19th November | 2019 | Tuesday | 12:52:06 PM

कथा : त्रिवेणी

राजेश अधिकारी   POSTED ON : कार्तिक २, २०७६ (१०:०४ AM)

कथा : त्रिवेणी

सहरिया जीवनको व्यस्तताको भुँमरीमा रुमलिएको दीपेश आफैँभित्र हराएको एउटा रङ्गमञ्चको पात्रझैं थियो । कलेजमा शिक्षण पेशामा आबद्ध नवविवाहित दीपेश आफ्नी सुन्दर पत्नीलाई भाडाको कोठामा एक्लै छोडेर बाध्यतावश बिहानदेखि बेलुकासम्म नै जागिर खान र ट्युसन पढाउनमा व्यस्त हुन्थ्यो । जीवनको गाडी गुडाउन र आफ्नी पत्नीलाई सुखसुविधा दिन उसले आफ्ना व्यक्तिगत खुसी र आकाङ्क्षाहरूलाई बाध्यताको भारले न्यौछावर गरेको थियो । बिहान छ बजे भट्भटे चढेर डेराबाट निस्किएको दीपेश बेलुका सात बजे गुँडमा फर्कन्थ्यो, खाना खान्थ्यो र एकछिन पत्नीसँग कुराकानी गरेर विस्तरामा थकित मुद्रामा पल्टिन्थ्योे र भुसुक्कै निदाउँथ्योे । बिहान साढे पाँच बजेतिर उठ्थ्यो र नित्यकर्म सकेर छ बजे काममा निस्किहाल्थ्योे । यसरी नै उसको नियमित दिनचर्या बित्थ्यो ।

दीपेश करिब दश बर्षअघि उच्च शिक्षा अध्ययन गर्न झापाबाट काठमाडौं आएको थियो । आकर्षक व्यक्तिŒव, मिजासिलो स्वभावको र मिठो स्वरको धनी दीपेश उच्च शिक्षापछि एउटा क्याम्पसमा अध्यापन गथ्र्यो । अध्यापनको साथसाथै ऊ विभिन्न साङ्गीतिक कार्यक्रम र रेडियोमा पनि गीत गाउने गथ्र्याे । अविवाहित दीपेशको क्रियाकलाप र व्यक्तिŒवबाट आकर्षित एउटी उसकै छात्रा दीपिकाले उसलाई मनको एउटा कुनामा सजाएर राखेकी थिई । काठमाडौंवासी सम्भ्रान्त परिवारकी एउटीमात्र छोरी दीपिका हरसम्भव दीपेशलाई आफ्नो बनाउन चाहन्थी । यही बहानामा उसले आफ्ना अरबपति व्यापारी बाबुलाई मनाएर दीपेशलाई आफ्नो घरमा सङ्गीतको ट्युसन पढाउने गुरुको रूपमा ल्याई । 

राजधानीकी रैथाने उच्च घरानाकी सुन्दर कन्या दीपिकाको सामीप्य र चञ्चलताले झापाली युवक दीपेशको दिलमा पनि प्रेमको बीज अङ्कुरण हुन थाल्यो । यी गुरुचेलीको सम्बन्धले शिक्षादीक्षाको साँघुरो दिवार नाघेर प्रेमालापको क्षितिज खुल्न थाल्यो । उनीहरू लुकीलुकी कहिले पार्कमा, कहिले रेष्टुरेन्टमा र कहिले सिनेमाघरमा भेटेर आफ्नो प्रेम दर्शाउन थाले । हुन त दीपेश र दीपिकाको कुल, घराना, सामाजिक प्रतिष्ठा आदिमा आकाश जमिनको फरक थियो । झापाली बाहुनको छोरा र काठमाडौंकी नेवारकी एकल छोरीबीच रीतिरिवाज, रहनसहन आदिबीच ठूलो अन्तर थियो । तर दीपिकालाई आफ्नो मनको राजा पाउन यी सामाजिक खाडलहरूले रोक्न सक्दैनथ्यो । 

फलस्वरूप एकदिन दीपिका घरबाट भागेर दीपेशसँग पोखरा गई । उनीहरूले पोखराको विन्द्यवासिनी मन्दिरमा देवीलाई साक्षी राखेर प्रेम विवाह गरे । सुखसयल र लाडप्यारमा हुर्किएकी एकल सन्तानले काठमाडौंका नेवारहरूले पाखे दीपेशसँग भागीविवाह गरेकोमा दीपिकाका बाबुआमा अति नै चिन्तित थिए । दीपिकालाई खोसेर ल्याऊँ त समाजमा इज्जत जाने, नल्याऊँ त त्यत्रो सम्पत्तिकी वारिस र बुढेसकालको सहाराछोरीबिना कसरी जीवन काट्ने ? दीपिकाका बाबुआमा दोधारमा थिए र आँसुको घुट्को पिउँदै बाँचिरहेका थिए ।

एक हप्ता पोखरामा मधुमास मनाइसकेपछि ती नवजोडी काठमाडौं फर्किए । दीपेशले दीपिकालाई आफ्नो डेरामा भिœयायो । नेवार जातका घरपति साहुसाहुनी, जसको आयात निर्यातको ठूलो व्यापारिक कारोबार थियो र त्यो कारोबार अविवाहित छोराले सम्हाल्थ्यो उनीहरूका एकल छोरा हिमेशले, जो दीपेशको मिल्ने साथी थियो, ले नवविवाहित दम्पतीलाई भव्य स्वागत गरे । भोलिदेखि नै दीपेशको पहिलाकैझैँ नियमित अध्यापन र ट्युसन पढाउने काम सुरु भयो । जिन्दगीको गाडी चलाउनको लागि दीपेश हप्तामा सातै दिन व्यस्त हुन थाल्यो । यता दीपिका चाहिँ दिनभरि एक्लै बस्नुपर्दा दिक्क हुन्थी । जाऊँ त एक्लै कता जाऊँ ? बसौँ त दिनभरि एक्लै बस्दा बस्दा ऐठन नै हुन लाग्यो । ऊ एक्लोपनाको पीडाले छट्पटाउन थाली ।

एकदिन अचानक दीपेशलाई शैक्षिक तालिमको सिलसिलामा तीन महिनाको लागि सिङ्गापुर जानुपर्ने भयो । ऊ बिलखबन्दमा प¥यो । नवविवाहिता दीपिकालाई लिएर जान पनि नमिल्ने, एक्लै डेरामा छोडेर जान पनि अप्ठ्यारो हुने र माइतीमा पठाउन पनि के मुख लिएर पठाउनू ¤ अपरिहार्यतालाई आत्मसात् गर्दै नवजोडीले एउटा निष्कर्ष निकाले । दीपिकालाई घरपति र आत्मीय साथी हिमेशको संरक्षणमा छोडेर दीपेश तीन महिनाको लागि विदेश जाने भयो । हिमेश ! मेरो अनुपस्थितिमा भाउजूको हेरचाह र सुरक्षा गर है साथी भन्दै दीपेश विमानस्थलबाट बिदा भयो । 

बिदाइपछि आँखाबाट आँसु झार्दै दीपिका हिमेशसँगै डेरा फर्की । दीपिका खाना पनि नखाई बिस्तरामा थचक्कै बसी । नवविवाहित जोडीको चाहना हरपल सँगै बस्ने, घुम्ने, रमाइलो गर्ने हुनु अस्वाभाविक होइन । त्योभन्दा पनि धेरै नवयौवना नारीले विवाहपछिको चाहना दबाएर बस्नुपर्दा दीपिका अधैर्य बनेकी थिई । जब असीमित इच्छाको अप्राप्यताले उसको धैर्यताको बाँध फुट्छ तब सामजिक मूल्य र मान्यताहरू तोडिन पनि सक्छन् । उसले आपूm नितान्त एक्लो महसुस गरी र छट्पटीबीच रातको अन्तिम प्रहरमा मात्र ऊ निदाउन सकी । एक दिन अचानक उसलाई टाउको दुख्यो र ज्वरो आयो । यो कुरा उसले मोबाइलमार्फत दीपेशको साथी हिमेशलाई भनी । हिमेशले दीपिकालाई आफ्नो गाडीमा राखेर अस्पताल लग्यो । स्वास्थ्य परीक्षणपश्चात् औषधिमूलो गरेपछि दीपिका पुनः डेरामा फर्की ।

भोलिपल्ट साँझपख हिमेशले दीपिकाको सन्चोबिसन्चोको खबर बुझ्न दीपिकाको कोठाको ढोकामा गएर टक्टक ग¥यो । दीपिकाले ढोका खोली र हिमेशलाई भित्र आएर बस्न अनुरोध गरी । 

‘भाउजू ! हजुरलाई अहिले कस्तो छ ?’ भन्दै हिमेश सोफामा बस्यो । ‘बाबुको सहयोगले अहिले मलाई सन्चो भएको छ’ भन्दै दीपिका हिमेशको लागि चिया बनाउन भान्सातिर गई । दीपिका आजकल हिमेशको सामीप्य पाएर एक्लोपनबाट मुक्त भएकी थिई । ऊ उसलाई लिएर रेष्टुरेन्टतिर जानथाल्यो । दुवैजना दीपिकाको कोठामा बेलुका अबेरसम्म बसेर सँगै खाना खान थाले । दीपिकाको एक्लोपना बिस्तारै हटेर गयो । 

एक रात दीपिकाले बिछ्यौनामा पल्टेर मनमनै डेरामा बसेर अभावै अभावको जिन्दगी बिताउनु परेको, दीपेशको व्यस्तता, बाहिर घुम्न जान नपाइएको, आफ्ना अन्तरइच्छाहरू परिपूर्ति हुन नसकेका कुराहरू सोच्न थाली । ऐश्वर्यले भरपुर माइतीको स्वतन्त्र जीवन अहिले डेराभित्र कैदी भएको पनि कल्पना गर्न थाली ऊ । ऊ बिस्तारै हिमेशमा सबै कुरा देख्न थाली र दीपेश र हिमेशको तुलना गरी । उसलाई कता कता नरमाइलो लाग्यो । अल्लारे वयमा सोचविचारै नगरी दीपेशसँग जोडी बाँधेकोमा अहिले उसलाई पश्चाताप हुन थाल्यो । बाबुआमा सम्झेर भक्कानिदै रुन थाली । रातभर सुत्नै सकिन । खाना पनि रुच्न छोड्यो ।

साँझमा हिमेशले दीपिकालाई फोन गर्यो । ‘एकछिन आउनु न बाबु, मलाई टाउको दुखिरहेको छ ।’ दीपिकाले रुन्चे स्वरमा उत्तर दिई । अफिसबाट हिमेश सिधै दीपिकाको कोठामा गयो । दीपिका आँखाभरि आँसु पारेर सोफामा हिमेशसँगै बसी र उसलाई अँगालो मारेर रुन थाली । हिमेश दीपिकाको व्यवहार देखेर छक्क प¥यो । दीपिका झन् झन् ऊसँग टाँसिएर रोई । हिमेश पनि नारीस्पर्शबाट अनियन्त्रित बन्यो । क्रमशः दुवै एकाकार भए । बिस्तारै दीपिका र हिमेशको प्रेमालाप सुरु भयो र यसले सामजिक मान्यताको क्षितिज पनि नाघ्न थाल्यो । 

दीपेश पनि तालिम सिध्याएर फर्कियो । दीपिकाको व्यवहारमा धेरै परिवर्तन आएको दीपेशले महसुस गर्न थाल्यो । दीपिका प्रायः फेसबुक चलाइरहने र घरको छतमा एक्लै गएर कसैसँग मोबाइलमा कुरा गरिरहने गर्थी । दीपिका दीपेशसँग पहिलाको झैँ हाँसखेल पनि गर्दिनथी । एक दिन दीपिकालाई सारै पेट दुख्यो । दीपेशले हिमेशसहित उसैको गाडीमा राखेर अस्पाताल लग्यो । अस्पतालमा दीपिकालाई जाँच गरेपछि ऊ गर्भवती भएको पत्ता लाग्यो । 

दीपेश छाँगाबाट खसेझैँ भयो । दीपेशलाई दीपिकाको पेटमा भएको नासो आफ्नो होइन भन्ने लाग्यो । हिमेश र दीपेशको सम्बन्ध पनि टाढिँदै गयो । उसले आफ्नो र हिमेशको सामाजिक र आर्थिक हैसियत तुलना ग¥यो र दीपिकाको लुप्त चाहनाबारे सोच्न थाल्यो । उसले आपूmलाई एउटा हारेको जुवाडे समान पायो र ऊ बिस्तारै अनियन्त्रित रूपमा रक्सीको लतमा फस्दै गयो । 

एक साँझ दीपेश एउटा रेष्टुरेन्टको कुनामा बसेर एक्लै रक्सी पिइरहेको थियो । यो रेष्टुरेन्ट उसको लागि चिरपरिचित थियो । पहिले धेरैपटक यो रेष्टुरेन्टमा दीपेश र दीपिका आइसकेका थिए । उसको मन तरङ्गित र विचलित थियो । रेष्टुरेन्टको अर्को कुनाको साउण्डबक्समा रामेश—रायनको गीत ‘वर्गीय समाजमा वर्गीय प्रेम मात्रै न्यानो र चोखो हुन्छ’ बजिरहेको थियो । यो गीतको भावले उसलाई छोयो र आत्मपरिचय पनि दिलायो । नशाले चुर भएको अनियन्त्रित दीपेशका आँखा रेष्टुरेन्टका अन्य टेबलहरूमा पर्न थाले । 

परको टेबलमा दीपिका र हिमेश पनि हाँस्दै र मस्किदै खाना खाइरहेका थिए । यो प्रेमजोडीलाई दीपेश त्यहाँ भएको आभास पनि थिएन । यो दृश्यले दीपेशको मनको शङ्काको बादल फाटेर सत्यताको नीलो आकाश छर्लङ्ग देखियो । नशाले चुर दीपेशले अनियन्त्रित हुँदै गएर रक्सीको बोतल हिमेशको टाउकोमा बजा¥यो । दीपिका आतिएर डरले चिच्याउन थाली । छेउका मानिसहरूले दीपेशलाई दुवै हातमा समातेर नियन्त्रणमा लिए । त्यति नै खेर हिमेश उठेर फुटेको रक्सीको बोतलले दीपेशको छातीमा प्रहार ग¥यो । रक्ताम्मे दीपेश ढल्यो र बेहोस भयो । दीपेशलाई अस्पताल लागियो । 

अस्पतालमा चार दिनपछि दीपेशको निधन भयो । यता त्यो अकल्पनीय दृश्य देखेर दीपिका पनि बेहोश थिई जसलाई हिमेशले अस्पताल लगेको थियो र दीपिका ठिक भएपछि ऊ हिमेशकै घरमा गएकी थिई । हिमेश रेष्टुरेन्टमा झगडा गरेको कारण एकछिन पुलिस हिरासतमा बस्यो तर ऊ उसको धन र शक्तिको आडमा हिरासतबाट तुरुन्तै छुटिहाल्यो । लाश बुझ्न कोही पनि नआएपछि दीपेशको बेवारिसे लाशलाई अस्पताल नजिकैको आर्यघाटमा अस्पताल प्रशासनले दाहसंस्कार ग¥यो । जलिरहेको लाशबाट धुँवा चारैतिर फैलिरहेको थियो । 

आर्यघाट छेउको सडकमा मसानघाटबाट बाहिरिरहेको धुँवाको पत्र चिर्दै हिमेश र दीपिका चढेको चिल्लो कार आर्यघाट नजिकैको प्रेमजोडी टहल्ने पार्कतिर हुँइकिँदै थियो । विवश धुवाँ मडारिँदै आकाशतिर यात्रा गरिरहेको थियो र आगोको लप्कोसँगै चट्चट् पड्किरहेको दीपेशको लाशको क्रन्दनयुक्त आवाज हिमेशको चिल्लो कारको म्युजिक सिस्टमबाट निस्किएको पप गीतको उच्च ध्वनिको तरङ्गमा थिचिएर बिलाइरहेको थियो । 

अल्लारे बैसालु जवानीको जोशमा होश गुमाएर दीपेशलाई अँगाल्न पुगेकी दीपिका, आफ्नो धरातल र वर्ग नजोखी जून छुन खोज्ने दीपेश र स्वार्थ र धोकेबाजीको माला लगाएको हिमेशको समर्पण, प्रेम र धोकोको अशान्त त्रिवेणी रातको अन्धकारमा टिल्पिल गर्दै रोइरहने ताराले आँखाभरि आँसु पार्दै हेरिरहेका थिए । मसानघाटबाट दीपेशको अशान्त आत्मा कालरात्रिमा धुवाँ भएर सगरतिर लम्किरहेको थियो । 

  


Views: 240