24th February | 2020 | Monday | 8:48:44 AM

बालावन, बालाचतुर्दशी र शतबीज

अच्युतप्रसाद पौडेल ‘चिन्तन’   POSTED ON : मंसिर ७, २०७६ (१०:५९ AM)

बालावन, बालाचतुर्दशी र शतबीज

दिवंगत पितृ उद्धार हेतु पाशुपत क्षेत्रमा गरिने धेरै कार्यमध्ये शतबीज रोपण अर्थात् शतबीज छर्ने काम पनि एक प्रमुख हो । यसपालिको यो पर्व मंसिर ९ गते परेको छ । त्यसो त शतबीज छर्नु एक दिनअगावै मंसिर ८ गते पितृ उद्धार हेतु दीप प्रज्ज्वलन गर्ने महादीप बाल्ने गरिन्छ । भनौँ मंसिर ८ गतेदेखि नै पशुपतिक्षेत्रमा पाइला राख्ने ठाउँ हुँदैन । चारै दिशाका भक्तहरूको त्यहाँ ओइरो लाग्ने गर्छ । 

पशुपति आउन नसक्नेहरूले सिन्धुलीको कुशेश्वरदेखि काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, मकवानपुर, ललितपुर भक्तपुरलगायत देशका विभिन्न जिल्लाहरूमा रहेका ६४ शिव ज्योतिर्लिङ्ग वा अन्य शिवालयहरूमा बत्ती बाल्ने, जाग्राम बस्ने अनि शतबीज छर्ने गर्दछन् ।

पुनर्जन्ममा विश्वास राख्ने पूर्वीय संस्कृति सर्वप्राचीन मानिन्छ । संसारको उदयदेखि नै आरम्भ भएको हिन्दु संस्कृति र सभ्यताले दिवंगत पितृहरूको अक्षय पुण्य प्राप्त गराउने विशेष पर्वअन्तर्गत बाला चतुर्दशी पनि एक हो । शतबीज र बालाचतुर्दशीबारे शास्त्रीय मत यस्तो छ ।

काठमाडौंको प्रसिद्ध पाशुपत क्षेत्रस्थित श्लेष्मान्तक वनलाई अघि बालावन भनिन्थ्यो । बालावनमा शैव धर्मावलम्बी अघोरी बाबाहरू धेरै बस्थे । भनिन्छ, त्रेतायुगमा पुलस्त्य ब्राहृमण कुलका रावण, कुम्भकर्ण, शूर्पणखा पनि यहीँ जन्मिएका थिए । वाग्मती तट गोकर्णमा कडा तप गरेका थिए ।

विश्वप्रसिद्ध पशुपतिनाथको ज्योतिर्लिंग उदय भएपछि शैवमार्गीहरू यसक्षेत्रमा धेरै भए । तीमध्ये एक नायक थिए बालानन्द । त्यतिबेला मसानघाटमा भोज भतेर खाने चलन रहेछ । एकदिन खानेकुरा खाँदाखाँदै घाटमा जलाउँदै गरेको एउटा लासको टाउको फुटेर गिदी उछिटिएर उनै बालानन्दको खानामा परेछ । थाहा नपाई उनले त्यो खाना खाएपछि उनको तेज र फूर्ति धेरै बढ्दै आएछ । अब त उनले घाटमा जलाउन ल्याएका सबैजसो लासहरूलाई तान्दै वनमा लग्दै खाँदै गर्न थालेछन् । 

यसो हुँदा हिन्दु धर्म परम्पराअनुसार काजक्रिया गर्न नपाउँदा सर्वसाधारणले ठूलै समस्या भोग्नु परेछ । अन्ततः त्यतिबेलाका राजा भुवनकेशरसम्म जाहेरी भएछ । आसुरी प्रवृत्ति बढ्दै गएपछि त्यो बालानन्दको नाम बालासुर हुन पुगेछ । त्यहाँको वनलाई पनि बालावन भनिन थालेछ । सर्वसाधारणको उजुरीपछि राजाले बालासुरलाई वध गर्न आदेश दिएछन् ।

बालासुर निकै बलशाली थिए । जो कोहीले उनलाई वध गर्न सक्ने थिएनन् । तसर्थ बालासुरकै पत्यारिलो साथी खोजी गर्दा वृषसिंह भन्ने एक व्यक्ति फेला परेछन् । राजाको आज्ञाले बालासुरको वध गर्न उनैलाई भनिएछ । तर, वृषसिंह आफैँमा त्यस्तो सामथ्र्य नभएपछि शिवजीको कठोर तप गर्न लागेछन् । कठोर तपबाट खुसी भई घुम्न आएका शिव दम्पतीले बालावनमा वृषसिंहलाई वरदान माग्न भनेछन् । उनले पनि आसुरी शक्ति बालासुरलाई मार्न सक्ने वरदान दिनुहोस् भन्दा शिवजीले हुन्छ भन्नुभएछ । तर, शिवजीले एउटा सर्त राख्नुभएछ । सर्तबमोजिम उसलाई मारेपछि उसको शिर शिवजीलाई नै दिनुपर्ने भएछ ।

वृषसिंह शक्ति सम्पन्न त भए तर उनी मनमनै खिन्न पनि भएछन् । साथीको हत्या आफैँमा ठूलो अपराध हो भन्ने लागेछ उनलाई तैपनि बालासुरलाई नमारी नहुने भयो भनेर उनले विभिन्न योजना बनाए । चिउरा, मदिरा, मासुका परिकार, साथीलाई मनपर्ने ठानी भरियाका साथमा ठूलै भीड लिएर वृषसिंह घाटतिर जाँदै थिए । बालासुरले घाटमा लास जलाउन ल्याएको भन्ने ठान्यो र लासलाई खोस्नतिर लाग्यो । साथी वृषसिंहलाई पनि देख्यो । 

आपसी संवाद हुँदै जाँदा वृषसिंहले भने– लामो समयपछि तपाईंलाई भेट्न आएको, खाली हात कसरी आऊँ भनेर केही खानेकुरा उपहार ल्याएको छु । बालासुर खानामा लोभी थियो अघाउञ्जेल उपहार खाना खायो । केही बेरपछि मदिराले मात्तिएर ढलपल गर्न पनि लाग्यो । यही मौका छोपी वृषसिंहका भरियाहरूले उसलाई डोरीले बाँधेर गहिरो इनारमा खसाले । त्यहीँ ढुंगामुढा गरेर उसलाई मारिदिए । वृषसिंह उसको टाउको लिएर राजाकहाँ पुगे र भने यो टाउको शिवजीलाई नै अर्पण गर्नुपर्छ । राजाले हुन्छ भने ।

वृषसिंह टाउको लिएर पशुपति गए । शिवजी खुसी भएर वरदान माग भन्नुभयो । वृषसिंहले आफ्नो कामप्रति पछुतो मान्दै मित्रहत्याको अपराध नलागोस् भनी वरदान पनि मागे । शिवजीले भन्नुभयो त्यसो भए एउटा काम गर, यसको टाउको चाँदीको बनाऊ र उसलाई मारेको दिन पारेर मेरो शिरमा मुकुटका रूपमा राख । बालासुरलाई मारेको दिन मार्ग कृष्ण चतुर्दशी रहेछ । त्यसैदिन पारेर पशुपतिमा चाँदीको मुकुट लगाइदिने नयाँ चलन चलेछ । 

शिवले मेरो शिरमा राख्नु अनि दोष लाग्दैन भन्नुभएछ । बालासुरलाई मारेको दिन पारेर पशुपतिमा चाँदीको मुकट लगाउनाले र यसै दिन श्लेष्मान्तक क्षेत्रमा भ्रमण गर्नाले सम्पूर्ण दिवंगत पितृहरूको उद्धार हुन्छ भन्ने पनि उनलाई वरदान मिल्यो । बालावन जसलाई श्लेष्मान्तक वन भनिन्छ, त्यहाँ बालाकै नामबाट रहेको तिथि बालाचतुर्दशीमा जसले शतबीज छर्छन् तिनका पितृहरूको मुक्ति मिल्छ भन्ने तारतम्य मिलाइयो । सात पुस्तासम्मका पितृहरूको गति मुक्तिका लागि आजसम्म पनि पशुपतिलाई चाँदीको मुकट लगाइदिने मार्गकृष्ण चतुर्दशीमा त्यहाँ ठूलो मेला लाग्छ । पशुपतिको विशेष दर्शन गर्ने पनि चलन छ । 

सके सयथरी अन्नको बिउ नसके सात थरी धान, गहुँ, मकै, जौ, मुगी, भटमास, बोडी आदि एकै ठाउँमा मिलाएर शतबीज छर्ने चलन छ । शतबीजलाई सद्मी भन्ने पनि चलन छ । अघिल्लो दिनदेखि नै महादीप बाली जाग्राम बस्ने पशुपतिक्षेत्र परिसरमा धुमधामको जात्रा गर्ने, भजन कीर्तन गर्ने पनि चलन छ । भोलिपल्ट चतुर्दशीका दिन बिहान बत्ती सेलाएर शतबीज छर्दा पशुपति, गुहृयेश्वरी, वासुकि, मृगस्थली भ्रमणमात्र गर्दा पनि मानव जन्ममा जन्ममरणको चक्र दूर हुन्छ भनी स्कन्द पुराण हिमवत् खण्ड मृगस्थली माहात्म्य एवं हेमाद्री संहिताहरूमा उल्लेख छ । सद्मी छर्ने प्रमुख स्थानहरूमा विश्वरूप, किरातेश्वर, चौसठीक्षेत्र आदि मुख्य छन् ।

मृगस्थली नजिकै बहिरा गणेश छन् । तिनको छट्टै महŒव रहेको छ । सद्मी छर्न जानेले उनको मूर्ति हल्लाउँदै मूर्तिको कानमा ठूलो स्वरले कराउनुपर्छ । यसो गर्दा यमलोकमा रहेका मृतकका आफन्तहरू मृतकका लागि सद्मी छर्न आएका छन् भनी ती बहिरा गणेशले आफन्तका मृतकहरूलाई भनिदिन्छन्, खबर पु¥याइदिन्छन् । सद्मी छरेको अभिलेख राख्ने काम यी गणेशले गर्ने गर्दछन् । अन्य मठ मन्दिरहरूमा पनि हनुमान, गणेश आदिको तस्वीर, मूर्ति हामी पाउने गर्छौं जसले मन्दिरमा को कहिले आए के गरे सबै अभिलेख राख्ने गर्छन् ।

शतबीजको एक दानामा एक रति सुन बराबरको पुण्य हुने हुनाले सद्मीका बीजहरूको अनगिन्ती पुण्य हुने कुरा धर्मशास्त्रहरूमा उल्लेख भएको पाइन्छ । शिवजीले अघि मृग रूप लिएर यसै मृगस्थलीमा भ्रमण गरेकाले यहाँँको नाम मृगस्थली रहेको र बालाचतुर्दशीकै दिन शिवले एकसिंगे मृग रूप लिएकाले यस दिन मृगस्थलीमा पुग्ने र शतबीज छर्नेहरू जो कोही पनि दीर्घजीवी र पुण्यात्मा हुने गर्दछन् ।

पशुपति क्षेत्रमा हिजोआज जताततै हरेक दिन बिहान बेलुका त्यहाँ भ्रमण गर्नेहरू आफ्नो आयु बढाउन चाहन्छन् । शारीरिक अभ्यासदेखि योग, प्राणायाम र मन बहलाउन चाहनेहरू त्यहाँ दिनहँुजसो भेटिन्छन् । वन बुटेन, ताजा हावा, सफा वातावरणका कारणले पनि वृद्ध र रोगीहरूसमेत त्यहाँ आवतजावत गर्ने गर्छन् । 





Views: 95

सम्बन्धित सामग्री:

नेपालीलाई चाहिएको सहकारी

रिसव गौतम : फाल्गुन ११, २०७६ (३:५६ PM)

कथा : वियोग

राजेश अधिकारी : फाल्गुन १०, २०७६ (११:२२ AM)