20th February | 2020 | Thursday | 11:56:35 AM

नेपाल–भारत खुला सीमाका विकृति

डा. सुमनकुमार रेग्मी   POSTED ON : आश्विन ५, २०७६ (४:४८ PM)

नेपाल–भारत खुला सीमाका विकृति

नेपाल र भारतबीचको खुला सिमानाको दुरुपयोग गर्दै एकातिर अपराध अर्कोतिर लुकिछिपी बस्ने प्रवृत्ति बढ्दै गइरहेको देखिन्छ । यसले सीमावर्ती क्षेत्रलाई असुरक्षित बनाएको मात्र होइन कुनै नियन्त्रणकारी उपाय अपनाइएन भने भविष्यमा पहिलेदेखिका आपराधिक प्रवृत्तिमा अझै वृद्धि हुनेसमेत सम्भावना छ । खासगरी भारतीय क्षेत्रमा हत्या, हिंसा, अपहरण, डकैती, फिरौती आदिका अपराधी नेपालतर्पm लुक्न आउने गरेका छन् । यसबाहेक सीमा क्षेत्रमा तस्करी र अन्य अपराध बढ्दै गएको छ ।  

नेपाल भारतबीचको दशगजा क्षेत्रमा अतिक्रमण बढ्दै गएको छ । अति संवेदनशील मानिने दशगजा चौतारा र आँगनका रूपमा प्रयोग हुँदै आएको छ । अन्तर्राष्ट्रिय कानुनअनुसार दशगजा अतिक्रमण गर्न पाइँदैन । सीमावर्ती क्षेत्रका बासिन्दाले त्यसको बेवास्ता गर्दै आएका छन् । दुवै देशका स्थानीय प्रशासनले नियन्त्रणको प्रयाससमेत गरेको पाइँदैन । कतिपय स्थानमा खेती र अन्न दाइँ गर्ने थलो दशगजा भएको देखिन्छ । दशगजा क्षेत्रमा प्रशस्त मदिरा पसल खुलेका देखिन्छन् । 

भारतले आफ्ना क्षेत्रमा र नेपालका नदीहरूमा बाँध बाँध्दै गरकोले नेपालको लागि डुबान प्रमुख समस्या बन्दै आएको छ । भारतीय अधिकारीहरूले वर्षेनी दक्षिणतिर बाँध अग्ल्याउँदै गरेका छन् । खुला सिमानाका कारण हातहतियारदेखि लागुपदार्थसमेत वारपार हुने गरको छ । विभिन्न अनधिकृत व्यक्तिहरूको आवतजावत र कतिपय अवस्थामा आतंककारी क्रियाकलापका निम्तिसमेत सहज भएको छ । 

नेपाल र भारतबीचको खुला सिमाना द्विपक्षीय घनिष्ठ सम्बन्धको एउटा द्योतक पनि रहिआएको छ तर यस्तो खुला सिमानाको सदुपयोगभन्दा दुरुपयोग बढ्दै गएको छ । त्यसर्थ दुई देशबीचको खुला सिमाना व्यवस्थित पार्दै जान अत्यन्त आवश्यक देखिन्छ । यसको सदुपयोगभन्दा बढी दुरुपयोग हुनु र जोखिम बढ्दै जानु दुवैतर्फका लागि चिन्ताको विषय रहँदै आएको छ । 

केही वर्ष अघिदेखि भारततर्फ सशस्त्र र सीमा बल अर्थात् एसएसबी र नेपालतर्फ सशस्त्र प्रहरी बलले सीमाको सुरक्षा निगरानी गर्दै आएका छन् । उनीहरूबीच सामान्य समन्वय रहेको पनि देखिन्छ तर त्यो प्रभावकारी हुन सकेको छैन । दुवै देशबीच रहेको १७ सय ५० किलोमिटर लामो सीमानालाई पूर्णरूपमा खुला राखेर सुरक्षा निकायको भरमा त्यसलाई अपराधरहित बनाउने भन्ने कुरा आफैँमा असम्भव देखिन्छ । 

बेलाबेलामा भारतीय नागरिक नेपाली क्षेत्रमा पसेर नेपालीहरूलाई निर्घात कुटेको खबर बेलाबेलामा आइरहेको हुन्छ । यस्तो काम चाँदनी दोधारामा पनि हुने गर्दछन् तर हतियारसहित भारतीय सुरक्षाकर्मी नेपाल पस्ने घटना रोकिएको छैन । नेपालको निर्भरता पनि नेपालभन्दा भारतपट्टि नै बढी भएकाले यस्तो हुन सक्छ । 

नेपालभारत सिमाक्षेत्रबाट नेपाली सीमावर्ती क्षेत्रमा नेपालीले कच्ची बाटो र कलभर्ट बनाएकोमा भारतीय सुरक्षा बल अर्थात् एसएसबीले त्यस्ता कलभर्ट बिगार्दै आएका छन् तर भारतले नेपालको क्षेत्रमा ठूला ठूला बाँध बनाउँदा नेपालीले त्यस्तो बाँध बिगार्न सकेको देखिँदैन । यसले भारतको मिचाहा प्रवृत्ति प्रष्ट देखिन्छ । 

अन्तर्राष्ट्रिय सीमा सिद्धान्तअनुसार जंगे सीमाखम्बाको दुवैतर्फ दश दश गज चौडा निर्जन भूभाग रहनुपर्ने हो । मूल सीमा खम्बा नासिदै गएकाले दशगजा क्षेत्र कायम नरहनु झगडाको बिउ हँुदै आइरहेको छ । गुगल नक्सालाई होइन तर दुवै देशबीच संयुक्त रूपमा तयार पारिएको नक्सालाईमात्र आधिकारिक सीमानक्सा मानिन्छ । 

नेपाल र भारतबीच ९७ प्रतिशत नक्सांकन भई १८२ थान सीमानक्सा संयुक्त रूपमा तयार पारिएको थियो । यस्ता नक्साको फोटोकपी सीमा जिल्लास्थित प्रजिअ र सशस्त्र प्रहरीका डीएसपी वा एसपीले मात्र हेर्न सक्ने गोप्य कागजातका रूपमा उनीहरूलाई प्रदान गरिएको भए त्यस्ता नक्साको विवरण जमिनमा भिडाई सीमारेखा आकलन गरिँदा कञ्चनपुरका जस्ता घटना हुने थिएनन् । 

कहिलेकाहीँ भारतीय एसएसबीका जवान सीमावारि आई नेपालीलाई कुटपिट गर्ने गरेका छन् । यस्ता घटनाको विरोधमा उत्रिएका स्थानीय तिनको गोलीबाट घाइते भएका र केहीको मृत्यु हुने गरेको पनि देखिएको छ । खुला सिमानाका कारण नेपालका अपराधी भरतमा र भारतका अपराधी नेपालमा लुकेर बस्दै आएका छन् । सीमापार अपराध दुवै देशका समस्या बनेका छन् । खुला र अव्यवस्थित नाकाले दुवै देशका अपराधीलाई फाइदा पुगेकोले सीमामा हुने अपराध नियन्त्रणका लागि दुवै देशका प्रहरीबीच समन्वय र निगरानी हुन आवश्यक देखिन्छ ।

सीमामा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि उद्योगव्यवसायीहरूले अन्तरदेशीय सुरक्षा टोली गठनको माग गर्दै आएका छन् । दुई देशका सुरक्षा अधिकारीबीच स्थानीयस्तरमा हुने सुरक्षा बैठकमा यस्तो सवाल उठ्दै आएको छ । सीमा व्यवस्थित गरी यताबाट उता र उताबाट यता आउने मानिसको विवरण संकलन गर्न आवश्यक छ भनेर पछिल्ला दिनमा प्रहरी अधिकृतहरूले पनि भन्दै आएका छन् । पकिस्तान र भारतबीच बढ्दो तनावले भारतीय सीमा सुरक्षा बलले नेपालसँग सीमा जोडिएका ग्रामीण नाकामा पछिल्ला दिनमा पहिचानपत्र हेरेर आवतजावत दिने गरेको छ । 

नेपालभारत सीमा क्षेत्रका करिब ७० प्रतिशत सीमास्तम्भ जीर्ण अवस्थामा छन् भनिन्छ । दुवै देशका संयुक्त प्राविधिज्ञ टोलीले निरीक्षण गर्दा यस्तो तथ्य पŒाा लागेको हो । स्थानीयले दशगजालाई खेत र सडकका रूपमा प्रयोग गर्दा सीमास्तम्भ फुटाएको निष्कर्ष निकालिएको छ । ७० प्रतिशतभन्दा बढी स्तम्भ जीर्ण भएर कामै नलाग्ने अवस्थामा पुगेको भारतीय सर्वेक्षण विभागका सर्भेयरले बताउँदै आएका छन् । मझौला तथा साना सीमास्तम्भ ड्यामेज भएका देखिन्छन् । यिनीहरूलाई फेर्नु पर्ने भनिएको छ । त्यस्ता स्थानमा तीन पाटे सीमास्तम्भ गाडिने भनिएको छ । 

जंगे पिलरको अवस्था तुलनात्मकरूपमा राम्रो भएको बताइएको छ । बाढीले बगाएका जंगे पिलर केही हराएको बताइन्छ । साथै नेपाल र भारतका किसानले दशगजा मिचेर खेती गरेको भेटिएको छ । नेपालीभन्दा बढी भारतीय नागरिकले दशगजा अतिक्रमण गरेको देखिन्छ । 

नेपालका विभिन्न जिल्लामा बेलाबेलामा सीमास्तम्भका अनुगमन गरिँदै आएको देखिन्छ । नेपाल र भारत छुट्याउने मुख्य र सहायक गरी बाँकेमा एक दर्जन सीमास्तम्भ हराएको देखिन्छ । जिल्लाका मुख्य ५ जंगे पिलर र सहायक गरी दर्जनभन्दा बढी स्तम्भ अहिले देखिँदैनन् । बाँकेका सीमामा मुख्य र सहायक गरी ३०७ स्तम्भ छन् । ३२ मुख्य स्तम्भमध्ये खोलाले पाँचवटा बगाएको बताइन्छ । त्यस्तै २७५ सहायक स्तम्भमध्ये ५ वटा बगेको र ३ वटा हराएको भनिएको छ । 

दुई देशका सीमासम्बन्धी संवेदनशीलताका कारण स्थानीयस्तरबाट गरिएको प्रयासले मात्र यिनको संरक्षण सम्भव छैन । राप्ती र अरू नदी क्षेत्रका सीमास्तम्भ बगाउँदा दुई देशको भूमि छुट्याउन समस्या भएको स्थानीयले बताउने गरेका छन् ।

नेपाल र भारतबीच नयाँ स्तम्भ बनाउने सन्दर्भमा नेपालका विभिन्न जिल्लाका केही ठाउँहरू भारततर्फ पर्न गएको देखिन्छ । यस्तो कार्य सरकारको तर्फबाट तुरुन्त रोक्न जरुरी छ । नेपाल र भारतबीचको खुला सीमालार्ई खोलानाला र जंगे पिलरले छुट्याएको छ । यस्ता सीमास्तम्भ वैज्ञानिक ढंगले व्यवस्थित गर्न नसके नेपालजस्तो कमजोर देशले सधैँ आफ्नो भूभाग वर्षेनी गुमाउँदै जानुपर्ने खतरा हुन्छ । पर्सा, बारालगायत ठोरी, सुस्ता, कालापानी र मेचीमा पनि भारतसँगको सीमानाको विषयमा झमेला रहँदै आएको छ । यस्ता विवादास्पद ठाउँको सीमाना यकिन नभएसम्म नेपालले नयाँ सीमांकन दस्ताबेजमा हस्ताक्षर गर्न मानेको छैन । 

खुला सिमाना नेपालको लागि चुनौती हो भने हाम्रो कमजोरीका कारण भारतको लागि अवसर जस्तो देखिएको छ । हामीले हाम्रा दशगजामा के के छन् भन्ने बारेमा बेलाबेलामा बुझ्दै जानु आवश्यक छ । बेलाबेलामा आएका घटनाले विवादित सीमा क्षेत्रमा दुवै देशको संयुक्त सर्भे टोेलीले रेखांकन गरी सीमा विवाद हल गर्ने, एसएसबीले गोली प्रहार गरेर नेपालीको मृत्यु भएको देखिए छानबिन गरी दोषीमाथि कारबाही गर्ने र मृतकको परिवारलाई क्षतिपूर्ति दिने तथा विवादबारे माथिल्ला निकायमा जानकारी गराउने सहमति बेलाबखतमा हुँदैआएका छन् । 

२०२० सालताका मेची नदी बगेको स्थान अहिले भारतीय भूभागमा छ । २०२२ सालमा नदीले धार फेरेपछि त्यो ठाउँ भारतले कब्जा गरको स्थानीयको भनाइ छ । नदीले धार बदले पनि आपूm बसेको भूभाग नछेडेकाले बाँकी भूभाग बचेको उनीहरूको भनाइ रहेको छ । स्थानीयको भनाइमा नदीले धार बदले पनि पुर्खाले जमिन छाडेनन् । जमिन छाडेको भए त्यो भारतको हुन्थ्यो । पुर्खाले बचाएका यस्ता क्षेत्र पनि रहेका छन् । महेशपुरमा बस्ने धेरैको नेपालको नागरिकता छैन । यस्ता बासिन्दा सीमाका रक्षक हुन् । महेशपुर गाउँमा बसोबास नभएको भए भारतले मेचीलाई सीमाना मान्दै धेरै नेपाली जमिनमाथि कब्जा जमाइसक्ने स्थानीयको भनाइ छ । 

तराई क्षेत्रका प्रमुख समस्या डुबान र कटान हुन् । तराईका नदीहरूले वर्षेनी सयौं बिघा जमिन कटान तथा सखाप गर्दै आएका छन् । सुस्ता, गण्डक जस्ता नदीका बाँधले नेपालका तराईका क्षेत्र जलमग्न हुँदै आएका छन् तर डुबान, सीमास्तम्भ र अरू थुप्रै समस्या जस्ताको त्यस्तै छन् ।




Views: 130

सम्बन्धित सामग्री:

मगध शासनको कालो छाया

राजन कार्की : फाल्गुन ८, २०७६ (१०:०५ AM)