19th October | 2019 | Saturday | 8:27:47 PM

भययुक्त लोकतन्त्र

राजन कार्की   POSTED ON : आश्विन १६, २०७६ (१०:०५ AM)

भययुक्त लोकतन्त्र

दिनभर बीपी, रातभर विप्लव हुनेहरूको कमी छैन । दिनभर असल मान्छे र रातभर राक्षस हुनेहरूको पनि कमी रहेन । पार्टीलाई गुठी बनाएर चलाएपछि हुने क्षतविक्षत नै हो, क्षति नै हो । यसको मूल कारण गणतन्त्रलाई स्वार्थ, सम्पत्ति, सम्पन्नता र एकाधिकारमा खडा गरेपछि गणतन्त्रमा गण गौण हुनपुग्छ । अलिकति विषले पोखरी विषालु बनाइदिन्छ, एउटी गणिकाले गणतन्त्रको धोती खोलिदिन्छे ।

सर्वहारा सर्वहारा भनेर जीवन विताउने सतित्व लुटेर कसरी पतित हुनेरहेछन्, नयाँ नेपाल बनाउने सपनालाई कसरी पिपको पोखरीमा परिणत गर्ने रहेछन्, यसका लागि विश्वामित्रको कठोर तपस्या मेनकाले कसरी भंग गरेकी होलिन् भनेर पुराण पल्टाउन जरुरी रहेन । 

त्यस्तै दिन बन्यो असोज १३ गतेको रात । एउटी कर्मचारीको सारी तान्दा सभामुखको मुहारमा दुर्योधन देखियो, कम्युनिष्टले चलाएको संघीय गणतन्त्र नेपाल अन्धो बन्दै गएको थियो, धृतराष्ट्रको उदय पो भयो ।

कुनै पनि व्यवसाय, पेशा वा समाजसेवामा धर्म र पापको लक्ष्मणरेखा कोरिएको हुन्छ । ती हुन–सिद्धान्तहीन राजनीति, श्रमविहीन सम्पत्ति, विवेकहीन भोगविलाश, चरित्रविहीन शिक्षा, नैतिकताविहीन व्यापार, मानवताविहीन विज्ञान र त्यागविहीन पूजा ।

नेपाली शासन प्रशासन, कानुन व्यवस्थामा माथिका सातै धर्मको निर्वहन देखिँदैन । जे देखिन्छ, त्यो अन्याय, अत्याचार, अमानवीयता, अराजनीति, अनुशासनहीनता, सिद्धान्तविहीनता, चरित्रहीनता, अनैतिकतामात्र देखिन्छ । जब चाहिने कुनै गुण नै छैन भने त्यसलाई कसरी गणतन्त्र मान्ने ? गुलाफ हुन रङ होइन, बासना चाहिन्छ भन्ने सर्वमान्य मान्यता छ, नेपाली गणतन्त्र कागजी गुलाफ हो, जसमा पटक्कै कुनै खालको सुवास छैन । कमल कोइरालाले त्यसै भनेका होइनन्–नेपाली कम्युनिष्ट पार्टी कन्दनी पार्टी बन्दैछ ।

बाइबल मान्नेका लागि बाइबलमा लेखिएको छ– मृत्यु नभएसम्म तिमी पसिनाको रोटी खाऊ । हाम्रै समाजको लोकोक्ति पनि छ– हर्रो नपाउने जाइफल धाउँदो, जो गर्छ झेला उही पर्छ फेला । नेपाली राजनीतिमा जे भइरहेको छ, ठ्याक्कै यही भइरहेको छ । शेक्सपियरले लेखेकै छन्– कायरहरू मृत्यु हुनुपूर्व धेरै चोटी मर्छन् । ठूला क्रान्ति गरेर आएकाहरूका हातमा सत्ता, शक्ति, प्रभाव त छ तर पटक मरिरहेका छन् । आफूमा भूइँफुट्टा संस्कार विकास गरेपछि मर्ने यसै गरी हो । मनमा संकीर्णता भरिएपछि आँखामा भौतिकवादी चश्मा लाग्छ, चश्माजस्तो लगायो उस्तै देखिने हो ।

त्यसैले जनयुद्ध र जनआन्दोलनबाट जे जति उपलब्धि हासिल भयो, ती उपलब्धिलाई नेतृत्वले गिलोजति सबै हलुवा हुन्छ भन्ने साचोमा ढालेका छन् । जुन सर्वथा गलत हो ।

चुट्किला भन्न सक्यो भने वीरबल भइन्छ भन्ने मानसिकताका कारण टुप्पाबाट पलाएकाहरू अहंकारी हुन्छन् भन्ने चलनचल्तीको मान्यतालाई पुष्टि गरिरहेको छ । मान्छेको महिमा, पदको गरिमा, विश्वासको सम्मान, कर्तव्यको बोध नभएकाले परिवर्तनका पहरमा सूर्य उदाएको त हो, यो सूर्यले न्यानोपन दिन सकेन । यो कथित सूर्य त उदायो, राष्ट्रिय जीवनमा उज्यालो छर्न सकेन ।

यो सूर्यछापेहरू आप्रवासीलाई अंशियार बनाइरहेका छन्, विदेशी ज्वाइँलाई वंशियार । यो सबै रोगको कारण लोकतन्त्रको अनुष्ठानमा नियम नपु¥याउनाले हो । जे गरे पनि हुन्छ कसले के गर्नसक्छ भन्ने मानसिकता विकास भएको छ, त्यसैले अर्थ नजान्ने अर्थमन्त्री, कूटनीति नजान्ने परराष्ट्रमन्त्री, आठपासे राष्ट्रपति, दशपासे प्रधानमन्त्री, आसेपासे नाताकुटुम्ब सबै सरकारी ज्वाइँसरह लाभका पदमा आसीन हुनपुगेका छन् र तिनले कार्यपालिकालाई मात्र होइन, व्यवस्थापिकालाई समेत सरकारी आदेशमा चल्ने अंग बनाइदिएका छन् । यसैलाई भनिन्छ, सडल राजनीति । विधि निर्मातालाई ६ करोड दिएर ठेकेदार बनाउने सोच नै कुशासनको जग हो । विधि बिग्रिएपछि राष्ट्र लथालिंग हुनु स्वाभाविक प्रक्रिया नै हो ।

२०१५ सालमा बेदानन्द झाले मधेस कांग्रेस पार्टी खोलेका थिए, लोकतन्त्रमा काजीमान कन्दङ्वाले मतवाली पार्टी । हाम्रो यात्रा अग्रगमनतिर छ कि पश्चगमनतिर ? हाम्रा केही नेता अर्नेष्ट हेमिङ्वे बन्न सक्थे । अर्नेष्ट तिनै व्यक्ति हुन् जसले एउटा प्रतियोगितामा समय हुन्जेल केही गरेनन् र समय घर्कन लाग्दा रातारात काम गरे । उनी पुरस्कृत भएनन् । उनलाई बाबुले सम्झाए– यो असफलता तिम्रो भावी सफलताको सिँढी हुनसक्छ । यो शिक्षालाई पालना गरेका अर्नेष्टले पछि साहित्यमा नोबेल पुरस्कार पाए ।

सशस्त्र युद्ध र जनआन्दोलनमा सफल भएका नेताहरूले शासन, कानुन व्यवस्था मिलाउन निरन्तर असफल भइरहेका छन् । यो असफलता सफलताको सिँढी हुनसक्छ भनेर तिनलाई सम्झाउने कोही छैन । सर्वेसर्वा तर टुहुरा नेताहरूको भीड छ नेपालमा । स्वार्थका लागि मिल्छन्, स्वार्थका लागि टुट्छन्, फुट्छन् । स्वार्थबाहेक यिनले केही जानेका छैनन् । राजनीति सेवा हो भन्ने यिनको दिमागमा कहिले पनि घुसेन । राजनीति भनेको बेयरर चेक सम्झेका छन्, जसलाई जसरी पनि भजाउन सकिन्छ भन्ने भाइरस यिनको दिमागमा घुसेको छ ।

बेलायतमा एउटा घटना अहिले पनि सम्झना गरिन्छ । तरबारबाजीमा निपुण वाल्टर रेलाई एक युवकले लड्न लल्का¥यो । ठिटासँग के लड्नु भनेर रेले अस्वीकार गरिदिए । त्यो युवकले रेलाई थुक्क भनेर अपमानित ग¥यो । वाल्टर रेको जवाफ थियो– तिमीले थुक्यौ, म सजिलै सफा गर्न सक्छु । मेरो तरवार तिम्रो छातीमा घोपिदिएँ भने तिमी सजिलै पुछ्न सक्छौं भने आऊ लड्न । म तयार छु । युवकले टाउको झुकायो र फक्र्यो ।

हाम्रा नेताहरू र त्यो युवक उस्तै लाग्छ । देशको छातीमा विकृति र विसंगतिको तरवार घोपिएको छ । त्यसलाई निको पार्ने यी नेताहरूसँग कुनै उपाय छैन । त्यसैले भ्रमका खेती गरिरहेका छन् । आफ्नो काविलता देखाउन सकिरहेका छैनन् । अनेक विवाद र समाजमा गन्दकी फैलाएर त्यसैमा लुट्पुटिइरहेका छन् । मानौँ, फोहरका किरालाई फोहर नै मन पर्छ ।

सशस्त्रयुद्ध र जनआन्दोलनको मर्म भनेको विखण्डनवादीलाई माला, अखण्डवादीलाई विभेद, निषेध थिएन । आज जो नेपालीको भावना, एकता, देशभक्ति र जनसेवाको भुइँमा उभिएकै छैनन्, तिनीहरूका छातीमा नेपाल ताराको तक्मा झुण्डिएको देखिन्छ । यो परिवर्तनको कार्यशैलीमाथिको अहं प्रश्न हो ।

सशस्त्रयुद्ध र जनआन्दोलनमा कति मरे, कति अस्तव्यस्त छन्, यसको हिसाबकिताब कसैलाई मतलब छैन । जुनसुकै प्रकारको युद्ध होस्, युद्ध भनेको राम र रावणकै हुन्छ र नाम पनि यिनैको आउँछ । सशस्त्र युद्ध र जनआन्दोलन जित्नेहरू राम बन्न सके कि सकेनन् ? मर्यादा नाघेर रामको नाम बद्नाम गर्नेहरू शासक बनेका छन्, सत्य यही हो र यो सत्य अस्वीकार्य किन भइरहेछ ? समयको प्रश्न छ यिनलाई– नयाँ नेपाल बनाउँछु, समृद्धि र शान्ति दिन्छु भन्नेहरूको नतिजा काँडामात्र हो । काँडाले देश र जनतालाई घोचिरहेछ, घोच्नु र पीडा दिनु परिवर्तनले खोजेको हो ?

समाज विकृति छ, देश विकृत छ । सुन्दर बनाउने जिम्मा लिएपछि जवाफदेहीता त लिनैपर्छ । २०४६ सालपछि सुन्दर बनेन भनेर २०६३ सालमा अर्को परिवर्तन भएको हो । परिवर्तन भएको १३ वर्षमा नेपाल कति सुन्दर भयो त ?

मूल्यांकन गर्ने राजनीतिक शिल्पको हो । नवरसको स्वाद बन्नुपर्ने पद्धति विषालु मानिरहेका छन् जनजनले । नेताहरूले खानुपर्छ, कति खाने कसरी खाने । देश र जनताको ज्यानै लिनेगरी खान मिल्छ ? त्यस्तो राजनीति कसरी लोकतन्त्र हुनसक्छ ? सपना स्वर्गको देखाउने काम कृतघ्नको गर्ने, यो राजनीतिक रोडम्याप हो कि गफाडीको गफ ? विधिको शासन भन्ने अनि अपराधीको गुँड बनाएर असुरक्षा र अराजकताको शृंखलाबद्ध डढेलो सल्काउने ।

पुराणमा एउटा कथा छ, ययाति ऋषि यति शौखिन थिए कि आफ्नो जीवनकालमा गरेका आराम र आनन्द विहारले उनको मन भरिएन । त्यसपछि उनले छोराको बैंक पैँचो लिएर आफूलाई आनन्दको सागरमा तै¥याए । हाम्रा ठूलासाना पार्टीका नेता, शासक, प्रशासकहरूले राजतन्त्र, हिन्दूधर्ममात्र फालेनन्, लोकलज्जासमेत मिल्काएर लोकतन्त्रलाई हाटबजार बनाए, जनताको आँसु र रगतको पोखरीमा रजहाँस बनेर रमाइलो गरिरहेका छन् ।

सिस्नो रोपेर सुन्तला फल्दैन । नांगोपन असभ्यता, छाडापन र विकृत मानसिकता हो । नेपाली राजनीति सन्नी लिओनको नग्नतालाई लोकतन्त्रको सुन्दरता भनेर जनताको आँखामा अझै भ्रम छरिरहेछ । निर्वाचित नामधारी, लोकतन्त्रनामधारी, यस्ता निरोहरूलाई जनताले कति दिन पत्याउने ?

डोटीका खड्गबहादुर सिंह विष्ट कलकत्तामा एलएलबी पढ्दै थिए । उनले भारतमै ख्याति कमाएका थिए । सन् १९२६ मा एकदिन कलेज जाँदा अग्लो घरको झ्यालबाट फालिएको एउटा कागजको चिर्कटो उनका अगाडि झ¥यो । विष्टले त्यसलाई खोले, लेखिएको थियो–मेरो नाम मायादेवी राजकुमारी मैयाँ हो, मेरा घरमालिक हीरालाल अग्रवालले मलाई धेरैपल्ट बलात्कार गरे, मलाई बचाउनुप¥यो । 

विष्टले प्रहरी गुहारे, घूस खाएर प्रहरीले वास्ता गरेन । सातौं दिन विष्ट हीरालालको घरमा गएर उनलाई काटिदिए । मुद्दा चल्यो, अदालतमा विष्टले बयान दिए–महिलाको इज्जत बचाउनु मेरो धर्म हो, मैले काटेको हूँ । यस मामिलामा अंग्रेज शासकका श्रीमतीहरूले समेत विष्टको साथ दिएका थिए, उनको सजाय कम भयो र यो मामिलाबारे राजकुमारी मैयाँ विशेषांकसमेत कलकत्ताबाट प्रकाशित भएको थियो ।

आज खड्गबहादुर विष्टहरू देशमा छैनन् । नेपाली चेलीहरू कंगोसम्म पुगेर इज्जत बेचिरहेका छन् । जे छ त्यही बेच्ने हो भन्दै यौनकर्मी महिलाहरू देशैभरि छरिएका छन्, विदेशैभरि पुगेका छ्न । लोकतन्त्रले देशको शान्ति र सम्बद्र्धन ग¥यो कि गुमायो ? लोकतन्त्र लयमय कि भयमय ?

Views: 134

सम्बन्धित सामग्री:

कथा : त्रिवेणी

राजेश अधिकारी : कार्तिक २, २०७६ (१०:०४ AM)