20th January | 2020 | Monday | 12:57:30 AM

मनास्लु पदयात्राको उँधौली

डा. नवराज खतिवडा   POSTED ON : मंसिर २१, २०७६ (११:३६ AM)

मनास्लु पदयात्राको उँधौली

ल्हो गाउँमा बिहान उठेर पहिलो काम होटलको भान्सातिर चिहाउने भयो । मलाई तातो पानी चाहिएको थियो । भान्सामा ताला झुन्डिएको पाइयो । साहुजीले अघिल्लो राती भनेका थिए– उनको मूल घर केही पर छ । 

बादलले आकाश ढाकेकै थियो । राती मनग्गे पानी परेको थियो । हिउँले ढाकेका पाहाड यति नजिकै थिए कि ती प्रष्ट देखिन्थे । पूर्व, पश्चिम, उत्तर, दक्षिण जता पनि हिमालै हिमाल । सबैका आआफ्नै विशेषता । त्यसमा पनि पूर्वतिरका हिमालले जापानका स्की रिसोर्टको स्मरण गराए । मनास्लु पश्चिम–दक्षिणतिर थियो तर रङ्गमञ्चमा थिएन । सबैभन्दा आश्चर्यको विषय भने हिउँले छोपिएका रूखहरूको फैलावटको विशेष ढाँचा थियो । रूखहरू लाइन मिलाएर रोपिएका जस्ता देखिन्थे । प्रकृतिको इन्जिनियरिङ बुझिनसक्नु थियो । 

मैले पढेको राधिका माध्यमिक विद्यालयमा विद्यार्थीलाई उत्तर फर्काएर पिटि गराइन्थ्यो । चार दिशा कता पर्छन् भन्नेमा धेरै विद्यार्थी अलमलमा पर्थे । यो दुविधा हटाउन भूगोलका गुरु देवनारायण शर्मा सरले एक सुत्र बताइदिएका थिए– 

‘जुन दिशामा हिमाल देखिन्छ, त्यही उत्तर हो ।’

हाम्रो विद्यालय पूर्वी तराईमा थियो । यसैले गुरुको सूत्रले गजबले काम गरेको थियो । यता ल्होका चारै दिशामा देखिने हिमालले मेरो मष्तिष्कमा किलो गाडिएको दिशा निक्र्यौल गर्ने सिद्धान्त एकाएक भत्कियो । 

हामी तिब्बती चिया पिएर हिँड्ने तरखरमा लाग्यौँ । मैले अघिल्लै दिन ल्होभन्दा अगाडि नजाने निर्णय लिइसकेको थिएँ । रातिको वर्षात र बिहानको जुम्रे पानीले मेरो निर्णयको पक्षमा वकालत गरिरहेका थिए । 

यो यात्रामा तोडिएको अर्को भ्रम मौसम पुर्वानुमानसँग सम्बन्धित छ । 

‘नेपालमा हिँउदको मौसम सहज अनुमान गर्न सकिन्छ ।’

यसपटक हिँउदमा नेपालका अधिकांश ठाउँमा भएको अनपेक्षित वर्षाले यो कथन पनि असत्य सावित गरिदिएको थियो । 

ल्होबाट लगभग एक घण्टाको यात्रा तय भएपछि हामी स्यो गाउँ आइपुग्यौँ । वर्षाको मात्रा बढ्यो । एउटा होटलमा छि¥यौँ । चिया पिउने र बर्षावाट ओतिने उद्देश्य थियो । एक अधबैँसे युवतीले स्वागत गरिन् । 

‘कस्तो चिया लिनु हुन्छ ?’

‘चौरीको दूध हालेको कडा रङ भएको ।’ 

उनी मजैले हाँसिन् । चौँरीको दूधले बनेको चिया पिउने भाग्य हाम्रो निधारमा थिएन । त्यसको चलन थिएन या दुरदराजमा पालिने चौँरीको दूध एकाबिहानै होटलमा आउन सम्भव थिएन । ल्होका साहुजीको भनाइअनुसार यस वर्ष अचाक्ली हिँउ परेको थियो । एक हप्ताअघि परेको हिँउ पग्लिन नपाउँदै फेरि उस्तै हिँउ प¥यो । यसले गर्दा जनजीवन कष्टकरमात्र भएन धेरै चौरीहरू हिँउमा पुरिएर मरे ।  

चुमनुब्रीको भ्रमणले मलाई ठाउँ जनाउने शब्दहरूका बारेमा एउटा नयाँ खुराक पस्किदिएको छ । अधिकांश ठाउँका नाम एक या दुई शब्दले बनेका रहेछन् । चुम र नुब्री दुबै पूर्वी र पश्चिमी भूगोल जनाउने शब्द हुन् । यसै गरी ल्हो, स्यो, गाप, बिहीँ, प्रोक, क्र्याक, ड्याङ, सामा आदि नाम थिए । गापको अंग्रेजी जी ए पी हुनेरहेछ । जी ए पी को अंग्रेजी उच्चारण ‘ग्याप’ हुन्छ । यसरी भूगोल र नाममा मौलिक स्वाद थियो । 

नामरुङ आइपुग्नु अघि बिजुलीको करेन्ट जडित घेराबार भएका गहुँबारीले हाम्रो स्वागत गरे । खासगरी खच्चड र चौँरीजस्ता जनावरबाट सुरक्षा गर्न यो व्यवस्था मिलाइएको थियो । त्यसो त हामीले ल्हो गाउँमा पनि हरिया गहुँबारी देखेका थियौँ । 

नामरुङमा एक स्थानीय उद्यमी लाक्पा डेन्डुप लामासँग भेट भयो । हामीले हिजो पनि उनकै प्रसिद्ध होटल ‘फोर सिजन बाई नुब्री’ मा खाना खाएका थियौँ । एक इटालीका युवक र उनकी प्रेमिका हङ्गेरीकी युवती पनि भेट भएका थिए । लाक्पाले उदाहरणीय काम गरेका रहेछन् । उनको होटल त्यो क्षेत्रको सम्भवत सबैभन्दा स्तरीय रहेछ । आफ्नो बिजुली, आफ्ने कृषि फर्म र पाउरोटी कारखाना । एक जीवन्त सङ्ग्रहालयको समेत पूर्वाधार निर्माण गरिसकेका रहेछन् । उनका अनुसार तिब्बतसँगको लडाइँमा पृथ्वीनारायण शाह र जङ्गबहादुरले उनको होटल परिसरमा भग्नावशेषको रूपमा विद्यमान किल्लाको प्रयोग गरेका थिए रे । त्यहाँ ढुङ्गाको पर्खालले घेरिएका अदालत, कारागार, राजसभा गर्ने ठाउँहरू समेत भएको जिकिर उनले गरे । होटलको आँगनमा संरक्षण गरेर राखिएको दाँते ओखरको रूख ७०० वर्ष पुरानो भएको बताए । 

‘मान्छेहरू डलर टिप्न अमेरिका जान्छन् तर मलाई भने डलर दिन पर्यटक यही आउँछन् ।’

लाक्पाका अनुसार फिलिमबजार पुग्नुअघिको सानो बजार जगतसम्म तिब्बतको राज्य थियो रे । तिब्बतको लडाइँ जङ्गबहादुरसँग पनि जोडिएको र उनका छोराको नाम जगतजँग भएकोले जगत भन्ने नामसँग केही ताल्लुक छ भन्ने कुरामा म पनि विश्वस्त भएँ । 

हाम्रो बास हिजो बसेकै ठाउँ अर्थात गापमा भयो । त्यहाँ एक युवा उद्यमी भाइको होटलमा बस्यौँ । मलाई रुघाखोकीले सताएको थियो । उनले मलाई शेर्पाको लोकप्रिय खाना ‘सेक्पा’ को गुरुङ संस्करण बनाइदिए । सेक्पामा सुप, तरकारी र रोटी तीनै परिकारको स्वाद मिसिएको हुन्छ । बडो आनन्द आयो । 

बिहान उठेर हेर्दा अचम्म भयो । हिजो र अस्ति दुई दिन एक टुक्रा पनि आकाश देख्न मुश्किल थियो, पूरै बादलै बादल । यसै पनि आकाशको क्षेत्रफल साँघुरिएको थियो । आज भने आकाशमा एक टुक्रा पनि बादल थिएन । मौसम सफा भएकोमा हामी दङ्गदास थियौँ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानका सँस्थापक सदस्य डा. तारानीधि भट्टराईले भौगर्भिक पार्क निर्माणको अवधारणा अघि सार्नुभएको छ । गापको उत्तरमा देखिएक सुईराजस्ता चुचुरा र वरिपरिको क्षेत्र यो कामका लागि उपयुक्त होला कि भन्ने मलाई लाग्यो । सम्भाव्य पार्क हिँउले ढाकेका र नढाकेका दुवै किसिमका चुचुरा समेटेर बनाउन सकिने कुराको आकलन गरेँ ।  

बिहान उठेर हामी बाटो लाग्यौँ । बिहीँफेदी काटेर अगाडि बढेपछि विपरित दिशाबाट एक हुल चाँरी र पछिपछि केही महिला आइरहेका देखिए । मैले उनीहरू समूहमा भएकोले रोचक उत्तर आउने आशाले प्रश्न सोधेँ ।

‘चौँरीको बच्चा राम्रो कि मान्छेको ?’

मलाई प्रश्न अनौठो नै भयो भन्ने लागेको थियोतर यस्तो भएन । समूहकी एक महिलाले बडो रोचक उत्तर दिइन् । 

‘चौँरीको नि ।’

‘किन पो होला ?’

‘चौँरीको बच्चा ६ महिनामै हुर्किन्छ, मान्छेको ३ वर्षमा पनि हुर्किन मुश्किल ।’

बच्चा हुर्काउने कर्म गर्ने आमाले अनुभूति गर्ने विशेष कुरो यही होला भन्ने मलाई लाग्यो । 

रानागाउँमा एक स्थानीयले पनि रमाइलो तरिकाले सोधे ।

‘कहाँ पुगेर आउनु भो ?’

‘ल्हो सम्म पुगियो ।’

त्यो पदमार्गमा दिनकै सयौँ मानिस हिँड्दा हुन् । यिनले हामीलाई कसरी चिने ? मलाई अचम्म लाग्यो । 

‘कसरी चिने त ती व्यक्तिले हामीलाई ?’

मैले मेरा सहयात्री मोहनलाई सोधेँ । 

‘ती दाइसँग हिजो भटमास किनेर खाएको हैन त सर ? अनि सरले गफ पनि गर्नुभएको थियो ¤’

मैले बिर्सिएको रहेछु । मोहनले भनेपछि सम्झना भयो । 

जगत आइपुग्दा साँझको ७ बज्यो । पछिल्लो एक घण्टा अति नै गाह्रो भयो । जगत पुग्नु अघिको स्याउलमै बास बस्ने निधो गरेर मोहनलाई भनेँ । 

‘बाबु मेरो खुट्टा अति नै दुख्यो । आखिर आधा घण्टाको दुरी हो ।’

उसले मान्यो । वास्तवमा म अति नै थाकेको थिएँ । बयस्क भएपछि गरिएका पैदल यात्रामा थकानको हिसाबले यसले रेकर्ड नै कायम गरेको हुनुपर्छ । सरकारी सेवामा जाजरकोट जिल्लामा काम गर्दा पनि धेरै पैदल हिँडेको थिएँ । लामो बसयात्राबाट घर आउँदा पनि यस्तै थकावट हुन्थ्यो । आज ती यादहरू पुनः ताजा भएर आए । स्याउलेमा भनेजस्तो बास पाइएन । हामीले जगत नै पुग्नुप-यो । 

मलाई नराम्ररी रुघा लागेकोले होटलमा आइपुगेर सबैभन्दा पहिले एक गिलास तातो पानी र एक गिलास कालो चिया पिएँ । साहुजीलाई आरी खोज्न लगाएँ । बाथरूमको प्यान राखिएको खण्ड अग्लो भएकोले त्यहाँ बसेर आरीमा खुट्टा चोबल्ने विचार गरेँ । बस्ने पिरा भएन । चप्पललाई पिरा बनाएँ । तातो पानीमा खुट्टा चोबलेँ । तातै पानीले नुहाएँ । गिजरको तापक्रम ३७ डिग्री सेन्टिग्रेड भन्दा माथी गएन । जापान र कोरियामा नुहाएको सम्झे । जहाँ एकै छिनमा गिजरको तापक्रम ५०, ५५ डिग्री पुग्थ्यो । बेलुकीको खानामा सुप अर्डर गरेर पिएँ । 

अहिले नियात्राको यो अंश लेख्दैछु । स्थान, काल र पात्रको कुरो आएकै छ । अहिले भने स्थान : जगतको यो पुछारको होटल । काल ः रात्रिको ८ः३० बजे । पात्र म एक्लै छु । आज दिनभर भेटेका पात्रहरू धुमिल भएर मष्तिष्कमा घुमिरहेका छन् । 

ब्राजिल, रसिया, आयरल्याण्ड आदि मुलुकका पर्यटक भेटिएका थिए । रसियाकी एक पर्यटकले भनेकी थिइन्, ‘हाम्रो मुलुकको सबैभन्दा अग्लो चुचुरोको उचाइ ५६४२ मिटर छ । त्यसको वरपर हिउँ नै हिँउ हुने भएकोले यसरी पदयात्रा गर्न सकिन्न ।’

फिलिमबजारदेखि जगतसम्म बाटोमा खच्चरै खच्चर भेटिए । खच्चरलाई बाटो छोड्दा जहिले पनि आफू भित्तातिर लाग्नु भन्ने उक्तिको पालना गरेँ । केही यात्रु खच्चरले धकेलेर नदीमा खसेका रहेछन् । कहिले खच्चर पनि खस्दा रहेछन् । 

खच्चरको समूहमा सबैभन्दा अघि हिँड्नेलाई ‘लम्बु’ भनिँदो रहेछ । लम्बु वास्तवमा समूहको नाइके हुँदोरहेछ । नाइकेले गर्ने केही विशेष भूमिका हुँदा रहेछन् । यसै गरी खच्चर धपाउने चालकका पछि एक खच्चर हिँड्दो रहेछ । त्यसलाई ‘घले’ भनिँदो रहेछ । यो दृष्टान्तले मलाई ‘नेतृत्व कौशल’ विषयको स्मरण गराए । पशु होस् या मानवजाति, नेतृत्व कौशलका सिद्धान्त उही हुन् । यसैले नाइके, अगुवा र नेतामा धेरै समानता भेटिन्छन् ।  

अहिले बिहानको ६ बजेको छ । लेख्न बसेको छु । राती १ः३० बजे निद्राले छोड्यो । उठेर नियात्रा लेखौँ कि भनेर सोचेँ । अर्को मनले मानेन । मनमा विभिन्न कुरा खेले । पदयात्राको अन्त्य हुन लागेकोले एक किसिमको आनन्द लागेको थियो । फेरि एकछिन निदाएछु । 

पदयात्राको अन्तिम दिन धार्चे गाउँपालिका वार्ड नं १ का वार्डअध्यक्ष र इन्जिनियर युवराज मरासिनी यारु बगरमा भेटिए । उनीहरू गणेश हिमाल जान खोलिएको नयाँ पदमार्गमा केही निर्माण कार्य गर्ने लक्ष्य लिएर त्यता जान लागेका रहेछन् । यो सकारात्मक विषय थियो । नेपाली सेनाले माछीखोलादेखि सल्लेरीसम्म बनाउँदै गरेको सडकको विषयमा भने मेरा केही प्रश्नहरू थिए । यो सडकमा विष्फोटक पदार्थको प्रयोग गरी बनाउने पुरानै तरिका अपनाइएको थियो । नदी र बगरमा सिधै सडक खन्दा निस्किएका ढुङ्गा र माटो विसर्जन गरिएको पाइयो । वातावरण प्रभाव मूल्याङ्कन (इआइए) अध्ययन र यस मुताविक निराकरणका उपायहरू अवलम्बन गरिएको कुनै सङ्केत पाइएन ।

फिलिमबजारमा मनास्लु संरक्षण क्षेत्रका एक कर्मचारीले संरक्षित क्षेत्रभित्र इआइए नगरी सडक खन्न नपाइने जानकारी सेनालाई दिएको बताए । मेरो मनमा गढेका मुख्य दुई विषय थिए । पहिलो, सडकले आरुघाटदेखि लार्के भन्ज्याङसम्मको एतिहासिक पदमार्ग विस्थापित गरिरहेको थियो । दोस्रो, सडकमा गरिएको लगानीले दिने प्रतिफल इन्जिनियरिङ वा अर्थशास्त्रको सर्वमान्य सिद्धान्तको दायराभित्र पर्छ कि पर्दैन भन्ने । 

माछीखोलामा हामी अपराहृन तीन बजे आइपुग्यौँ । हामीलाई लिन आएको सवारीसाधन भने राति ८ बजेमात्र आइपुग्यो । आरुघाट पुग्दा राति दश बज्यो ।  

अहिले गोरखा दरबार परिसरमा आइपुगेको छु । गोरखकालीको दर्शनपछि गुरु गोरखनाथको गुफामा पुगेँ । गुफाभित्र सफाइ गर्दै गरेका एक पुजारीलाई सोधेँ । 

‘सानो कुरा सोधौँ न, गुरु गोरखनाथ सम्बन्धित पुस्तक पाइन्छ ?’

‘मलाई थाहा भएन । माथि गुरुलाई सोध्नु न ।’

म गुफाबाट मास्तिर चढेँ । भक्तजनहरू लाममा थिए । म पनि लागेँ । नेपाली प्रवृत्ति न हो पालो मिच्ने । मैले दुई जना वृद्धालाई अघि जान दिएँ । यसै वेला रामनामी ओढेका एक व्यक्ति पनि पालो मिच्दै अघि बढे । उनी विशेष देखिएकाले कसैले केही भनेन । उनले गुरुको दर्शन गरे । 

‘गुरू ¤ धाम बनाउने कार्यमा लागेका छौँ । केही सहयोग गरिदिनु होला ।’

उनले कुनै ठाउँको नाम लिए । गुरुले ती याचकतिर हेर्दै नहेरी भने, ‘सब चर्च बनाउन लागेका छन्, के बनाउने धाम ?’

‘हैन, हामी लागेका छौँ । बनाउछौँ गुरु ।’

‘यो अनुहारले, यो ध्यानले बन्छ धाम ! घोषणा गर्दैमा धाम बन्दैन । कार्यान्वयन र घोषणा नितान्त फरक कुरा हुन् ।’

ती व्यक्ति निन्याउरो मुख लगाएर फर्के । म चकित भएँ । हिजो आरुघाटको भीमोदय बहुमुखी क्याम्पसमा विद्यार्थीहरूलाई मैले यस्तै आशयको कुरो भनेको थिएँ । मेरा अनन्य मित्र डा. वीरेन्द्र पुडासैनीले त्यो विशेष कक्षा आयोजना गरिदिनु भएको थियो । 

‘विचारलाई कार्य या उत्पादनमा परिणत गर्न सक्नु नै नेतृत्व क्षमता हो ।’

एक युवा आफ्नी आमासँग आएका रहेछन् । आमाले भनिन्, ‘डिग्री पढ्दै छ । गुरु आशीर्वाद दिनू ।’

गुरुले युवाले पढ्दै गरेको विषय सोधे । कसैले बेतोडले घण्ट बजाइदियो । गुरुले के भने बुझिएन ।

‘घोषणा र कार्यान्वयन फरक हुन भनेको साह्रै घत लाग्यो गुरु ¤’

मैले गुरुको ध्यानाकर्षण गरेँ । गुरुले मतिर हेरे । मेरो पालो मिच्ने कोशिस गरिन् एक अधबैँसे महिलाले । मैले मुख फोरेँ– तपाईंलाई मेरो पालोमा दर्शन गर्न दिएँ भने पुण्य मैले कमाउँछु । 

तिनले आश्चर्यचकित मुद्रामा मलाई हेरिन् र अलि पछि हटिन् । म घुँडा टेकेर गुरुका सामु बसेँ । 

‘वातावरण इन्जिनियरिङमा विद्यावारिधि गरेको छु गुरु । अहिले गोर्खाका तीन वटा गाउँपालिकामा परामर्श दिने काम गर्दैछु ।’

मैले अरूले जस्तो आशीर्वाद दिनू भनिनँ । किनभने मैले गुरुले दिने अमूर्त आशिर्वाद भन्दा गहन वस्तु पाइसकेको थिएँ । उनले नेपालको वातावरण सम्बन्धी केही कुरा उप्काउन खोजे । 

‘हामी प्रयासरत छौँ ।’

मैले छोटो उत्तर दिएर बिदा हुने उपाय रोजेँ । गुरुले अरूलाई लक्षित गरेको तर सबैलाई उपयोगी वचन पुनः एक पटक दोहो¥याए । 

घोषणाले मात्रले धाम बन्दैन ।’

यो नै मनास्लु पदमार्गको सबैभन्दा घतलाग्दो सिकाइ भयो । 

१ वैशाख २०७६

कोटेश्वर, काठमाडौं


Views: 621