24th February | 2020 | Monday | 8:19:46 AM

उपनिर्वाचन र कांग्रेसको राजनीति

सुधीर नेपाल   POSTED ON : मंसिर १९, २०७६ (१०:२५ AM)

उपनिर्वाचन र कांग्रेसको राजनीति

‘एक किलो तौलको बिरालोले एक किलो मासु खाएपछि जोख्दा एक किलोमात्रै छ, तौल बढेन’ अब त्यो एक किलोलाई के भन्ने ? बिरालो भनौँ भने मासु खोई ? मासु भनौँ भने बिरालो खोई ? भन्ने अवस्था आउँछ । यस्तै अवस्था एमाले माओवादी एकतापछिको चुनावी गणितमा पनि देखियो ।’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको कथन एक हदसम्म ठिक होला । धरान र भक्तपुरको मतपरिणामले अहिले जति कांग्रेस हौसिएको छ त्यो आफँैमा र समग्र कांग्रेसजनका लागि खुसीको कुरो त हुँदै हो । 

अब यतिमात्रले पुग्दैन । झन् अब कांग्रेसको सच्चिने र कार्यकर्ताहरूको मनोबल बढाउने बेला आएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका समर्थकका रूपमा लागेका शर्मा आफँै विद्यार्थीकालदेखि राजनीति गर्दै अहिले यहाँसम्म आएका नेता हुन् । उखान टुक्काका खानी प्रधानमन्त्री केपी शर्मा ओलीलाई टुक्के शैलीमा माथ गर्नेतर्फ लाग्नुभन्दा पनि आफ्नो पार्टीको वर्तमान र भावी परिस्थितिको बारेमा सोच्नुपर्ने हुन्छ । नेकपाको एकल बहुमत भएको सरकारको विरोधमा भन्दा अहिले कांग्रेसले पार्टीको तल्लो तहदेखि नेतृत्वपंक्तिसम्म कसरी परिवर्तन गर्ने र विगतकै अवस्थामा कसरी पु¥याउने भन्ने कुरा अहिलेको जल्दोबल्दो प्रश्न हो । देशमा उब्जिएका विभिन्न राष्ट्रियस्तरका मामिलादेखि भष्ट्राचारको दलदलमा फसेको सरकारको विरोध किन कांग्रेसले गर्न सकेको छैन । कांग्रेसप्रति आस्था राख्ने हरेक कार्यकर्ता र मतदाताहरूले अहिले कांग्रेसलाई नेतृत्व दिन सक्ने नेताको कमी भएको अनुभव गर्न थालेका छन् । 

के साँच्चै कांग्रेसमा नेतृत्वको कमी भएको हो ? यसो भन्दा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलपछि नेतृत्वको आश गरेर बसेका युवा नेताहरूलाई असर पर्ला । कांग्रेसमा नेतृत्व दिन सक्ने नेताहरूको कमी भने छैन । जति छन् ती भूमिकाविहीन छन् । भूमिका पाउने आशमा कति अहिले पनि नेपाली कांग्रेसको राजनीतिमा छन् । कुनै बेला कांग्रेस भन्नेबित्तिकै समाजवाद र सामूहिकता महसुुस हुने गथ्र्यो । अहिले विपी कोइरालाको समाजवादमा लगाम लागेको छ । सामूहिक राजनीतिभन्दा पनि एकल नेतृत्वको बीजारोपण कांग्रेसमा भइसकेको छ । नत्र, विद्यार्थीकालीन अवस्थादेखि कांग्रेसको राजनीतिमा होमिएर कांग्रेसको केन्द्रीयस्तरको नेताको पगरी गुथ्न पुगेका नवीन्द्रराज जोशी, गगन थापा, बालकृष्ण खाँण, एनपी साउद, बद्री पाण्डे, सुरेन्द्र पाण्डे, चन्द्र भण्डारी, रामहरि खतिवडालगायतका युवा नेतृत्व पनि अगाडि आउन सक्दैनन् । नियमित हुनुपर्ने महाधिवेशनको मिति हरेक पटक सारिन्छ । 

यस्ता कुरामा युवाहरूको पनि बोली मिल्न सकेको छैन । यीमध्ये पनि कतिले सत्ताको स्वाद चाखिसकेका छन् । कांग्रेसका यी जाज्वल्यमान नेताहरूको प्रकाश चाहिँ चम्किन सकरहेको पाइएको छैन । केन्द्रीयस्तरको राजनीति गरेका युुवा नेताहरू बोल्ने अधिकारै छैन जसरी बसिरहेका छन् । यसो गर्नु उचित होइन । कांग्रेस सामन्ती र राणाकालीन अवस्थाको जस्तो दल त अहिले अवश्यै पनि होइन । कांग्रेसमा बोल्ने र आफ्नो विचार पोख्ने अधिकार सबैलाई छ । त्यसैले दल हाक्ने केन्द्रीयस्तरका यी युवा नेताहरू पनि यसरी चुप लागेर बस्नु उचित हुँदैन । 

नेपाली कांग्रेस पुरानो दल हो । यसरी आफ्नो राजनीतिक इतिहास रचेको पुरानो दल नेपाली कांग्रेस अहिले सामाजिक धरातलबाट बाहिरिँदै गएकोजस्तो देखिएको छ । नेपालमा कम्युनिष्ट विचारप्रति आकर्षित हुनेहरूको संख्या बढेसँगै यसले आफ्नो पार्टीमा सुधारात्मक कार्यहरू गर्नुपथ्र्यो तर गर्न सकेको छैन । पुरानो र ठूलो दलका रूपमा आफूलाई जहिले पनि जनताले पत्याउनुपर्छ भन्ने मान्यता बोकेर बस्नु र कार्यकर्ताहरूभन्दा नातावाद र कृपावादलाई प्रश्रय दिनुका कारण पनि जनताले यो दललाई नपत्याएजस्तो देख्न सकिन्छ ।

अझै अवस्था फेरिएको छैन । जनताबीच कांग्रेस छ भन्ने केही संकेत हालैको उपनिर्वाचनले पनि देखाएका छन् । तर, यही आत्मरतिमा रमाएर कांग्रेस बस्नुहुँदैन । यो दलमा पुरानै सोच र मानसिकता छ । क्रान्तिकालीन कार्यकर्ताहरू अहिले दोस्रो पुस्ता बनेका छन् । तिनको अवस्था पहिलो पुस्ताको भन्दा पनि तल छ । यसले देशमा प्रजातान्त्रिक संरचनाको अभ्यासदेखि गणतन्त्रात्मक शासन स्थापना गर्नसमेत आफूलाई समर्पण गरेको छ । 

देशमा भएका परिवर्तनहरूको नेतृत्व जहिल्यै पनि कांग्रेसले नै ग¥यो । तर, सोही दलको अहिले धरातल खस्किएको छ । यसमा केही हदसम्म अरू कारण होलान् तर मूलरूपमा आन्तरिक कारण पनि यसका कारक बन्ने गरेका छन् । आफूले काम गरेको संगठनको नेतृत्वमा पुग्ने जसको पनि लालसा हुन्छ । तर, कांग्रेसमा नयाँलाई प्रोत्साहित गर्ने सोच छैन । यो पुरानो नेतृत्वको संकीर्ण मानसिकताले हो । यही मानसिकताले नेपाली कांग्रेस अहिलेको अवस्थामा पुगेको हो । नेतृत्वको यही कमजोरीबाट कांग्रेसभित्रकै केहीले फाइदा लिन थाले भने अन्यले चौका दाउमा चाखे थापेर बाजी मारे ।

कांग्रेसमा देखिएको यो परम्परागत हुक्के बैठके सोच अझै छँदैछ । यो परम्पराको थालनी स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाले गरेका थिए । जुन परम्परा अहिलेसम्म पनि कायमै छ । जसले नेतृत्व लियो उसको मनोबल बढिहाल्ने र त्यसमा सोझा र क्रियाशील कार्यकर्ताभन्दा आफ्ना नजिककाले प्रश्रय पाइहाल्ने । यही परम्पराले कांग्रेसको पारो तल झर्न थालेको हो । गुट–उपगुटलाई समातेर राजनीति गर्नु उपयुक्त हुँदैन । 

यसरी वर्षैपिच्छे थलिँदै गएको दलको नेतृत्वको ढोका खुल्दै खुल्दैन । खुलेको खण्डमा पनि आधामात्रै खुल्छ । जसका कारण कांग्रेसले खुला आकाशमा कहिल्यै प्रवेश पाएन । कार्यकर्ताहरू उकुसमुकुस हुन थाले । उनीहरू हातजोडेर अन्यत्र लागे । दलीयभन्दा पनि व्याक्तिवादी चरित्रले पनि कांग्रेसलाई गलाएको छ । यसको मानो खान पल्केकाहरूका कारण पनि एउटा कार्यकर्ताले यस्तो हालत भोग्नु परेको हो । 

संगठनलाई एकलौटी मनोमानी ढंगले जसले चलाउन खोज्छ त्यसको खबरदारी अवश्य हुन्छ । त्यो कालान्तरसम्म रहँदैन । यसले एकल नेतृत्वलाई फाइदा पुग्ला तर दल बर्बाद हुन्छ । जुन कुरा कांग्रेसका शीर्ष नेताहरूले नबुझेर हो या बुझेर पनि जेसुकै होस् भएको हो त्यो नेतृत्वलाई नै थाहा होला ।

हालै देखिएको निर्वाचनको परिणामसँगै कांग्रेसमा केही उत्साहको भाव फेरि फैलिए पनि यो कतिञ्जेल हो । त्यो भन्न सक्ने अवस्था अहिले पनि छैन । सानातिना निर्वाचनमा एक÷दुई सिट हासिल गर्दैमा खुसी मनाउनेभन्दा पनि कांग्रेसलाई विगतको स्थानमा पुु¥याएर फेरि एउटा कांग्रेसलाई गौरवले म कांग्रेस हुँ भन्ने बाटो दिन सक्नु नै कांग्रेसका लागि महŒवपूर्ण कुरा हो । त्यसका लागि माथि भनिएका युवा नेतृत्वको खाँचो अब भइसकेको छ । नत्र, देशमा हुने सानातिना निर्वाचनबाहेक अन्यमा कांग्रेसले विजय प्राप्त गर्न धेरै मेहिनेत गर्नुपर्छ । जसका लागि युवाको नेतृत्व क्षमताले ठूलो भूमिका खेल्न सक्छ । 

दुई चरण सकिएको हिमाल, पहाड, तराई जागरण अभियानले पनि नेता र कार्यकर्तालाई सक्रिय बनाएको र जनतासँग प्रत्यक्ष भेट्ने अवसर मिल्दा मत परिणाम राम्रो आएको प्रतिक्रिया प्रवक्ता शर्माले दिए, त्यो केही हदसम्म सत्य पनि हो र केही उनको पदीय दायित्व थियो । यही आत्मरतिमा कांग्रेस रमाउनुहुँदैन, यसले कांग्रेसलाई नै बेफाइदा हुन्छ ।


Views: 286

सम्बन्धित सामग्री:

नेपालीलाई चाहिएको सहकारी

रिसव गौतम : फाल्गुन ११, २०७६ (३:५६ PM)

कथा : वियोग

राजेश अधिकारी : फाल्गुन १०, २०७६ (११:२२ AM)