6th December | 2019 | Friday | 5:55:00 AM

दुर्गाका ६०१ झटारा

विनोद दाहाल   POSTED ON : श्रावण २५, २०७६ (१:४१ PM)

दुर्गाका ६०१ झटारा

दुर्गा अधिकारी साहित्यमा ‘भमरकोटे’ उपनामले चिनिन्छन् । हालै उनको मुक्तक सङ्ग्रह ६०१ झटारा प्रकाशित भएको छ । काभ्रे भमरकोटका दुर्गा निकै लामो समय अमेरिका बसेर फर्किएका हुन् । उनी त्यहीँका स्थायी बासिन्दा हुन्, स्थायी कर्मचारी पनि हुन् तर हाल उनी सेवा निवृत्त भएका छन् । लगभग २५ वर्षको अमेरिका बसाइपछि उनी केही वर्षदेखि नेपाल बस्तै आएका छन् र आफ्नो स्थायी नागरिकता र पेन्सनको सुरक्षाका लागि पनि उनी त्यहाँको नियमअनुसार समय समयमा अमेरिका गइरहन्छन् । 

पहिलेदेखि नै आफूमा साहित्यिक भावना भए पनि त्यसलाई उजागर गर्न नसकिरहेका अधिकारी हाल यो निवृत्त समय र नेपाल बसाइको भरमार उपयोग गरेर साहित्य लेखनमा सक्रिय भएका छन् । उनी साहित्यको हाइकु विधाबाट प्रवेश गरेका छन् । उनले केही समयअघि एउटा ‘नेपाली हाइकु वर्णमाला’ प्रकाशित गरेका थिए । 

सरलबाट जटिलतिरको सिद्धान्तका आधारमा हालै उनले एउटा मुक्तक संग्रह प्रकाशित गरेका छन् ‘६०१ झटारा’ शीर्षकमा । यो शीर्षक लाक्षणिक पनि हुन सक्छ । पहिलो संविधानसभाका ६०१ सांसद्हरूलाई यसले लक्षणामा प्रहार गरेको पनि हुनसक्छ । ६०१ जना सांसद्हरूले चार वर्षसम्म ९ अरब खर्च गरेर पनि संविधान बनाउन सकेका थिएनन् । उनीहरूप्रतिकै झटारा हुन् यी ६०१ वटा झटारा । 

सम्भतः मुक्तकको यो आकार र यो स्तरको कृति नेपालीमा पहिलो हुनसक्छ । साना साना आकारका १ सय, २ सय वटा मुक्तकहरू सङ्ग्रह गरी छापिएका पुस्तकहरू धेरै छन् तर ६०१ वटा मुक्तकको सङ्ग्रह यो नै पहिलो हुनसक्छ । मुक्तकलाई ‘चतुष्पदी’ पनि भनिन्छ । चतुष्पदी लेखनमा उमर खैयाम संसार प्रसिद्ध छन् । यो वैदिक कालदेखिकै विधा हो भनेर भूमिकामा ठाकुर शर्मा भण्डारीले उल्लेख गरेका छन् । 

मुक्तक लयमा लेखिन्छ । यो छन्दमा लेख्न पनि सकिन्छ तर अनिवार्य छैन । यसमा एउटा मात्र अन्तरा हुन्छ र एक अन्तरामा चार पाउ हुन्छन् । आमरूपमा मुक्तकमा शीर्षक दिएको पाइँदैन । सुन्न सुनाउन छरितो र सजिलो हुने भएकाले अहिले यो निकै फष्टाएको विधाका रूपमा देखिएको छ । सामाजिक सञ्जालको व्यापकतापछि त यसले अझै राम्ररी फष्टाउन पाएको छ । यो विशेषतः कटाक्षका लागि प्रयुक्त हुन्छ । गजल स्त्री प्रशंसामा लेखिन्थ्यो तर अहिले यसले जुनसुकै क्षेत्र र विषयमा पनि हात हालेको छ । 

यसैगरी मुक्तक पनि अहिले विषयान्तर भएको छ । राजनीतिक व्यङ्ग्य, प्रेम, सामाजिक विकृति लगायत सबै क्षेत्र यसले अँगाल्न थालेको छ । सामाजिक सञ्जालमा पुरुषभन्दा नारीहरू मुक्तक लेखनमा अगाडि देखिन्छन् र स्थापित मात्र नभएर सिकारु र विशुद्ध गृहिणीहरूले पनि मुक्तक लेखनका माध्यमबाट राम्रै भाव सम्प्रेषण गरिरहेका छन् । छिटो र छोटोमा केही कुरा भन्न सकिने विधा भएकाले हाल यसको लेखनले व्यापकता पाएको हो ।

मुक्तकमा चार पाउ हुन्छन् । पहिलो, दोस्रो र चौथो पाउमा अनुप्रास मिलेको हुनुपर्छ,  तेस्रो पाउ अनुप्रासविहीन हुन्छ । चारै पाउमा अनुप्रास राख्ने हो भने यो छन्द कविताको एक अन्तरा जस्तो बन्छ र यसमा हुनुपर्ने मिठासतामा पनि कमी आउँछ । 

मुक्तक छेड हान्नका लागि हो । यसका चार पाउको छुट्टा छुट्टै विशेषता रहेका छन् । विद्वानहरू सिकारीले मृगमाथि तीर प्रहार गरेको कार्यसँग यसको तुलना गर्छन् । पहिलो पाउ धनुष ठिक्क पारेको जस्तो हो । दोस्रो पाउ त्यसमा तीर राखेको जस्तो हो । तेस्रो पाउ टङ्कारेर तीर हाने जस्तो हो र चौथो पाउ लक्ष्यप्राप्ति गरेजस्तो हो । राम्रो भएर पनि पछि परेको विधा थियो यो । हालका दिनहरूमा यसको लोकप्रियता बढ्दै गएको पाइन्छ । 

२५ वर्षको अमेरिकाको बसाइपछि नेपाल फर्किएको छोटो समयमै दुर्गाले हाइकु वर्णमाला र यो ६०१ झटारा प्रकाशन गरिसकेका छन् । उनी गजल पनि लेख्छन् । यति लामो समय क्रिश्चियन मुलुकमा बसेर आए पनि उनी आफ्नो धर्म संस्कृतिप्रति निष्ठावान छन् । त्यसैले उनले आफ्नो गाउँकी अधिष्ठात्री देवीको नामबाट आफ्नो नाममा ‘भमरकोटे’ उपनाम राखेका छन् । रुद्र अधिकारीले तयार गरेको आवरण निकै राम्रो छ । आँपका रूखमा झटारा हानिरहेको देखाइएको छ । आवरणपृष्ठको भित्रपटि भमरकोट देवीको मन्दिर राखिएको छ । 

पुस्तक लीलाध्वज थापा स्मृति प्रतिष्ठानले प्रकाशन गरेको छ । दुर्गाले यो पुस्तक उनका स्वर्गीय पिता भवानीप्रसाद अधिकारीप्रति समर्पण गरेका छन् । १९६ पृष्ठको पुस्तकको मूल्य संस्थागत ५०० र व्यक्तिगत ३०० रहेको छ । विदेशका लागि १० डलर तोकिएको छ । पुस्तकको छपाइ स्तरीय छ । 

पुस्तकमा राष्ट्रकवि माधव घिमिरेको ‘शैली सुन्दर र भाव मधुर’ शीर्षकको शुभेच्छा छ । यसैगरी ठाकुर शर्मा भण्डारीको ‘समसामयिक एवं सामाजिक यथार्थतिर उन्मुख सुन्दर छ सय एक मुक्तकहरूप्रतिको अनुभूति’ शीर्षकको भूमिका रहेको छ । यसमा मुक्तक र यो सङ्ग्रहप्रतिको इतिवृत्तान्त दिइएको छ । यसैगरी भूमिकामै डा. शैलेन्दुप्रकाश नेपालको ‘मुक्तकमा जीवन’ वियोगी बुढाथोकीको ‘वर्तमानप्रतिको तीखो प्रहार’ प्रा.डा.हेमनाथ पौडेलको ‘शुभकामना’ हरिवंश आचार्यको ‘शुभकामना’, तेजप्रकाश बानियाँको ‘शुभकामनाका केही शब्दहरू’ तिलकप्रसाद लुइँटेलको ‘६०१ झटाराहरू हेर्दा’ रहेका छन् । 

यसैगरी प्रकाशक लीलाध्वज थापा स्मृति प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाको ‘प्रकाशकीय’, मुक्तककार अधिकारीको ‘लेखकीय’ र सम्पादक अधिकारीको ‘सम्पादकीय’ पनि रहेका छन् । पृष्ठ आवरणमा मुक्तककार दुर्गा अधिकारी भमरकोटेको फोटो र सङ्क्षेपमा चिनारी दिइएको । 

यो पुस्तकमा एउटा अर्को विशेषता पनि पाइन्छ । त्यो हो थालनिको मङ्गलाचरण । यो पुस्तक मुक्तक सङ्ग्रह भए तापनि महाकाव्यहरूकै झैँ यसको लेखनको प्ररम्भ मङ्गलाचरणबाट गरिएको छ । पुस्तकको पहिलो मुक्तक यस्तो छ : 

मुक्तक सुरु गर्नुअघि ध्यान गर्न मन लाग्यो 

कुनै निराकार शक्तिको गान गर्न मन लाग्यो 

साहित्य विधामा मलाई खासै राम्रो ज्ञान छैन 

डोहो¥याउने गुरुप्रति सम्मान गर्न मन लाग्यो ।

वास्तवमा यो मुक्तक सङ्ग्रह पहिलो संविधान सभामा ६०१ जना सभासदहरूप्रतिकै झटारो हो र यसको शीर्षक पनि ‘६०१ झटारा’ रहेको हो । यो लाक्षणिक होइन अभिधात्मक नै हो । जसको पुष्टि यो मुक्तकले गर्छ :

छ सय एकलाई मैले दिएँ झटाराहरू

सिन्को नभाँच्ने यी हुन् भातमाराहरू

लोकतन्त्र कहाँ आयो जनता जहाँको त्यहीँ 

के काम पानी नआउने संविधानका धाराहरू ।

  

दुर्गाजीको थप साहित्यिक प्रगतिको कामना !   


Views: 111