15th September | 2019 | Sunday | 8:28:43 PM

हृयाकर र कुख्यातहरू

कालिदासबहादुर राउत क्षेत्री   POSTED ON : भदौ २४, २०७६ (१०:०२ AM)

हृयाकर र कुख्यातहरू

तीनदशक अघिसम्म अर्थात् २०४८ सालको आम निर्वाचनसम्म जनआन्दोलन र नेतृत्व जनमुखी थियो । बहुदल पुनस्थापनापछिको जब पहिलो जननिर्वाचित सरकार गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बन्यो साथै प्रमुख प्रतिपक्षी तत्कालीन एमाले बन्यो अनि सत्तापक्ष र प्रतिपक्षको स्वार्थ र भूमिका प्रतिक्रियावादी बन्दै पञ्चायतकालमा राम्रैसँग सञ्चालित उद्योगहरू अन्य सम्पदाहरू खरानीको मोलमा कांग्रेस र कम्युनिष्टले माफियालाई बिक्री गरे । आत्मनिर्भर बन्दै गरेको देशलाई गुदीदेखि बुद्धिसम्म परनिर्भर बनाए । समयको गतिसँगै नेपाल टेलिकम अग्रणी रहेको सर्वविदितै छ ।

टेलिकमको चुक्ता पुँजी १५ खर्ब छ भने सञ्चित कोषमा ८६ अर्ब ७३ करोड रुपैयाँ राखिएको छ । टेलिकमको एक वर्षमा सेवा बिक्रीबाट ३६ अर्ब ७८ करोड ४८ लाख रुपैयाँ कमाएको छ । सरकारले आफ्नो स्वामित्वमा रहेको नेपाल टेलिकमको ६६ प्रतिशत सेयर राखी बाँकी सेयर बिक्री गर्ने भएको छ । हाल धितोपत्र बजारमा सूचीकृत भएको सबैभन्दा बढी सेयर हिस्सा रहेको कम्पनीको थप सेयर जनताका नाममा कुख्यात भ्रष्ट तथा माफियालाई दिने तयारी गरेको छ ।

कम्पनीको सेयर संरचनाअनुसार ९१.५२ प्रतिशत संस्थापक सेयर अर्थात् नेपाल सरकारको रहेको छ भने ८.४८ प्रतिशत शेयर आम सर्वसाधारण र कर्मचारीको रहेको छ । यसप्रकार १ करोड २७ लाख कित्ता सेयरमात्र सर्वसाधारणको छ । सेयर संरचनाअनुसार सर्वसाधारण सेयर धनीको ४.४४ प्रतिशत, कर्मचारीको ४.०४ प्रतिशत, तथा नागरिक लगानी कोषको झिनो स्वामित्व टेलिकममा छ । धितोपत्र बजारमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको कुल १५ करोड कित्ता शेयर सूचीकृत छ । प्रतिकित्ता रु.६६३ का दरले ९९ अर्ब ४५ करोड बराबरको रहेको छ । गौरवको एकमात्र एनटीसीलाई नियोजित ढंगबाट निजीकरण गर्दैछन् । 

सत्रौं शताब्दीमा अंग्रेजले भारतलाई उपनिवेश बनाउँदा सुरुमा काखीमा बाइबल च्यापेर ‘इस्ट इण्डिया कम्पनी’ को ब्यानर टाँगेर पसेको थियो । हाम्रा पूर्वजले आफ्नो रगत बगाएर त्यतिबेला नेपाललाई स्वाधीन राखेका थिए । अहिले एकाइसौं शताब्दीमा शिरमा कांग्रेस र कम्युनिष्टको हृयाट लगाएर गलामा क्रिस्चियनको माला लगाएका छद्मभेषीहरूले नेपाललाई पराधीन तथा कश्मीरको नियतिमा पु¥याउँदैछन् । यतिबेला बैंकमात्रै हृयाक भएको छैन । एक महिनादेखि नेपाल प्रहरीकै कम्प्युटर हृयाक भएको छ । 

गोप्य डकुमेन्ट नियन्त्रणबाहिर पुगेको छ । एटिएम हृयाक गरी बैंकको रकम झिक्ने अन्तर्राष्ट्रिय हृयाकर पव्रmाउ गर्न सफल भएका प्रहरी आफैँ साइबर हमलाको शिकार भएका छन् । नेपाल प्रहरीको केन्द्रीय तालिम केन्द्र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको कम्प्युटर हृयाक भएको हो । प्रहरी अधिकृत क्याडेटका लागि तयार तालिम सामग्री नै हृयाक गरेका छन् । जुन अत्यन्त गोप्य डकुमेन्ट हुन् । फाइलभित्र राखिएको डकुमेन्ट खोल्न खोज्दा हृयाकरले फिरौती रकम मागेको छ भनेका छन् । एकेडेमीको कम्प्युटर हृयाक भएको रहेछ । यस्तो गतिविधि कहाँबाट कसरी भइरहेछ, पुलिसले भेउ पाउन सकेको छैन ।

 अनुसन्धान निकै जटिल छ । नेपालका बैंकहरूबाट चिनियाँ हृयाकरहरूले करोडौं नगद हालै लिएर फरार हुन लाग्दालाग्दै सो ठाउँमै पक्राउ परेका छन् । बैंकिङ  सिस्टमको सूचना प्रविधि फर्मुलालाई यो घटनाले उजागर गरिदिएको छ । वर्तमान सन्दर्भमा सूचना प्रविधि संसारभरि नै संस्थाहरूका लागि प्राथमिकताको विषय बनेको छ । विशेषतः बैंक नै हृयाकरको निशानामा पर्ने गरेका छन् । अझ बढी चाहिँ एसिया प्यासिफिक क्षेत्रका बैंकहरू परेका छन् । सूचना प्रविधि सुरक्षित भएन भने कुनै पनि संस्थाले आर्थिक नोक्सानी र लगानीकर्ता तथा ग्राहकहरूको विश्वसनीयता दुवै गुमाउनुपर्ने हुन्छ । 

धेरै रकम नेपालभित्रबाट र नेपालबाहिरबाट पनि नेपाली कार्डको प्रयोग गरेर अनधिकृत रूपमा रकम निकालेको बैंकले बताएका छन् । जनताका लागि सबैभन्दा सुरक्षित स्थायी धन जग्गा नै हो । यो सम्पत्तिमा पनि माफियाको आँखा परेर असुरक्षित भएको छ । सामन्तले कित्ताकाट रोक्का गर्दै आएका थिए । पुख्र्यौली सम्पत्ति भएपनि कमाएर किनेको होइन भन्दै चलनचल्ती मूल्यको ६० प्रतिशत कर बुझाउनेले मात्र आफ्ना छोराछोरीलाई नामसारी गर्न पाउँछन् भन्ने फर्मान सामन्ति (शासक) ले जारी गरेर अघोषित रूपमा नागरिकको भूमि राष्ट्रियकरण गरेका छन् ।

नयाँ भूमि ऐन बमोजिम नागरिकको जमिनमा अंशबण्डा मोही र तहलसि (जग्गाधनी) बीच आधा आधा गरेर दुवै पक्षलाई लालपुर्जा दिने ऐन बनाएका छन् । यसप्रकार बैंकमा राखेको नगद र थोरै थोरै जग्गामा पनि हृयाकर र कुख्यातहरूका कारण सुरक्षित रहन नदिने नीति र नियत राखेको हुँदा सर्वसाधारण जनता आक्रोशित भएका छन् । अब देशमा अराजक आन्दोलन चल्न सक्ने प्रबल सम्भावना छ । गत महिना चितवनको कंगारु होटलमा घटित हत्या काण्डले उग्र अराजक रूप लिएजस्तै देशव्यापी रूपमा विभिन्न सहरबजारमा बेग्लाबेग्लै विषयमा आन्दोलन हुन सक्छन् । 

राजनीतिक मुखियाका दलालहरूको प्रतिक्रिया के छ भने नेतृत्व गर्ने समूह तथा सञ्चालन गर्ने संगठन नभई अराजक विद्रोह सम्भव छैन भनेर दलालहरू दुत्कार्छन् । गाउँबाट सहर घेर्ने धारणाबाट निर्देशितहरू जडसूत्रवादी मनस्थितिमा छन् । संगठनविना पनि स्वस्फूर्तरूपमा अराजक विद्रोह चल्न सक्छ । सुरक्षाकर्मीको घेराभित्र रहेका कुख्यातहरू आफूलाई अतिसुरक्षित ठान्दछन् । आफूहरू सामन्त, माफिया, भ्रष्टाचारी भएको अनुभूत गर्दैनन् । 

कांग्रेस–कम्युनिष्ट भनेका भ्रष्टाचारका बाहक हुन् । आगामी चुनावसम्म यो प्रणाली टिक्छ होला । त्यसपछि टिक्ने नटिक्ने कुराको निर्णय हुन्छ । अब नेपालमा हामीले जे चाहन्छाँै त्यही हुन्छ भन्ने शासकहरूलाई लागेको छ । नेपालीहरू हाम्रा कमारा कमारी जस्तै हुन् र तिनले हामी नवसामन्तहरूलाई सधैँ नमन गर्छन् । हामीले उनीहरूलाई सच्चा सेवक बनाइसकेका छौँ भन्ने अहंकार उनीहरूमा छ ।

आर्थिक र वैचारिक दुवै तहमा वर्गीय विभेद जारी छ । सर्वप्रथमतः राजनीतिक पार्टीमा वर्गीय रूपबाट गुटबन्दी सृजना भएको छ । तीनतहको सरकारमा शासक र शासित दुई वर्गमा शत्रुतापूर्ण रूपमा विभाजित छ । विगतमा पञ्चायती कालमा सरकारी र जनपक्षीय उम्मेदवारका रूपमा वर्ग विभाजित भएझैँ अहिले भ्रष्टाचारी र जनमुखी दुई कित्तामा विभक्त हुँदैछन् । ‘नो भोट’ को अधिकार पाए भने अत्यधिक नेपाली जनता भोट नदिने मनस्थितिमा पुगिसकेका छन् । सत्तासीन सामन्तहरूको अवधारणा के छ भने पञ्चायतमाझँै रातारात भोट किनेर भोट बाकस अदलीबदली गरेर भएपनि आफ्नै संयन्त्रबाट निर्वाचित भएको घोषणा गरेर भएपनि घुमिफिरी बांगेसल्ला भनेझँै शासनको बागडोर हाम्रै कब्जामा भन्ने अहंकार छ । 

कांग्रेसले लत्तो छोडिसकेको छ । नेकपाबाहेक विकल्प छैन भन्ने घमण्ड छ । गाउँ गाउँमा पुगेको सिंहदरबारमा हुने खाने र हुँदा खानेको वर्ग विभाजित छ । राजाको पालाको भन्दा सामन्तवाद अचेल हिंस्रक भएर उठेको छ । काठमाडौंको सिंहदरबारमा सामन्तहरू पस्ने पश्चिम ढोका, कर्मचारी पस्ने पूर्वीढोका र गरीखाने निम्नवर्ग पस्ने दक्षिण ढोका तय गरेर सिंहदरबारबाटै शासक र शासितको वर्गविभाजन गरिएको छ । 

जनताबाट घृणित भएकाहरूलाई कुख्यात भन्ने गरिन्छ । तदनुरूपका कुख्यातहरू बसेको एरिया एरियामा विशेष सुविधा प्रदान गरेर चाकरी बजाउँदै आएकोमा अब त्यस्ता एरियामा कुख्यातहरूको सुरक्षामा राष्ट्रकोे धनको लगानीबाट विशेष सुरक्षा योजना सञ्चालन गरेर ढिकुटी दोहन गर्ने चालबाजी चलाएका छन् । एटटा कुख्यातको निम्ति राज्यकोषबाट कति लगानी भएको होला ¤ 

नेपालभन्दा धेरै विकसित र सम्पन्न राष्ट्र हो क्यानडा । त्यहाँको प्रधानमन्त्री मेट्रो रेलमा सुरक्षा गार्डबिनै यात्रा गर्छन्, यो कुरा दुनियाँलाई थाहा छ । कतिपय देशका शासक साइकलमा यात्रा गर्छन् तर नेपालका नवसामन्तहरूको सानसोख धेरै माथिल्लो स्तरको छ । जनतासँग नुन किन्ने धन छैन तर यिनीहरू वर्षैपिच्छे खर्बौँको गाडी किन्छन् र साविकका गाडी मोटो कमिसनमा बेच्ने पुरानो व्यापारमा तल्लीन छन् ।  

काठमाडौंका कार्यालयमा मात्रै होइन यो क्रम गाउँका सिंहदरबारमा पनि डेंगु मच्छरझैँ फैलिएर पुगेको छ । हुकुमीतन्त्र फ्याँकेर जनताले गणतन्त्र ल्याएका हुन् । यदि पुरानै रोग पुनरावृत्त हुने हो भने जनता चुप लागेर बस्दैनन् । जनता स्वस्फूर्तरूपमा जब जाग्छन् त्यतिबेला तत्कालीन रूपमा कुनै निहुँ मात्रै  चाहिन्छ । जनव्रmान्ति कस्तो हुन्छ त्यतिबेला चखाउँछन् देखाउँछन् ।

चीन जस्तो विश्वको शर्वशक्तिशाली देशको शासक र शासन व्यवस्थाले हङ्कङका जनताका सामु घुँडा टेक्नुपरेको हालको ताजा घटना सबैको सामु छँदैछ । तीस वर्षअघि तियानमेन स्क्वायरमा हजारौंलाई मार्न सफल शासन व्यवस्थाले आजको युगका जागरुक जनताका सामु शिर निहु¥याउँनै प¥यो । पूर्ववर्ती शासन व्यवस्थाका उत्तराधिकारीले भदौमा आँखा फुटेको गोरुले सधैँ हरियो देखेझँै अनभूत नगरे हुन्छ । 

सत्तासीन र प्रतिपक्षी पार्टीका भ्रष्टहरूलाई सातखत माफीको वरदान पाएको मञ्चन गरिरहेका छन् । भारतका पूर्वअर्थमन्त्री पी.चिदम्बरम् भ्रष्टाचार काण्डमा थुनामा पर्दा नेपाली भ्रष्टहरूलाई कारवाही नहोला र ? २५ वर्षअघिको रावल आयोगको प्रतिवेदनमा शक्तिशाली व्यक्ति मुछिएकाले १,८०० रोपनी विभिन्न ठाउँको जग्गा अतिक्रमण हुँदा सम्बन्धितले बेवास्ता गरेको छ । 

ललिता निवासभित्र पर्ने वालुवाटारको २९९ रोपनी सरकारी जग्गा किनबेच सम्बन्धमा अख्तियारको औचित्य र महŒव यदि कायमै छ भने झिनामसिना तहका भ्रष्टहरूलाई भन्दा देशको वरिष्ठतम मन्त्री, प्रधानमन्त्री भइसकेका, उच्च ओहदा सम्हाली सकेकाहरूलाई हिरासतमा लिन जेलमा पठाउन सक्यो भने आयोगको नाम आउला नत्र प्रधानमन्त्री कार्यालयको एउटा कोठामा शाखाको रूपमा आयोग सञ्चालन गर्दा बरु प्रभावकारी होला । अगाडि जनताले नै कुनै दिन फैसला गर्लान् । 


Views: 63

सम्बन्धित सामग्री:

मेरो बिहे

बिनु लुइँटेल : भदौ २८, २०७६ (१०:४६ AM)