15th September | 2019 | Sunday | 8:02:46 PM

धर्म, आस्था र गौहत्या

विनोद दाहाल   POSTED ON : भदौ २५, २०७६ (९:४४ AM)

धर्म, आस्था र गौहत्या

केही दिनपहिले नेपालगञ्जबाट सुर्खेत दैलेख लगायतका लिल्लाका जंगलमा छोड्न लैजाँदा मरेका तथा घाइते भएका गाईहरूको समाचारले निकै चर्चा पाएको थियो । पहिले त यसको रहस्य पनि थाहा भएन । केही दिन पनि मात्र यसको कारण थाहा भयो । जसरी छोडिएको होस् र जे कारणले छोडिएको होस् घरपालुवा प्राणीलाई जंगलमा छोड्नु पनि एक प्रकारको अपराधै हो । त्यसमा पनि नेपालमा गौहत्या वर्जित छ । यो वर्जित हुनका दुईवटा कारण छन् । एक गाई नेपालको राष्ट्रिय जनावर हो । दुई यो हिन्दुहरूको देवता वा लक्ष्मीको प्रतीक हो । 

गाई र भैंसी दुवै दूधका लागि पालिन्छन् । अझै भन्ने हो भने नेपालमा हालको यो जर्सी गाई पालनको परम्परा सुरु हुनुपूर्व त गाईभन्दा पनि भैंसी नै बढी पालिन्थ्यो । तर, भैंसीप्रति माया ममता त होला तर श्रद्धा छैन । गाईप्रति चाहिँ माया ममताका साथै श्रद्धा पनि छ । 

हाम्रो धर्मशास्त्रले हत्याका लागि वर्जित गरेका कुराहरूमा बालक, स्त्री, ब्राहृमण र गाई हुन् । गौ, ब्रहृम, स्त्री र बालहत्या धर्मशास्त्रले वर्जित गरेका हत्या हुन् । जत्रो अपराध गरे पनि यिनलाई मार्नु हुँदैन भन्ने मान्यता थियो । इतिहासमा रणबहादुर शाहको हत्या भएपछि भीमसेन थापाले धेरै पाण्डेहरूको बध गराए तर बालक भएका कारण बालहत्याको दोष लाग्छ भनेर कुलराज पाण्डेलाई मारेनन् । 

यहाँनेर धर्मशास्त्रको मत बाझिएको थियो । एकातिर ऋण, आगो र शत्रुको शेष पनि बाँकी नराखी समाप्त पार्नुपर्छ भन्ने मान्यता थियो भने अर्कातिर बालहत्या गर्नु हुँदैन भन्ने पनि मान्यता थियो । भीमसेनले १४ वर्षको कुलराजलाई शत्रु पक्षको भए पनि मार्न दिएनन् । पछि त्यही कुलराज र भागेर बँचेको उसको काका रणजंग पाण्डे नै भीमसेन थापाको आत्महत्याको कारक बन्न पुगे । 

नेपालको इतिहासमा विसं १९९३ सालको विशेष महŒव छ । यो वर्ष नेपाल प्रजापरिषद नामको राजनीतिक संगठनको स्थापना भएको थियो र यसका अध्यक्ष थिए टंकप्रसाद आचार्य । राणा शासन पल्टाउने यसको अभिष्ट थियो । पछि यसको पोल खुल्यो र सबै पक्राउ परे । धर्मभक्त, दशरथ चन्द, गंगालाल र शुक्रराजलाई मृत्युदण्ड दिइयो तर टंकप्रसाद, रामहरि शर्माहरू मारिएनन् । यसको कारण पनि राणा शासकहरूमा भएको धर्मप्रतिको आस्था । स्त्री जाति मातृ जाति हुन् । त्यसैले तिनको पनि बध निषेध मान्छ धर्मशास्त्रले । 

मानिसको मात्र होइन परम्परामा चलिआएको देखिबाहेक स्त्री जाति चौपायको समेत हत्या गर्न पाइने छैन भनेर नेपाल कानुनमै उल्लेख भएको छ । यसतर्फ आँखा चिम्लिने प्रवृत्तिले मात्र राजधानीमै धेरै संख्यामा भैसीको बध हुने गरेको छ । 

नेपालमा गाई, भैंसी, बाख्रा, भेडा, च्यांग्रा, चौंरी, कुकुर, बिरालो, सुँगुर, घोडा, गधा र खच्चर घरपालुवा जनावर हुन् । यसबाहेक कुखुरा, हाँस, परेवा, टर्की, लौकाट, इमु र सुतुरमुर्ग ( अष्ट्रिज) जस्ता पक्षी पनि पाल्ने गरिन्छ । विदेशमा नेपालमा पालिनेभन्दा केही बढी जनावरहरू पाल्ने गरिएको पाइन्छ । तिनमा ऊँट र अल्पाका पर्छन् । गाई भैसी र बाख्रा सबै दूध र मासुका लागि पालिने जनावर हुन् । यिनमा केही भिन्नता छैन भन्ने खालका आवाजहरू एकताका तीन नम्बर प्रदेशकी सभामुख राधिका लामाको अभिव्यक्तिपछि केही नेताहरूले नै उनलाई प्रोत्साहन दिनका लागि भनेका थिए । 

उनीहरूको कुरा आफ्नो ठाउँमा ठिक हो वा बेठिक त्यो फरक कुरो हो । गाई पनि भैंसी जस्तै प्राणी हो त्यो सही हो तर गाई हिन्दुहरूको आस्थासँग जोडिएको प्राणी पनि हो । नेपालका सबै गरेर ९० प्रतिशतभन्दा बढी हिन्दु र हिन्दुसम्बद्ध मानिसहरू बस्ने गरेका छन् । पछि राधिका स्वयंले पनि मलाई चेलीबेटी बेचुवाहरूले फसाए भनेर आफ्नो बचाउ गरिन् । उक्साहटमा, लल्कारमा, प्रलोभनमा, आवेस र अज्ञानतामा नेपालमा गौहत्या हुने गरेको पाइन्छ । गाईलाई नेपालको राष्ट्रिय जनावरबाट हटाउन पर्छ भन्ने आवाज पनि उठेकै हो । नेपाल धर्मनिरपेक्ष हुँदा पनि गाई राष्ट्रिय जनावरका रूपमा रहिरहृयो । 

एकताका एकजना नेताले वीरगञ्जमा गएर मुसलमानहरूले गाई काटेर खान पाउनुपर्छ भनेर बोल्ने बित्तिकै उनको व्यापक रूपमा विरोध भएको थियो । यसको प्रतिरोधको वक्तव्य सबैभन्दा पहिले पोखराबाट अलि मियाले निकालेर हामी नेपाली मुसलमानहरू नेपालमा गाई काटेर खाँदैनौँ भनेका थिए । यसबाट परम्परा र रीति संस्कृति कानुनभन्दा पनि माथि हुन्छ भन्ने देखिन्छ । 

अपराध भनेको समय र स्थानले पनि निर्धारित गरिदिएको हुन्छ । २०२० साल साउन मसान्तसम्म बालबिबाह, बहुविवाह र अनमेल विवाह अपराध थिएनन् तर त्यसको भोलिपल्ट २०२० साल भदौ १ गतेबाट ती अपराध मानिए । यसैगरी नेपाल सरहदभित्र गौहत्या अपराध हो भने नेपालबाहिर त्यही कार्य अपराध होइन । 

त्यसैले नेपालगञ्जबाट दैलेख वा सुर्खेत जस्ता पहाडी जिल्लाका वनजंगलमा लगेर छोड्न धेरै ठूलो संख्यामा गाईहरू पठाएर सामूहिक रूपमा तिनको हत्या हुनु जघन्य अपराध हो । केही समयपहिले नेपालगञ्जका सडकहरूका छाडा गाई संकलन गरेर कान्जीहाउसमा राखिएका गाईहरू ट्रकमा राखेर पहाडी निल्लातिर पठाइयो । समस्या यहीँबाट सुरु भयो । अर्को जिल्लासँग समन्वय नभई यसरी ती जिल्लाहरूमा पठाउनु नै हुँदैनथ्यो । 

कि पहिले नै तिनलाई मार्ने नियतले नै पठाइएको हुनुपर्छ । ट्रकमा निसास्सिएर केही गाईहरू मरेका हुन् भने तिनको राम्ररी व्यवस्थापन गरिनुपथ्र्यो । यत्रतत्र फालेर छोड्दा त्यसबाट फैलिने दुर्गन्ध र रोगको पनि विचार गरिएन र मरेकासँगै जिउँदालाई पनि घाइते अवस्थामा छोड्नाले त्यसमा अमानवीय क्रूरता पनि देखियो । किन त्यसो गरियो त्यसको छानविन त भइरहेको छ, निष्कर्ष आउला तर न नेपालगञ्जका गाई हावापनीका कारण पहाडी जिल्लामा बाँच्न सक्थे न तिनलाई ती जिल्लाहरूमा लगेर छोड्नुको कुनै निदिष्ट उद्देश्य नै देखियो । बरु नेपालगञ्जमै लिलामीमा दिएको वा कसैलाई निःशुल्कै रूपमा पाल्न दिएको भए हुने थियो ।

नेपालगञ्जका मेयर धवलशमशेर राणा अपवाद मेयर हुन् । उनले विसम परिस्थितिमा पनि मेयर जिते । उनी त्यहाँ जनप्रिय रहेछन् भन्ने यसबाट थाहा भयो । अझै उनले त गाई चिहृन लिएरै चुनाव जितेका हुन् । उनको पार्टी राप्रपा नेपालले जेडदार रूपमा हिन्दुराष्ट्रको माग पनि गर्दै आइरहेको छ । गाईको मात्र कुरो होइन जुनसकै प्रकारको घरपालुवा जनावरलाई जंगलमा लगेर छोड्नु भनेकै घुमाउरो प्रकारले बाघ भालुजस्ता हिंस्रक प्राणीलाई सुम्पनु भन्ने हो । 

त्यसैले हिन्दुधर्मप्रति चौतर्फी आक्रमण भइरहेको वर्तमा सन्दर्भमा यस्ता क्रियाकलाप हुनु निन्दनीय मानिन्छ । नगरपालिकाहरूलाई बोझ बनेका यस्ता प्राणीहरूसम्बन्धी समस्या कि कानुनसम्मत तरिकाले कि व्यावहारिक रूपमा सबैलाई मान्य हुने गरी समाधान गर्नु उचित हुने देखिन्छ ।  


Views: 64

सम्बन्धित सामग्री:

मेरो बिहे

बिनु लुइँटेल : भदौ २८, २०७६ (१०:४६ AM)