25th August | 2019 | Sunday | 5:28:57 PM

सेलदिदीको सेल यात्रा

सुधीर नेपाल   POSTED ON : श्रावण २५, २०७६ (१२:३३ PM)

 सेलदिदीको सेल यात्रा

सानोमा आमाले अगेनामा ओदानमाथि ताई राखेर तातो तेलमा चामलको लेदोलाई एक हातले घुमाएर हाल्दाखेरिको त्यो क्षण त्यस बेलाको चञ्चल र कोमल मनले बुझ्न सकेन । आमा दिन्थिन्, उनी खाइरहन्थिन् । विस्तारै विस्तारै उनको मनमा आमाले गरेको कामलाई सिक्ने रहर जागेर आयो । त्यसपछि उनी पनि लागिन् यसको बेली विस्तार र सिकाइतर्फ ।

निकै दिनको हेराइ र बुझाइपछि मात्र उनले भेउ पाइन् आफ्नी आमाले सेलरोटी बनाएकी रहिछन् भनेर । त्यसपछि उनी पनि आमाको सहयोगीका रूपमा काम गर्न लागिन् । लहलहीमा आमाको सहयोगीका रूपमा लागेको त्यो उरन्ठेउलो उमेरसँगै उनले आफ्नो हातको सीपको विकास गरिन् । 

हिन्दूधर्मावलम्बीहरूको भनौँ वा अहिले अन्य धर्म मान्नेले पनि सेलरोटी आफ्नो पाटी मेन्यूमा समावेस गर्न थालिसकेका छन् । अहिले सेलरोटी विनाको महोत्सवले कुनै अर्थ राख्दैन । स्वादमा मीठो तर बनाउन अलि कठिन खाद्यवस्तु हो सेल । जसलाई जसले पनि जति खेर मनलाग्यो त्यति खेर बनाउन सक्दैन । जति कठिन भए पनि उनले आफ्नो हातलाई सेल बनाउन लगाई नै रहिन् । मिहिनेत र लगनशीलताले पनि उनलाई साथ दियो । अहिले पनि बिहान होस् वा बेलुका एकपटक सेल हाल्ने कचौरा र तातो तेलमा एकपटक सेल नहाली उनी बस्न सक्दिनन् । आफ्नो कटेरोमा एकदिन सेल पाकेन भने उनलाई निन्द्रा लाग्दैन। 


यी हुन् अहिले नाम कहलिएको सुपर मार्केट भाटभटिनीमा पहिलोपटक ग्राहकलाई सेलको स्वाद चखाउने सेल दिदी ५५ वर्र्षीय पञ्चकुमारी गुरुङ । २०६४ सालमा राजधानी छिरेकी गुरुङले आफ्नो कर्मथलो बत्तीसपुतलीलाई बनाइन् । यो क्षेत्रमा उनले आफूलाई बोलाउन आउने कसैको आग्रहलाई नाइनास्ती नगरी मानिसहरूको घरघरमा गएर सेलरोटीको माध्यमले आफ्नो कला देखाउन थालिन् । उनको हातको कलासँगै उनको सेलरोटीको यात्राले पनि गति लिन थाल्यो । जसै हरेक व्यक्तिको घर घरमा हुने महोत्सवमा सेलरोटीले महŒव राख्न थाल्यो पञ्चकुमारीको माग बढ्दै गयो । अहिले त अझै बढी नै छ । हाम्रो समाज जति आधुनिकतातिर ढल्के पनि आफ्नो परम्परालाई भुल्न सकेको छैन । 

राजधानीमा ‘सेल दिदी’ नामले चम्किएकी पञ्चकुमारी विगतका केही कुरा कोट्याउन चाहन्छिन् । पहिला पहिला सहरबजारका मानिसहरूको घरघरमा विभिन्न शुभकार्यमा सेल पकाउने जिम्मा उनको हुन्थ्यो । हातमा जादु भएकी पञ्चकुमारीले आफ्नो सेलरोटीको व्यावसायिक यात्रा अरूहरूको घरघरमा सेल पकाउँदै अगाडि बढाएकी रहेछिन् । 

यसरी हरेक दिन घरघरमा गएर सेलरोटी पकाउन सम्भव नभएपछि उनको मनमा आफ्नै लगानीमा सानो व्यवसाय गर्ने जोश जागेर आयो । उनले २०६४ सालको वैशाख महिनामा तीन हजार रुपैयाँ लगानीमा आफ्नै सेलरोटी व्यवसाय थालिन् । घरघर डुलेर सेलरोटी पकाउने झन्झटबाट मुक्त भए पनि उनलाई आफ्नो व्यवसाय विस्तारका लागि भने निकै पापड बेल्नु प¥यो । 

मिहिनेत र लगनशीलताको अगाडि कसैको पनि केही नलाग्ने रहेछ भन्ने कुरा उनले आफ्नो व्यवसायप्रति देखाएको लगावले पनि झल्कउँछ । उनले आफ्नो गतिशीलतालाई एक कदम पनि यताउति हुुुन दिइनन् । उनले त्यसैअनुुुसारको साथ पाइन् । अहिले व्यवसाय राम्ररी हाँकिरहेकी छन् ।

अहिलेसम्म पञ्कुमारीको अनुमानमा उनको ग्राहक संख्या लगभग ६ हजारको हाराहारीमा रहेका छन् । विगत र अहिलेको तुलनामा ब्यापारमा केही कमी भए पनि उनको मन भने अझै सेलरोटीप्रति नै छ । २०६४ सालमा राजधानीमा खुलेको भाटभटिनी सुपर मार्केटले जब उनको सेलरोटी बिक्रीका लागि राख्न थाल्यो तब उनको ब्यापारले पनि गति लिन थाल्यो । २५ वटा सेलरोटीबाट सुरु गरेको सेलरोटीको माग हृवातै बढेर गयो ।

भाटभटिनीको उनको यात्राले ७ वर्ष कटायो अनि त्याग्यो । किन त्याग्यो त भाटभटिनीले सेल दिदीलाई । उनीसँग प्रश्नको सहज जवाफ थिएन । भन्दै थिइन्, सेलरोटीमा आएको प्रतिस्पर्धा हुनुपर्छ । जसै उनलाई भाटभटिनीले उनको साथ छोडे पनि उनले सेलरोटीको साथ छोडिनन् । विभिन्न बाधा अड्चनबीच उनले आफ्नो व्यवसायलाई अगाडि बढाइ रहिन् । आफ्नो पछाडि झुण्डिएको सेलदिदी नामले निरन्तरता पाइरहृयो । 

जतिबेला देशमा राजतन्त्र थियो । त्यो समयमा उनकी फुपू बजू राजदरबारमा धाई आमा थिइन् रे । पुख्र्यौली थलो ओखलढुंगा गएर दरवारमा फर्किँदा जहिले पनि कोसेलीको रूपमा उनकी फुपू बजूले सेलरोटी नै ल्याउने गरेको देखेर आफ्नो मन सेलरोटीप्रति आकर्षित भएको उनी बताउँछन् । 

आफूले जे जानेको छ त्यसैमा ध्यान दिने मान्यताले पनि उनलाई आफ्नो परिवार पाल्न त्यति कष्टपनि झेल्नु नपरेको उनको भनाइ थियो । भलै सानो लगानी होस्, अथक मेहिनेत र परिश्रमले गर्दा आज आफू यहाँसम्म आइपुगेको ठान्छिन् सेलदिदी । समयको परिवर्तन, आर्थिक क्षेत्रमा आएको वृद्धि र सामानको मूल्यमा आएको परिवर्तनले उनको सेलरोटीलाई पनि छोडेन । १० रुपैयाँबाट सुरु भएको उनको सेल यात्रा अहिले २० रुपैयाँमा आइपुगेको छ । समयको अगाडि आउने हरेक परिस्थितिलाई सहजै स्वीकार्ने उनको बानीले पनि उनको व्यवसायी यात्रामा विश्राम लाग्न दिएको छैन । यही त खुवी छ सेलदिदीमा । 

 


Views: 104