15th September | 2019 | Sunday | 8:25:50 PM

विनयशीलता

कृष्णहरि बास्कोटा   POSTED ON : भदौ २५, २०७६ (९:४३ AM)

विनयशीलता

तिजको दिन थियो । श्रीमतीले पसल र मन्दिर जान आग्रह गरिन् । दुवैजना नारिएर घरबाट निस्कियौँ । मेरो टोलमा एउटा पान पसल छ । सो पसल सञ्चालक धार्मिकरूपमा परिचित मानिस हुन् । उनको पोसाक र निधारमा टीका पनि विशेष प्रकारको हुन्छ । पान पसलमा मानिसको भीड रहेछ । मैले केही टाढाबाट पसलेलाई ‘ए हजुर, नमस्कार’ भनेँ । उनले अभिवादन फर्काए । मैले एउटा पानको लागि अनुरोध गरेँ । मानिसको भिडबीच उनले तत्कालै एक बिरा पान दिए । मूल्य सोधेँ । बीस रुपैयाँ भन्ने जवाफ पाएँ । 

मूल्य चुकाएर पुनः अभिवादन गरी आफ्नो गन्तव्यमा निस्किएँ । श्रीमती यत्ति छिटो पान पाएकोमा निकै खुसी भइन् । सरकारी कार्यालयमात्रै होइन श्रीमान्को प्रभाव पान पसलसम्म रहेछ भन्ने प¥यो होला उनलाई । म पनि श्रीमतीलाई खुसी पार्न पाएकोमा दंग परेँ । पान पसलबाट केही कदम अघि बढ्नेबित्तिकै दुईओटा आवाज सुनेँ । पहिलो थियो, उहाँलाई किन छिट्टै पान दिनुभएको ? हामी पहिला पसलमा आएका थियौँ । पसलेको जवाफ थियो, उहाँलाई पूजाको लागि पान चाहिएको हो, तपाईंहरूलाई खान ! प्रश्न उठाउने ग्राहक मौन भए । 

अर्कोले प्रश्न गरे, पानको मूल्य तीस रुपैयाँ होइन र ? पसलेले जवाफ दिए, तपाईंहरूले खाने मीठा पानको तीस रुपैयाँ हो, उहाँलाई दिएको सादा पान बीस रुपैयाँको हो । ती ग्राहक पनि मौन भए । यथार्थमा मैले तीस रुपैयाँ पर्ने पान नै बीस रुपैयाँमा पाएको थिएँ । मेरी श्रीमतीले पनि पूजा गरेर मलाई खुवाउने प्रयोजनका लागि नै मलाई पान किन्न अह्राएकी थिइन् । म ग्राहक र अरू ग्राहकमा यत्ति फरक थियो कि मैले पसलेलाई ‘हजुर’ र ‘नमस्कार’ गरेको थिएँ । अरू ग्राहक पसलेलाई ‘हप्काई दप्काई’ गर्दै थिए । 

करिब दुई हप्ताअघि म कास्की जिल्लाको एउटा कार्यक्रमका लागि निस्किएँ । आयोजकले निकै आकर्षक रिसोर्टमा लगेर राखे । खेतको बीचमा रहेको रिसोर्ट मनमोहक थियो । आयोजकको चाजोपाँजोमा मेरो बस्ने कोठा तय भयो । मैले खाना खाने समय उनीहरूले नै निर्धारण गरे । ब्रेकफास्टको समय साढे सात बजे तोकियो । म आयोजकको समय सारणी मान्न बाध्य थिएँ । सो समय सारणी मेरो अनुकूल पनि थियो । बिहान ब्यूँझिएर सात बजेतिर रिसोर्टको रेष्टुराँमा पुगेँ । मलाई चियाको तलतल थियो । अरू पनि चिया र ब्रेकफाष्ट कुरेर बसेका थिए । 

तर, साढे सात बजेको थिएन । एकजना अलिक पाको उमेरका पुरुष हाफ पाइण्टमा आए । उनी सबैसँग बोल्न खोजे । सामान्यतः  रेष्टुराँमा रहेका ग्राहकमध्ये कसैले पनि उनीसँग बोल्न खोजेनन् । सामान्य टिसर्ट लगाएका, सेतो फुलेको दाह्री नकाटेका, सत्तरी वर्षे भत्ता खालान् जस्तासँग बोल्न कसैले जाँगर चलाएन् । मैले तत्कालै हात बढाएँ ।

उनले हात मिलाए । मेरो बारेमा सोधखोज गरे । मैले कायक्रममा आएको कुरा बताएँ । उनी रौसिएर मसँग कुरा गर्न थाले । थोरै कुरापछि मैले ‘हजुरको परिचय’ भनेर सोधेँ । उनले कड्किएर यो रिसोर्ट मेरो हो भने । मैले चियाको तलतलको केही संकेत गरेँ । उनले तत्कालै किचेनमा अर्डर गरे । उनको हाँकडाँकसँगै चिया आइपुग्यो । मैले खुसीको स्वरसँगै चियाको सुरुप  लिन थालेँ । अरू ग्राहक साढे सात बजेटसम्म कुर्न बाध्य थिए । 

ती कुरा गर्न खोज्ने मानिस रिसोर्टवालाका ‘बुवा’ रहेछन् । उनले ‘हेर्नुस् छोराको भन्नु मेरै होइन त  ?’ भने । मैले हो मा हो मिलाएँ । मिठो चियाको बिल बनेन । मैले केबल बोल्न खोज्नेसँग बोलेको र ‘हजुर’ भनी सम्बोधन गरेको लाभ हासिल भएको थियो । 

विराटनगरको यात्रामा थिएँ । हवाइजहाजको सिटमा बसेको थिएँ । अलिक पाको उमेरका एकजना आएर मसँगैको सिट नम्बर उनको भएको कुरा बताए । मैले हजुर छेउमा बस्ने कि झ्यालतिर भनेर सोधेँ । उनी निकै खुसी भए । यहाँ जस्तो असल मानिससँग बसेरसँगै यात्रा गर्न पाए जताको सिट पनि उत्तम भन्ने जवाफ दिए । हामीले यात्राभर भलाकुसारी ग¥यौँ । हवाइजहाजबाट उत्रिने बखत ती भद्रले छोरालाई बोलाए । उनीहरू चियाको कारोबार गर्ने रहेछन् । निकासी गर्न राम्रो प्याक गरिएको दुई सय ग्रामको एउटा चियाको पुरिया मेरो हातमा थमाए । भविष्यमा भेटघाट गरिरहन आग्रह गरे । मैले गाह्रो मानेर उपहार लिएर असजिलो मानेर उनीसँग बिछोडिएँ । 

यस्तै प्रकृतिको घटना एउटा मन्दिरमा भयो । सो स्थानमा नित्य पूजा हुने समय नजिकिएको थियो । आयोजकले मलाई ‘भिआईपी एरिया’ मा लगेर बसाए । म बस्नेबित्तिकै सँगै रहेकी एक ‘सुशील’ देखिने वयस्क महिलालाई छेकिएको महसुस गरेँ । ‘ए हजुरलाई मैले छेकेँ, माफ पाऊँ, अघि सर्नुस् न’ भने । उनी निकै खुसी भएर अघि सरिन् । केही सोधपुछ गरिन् । मैले पनि सामान्य भलाकुसारी गरेँ । करिब आधा घण्टाको पूजा सकिएपछि उनले आफ्ना छोराबुहारीसँग चिनजान गराइन् । नातिनातिनी उनीसँग झ्याम्मिन आइपुगे । 

भोक लागेकाले उनीसँग बिदा माग्ने क्रममा थिएँ । तत्कालै उनले बुझेझैँ गरी बुहारीलाई इसारा गरिन् । बुहारीले तातो, मिठो, स्वच्छ, घरमा बनेको अनेकौं परिकारको खानेकुराको प्लेट मेरो अगाडि ल्याइन् । ‘चिन्नु न जान्नु घचेडी माग्नु’ भनेझैँ म ‘खाऊँ कि नखाऊँ’ भनी दोधारमा परेँ । यो प्रसाद हो भन्न थाले । नखाई सुख्खै पाइनँ । यसरी कसैलाई बसेको ठाउँमा ‘छेकियो कि’ भनेबापत यत्रो पुरस्कार पाइने कुराले म अतिरिक्त विनम्र हुने सोचसहित अघि बढेँ । 

करिब २५ वर्षअघि म अछामको सिडिओ हुँदाका दुई ओटा घटना स्मरणमा आए । पहिलो घटनाअनुसार एकजना अछामी वृद्ध नागरिक सिडिओ कार्यालय आए । म फलँैचामा बसिरहेको थिएँ । उनले परम्परागत ढंगले मलाई अभिवादन गरे । नौलो अनुभूति गरेँ । दश औँला जोडेर अभिवादन फर्काएँ । आदरपूर्वक आफू बसेको ठाउँ नजिकै आएर बस्न आग्रह गरेँ । उनले शौच गर्न लोटामा पानी लिएर हिँड्ने ढाँचामा बोकेको एउटा लोटा मेरो अगाडि बिसाए । उनले ‘सिडियो साप’ यो कोशेली खानुस् भनेर आग्रह गरे । 

उनको इच्छाअनुसार लोटामा रहेको अन्दाजी एक चौथाइ दही पिएँ । दहीको स्वाद उति मन नपरेकाले तत्कालै पानी मगाएर पिएँ । ती ज्येष्ठ नागरिकले त्यसपछि बेली बिस्तार लगाए । उनको घरमा भैँसी ब्याएको रहेछ । निश्चित दिनपछि भैँसी चोखिएछ । त्यसपछिको दूध केटाकेटीले पिएर बढी भएकोले ठेकीमा हालेछन् । करिब एक वर्ष रित्तै बसेको ठेकीमा दहीको स्वाद बिग्रिएको रहेछ । 

पहिलो दही मथेर घिउ बनाउनुपूर्व अछामी राजालाई दही खुवाउनु पर्ने उनको पारिवारिक प्रचलन रहेछ । म सिडिओ अछामी राजाको दरबारमा बस्थेँ । सोही कारण उनी मलाई दही खुवाउन आएका रहेछन् । सबै कुरा सुनेपछि मैले ‘हजुर असली अछामी’ भनेर प्रशंसा गरेँ । खाजा खुवाएर पठाएँ । उनले ‘तिम्रो भलो होस्’ भन्ने आसिक दिएर खुसी हुँदै घरतिर गए । 

अछाममा भएको दोस्रो घटनाअनुसार म सिडिओको कार्यकक्षमा काम गर्दै थिएँ । एकजना वृद्ध अछामी मेरो कार्यकक्षमा छिरे । उनी सरासर मेरो टेबुल नजिक आइपुगे । उनले लगाएको ज्वारीकोटको दुईतिर खल्तीमा हात हाले । दुईओटा अम्बा मेरो टेबुलमा राखे । उनले मलाई ती अम्बा खान आग्रह गरे । बिनासोधपुछ मैले दुवै अम्बा प्रेमपूर्वक खाएँ । त्यसपछि उनले पनि आफू आउनुको कारण बताए । उनको परिवारले पनि करेसा बारीमा अनेकौँ फलफूलका रोपेका रहेछन् । 

फल फलेपछि घरका मानिसले खानुपूर्व अछामी राजाले खाइदिनु पर्ने उनको मान्यता रहेछ । मैले उनलाई ‘धन्य असल अछामी’ भनेर मान सम्मान गरँे । उनलाई पनि खाजा खुवाएर पठाएँ । मेरो कार्यकक्षबाट बाहिरिने बखत उनले पनि ‘तिम्रो उन्नति होस्’ भनेर आशीर्वाद दिए । आज पच्चीस वर्षपछि पनि यो पंक्तिकारलाई अछामीले सम्झिरहने कारण यस्तै सामाजिक क्रियाशीलता हुन् भन्ने निक्र्यौलमा पुगेको छु ।

विनयशीलताका कारण प्राप्त सामाजिक लाभ अरू पनि थुप्रै छन् । आगामी दिनमा थप कलम चनाउने नै छु । कवि शिरोमणि लेखनाथ पौड्यालजी लेख्नुहुन्छ, ‘उपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर, फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ?’ हामी सबै यस्तै ज्ञानी भए यो समाज कति सभ्य हुन्थ्यो होला ।

शास्त्रमा लेखिएको छ, मानिसको मुख्य शत्रु रिस, राग, क्रोध र वासना  हो । यसले हाम्रो जीवन नै नर्कमय बनाइदिन्छ । क्रोधले भ्रम पैदा हुन्छ । भ्रमले बुद्धि व्यग्र हुन्छ । जब बुद्धि व्यग्र हुन्छ, तब तर्क नष्ट हुन्छ । जब तर्क नष्ट हुन्छ, तब व्यक्तिको पतन हुन थाल्छ । यसर्थ यस्तो शत्रु मनलाई नियन्त्रण गर्नुपर्छ । एउटा विश्व विख्यात भनाइ छ, ‘सबैजना विश्वलाई बदल्नेबारे सोच्छन् तर आफैँलाई बदल्नेबारे भने कसैले पनि सोच्दैन ।  






Views: 50

सम्बन्धित सामग्री:

मेरो बिहे

बिनु लुइँटेल : भदौ २८, २०७६ (१०:४६ AM)