18th November | 2019 | Monday | 9:56:58 PM

देशको दर्दनाक तस्वीर

राजन कार्की   POSTED ON : कार्तिक २१, २०७६ (१२:४८ PM)

देशको दर्दनाक तस्वीर

महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेका थिए– प्रभुजी मलाई भेडो बनाऊ । २०४६ सालपछिको ३० वर्षे शासनको कहालीलाग्दो तस्वीर हेर्दा महाकविको लेखन र वर्तमान अवस्था उस्तै देखिन्छ । सन् १८५० मा जंगबहादुरले बेलायतमा नेपालको राष्ट्रियताको झण्डा फहराएका थिए । आज त्यति सम्मान पनि लोकतान्त्रिक सरकारले कायम राख्न सकेन ।

भारतले जम्मु काश्मीरलाई दुई राज्यमा ल्याएपछि जारी भएको नक्सामा नेपालको कालापानी, लिम्पियाधुरा क्षेत्रका ३७२ वर्गकिलोमिटर क्षेत्र भारतमा गाभिएको देखाइएको छ । गतहप्ता परराष्ट्रमन्त्रीले विज्ञ, विशेषज्ञ र ठूला पत्रकारलाई बोलाएर बंगलादेशका राष्ट्रपतिको नेपाल भ्रमण हुँदैछ भन्ने विषयमा छलफल गराए तर त्यति महŒवपूर्ण छलफलमा कालापानी, लिम्पियाधुरा, लिपुलेकका विषयमा कसैले सोधेनन्, न त सरकारले नै कुरो उक्कायो । 

नेपाल सरकार छ, सिंहदरबारमा छ, सीमामा छैन । जनजीवन र जनचासो, जनापेक्षा र जनविश्वासमा सरकार छैन । सरकार भ्रष्टाचार, अनियमितता, अधिनायकत्वमा छ, विधिको शासन र सार्वभौमिकताको सुरक्षामा छैन । राजा महेन्द्रले स्थापित गरिदिएको दौत्य सम्बन्धको विस्तारित संख्या १४७ भन्दा बढी मुलुकमा पुगिसकेको छ तर यो संख्यात्मक संख्यामात्र हो, गुणात्मकता घट्दै गएको छ । राजा महेन्द्र, वीरेन्द्रकालमा नेपालको आवाज राष्ट्रसंघमा कान थापेर सुनिन्थ्यो ।

नेपालले के बोल्छ भन्ने जिज्ञासा हुन्थ्यो । आज नेपाल सरकारका प्रधानमन्त्री अथवा परराष्ट्रमन्त्री राष्ट्रसंघको महासभामा सहभागी त हुन्छन्, अमेरिकी राष्ट्रपतिसँग सेल्फी खिचेर फर्कन्छन् । कम पढेका राजा महेन्द्रले त अमेरिकी संसद्मै भाषण गरेका थिए । त्यो कूटनीतिक ओज र ओजन आज छैन । नेपालको प्रभाव शून्य छ ।

अमेरिका, भारत, चीन, इयुदेखि स्केण्डिनेभियन मुलुकहरू नेपालमा इण्डोप्यासिफिकदेखि अनेक नीति, रणनीति लिएर नेपाली भूमिको सामरिक महŒवको उजागर गरिरहेका छन्, नेपाल भने नगरबधुको छुनुकमुनुकमा छिल्लिरहेको छ । कहाँ छ नेपालीत्वको गम्भीरता ?

लोकतन्त्रमा त नेपालको महŒव झन् बढ्नुपर्ने हो । असंलग्न आन्दोलन, सार्कको सोच, देशभक्तिपूर्ण इतिहास बनाउने व्यक्ति, संस्थाहरूलाई विस्मृतिमा हाल्नेहरू आफैँ चम्किन सकेनन् । प्रचण्ड, देउवा, ओलीजस्ता होनहार नेताहरूले प्राविधिक चुनाव जित्छन् तर तिनले जनताको विश्वास जित्न सकेनन् । राष्ट्रको अभिभावकत्व ग्रहण गरेर राजनेता बन्न सकेनन् । जनताको सेवक हुनुमा लज्जाबोध गर्ने नेताहरू विदेशीको भरिया बन्ने तत्परताका कारणले नेपालको इज्जत विश्वमञ्चमा क्षयीकरण हुँदै गएको हो ।

१९०३ असोज ६ गते राती कोतपर्व भएको थियो । कोतपर्वबाट जंगबहादुरको उदय भएको हो । त्यतिबेला तरबार, राइफल, खुकुरीले ३० देखि ४० जना काटिएका थिए । काटिनेमा प्रधानमन्त्री फत्तेजंग शाह, काजी दलभञ्जन पाण्डे, काजी अभिमान सिंह राना मगर, काजी वीरकेशर पाण्डेलगायतका थिए । मार्न लगाउने योजनाकार जंगबहादुर राणा र उनका समर्थक बमबहादुर कँुवर, भक्तवीर कँुवर, बद्री नरसिंह कुँवर, जयबहादुर कुँवर, जगतसमशेर कुँवर, धीरसमशेर कुँवर, रानामहेर अधिकारी, भोटु घनेको टोली थियो । १०४ वर्षे राणा शासन अन्ततः ढल्यो, राजा र जनताको जागरुकताले ढाल्यो ।

ती राणाहरू २००७ सालमा तितरबितर हुनपुगे । २०१७ सालको परिवर्तनमा मान्छे काटिएनन्, २०३७ सालको जनमत संग्रहमा पनि मान्छे काटिएनन्, न त २०४६ सालमै काटिए । राज्यविप्लवमा लागेका केही कानुनी सजायका भागी भए, जुलुस, नाराबाजी र भीडभाड भयो, विद्रोहको ठूलो स्वरसरावा पनि भयो तर ठूलो नरसंहार हुन पाएन ।

२०५२ साल फागुन १ मा माओवादी जनयुद्ध सुरु भयो र २०६३ साल मंसिर ५ गते बृहत् शान्ति सम्झौतासम्मको १० वर्ष ९ महिना ५ दिनमा जति मानिस काटिए, मारिए, त्यो नेपालको इतिहासको कालो कालखण्ड हो । जनयुद्धको यस अवधिमा २०५५ मा ओखलढुंगामा उज्जनकुमार श्रेष्ठ, २०५८ मा हेडमाष्टर मुक्तिनाथ अधिकारी, २०६० सालमा डेकेन्द्र थापा, २०६१ मा सम्पतलाल चौधरी, २०६३ मा प्रेमबहादुर थोकर, २०६२ सालमा माडीमा सार्वजनिक बस बिस्फोटलगायतका हत्याकाण्ड भुल्नै नसकिने नरसंहार हुन् । जनयुद्ध र जनआन्दोलनका महारथीहरूको हातमा शासनसत्ता आयो । तिनीहरू न विधिमा बस्न सके, न विधि बसाल्न सके, न राष्ट्रको निधि नै बन्न सके । फलतः जनता मारिने क्रमको निरन्तरता कायमै रहृयो ।

यो नरसंहारको जगमा लोकतन्त्र आयो, लोकतन्त्रको नाममा अर्को हुकुमी शासनको जन्म भएको छ । यति ठूलो क्रान्तिबाट आएको पद्धति, बनेको संविधान र संवैधानिक सरकार, हिन्दी उखानजस्तो– ‘खोदा पहाड निकला चुहा’ भएको छ । जुन जोगी आए पनि कानै चिरिएका । 

‘हिस्ट्री अफ नेपाल, ट्रान्सलेटेड फ्रम पर्वतीया’ भन्ने उक्त पुस्तकमा डेनियल राइटले लेखेका छन्– राजा लक्ष्मीनरसिंह मल्ल (१६२०–१६४१) को समयमा काजी भीम मल्ललाई अकारण मृत्युदण्ड दिएपछि सति जानुअघि उनकी श्रीमतीले दरबारमा कहिल्यै पनि विवेक नहोस् भनेर सराप दिएकी थिइन् । पछि पछुतो मानेर राजा पागल भएर मरे । त्यो सरापबाट आज पनि नेपाल मुक्त हुन सकेको देखिँदैन ।

प्र्रmेन्च दार्शनिक रेमन्ड आरोनले १९५५ मै बुद्धिजीवी वर्गलाई सचेत गराउन दि ओपियम अफ दि इन्टलेक्चुअल भन्ने पुस्तकमा लेखेका छन्– धर्मलाई अफिम ठान्ने माक्र्सवाद स्वयं अफिमजस्तै हो । नेकपा सत्ता, शक्ति र सम्पत्ति अफिममा लठ्ठिएको देखिन्छ ।

जे होस्, लोकतन्त्र आयो । २०६३ पछिका घटना हुन्, रौतहटको जिउँदै मानिस इटाभट्टामा पोलिएको । बलात्कार, हत्याका घटना पनि भएका छन् । जनयुद्धकालअघि, जनयुद्धकाल र जनयुद्धपछिको वर्तमान स्थितिमा पनि मानिसको मूल्य विधिको तराजुमा तौलने मानवाधिकार युगमा प्रवेश गरेकै छैन । राष्ट्रको निधारमा राजा फालेर लोकतन्त्रको साइनबोर्ड झुण्ड्याइएको छ, यो लोकतन्त्रमा न विधिविधान छ, न लोकाचार, न लोकले देख्ने र अनुभूति गर्ने लोक सरकार नै छ ।

यहीकारण हो, बेपत्ता र सत्य निरूपण तथा मेलमिलाप आयोग र राष्ट्रिय मानवाधिकार आयोगले छानबिन गर्न सकेनन् । यसमा सबैभन्दा ठुला दोषी नागरिक समाजका अगुवा र बुद्धिजीवी पनि छन् । तिनले आमनागरिकको प्रतिनिधित्व गरेर विवेकपूर्ण दबाब दिन सकेका भए आज पीडितले न्याय र पीडकले सजाय पाइसक्थे । विश्वले नेपाल दण्डहीन मुलुक भनेर भन्न सक्ने स्थिति रहने थिएन ।

आमनागरिकका तर्फबाट वकालत गर्ने कोही नभएकाले राजनीतिक वर्ग छाडा साँढे हुन पाएको छ । तिनले जवाफदेहिता निभाउन परेको छैन । जसले सजाय पाउनुपर्ने थियो, उनीहरू नै सत्तामा छन्, कानुन हातमा लिएर विधिको शासनलाई खेलौना बनाएर खेलाइरहेका छन् । देशको दुर्गतिको मुख्य कारक नागरिक समाज र बुद्धिजीवी हुन्, जो लालच र स्वार्थका लागि दल र नेताका गर्नै नहुने अपराधहरूलाई जे खायो पचायो गरिरहेका छन् ।

सबैभन्दा असफल राष्ट्र इथिओपिया थियो । केही वर्षमै इथिओपियाले काँचुली फेरिसक्यो । हुनुपर्ने नैतिक आचरण, हामी पद्धति फेरेर दुर्गति भोगिरहेका छौँ । २०३२ सालमा गलैंचा काण्ड भएको थियो, छानबिन अधिकारी थिए अनिरुद्रप्रसाद सिंह । उनी भन्थे, ‘घुस खाने र अपराध कर्म उज्यालोमा गरिँदैन ।’ २०७६ सालमा आउँदा घुस खाने र अपराध कर्म दिनदहाडै हुनथालेको छ । यो लोकतान्त्रिक नयाँ नेपाल हो कि जंगली राज ?

केही वर्षअघि जापानमा लकहिड कमिसन काण्ड भयो, भारतमा बोफोर्स काण्डको पर्दा खुल्यो । दुवै देशमा प्रधानमन्त्री दण्डित हुनपुगे । नेपालमा जहाज खरिद काण्ड, फोरजी काण्ड, एनसेल काण्ड, बालुवाटार जग्गा काण्ड, टुँडिखेल भाडामा लगाउने काण्ड, सुनकाण्ड, बलात्कार हत्याकाण्ड, जिउँदै मान्छे पोल्ने काण्डदेखि केमात्र भएन । यति ठूला काण्ड भइरहेका छन्, एकजनालाई दण्डित गरिएको छैन । सात महिनाका बालिकादेखि ७० वर्षकी बृद्धासम्म बलात्कारमा परेका छन् । भ्रष्टाचार शासन, प्रशासनमामात्र होइन, विश्वविद्यालयमा समेत महामारीका रूपमा फैलिएको छ । 

बेइमानीको आगो दन्किरहेकै छ, अलोकतान्त्रिक डढेलो निभाउन छाडेर लोकतन्त्रको बाजा घन्किरहेकै छ । मानौँ नेपालमा निरो अनैतिकताको संगीतमा लीन छन् । फ्रान्समा लुइस चौधौं राजा, म नै स्टेट हुँ भन्थे । आज नेकपाको सरकार म नै स्टेट हुँ भनेर मुलुकवासीलाई अरिंगालले टोकिरहेछ, बोल्नेजतिलाई छौंडा छाडेर सताइरहेछ ।

प्रतिपक्षमा नेपाली कांग्रेस छ, प्रत्येक असामाजिक, अराष्ट्रिय प्रकरणहरूमा मुछिएको छ । त्यसैले चुनाव हा¥यो र प्रतिपक्षसँग राष्ट्रिय मुद्दा उठाएर लोकतन्त्रको गरिमा र महिमा कायम गराउने नैतिक बल देखिँदैन । नेपाली कांग्रेस भारतको भवानीपुरको भीडबाट जन्मिएको हो र आज पनि त्यही भीडभन्दा अगाडि बढ्न सकेको छैन । 

नेकपा विचारको सैद्धान्तिक आदर्शमा अधारित पार्टी रहेन । नेताले राजनीतिलाई धन्दा बनाए । २०६३ सालको १९ दिने जनआन्दोलनदेखि राजाको विरोध भयो, राजालाई निरंकुश भने, राजतन्त्र फाले, आजका दिनसम्म पनि राजनीतिको मुद्दा किनारा लाग्न सकेन । राजनीति हिन्दुराष्ट्र र राजसंस्थाको वरिपरि नै छ । राजसंस्था र हिन्दुराष्ट्र फालेको कारण, यसको वैधानिक आधार देखाउन न कांग्रेसले सक्यो, न नेकपाले । लोकतन्त्र तर्साई खाने गल्लीको सान्चा पहलमानको मुखुण्डो बनेको छ ।

निष्कर्ष के हो भने नेपालीत्व बचाउने हो भने एउटा जंगे त चाहियो चाहियो । न नेपाल खोरिया हो, न नेपाली कमैया, कमारा हुन् । म जनताको सेवक बन्छु भन्ने जंगे आजको आवश्यकता हो । लोकतन्त्रको नाममा जुन अधिनायकत्व, जुन परिवारवाद, जुन माफियातन्त्र चलेको छ, त्यसको खारेजी नहुने हो भने नेपाल असफल हुने पक्का भो । जसलाई जता पायो उतै पेल्ने, ठेल्ने, घोच्ने, थिच्ने, निचोर्ने, मार्ने तन्त्र लोकतन्त्र हुनसक्दैन । लोकतन्त्रमा कानुन बलियो हुनुपर्छ । कानुन कुल्चने नेता र तिनका तलुवाचाट बलियो हुनु भनेको डरलाग्दो जहानियाँ शासन हो ।

व्यक्ति श्री ३ बन्न हुँदैन, फर्मान शासन लोकपद्धति हुनसक्दैन, अयोग्य र असक्षम शासक बन्न, अलोकतन्त्र हो । लोकतन्त्रको सुन्दरता भनेकै बहस, वाद प्रतिवाद, आलोचना, शुद्धता र शुद्धीकरण हो । म नै सर्वेसर्वा हुँ, म कानुनभन्दा माथि छु भन्ने खालको शासन लोकतन्त्र होइन, राणाशासन हुन्छ । नेपालमा कानुनी शासन छैन ।

नाकाबन्दीका समयमा देशको पक्षमा उभिँदा केपी ओलीलाई जनताले विश्वास गरेका हुन् । त्यो विश्वासलाई भ्रष्टाचारमा परिणत गर्दा जनविश्वास गुमिसकेको छ । नेकपाले सपना देखाएर र भ्रम छरेर यो देशलाई नयाँ पागलखाना बनाएको छ । जनतालाई सधैँ झुक्याउन सकिँदैन, सत्य यही हो ।

सत्य के पनि हो भने बेनिभोलेन्ट नेता माटोको माग हो । यस्तो नेता नजन्मिए अब देश बन्दैन, देश बच्दैन । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेर दिएका थिए, यो पुस्ताले सबल नेपाललाई कित्ताकित्तामा भागबण्डा गरेर सिध्याउने भए । त्यसकारण पनि नेपाली एकता र राष्ट्रियता जगेर्ना गर्नका लागि एउटा जंगे त चाहियो, चाहियो ।


Views: 124