18th January | 2020 | Saturday | 6:08:44 PM

हामी कति सभ्य !

विनोद दाहाल   POSTED ON : मंसिर ६, २०७६ (१०:२३ AM)

हामी कति सभ्य !

हामी सहरमा बस्छौँ, सहर पनि राजधानी काठमाडौंमा । हामीले यहाँ दैनिक विभिन्न कार्यमा संलग्नता जनाउनुपर्छ । यसका लागि त्यहाँ जानुपर्छ । धेरैजसोले सार्वजनिक यातायतका साधन प्रयोग गर्नुपर्छ । नजिकका ठाउँमा पैदलै गइन्छ । कतै कुनै समारोहहरूमा भाग पनि लिइन्छ । बाटामा साथीहरूसँग भेट हुन सक्छ । एकछिन उभिएर बोल्नुपर्ने पनि हुनसक्छ । 

विभन्न भोज भतेरहरूमा संलग्न हुनुपर्ने पनि हुनसक्छ । यस्ता हाम्रा सबै संलग्नताका हाम्रा सबै व्यवहार सधैँ शिष्टमात्र नहुन सक्छन् र कतिपय व्यवहारहरू अशिष्ट हुनु नपर्ने ठाउँमा पनि भइरहेका हुन्छन् । तिनलाई हामी सजिलै शिष्ट बनाउन सक्ने अवस्था हुन्छ तर हामीलाई हामीभित्रको अहम् तथा सानो र अति सूक्ष्म तŒवले हामीलाई मतिभ्रष्ट बनाइरहेको हुन्छ । 

यस्ता कतिपय व्यवहार त मानिसको दुष्ट्याइँबाट पनि पैदा भइरहेका हुन्छन् जुन जानीजानी गर्ने गर्छौं हामी । यिनलाई पुष्टि गर्ने दुई चारवटा दृष्टान्त अगाडि सार्नु सान्दर्भिक हुन्छ । 

हामी हाम्रा धर्म तथा परम्पराअनुसारका पूरा कथा तथा इतिहासहरू पढ्ने गर्छौं । ती युगका पनि शिष्ट–अशिष्ट, नैतिक–अनैतिक सबै खालका व्यवहार भएको पाइन्छ । अहिले पनि त्यस्तै व्यवहारको पुनरावृत्तिमात्र हो । राम्रा नराम्रा नैतिक अनैतिक, शिष्ट अशिष्ट व्यवहारहरू भइरहेका हुन्छन् । महाभारतकालीन कुरुक्षेत्रको लडाइँताकालाई हेर्ने हो भने त्यो राक्षसी, देवत्व र मानवीय व्यवहारको त्रिवेणीका रूपमा पाइन्छ । दुर्योधन वा कौरवहरूले राक्षसी व्यवहार, अर्जुनलगायत पाण्डवहरूले मानवीय र कृष्णले दैविक नेतृत्व त्यो बेला गरेका थिए । कपटपूर्ण व्यवहारहरू त्यो बेला पनि भएका थिए । 

इतिहास पल्टाएर हेर्ने हो भने अनैतिक व्यवहारको पराकाष्ठा पाइन्छ । शासकहरूबाट अरूबाटभन्दा बढी अनैतिकताहरू हुने गरेको पाइन्छ । नेपालको सन्दर्भमा कोतपर्व, भण्डारखाललगायत यस्ता दर्जनौं दृष्टान्त दिन सकिन्छ । पुराण र इतिहासका यति धेरै अनैतिक कार्य देखेपछि हामी अहिले यतातिर उन्मुख नहुनु पर्ने हो तर हामी नैतिक हुने भन्दा अनैतिक हुने बाटो अवलम्बन गरिरहेका हुन्छौँ ।

पुराण र इतिहाससम्म नगई हाम्रै वरिपरिका वर्तमानका व्यवहारहरू केलाउने हो भने पनि हामी यस्ता अनगिन्ती अनैतिक कार्यहरू देख्नसक्छौँ । सानासाना कुराबाट ठूलो नैतिक शिक्षा लिन सकिने यस्ता केही दृष्टान्तको चर्चा गर्नु सान्दर्भिक नै हुन्छ । लोकतन्त्र आएपछि एकपटक सफा नोट चलाउने भनेर राष्ट्र बैंकका तत्कालीन गभर्नर डा युवराज खतिवडाले प्रयास गरे तर विभिन्न कारणले उनको यो प्रयास सफल हुन सकेन । उनको प्रयास अनुचित थिएन । नेपाली बजारमा हाल पुराना, च्यातिएका झुत्रा नोटहरू चलिरहेकै छन् । नम्बरमात्रै भएकालाई पनि हामी चलाइरहेकै हुन्छौँ । जस्तो भए पनि चलिहाल्छ भन्ने मानसिकताले हामी नयाँ नोटलाई पनि छिट्टै बिगार्छौं । 

बसयात्रा गर्दा वा टेम्पुमा हिँड्दा कतिपय यात्रीहरूले हातमा नयाँ नोट पर्नासाथ त्यसलाई मुठ्ठीभित्र कच्याककुचुक पार्ने गरेको देखिन्छ । यसोगर्नाले त्यो नाटको आयु छोटिन्छ र राष्ट्रको सम्पत्ति छिट्टै नष्ट हुन्छ । हामी सबै नागरिकले यसतर्फ विचार पु¥याउनु पर्छ । सबैले ठूलादेखि सानो क्रम मिलाएर राखेर जतनसाथ प्रयोग गर्ने हो भने गरिब देशको मुद्रा निश्चय पनि संरक्षण हुनसक्छ । 

बाटो हिँड्दा पनि कतिपय कुरामा हामी ध्यान दिइरहेका हुँदैनौँ । आफूले मात्रै बाटो ढाकेर हिँडिरहेका हुन्छौँ । अर्कालाई उछिनेर जाने ठाउँ दिदैनौँ । ऊ हतारमा हुन सक्छ, उसको गति हाम्रो भन्दा छिटो हुन सक्छ । तर, हामी बिस्तारै हिँडिरहेका हुन्छौँ र उछिनेर जानका लागि उसलाई मौका दिदैनौँ । यतिमात्र होइन हामी बीच बाटामा उभिएर कुरा गरिरहेका हुन्छौँ बाटो सबै आफ्नै हो जसरी ढाकेर उभिन्छौँ । यो हाम्रो सभ्य व्यवहार अवश्य होइन । 

प्रजातन्त्रमा सबैलाई समान स्वतन्त्रता हुन्छ तर एउटा भनाइ छ ‘अरूप्रति त्यस्तो व्यवहार गर जुन व्यवहार अरूले आपूmप्रति गर्दा त्यो तिम्रा लागि सैहृय हुन्छ ।’ कतिपय मानिस त बाटामा उभिएर चुरोट खाइरहेका हुन्छन् जब कि नेपाल सरकारले सार्वजनिक स्थानमा चुरोट खानु कानुनीरूपमा दण्डनीय गरेको धेरै समय भइसकेको छ । आफ्नो अधिकारको प्रयोग गर्दा अर्काको अधिकारको हनन भएका यस्ता हाम्रा व्यवहारहरू हामी छ्याल्लब्याल्ल देखिरहेका र भोगिरहेका हुन्छौँ । 

फलपूmल खाने र तिनका बोक्रा जथाभावी फाल्ले कार्यलाई पनि हामी हाम्रो सभ्यता भनेर अँगालो हालिरहेका छौँ । सुन्तला र केराका बोक्रा सडकमै फालिन्छन् । यात्रीबसमा बसेर बदाम खाने गरिन्छ र तिनका बोक्रालाई व्यवस्थित गरिँदैन । बस फोहोर बनाइन्छ । यो काबुबाहिरको व्यवहार होइन । 

भोजभतेरहरूमा पनि यस्ता व्यवहार देख्न पाइन्छ । आफूले खाइनसक्ने गरी खाने कुरो पस्किने गरिन्छ र दुई चार गाँस खाएर बाँकी खेर फालिन्छ । यो सभ्यताभित्र पर्दैन । खाने जति पस्किएको भए उसले खेर फालेको परिणमको खाना अर्को कोहीले खान पाउँथ्यो । यति धेरै गरिबी भएको मुलुकमा अनावश्यक सम्पन्नता देखाउनु सर्वथा गलत व्यवहार हो यो सभ्यता होइन, घेर असभ्यता हो । 

भारतमा अंग्रेज शासन भएकै बेला विद्वान् व्यक्तित्व ईश्वरचन्द्र विद्या सागरले मेट्रोपोलिटन स्कुल चलाए । त्यो विद्यालय विद्याको खानी नै मानिनथ्यो । त्यहाँ विद्यार्थीहरूले निःशुल्क खानबस्न पाउँथे तर खानेकुरा एकरत्ति पनि फाल्न पाइँदैनथ्यो । कसैले खानेकुरा खेर फाल्यो भने विद्यासागरले त्यो खाने कुरा त्यसैलाई अर्को छाकमा खुवाउँथे । उनी भन्थे ‘हेर बाबु हो, खान नपाएर संसारभर कति गरिबहरू भोकभोकै मरिरहेका छन् । तिमीहरू यसरी खाना फाल्छौ, यसो गर्नु हुँदैन ।’

पेटभरि खाऔँ रत्तिभर नफालौँ’ भन्ने नीति अवलम्बन गर्ने यस्ता केही अभियानहरू नेपालमा पनि छन् जसको काम प्रशंसनीय छ । शिष्टाचार अभियान नेपालले यसप्रकारको अभियान चलाएको छ । यो अभियानका कार्य र नीति सबैले अनुशरण गर्नै हो भनेमात्र पनि हाम्रा असभ्यताहरू निकै हटेर जाने थिए । 

बस चड्दा पनि हाम्रा केही गलत व्यवहारहरू देखिने गर्छन् । पालोमा नबसी ठेलमठेल गरेर चड्छौँ । रोगी बिरामी बुढाबुढीलाई मौका दिदैनौँ । । कमजोरहरूलाई बस्न दिनु त परैको कुरो झोला, रुमाल, पत्रिका राखेर वा आफ्नै हातले छोपेर आफ्ना मान्छेका लागि सिट रोकिदिन्छौँँ । विभिन्न स्थानमा झल्किने हाम्रो यस्ता असभ्यताहरू धेरै छन् । ती सबै यहाँ विवेच्य हुन सक्दैनन् र त्यो सम्भव पनि छैन । 

यसैले हामी सभ्य भएको जस्तो देखाएर मात्र हुँदैन सभ्य नै हुनुपर्छ । यसकारण हामीले हाम्रा सम्पूर्ण व्यवहारमा सभ्य हुनुपर्छ । गैरकानुनी व्यवहार कानुनबाट दण्डित हुन्छ तर हाम्रा असभ्य व्यवहार कानुनीरूपमा दण्डनीय हुँदैनन् । ती समाजबाट दण्डनीय हुन्छन् वा आफ्नै व्यवहार आफैँबाट आलोच्य हुन्छन् । त्यसैले यिनमा सुधार आफैँले गर्ने हो । यस्तो सुधार असम्भव छैन । सानासाना प्रयास र सतर्कताबाट तिनमा सुधार गर्न सकिन्छ आवश्यकता हो प्रयासको । 


Views: 66

सम्बन्धित सामग्री:

भोलिका तिमी हौ

रसिकदेव : माघ ४, २०७६ (१०:३६ AM)