20th February | 2020 | Thursday | 10:55:56 AM

व्यंग्योक्ति : मोईसोल्लर र च्याँख्ला महात्म्य

यस निरौला   POSTED ON : भदौ २८, २०७६ (१०:३८ AM)

व्यंग्योक्ति : मोईसोल्लर र च्याँख्ला महात्म्य

अँ, शीर्षकमा च्याख्ला शब्द छ नि चाइन्जो त्यसको अर्थ के हो भन्देखिन् च्याँख्लाको भात भनेको हो । भात, चाइन्जो चारवटा जिनिसको पकाउन सकिन्छ । एक चाइन्जो चामलको, दुई च्याँख्लाको तीन गहुँको र चार कागुनीको । मोईसोल्लर त चाइन्जो मोईको सोल्लर भैहाल्यो । मोईलाई चाइन्जो कसैले मही र कसैले भने मोही भन्दछन् । म चैँ चाइन्जो मोई भन्छु । हो, त्यसैको विशेष विधि पु¥याएर तयार पारेको चाइन्जो खाने चिज नै सोल्लर हो । चाइन्जो यसको पनि आआफ्नो जिब्रोअनुसार उच्चारण हुन्छ । सोलोर, सोल्लर, सोल्डर । 

च्याँख्लाको पनि जिब्रैपिच्छे चाइन्जो उच्चारण फरक हुन्छ । कतै चाइन्जो यसलाई चेक्ला, कतै चेख्ला, कतै च्याख्ला, कतै चखला र चुर्पुबाट उँभो लाग्दा त बिहीबारेसम्मन् च्याँख्ला । हो, तेतैतिर हो चाइन्जो च्याँख्लासित जोडिएर बोल्ने गरिएको छ परियाको मासु र च्याँख्लाको भात । नेपाली भाषाको विशिष्ट भाषिकाका रूपमा यस्ता शब्दहरू रहेका छन् । भो, यस्ता ताइँ न तुइँका कुरा गरेर हुँदैन । यस्तो व्यस्त समयमा छोटो छरितो कुरो पढ्छ मान्छेले । बेकारका लम्बेतान कुराको के अर्थ ।

विषयको लयमा फर्कौं अब । हामीलाई च्याँख्ला र मोइसोल्लरको महिमा बुझ्नु छ । सर्वप्रथम मकैलाई जाँतामा मल्ख्याउने । सोपश्चात् नाङ्लाले निफननाफन पारेर मल्खु छुट्याउने । तत्पश्चात् पुनः मल्खु पिँध्ने । त्यसपछि छिन्कने । त्याँबाट भुडुल्के भाँडो वा धलवटे कसुँडीमा च्याँख्ला हालेर तिनपानी चौलाउने । तेति गरिसकेपछि चुलामा बसाउने । कस्तो किसिमको भात पकाउने हो त्यैअनुसार पानी हाल्ने । जस्तो दार्मेकोदाको पिठो हालेर मस्काएको वा पिठोचाम्ले मकैकै पिठो हालेर मस्काएर पकाउनु छ भने धेरै पानी हालेर फत्काउनु पर्छ । 

सामान्य च्याँख्ला पकाउन चाहिँ मन्द आगो लगाउने । जब उम्लिन थाल्छ तब पुनिउँले चलाको चलायै गर्ने । पानी सुक्तै गएपछि फ्यात्, फ्यात्, फ्यात्, फ्यात्, फ्यात् गरेर फत्किन्छ । आगो ओझाउने । भुङ्ग्रो कायम राख्ने । जब ठ्यास् ठ्यास् ठ्यासको आवाज आउँछ, तब थालले छोप्ने अनि भुङ्ग्र्रामा भस्र्याउने । जति राम्ररी भर्सिन्छ त्यति च्याँख्ला स्वादिलो हुन्छ ।

अब कुरो आयो मोईसोल्लरको । यो पकाउन सजिलो छ । यसका आधारभूत कुराहरू भनेकै सुकेको खोर्सानी, नुन, घिउ । तेलको भुटुन यसका लागि वर्जित छ तथापि अड्को पड्को तेलको धुप भनेझैँ तेलको प्रयोग गर्नै नसकिने चाहिँ होइन । यसलाई तयार पार्न विशेष सिपको आवश्यकता पर्दैन । कराही बसाल्ने । घिउ हाल्ने, नुन हाल्ने,  खोर्सानी हाल्ने, पतपती ध्वाँ छुटुन्जेल डढाउने । डढ्नै पर्छ । छेउछाउका मान्छेहरू ख्याक्क खुक्क खोकून् । 

खोर्सानी कति हाल्ने भन्ने कुरा चैँ खानेवालाको स्वाद, बानी, उमेर, स्वास्थ्य आदिले निर्धारण गर्छ । अब कराही अग्यानाबाट निकाल्ने अनि झ्वाइँइँय मोई हाल्ने । तुरुन्तै चलाको चलायै गर्ने । मोइसोल्लर धेरैबेर कराहीमा नराख्ने । यसअघि नै खाना खाने उर्दी भैसकेको हुनुपर्छ । दुबै चिज तयारी भयो ।

थाल थालमा च्याँख्ला र बटुका बटुकामा मोईसोल्लर पस्कने । अब खाने । आफूलाई कसरी खाँदा सहज पर्छ त्यसैगरी खाने । जस्तो मुछेर । चोबेर । पैले च्याँख्ला क्वाप्प मुखमा हाल्ने अनि सोल्लर सुरुप्प पारेर । स्वैच्छिक । म चाहिँ मुछेर लतार्छु । दौराका बाउला उँभो सारेर सप्र्याङ् सप्र्याङ् । टन्न भुँडी पार्ने ।

यी अलि फोगट्या कुरा गरेँ । कुरो मोडौँ । मोईसोल्लर र च्याँख्लाका सत्गुणहरू छन् । हजुरआमा भन्नुहुन्थ्यो, ‘च्याँख्लाको भात र मोईसोल्लर खाएका दिन भुँडी हलुको हुन्छ ।’ एक जना शिक्षक भन्छन्, ‘म त मोईसोल्लर र च्याँख्ला भेटेँ भने त मासु भातै छोड्छु ।’ वैद्यजी भन्छन्, ‘हेर्नुस् च्याँख्ला सजिलै पच्छ । मोईसोल्लरले जिउमा पानी पुग्छ । अमलपित्त रोगीलाई यसले निमन पार्छ । ग्यास्ट्रिक हुन पाउँदैन ।’

कविराजजी थप्नुहुन्छ, ‘मोइसोल्लर र च्याँख्लाले साह्रै भलो गर्छ । पाचनअग्नि सजिलै प्रज्ज्वलित हुन्छ अनि सहजै जल्छ । भोक लाग्नु भनेको हामीले खाएको खाना पच्नु हो, डढ्नु हो । स्वास्थ्यका लागि छिटै भोक लागेको असल । यसले रुचिको मात्रा बढाउँछ । भोक नलाग्ने समस्या भएकाहरूलाई यसले भोक जगाउँछ । उच्च रक्तचाप हुनेलाई समेत फाइदै फाइदा ¤

डाक्टर साब भन्नुहुन्छ, ‘च्याँख्लाको खानेकुरा बेस्ट छ । यसले डाइजेस्टिब सिस्टमलाई अवरोध आउँन दिँदैन । यसको अझ ग्रेट गुन के छ भने सुगर लेबललाई कन्ट्रोलमा राख्छ । डाइजेस्ट गराउनमा भूमिका खेल्ने काम गर्छ । मोइसोल्लर को सेवनले डिहाइड्रेसन हुन दिँदैन । च्याँख्ला र मोइसोल्लर किड्नी, लिभर, ड्युडेनम फ्रेन्ड्ली खाद्यवस्तु हुन् । सफ्ट हुने भएकाले पायल्स भएका वा यसको अपरेसनपछि पनि सेवन गर्दा राम्रो हुन्छ । यसले स्टुललाई सफ्ट बनाउँछ । यो खानेकुराले एनसलाई हार्म गर्दैन । यसका महिमा नगाउने को होलान् र ¤ जो पनि केटकेटी, बुढाबुढी, युवायुवती सप्पै ।

अहिले पहिचानको कुरो उठिरहेको अवस्थामा खानेकुराले पनि पहिचान दिन्छ । च्याँख्लाको भात नेपालीहरूको मौलिक पहिचान हो । सोल्लर खाने बानीले पशुपालनमा बल पुग्छ । ‘मिल्क होलिडे’ कम हुँदै जान्छ । खाद्य परनिर्भरता हट्छ । आफ्नै खेतबारीमा खेती हुन्छ । बाँझो बस्न पाउँदैन । पैसा बाहिरिँदैन । स्वास्थ्य ठिक हुन्छ । मकैखेतीमा किसानहरू उद्यत हुन्छन् । मकै धेरै उत्पादन हुँदा बाख्रा कुखुरा, परेवा पालन सहज हुन्छ । फाइदै फाइदा ¤ काइदै काइदा ¤

ल, तपाईं पनि भरेको छाक यै चिज खानुस् त ! पल्किनुहुन्छ !

जय मोईसोल्लर ! जय च्याँख्ला !

कालिकादेवी मावि पञ्चन

थुदुगाउँपालिका, सोलुखुम्बु ।  


Views: 133

सम्बन्धित सामग्री:

मगध शासनको कालो छाया

राजन कार्की : फाल्गुन ८, २०७६ (१०:०५ AM)