25th August | 2019 | Sunday | 5:38:24 PM

कुलुङेले खनेको कुलो

निनाम कुलुङ ‘मंगले’   POSTED ON : श्रावण २९, २०७६ (१०:२६ AM)

कुलुङेले खनेको कुलो

 ‘कुलुङेले कुलो खन्यो, 

थुलुङेले थुन्यो ।

सोताङेले सोध्यो,

खालिङेले खोल्यो ।’

माथिको भनाइ मे, २००६ मा प्रकाशित ‘जनजाति सेरोफेरो’ नामक किताबमा स्वर्गीय डा. हर्क गुरुङले उद्धृत गरेका हुन् । उनले सो भनाइ पूर्वमा रहेको उखान भनी प्रस्ट्याएका छन् । हुन पनि सो उखान वा लोकगीतलाई कुलुङ जातिका अगुवाहरूले वास्तविक जीवन र व्यवहारमा पनि खरो उत्रेर सही सावित गरेका छन् । अर्थात् सुरुमा जनजाति विकास समितिअन्तर्गत ६१ (वि.सं २०५४ मा) जातिलाई ‘जनजाति’ र पछि (वि.सं २०५८ मा) आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान गठनपछि ५९ जातिलाई ‘आदिवासी जनजाति’ भनी सूचीकृत गरिँदा (दुवै सूचीमा कुलुङ नपरेपछि) सुरुमा कुलुङ समुदायका अगुवाहरूले नै प्रतिष्ठान ऐन २०५८ को दफा २ (क) ले तोकेका आधारहरू भएको (उक्त दफाले तोकेबाहेक कुलुङ समुदायको ऐतिहासिक भूमि ‘महाकुलुङ’ समेत भएको) ले आदिवासी जनजातिमा कुलुङ समुदायलाई पनि प्रतिष्ठान ऐनअनुसार सूचीकृत गर्नुपर्ने भनी आन्दोलन सुरु गरेको थियो । 

लगत्तै कुलुङजस्तै राईकरणको मारमा परेका अरू चार किराँती जातिहरू जस्तै ः बाहिङ, कुलुङ, लोहोरुङ, चाम्लिङ, नाछिरिङ (बाकुलोचाना) थपिएर सूचीकरणको आन्दोलनमा लागिपरेका थिए । यसरी नेपालको सन्दर्भमा जातीय स्वपचिानको आन्दोलनका लागि सुरुमा कुलुङेले कुलो खन्न सुरु गरेको हो ! भनी दाबी गर्न सकिन्छ । जे होस्, यो प्रसंग यही छोडौँ । अब कुलुङ को हुन् भन्नेतर्पm लागौँ । 

वि.सं २०६८ को ११औं राष्ट्रिय जनगणनाअनुसार नेपालमा १२५ जातजाति र १२३ भाषाभाषी रहेका छन् । यसरी हेर्दा वास्तवमै नेपाल विविध जातजाति र भाषाभाषीको साझा पूmलबारी हो भन्न सकिन्छ । भलै राज्यले त्यहीअनुसार नीति निर्माण नगर्नु अर्कै कुरो हो । जे होस्, वि.सं २०६८ को ११ औं राष्ट्रिय जनगणनामा उल्लेख भएका १२५ जातजाति र १२३ भाषाभाषीमध्ये एक हो ‘कुलुङ जाति’ । त्यसअघि कुलुङ जातिलाई पनि राई जातिमै गाभ्ने गरिन्थ्यो । 

त्यसो त अभैm पनि नेपाल सरकारको मातहतमा रहेको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा भने कुलुङ जातिलाई छुट्टै जातिका रूपमा सूचीकृत गरिएको छैन । यसो हुनुमा ‘राई’ के हो, कुलुङ के हो भन्नेबारेमा वास्तविक कुरा बाहिर नआएकाले पनि हो । खागसरी, नेपालका मानवशास्त्रीहरू यस विषयमा चुकेको देखिन्छ । 

वि.सं २०६८ को जनगणनाअनुसार ४३ लाख ९८ हजार ५३ जना रहेको (सबैभन्दा धेरै) क्षत्री होस् कि, २७३ जना रहेको (सबैभन्दा कम) कुसुन्डा, जातीय हिसाबले उनीहरू बराबर हुन् । अथवा उनीहरूको जातीय वा भनौं सामाजिक हैसियत बराबर हुन्छ । त्यसैले, यस विषयमा अबका दिनमा नेपालका मानवशास्त्रीहरूले मन्थन गर्नुपर्ने देखिन्छ । 

हुन त अहिले आएर धेरै हदसम्म राई जाति नभएर विगतमा, खासगरी नेपालको भौगोलिक एकीकरणपछि शासकहरूले दिएको पगरी वा पदवी मात्रै हो भन्नेबारेमा सर्वसाधारणमाझ पनि प्रस्ट हँुदै गएको छ । 

नेपालको हालसम्मको जातीय बनोटको आधारमा उदाहरण प्रस्तुत गर्दा बाहुन नेपालको एउटा जाति मानिन्छ । अनि जसरी बाहुनभित्र निरौला, पाण्डे, घिमिरे, पोखरेल, गौतम आदि थरहरू छन्, त्यसरी नै कुलुङ भनेको पनि बाहुन भनेजस्तै जाति हो भने कुलुङको पनि बाहुनभित्र विभिन्न थरहरू भए जस्तै, कुलुङभित्र पनि विभिन्न थर उपथरहरू छन् ।

थिम्रा, थोरेप्पा, लोवात्ती, ङोपोचो, तोङेर्बु, होनित्ती, बुक्खो, सोम्फोरू, देउराम, लाम्लछा, ताम्बुछा, तोर्ङो, सैमालुङ, पिदिसै, सुर्वा, राजित्ती, थोप, बारोखु, गोक्तुलु, वालाखाम, थोप, थोमरोस, होङेलु, बार्सी, तोमोछा, सेकछा, थोमरोस, मान्थेर्बु, छेन्हो, मोल्थो, ङोपोचो, यैसा, रुखुपो, रिन्हो, रोतेम्बु आदि कुलुङका थरहरू हुन् । कुलुङका यस्ता थर २६० वटाभन्दा बढी छन् । 

कुलुङ जातिको मूल थलो सोलुखुम्बु जिल्लाको उत्तरपूर्र्वी क्षेत्रको बुङ, छेस्खाम, गुदेल, सोताङ र पावै आदि गाविसका विभिन्न स्थानहरू (हाल महाकुलुङ र सोताङ गाउँपालिका) हुन् भने यी ठाउँलाई कुलुङहरू आप्mनो मातृभाषामा ‘मा कुलू’ भन्छन् । त्यस्तै, कतिपय विदेशी लेखक तथा खोजकर्ताहरू र नेपालका अन्य जातिले यो क्षेत्रलाई ‘महाकुलुङ’ (ग्रेटर कुलुङ) भनेका छन् । कुलुङ समुदायको बाक्लो बसोबास सोलुखुम्बुको महाकुलुङ क्षेत्रबाहेक संखुवासभा, भोजपुर, सुनसरी, इलाम, झापा, सुनसरी, मोरङ र भारतको दार्जिलिङ, सिक्किम लगायतका ठाउँहरूमा पनि छन् भने नेपालको तेह्रथुम, चितवन, धनकुटा, ताप्लेजुङ, पाँचथर, उदयपुर, सिराहा, कास्की, खोटाङ, काठमाडौं, ललितपुर, भक्तपुर, मुस्ताङ, धनुषा, बाग्लुङ कञ्चनपुरलगायत लगभग २४÷२५ जिल्लामा रहेका छन् ।

२०६८ सालको जनगणनाअनुसार कुलुङहरूको जनसंख्या केबल २८ हजार ६३१ भए तापनि कुलुङको वास्तविक जनसंख्या कम्तीमा एक लाख ६० हजारभन्दा माथि हुनसक्ने, नेपाल किराँत कुलुङ भाषा तथा संस्कृति उत्थान संघ (किराँत कुलू गुसखोम), केन्द्रीय कार्य समितिका महासचिव इन्द्र कुलुङको धारणा छ । 

वास्तवमा राईकरणको मारमा परेका सबै किराँतीहरूको तथ्यांक २०६८ को राष्ट्रिय जनगणनामा यसरी नै कम देखाइएको छ । जस्तो तेह्रथुम जिल्लामा कुलुङको जनसंख्या १५ सयको हाराहारीमा छ । नेपालका अन्य जातजातिको जस्तै कुलुङ जातिको पनि आप्mनै अलग्गै मातृभाषा छ । जसलाई उनीहरू ‘कुलू रिङ’ भन्छन् । 

जहाँका कुलुङ भए पनि कुलपितृ आदिमा कुलुङ जातिका मोप÷नोक्छोले कुलु रिङमै रिदुम (अरूले मुन्धुम भन्छन्) फलाक्छन् । त्यस्तैः २०५८÷५९ मा चन्द्रसिंह कुलुङ, टंक सोम्फोरू, प्रकाश लोवात्ती कुलुङ (यो पंक्तिकारको त्यो बेलाको लेख्ने नाम), पत्तिबहादुर सोम्फोरू, मेखबहादुर कुलुङ, सूर्यबहादुर कुलुङ, इन्दिरा कुलुङ, पाण्डु राजित्ती लगायतको सक्रियतामा भाषाविद्हरू अमृत योन्जन तामाङ र डा. माधव पोखरेलको सहयोगमा कुलुङ भाषाको स्वर वर्ण र व्यन्जन वर्ण पहिचान गरिएको थियो । 

सोअनुसार कुलुङ भाषामा २१ वटा व्यञ्जन वर्ण र १२ वटा स्वर वर्ण पहिचान गरिएको छ । कुलुङ भाषामा दीर्घ नभएकोले लिपिबद्ध गरिँदा दीर्घलाई ह्रस्व मान्ने र दीर्घ जनाउँदा विसर्ग (ः) दिने वा ः चिहृन प्रयोग गर्ने व्यवस्था गरिएको छ । कुलुङ जातिको अरू जातिको भन्दा भिन्न प्रकारका संस्कार संस्कृतिहरू रहेका छन् । 

जन्मदेखि मृत्युसम्ममा आप्mनै जातिका पुर्खाले मुख्य भूमिका खेल्छन् । जहाँसुकैका कुलुङले पनि मृत्युपछि मृत्यु संस्कार गर्दा मृतक (मृत आत्मा) को आत्मालाई महाकुलुङको पोम्लालुङ भन्ने ठाउँमा पठाउनुपर्छ । कुलुङ समुदायमा चलेको विश्वास र मान्यताअनुसार पोम्लालुङ नै कुलुङ जातिका लागि ‘स्वर्ग’ हो । मृतकलाई यसरी ‘स्वर्ग’ अर्थात् पोम्लालुङ पठाउँदा पुग्नुअघि मृतकलाई पानी पिउन दिने ठाउँ छ । यो ठाउँलाई ‘पोम्ला काउ’ भनिन्छ । यो ‘पोम्ला काउ’ भन्ने ठाउँ सोलुखुम्बु जिल्लाको बुङ र छेस्खाम गासिमा पर्छ । 

यसरी मृत्युपछि आफन्तलाई पठाइने कुलुङहरूको स्वर्ग अर्थात् ‘पोम्लालुङ’ हालको सोलुखुम्बु जिल्लाको गुदेल गाविसमा पर्छ । जुन स्थललाई कुलुङ जातिले पवित्र स्थल मान्ने गर्छन् । विवाहमा चेली पक्षकाले ज्वाइँ पक्षलाई सुक्तुलु (चुल्हा) मा दि (जाँड) र हाङ्मुवा (रक्सी) चढाउँदै वागदत्ता दिएर सम्पूर्णरूपमा सुम्पने गरिन्छ । सामान्यतः कुलुङहरू दुईपटक विवाह गर्दछन् । पहिलो बिहेसम्म चेलीको मृत्यु भइहालेमा माइतीले नै काजकिरिया गर्नुपर्छ । दोस्रो विवाह छिन्ती विवाह पनि हो, जसलाई कुलुङ भाषामा ‘दाप्लो कुइम’ भनिन्छ । 

कुलुङ जातिको संस्कार र संस्कृति बाहुन र क्षत्रीहरूसँग मिल्दैन । यति मात्र होइन अहिलेसम्म ‘राई जाति’ एकै हौँ, भाषा मात्रै फरक हो भनिएका आठपहरिया, बाहिङ, जेरो आदि किराँतीहरूसँग समेत मिल्दैन । हिन्दू जात समूहमा जसरी पण्डित भए जो भए पनि संस्कार र संस्कृतिजन्य कुराहरू गर्न मिल्छ, त्यसरी कुलुङको घरमा आएर आठपहरिया, बाहिङ, जेरो आदिका धामी पूजाआजा गर्न मिल्दैन । कुलुङ जातिकै नोक्छो चाहिन्छ । किनभने कुलुङको सुक्तुलु अर्थात् चुला अरू जातिले छुनसमेत हुँंदैन । 


  


Views: 164