पनि पितृसत्ता र मातृसत्ता महिलाले बुझ्ने छैनन् । शिक्षित भएपछि महिला आफैँ जागरुक हुनेछन् । शिक्षित भएपछि दूध पानी छुट्याएर अघि बढ्ने छन् । संस्कार के, कुसंस्कार के ? त्यसपछि भन्नै पर्दैन ।

Views: 63