4th April | 2020 | Saturday | 9:29:09 PM

जनताले बजाउन थालेको डमरु

राजन कार्की   POSTED ON : मंसिर १९, २०७६ (१०:१७ AM)

जनताले बजाउन थालेको डमरु

सन् २००५ सेप्टेम्बरको टाइम्स अफ इण्डिया १४५ अंकमा नेपालको ‘जनयुद्ध’ का नायक प्रचण्डको अन्तर्वार्ता छापिएको थियो र त्यसमा प्रचण्डले भनेका थिए, ‘हामीले नेपालको सामन्तवादको ढाड भाँचिसकेका छौँ । ग्रामीण क्षेत्रलाई स्वतन्त्र पारिसक्यौँ ।’

आज प्रचण्डको पार्टी नेकपा शासनमा छ । त्यो अन्तर्वार्तापछि स्वयम् प्रचण्ड दुईपटक प्रधानमन्त्री बनिसके । यही बेलामा भारतले सत्ता र सीमा दुवैतिर अतिक्रमण तीव्र पारेको छ । नेपालमा नेकपा नै सामन्तवाद बादशाह बनेर हुर्किरहेको छ, हल्किरहेको छ । स्वाभाविक प्रश्न उठ्छ, लोकतन्त्र कता छ ? देश स्वतन्त्र छ कि छैन ?

महालेखाले राज्यको हिसाबकिताब देखाउँछ । राजनीतिले कुमारी चोक बुझाउनुपर्ने कि नपर्ने ? जनताले हिसाब राखेका छन्, जनताले बहीखाता खोलेका दिन, कुमारी चोक बुझाउन नसक्दा अहिले अग्ला–अग्ला देखिएका नैतिकहीन नेताहरूको हालत कतिसम्म दयनीय होला ?

सतित्व र अस्तित्व गुमेपछि फिर्ता हुँदैन । जन्तरमन्तरमा फुमन्तरले न नेता बलिया भइरहन्छन्, न यिनको शासन र आसन नै सदाका लागि रहन्छ । दिल्लीले सिंहासनमै बसालेको होइन र लेण्डुपलाई ? स्वार्थ पूरा हुनासाथ खँगारिदियो त । नोरियगा हुन् कि ओसामा बिन लादेन, मार्कोस हुन् कि सद्दाम हुसेन, सबै विदेशीले तयार पारेका हतियार थिए । हतियारको काम मालिकले भने जसरी काट्नु र मालिक फालेपछि खिया लागेर झर्नु, मर्नु र माटो हुनु हो ।

जनयुद्ध र जनआन्दोलनलाई महायज्ञ नै सम्झेका थिए नेपालीले । नेताहरूले समुद्र मन्थन गरेझैँ नेपालीका घरघर, मनमन मन्थन गरेकै हुन् । अमृत र विष दुवै निस्क्यो । नेताहरूले अमृत घटघट पिइरहेका छन्, विषको प्याला जनताको भागमा परेको छ, जनता यो पिइरहेका छन्, मरिरहेका छन् । अन्ततोगत्वा राष्ट्रियता त्यही विषको असरले बिस्तारै बिस्तारै मर्न थालेको छ ।

नेपालको सम्प्रभुता बनाइदिएको, बँचाइदिएको पुर्खाले हो । माटोप्रतिको माया भयो भने सम्प्रभुता बाँच्ने पाठ पनि पुर्खाले पढाएर गएका हुन् । वर्तमान राजनीति त भस्मासुर बनेको छ, हामी नै सम्प्रभुता हौँ भनेर संविधान लेखे, चुनाव गरे, आफैँले जिते तर सम्प्रभुताका मामिलामा छानो बालेर खरानी बेचिरहेका छन्, मुनाफा कमाइरहेका छन् । सम्प्रभुता बेचेर सत्ता कमाउने यो कस्तो सम्प्रभुता हो ? सम्प्रभुता त मदारीले देखाउने बाँदरनाचजस्तो छ । चटकेले देखाउने बाह्रमज्जा पो भयो लोकतन्त्र ।

लोकतन्त्रमा ७ सय ६१ सरकार छन् । जनताबाट चुनिए। ३५ हजार ९ सय २४ जना जनप्रतिनिधि बनेका छन् । ती प्रतिनिधि देश र जनताका लागि सेवा गर्छु भनेर आएका हुन् । जनता कुशासन र राष्ट्रघात भयो भनेर कोलाहल गरिरहेका छन्, विदेशीले ७७ ठाउँमा सीमा अतिक्रमण गरेर ६० हजार हेक्टरभन्दा बढी नेपाली सीमा मिचिसक्यो । लिपुलेक, लिम्पियाधुरा, कालापानीको ३ सय ८७ वर्गकिलोमिटर भूभाग आफ्नो नक्सामा पारिसक्यो । 

देशको हृयाकुलो काटेर विदेशी रमाइरहँदा, यी कस्ता जनप्रतिनिधि हुन्, जो चुपचाप तमासा हेरिरहेका छन् ? यी पद्धतिका प्रतिनिधि सराप हुन् कि वरदान ? राजधानीको सिंहदरबार र गाउँगाउँ पुगेको सिंहदरबार त हनुमान चौतारी बन्यो, जहाँ बाँदरहरू जुम्रा मारेर घाम तापिरहेका छन् । यस्तो राजनीति र यस्ता जनप्रतिनिधिहरूलाई विश्वले आधुनिक राज्यको सार्वभौम सिद्धान्त स्वीकार गरेको र एकले अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने स्थापित मान्यता पढाउने, सम्झाउने कसले ? ‘देशभक्ति त मर्दैन चुत्थै देश भए पनि...’ भन्ने कविता सुनाउने कसले ?

दस वर्ष पालेको बाख्रो बेचेर पठाए पनि मालिक देखेपछि कराउँछ । जनताले साथ दिएका र जनमत पाएका नेताहरू जनताप्रति पुलुक्क पनि हेर्दैनन्, आफ्नै सुख सुविधा, तलब, भत्ता र भ्रष्टाचारमा चुर्लुम्मै डबुल्की मारेर पौडी खेलिरहेका छन् । नयाँ नेपाल बनाउँछु भन्ने नेपाली राजनीतिमा यतिसम्मको बेइमानी पनि देखियो ?

सन्यासी समाजमा आतुर भोज खाने चलन हुन्छ । सन्यासीको ब्रहृमले चाल पाउँछ कि अब म मर्छु, अनि उसले सन्यासी समाज बोलाएर भोज खुवाउँछ । त्यो भोजलाई आतुर भोज भनिन्छ । शासनमाथि कुशासनको ग्रहण, देशमाथि विदेशीको अतिक्रमण, देशको अस्तित्व र सतित्व लुटिँदैछ । नेताहरू आतुर भोज खाइरहेका छन् । देश र जनताका लागि लड्ने मार्टिन खोजेको, यी कतिसम्म माड लागेका नेता ?

बुद्धको देशमा बुद्धु नेता, राजनीतिलाई व्यवसाय पो बनाइरहेका छन् । मुनाफाका लागि देश बेच्ने, जनता बेच्ने अदानन खसोगीजस्ता । सुपारी लिएर मान्छे मार्ने माफिया दाउद इब्राहिमजस्ता । जो माटो भनिरहेका छन्, तिनीहरू प्रतिगामी, जो देश बिक्री गरिरहेका छन्, ती अग्रगामी । हा.. हा.. लोकतन्त्र ?

भाषणको फूलबुट्टाले देश लथालिङ्ग भयो । लोकतन्त्रे चित्रकलाको फूलले वासना दिएन । वर्तमान नेतृत्वको योभन्दा ठूलो अयोग्यता के हुनसक्छ ?

नगरबधूको जत्ति पनि बोलीको ठेगान देखिएन । भाषणमा यति मीठो बोल्छन्, देश बनाउने कालिगड यिनै हुन् जस्तो लाग्छ । जब व्यवहार देखिन्छ, यिनीहरूभन्दा कमसल त विश्वमै कोही छैनन् जस्तो लाग्छ । राजनीतिमा निष्ठा, प्रशासनमा आचारसंहिता र नेतामा नैतिकता नरहेपछि जे हुन्छ, त्यो वर्तमान नेपालको तस्वीर हो । कालो कलंकपूर्ण वर्तमान ।

‘इम्परर न्यू क्लोथ’ का बादशाहजस्ता छन् नेताहरू । दिल्लीले चलाउँछ, दिल्लीले सुमसुम्याउँछ र दिल्लीले हकार्छ । नेपालको राजनीतिक भविष्यको १२ बुँदे खाका दिल्लीमै गरिन्छ । नेपाल त्यही दिल्लीको सम्झौताको गाँड बोकेर त्यसैलाई लोकतन्त्र भनिरहेको छ । गाँडतन्त्र लोकतन्त्र हुन सक्ने थिएन, त्यसैले देशका भूभाग गुम्दासमेत गाँड बोकेर नेता पल्टेकाहरू जिब्रो तालुमा टाँसेर बोल्न सक्दैनन् । बोल्न त स्वाभिमान चाहियो नि । स्वाभिमान बन्दकीमा राखेपछि कसरी बोल्ने ?

हाम्रा नेताहरूले कृष्णलालको मकैको खेती कहिले पढे ? रुस्दीको सटानिक भर्सेसभन्दा कम छैन मकैको खेती । कम्तिमा डम्बरसमशेर थापाले श्री ३ पद्मशमशेरलाई प्रजातन्त्रको बाढीले राणा शासन बगाउन सक्छ भनेर लेखेको पत्र पढिदिए यिनको बुद्धिबङ्गारो पलाउन सक्थ्यो ।

कांग्रेस र नेकपाका नेताहरूलाई के भ्रम छ भने हामी नै लोकतन्त्र हौँ, हामी नै देश हौँ, हामीले जे गरे पनि जनताले मान्नुपर्छ । यिनलाई ज्ञात होस्, ‘पहिलो डन कन्र्योलको नालीमा टाउको जोतेर मरे । बाहुबलीतन्त्रले जनताको मन जित्दैन, झन् बढी घृणा फैलाउँछ । चुनाव त हुन्छ, विकल्प नभएपछि जित्ने यिनै दुई पार्टीले हो । चुनाव जित्दैमा लोकतन्त्र आउने होइन, चुनाव जित्नेहरू नरसंहारकर्ता बनेका दर्जनौं तथ्यांक छन् । मन जित्नेहरू, देशभक्तहरू अमर छन्, घातीहरू कलंकित बन्छन् ।’

शासन लोकमतले गर्ने हो । शासन गर्ने अधिकार पाएकाहरूलाई देशमाथि घात गर्ने र जनतालाई शासना दिने अधिकार हुँदैन । देश र जनताका लागि काम गर्ने शपथ खाएर गलत काम गर्नु भनेको राजनीतिलाई अपराधीकरण गर्नु हो । नेपालमा यही अपराधीकरणको साम्राज्य फैलिएको छ ।

आज शासन नेकपाको छ । यी तिनै प्राणी हुन्, जसले लामो समय संसद् भनेको बोकाको टाउको देखाएर बाख्राको मासु बेच्ने थलो हो भन्ने पाठ घोकिरहे । आज संसद्मा ६२ प्रतिशत तिनै कम्युनिष्ट छन्, तिनले बोकाको टाउको देखाएर कुकुरको मासु पो बेच्न थाले । योभन्दा ठूलो कम्युनिष्ट शासनको परिहास के हुनसक्छ ?

नाम नेत्रबहादुर भए पनि मान्छे अन्धो हुनेरहेछ । चुनाव चिहृन सूर्य भए पनि कालरात्रिको अन्धकार पो छ गाँठे । न हिमाल हाँसेको देख्न पाइयो, न पहाडमा गुराँस फुलेझैँ सामाजिक जीवन फुल्यो, न त तराईमा सहलेश फक्रेजस्तो रमाइलो नै छ । सिंगो मुलुक शोकमा देखिन्छ, लोकतान्त्रिक शोकमा । संविधान छ, संविधानले संवैधानिक शासनको प्रत्याभूति गर्दैन भने देश र जनता जोखिममा पर्छन् । परेका पनि छन् । व्यवस्था होइन, व्यवस्था हाँक्ने नेतृत्व जिम्मेवार र जवाफदेही हुनुपर्ने रहेछ । नेतृत्व व्यक्तिवादमा फस्दा लोकतन्त्र बदनाम भयो । नेकपा र नेपाली कांग्रेस, यी दुई दल जो देशका दुई खम्बा हुन्, यिनमा विश्वासको संकट बढ्यो ।

राजतन्त्रलाई किनारा लगाउने शक्ति यिनै हुन् । यिनीहरू नवराजा, बास्सा बनेकाले यिनलाई डम्बरसमशेरले श्री ३ राणा शासनको अन्त्यका लागि डमरु बजाएझैँ जनताले डमरु बजाउन थालिसकेका छन् । चेतना छ भने यिनले आफूलाई सुधारून् । जनता र देशप्रति जवाफदेही र विधिप्रति विश्वास गरून् । राजनीतिलाई अपराधीकरणबाट मुक्त पार्ने अठोट गरून् । अन्यथा संविधान दुर्घटना त भयो भयो, अर्को राजनीतिक दुर्घटनालाई खप्न तयार होऊन् ।

Views: 118