24th February | 2020 | Monday | 7:25:17 AM

पुस्तक : बेलग्रेभको छुकछुके रेल

विनोद दाहाल   POSTED ON : मंसिर २१, २०७६ (११:३९ AM)

पुस्तक : बेलग्रेभको छुकछुके रेल

‘बेलग्रेभको छुकछुके रेल’ नियात्रा कृति हो र यसका कृतिकार हुन् प्रसिद्ध साहित्यकार वियोगी बुढाथोकी । मूलतः बुढाथोकी गजलकार हुन् । लामो समयदेखि गजल विधामै स्थापित उनी यसै विधामा मात्रै खुम्चने गरेका छैनन् भन्ने उनको यो नियात्रा कृतिले देखाउँछ । उनी यसको परिधि नाघेर अरू विधातिर पनि धुरिन पुग्छन् । मुक्तकका झटारा हान्ने काम पनि उनले बाँकी राखेका छैनन् । गीत त उनको सिद्धहस्त विधा गजलको निकटकै भइहाल्यो । 

यसरी अलिक वरपर ठोक्किन पुगेर लेखिएको विधामा उनका नियात्राहरू पनि हुन् । उनले नियात्राको पुस्तक यसपहिले पनि प्रकाशनमा लयाइसकेका छन् । यही मेसोमा उनको हालै प्रकाशित कृति हो ‘बेलग्रेभको छुकछुके रेल’ नियात्रा संग्रह । 

झण्डै जेनेभाको बेलग्रेडको झल्को दिने नाम हो बेलग्रेभ तर यो युरोपको कुनै ठाउँ नभएर अष्ट्रेलियाको ठाउँ रहेछ । बुढाथोकीका छोरा छोरी अष्ट्रलिया बस्तै आएका छन् र उनी छोराछोरीको प्रायोजनमा त्यहाँ घुम्न जान्छन् । त्यहाँका विभिन्न ठाउँहरू घुमेर फर्किंदा उनी आपूmसँगै केही यात्रा संस्मरणका पोकाहरू पनि लिएर फर्किन्छन् । ती पोकाहरू कुनै लिखित हुन्छन् र कुनै उनको मस्तिष्कमा बटुलिएर रहेका हुन्छन् । तिनै पोकाहरू फुकाएर उनले यो नियात्रा कृति तयार पारेका छन् ‘बेलग्रेभको छुकछुके रेल’ । 

पुस्तक डिएमआईभन्दा सानो आकारमा छ । यसमा २८८ पृष्ठ छन् । यसको मूल्य नेपाली ३०० रुपैयाँ छ र अमेरिकी डलर १० रहेको छ । आवरण शब्दघरले तयार पारेको छ भने लेआउट पनि शब्दघरकै लक्ष्मी भट्टराई ‘परिधि’ द्वारा तयार पारिएको छ । पुस्तकको प्रकाशक बुकसेलर रहेको छ । आवरण अलिक अमूर्त जस्तो देखिन्छ र यहाँ सानो छुकछुके रेल पनि देख्न सकिन्छ । पृष्ठ आवरणमा कृतिकार वियोगी बुढाथोकीको तस्वीर राखिएको छ । 

पुस्तकमा नियात्राकारको ‘नियात्राबारे आफ्नै गन्थन मन्थन’ शीर्षकको लेखकीय रहेको छ । यसबाहेक अरू कसैको भूमिका रहेको छैन । यसबाट भूमिका लेखनको परम्परागत शैली यस पुस्तकमा फेरिएको आभास हुन्छ । 

पुस्तक तीन खण्डमा विभाजित छ । मूलतः यो पुस्तकको प्रमुख खण्ड भनेको अगाडिको खण्ड नै हो । यसमा २४ वटा नियात्राहरू रहेका छन् । यी सबैको शीर्षक यहाँ उल्लेख गरिरहनु उपयुक्त नहोला तर यिनले समेटेको क्षेत्रको बारेमा केही कुरा भन्नु असान्दर्भिक हुने छैन । यो नियात्रा कृति भएकाले यहाँ यात्राकै वर्णन हुनु अन्यथा होइन । उनले विभिन्न ठाउँको यात्रा गरेका छन् र तिनकै वर्णन यहाँ भएको छ । 

विशेषतः त्यहाँको प्रकृति चित्रणले स्थान पाएको छ । यो स्वाभाविकताबाहेक उनले राष्ट्रियतालाई पनि बिर्सिएका छैनन् । नेपालको झण्डाको प्रसंग पनि उनको नियात्रामा आएको छ । यसबाहेक लिभिङ टुगेदरको संस्कार, युद्ध, प्रेमलगायत कतै कतै त उनी भावुकतामा पनि हराएका छन् । धेरैजसो यी नियात्राको एउटा प्रमुख विशेषता भनेको एउटा शीर्षकअन्तर्गत विभिन्न उपशीर्षकहरू पनि राखिनु हो । यसो गर्दा पाठकहरूमा पठन सहजता हुने मनोविज्ञान नियात्राकारले बुझेको जस्तो देखिन्छ । उनले साना–साना र छोटा–छोटा उपशीर्षकमा प्रत्येक नियात्रालाई विभाजन गरेका छन् । 

दोस्रो खण्डलाई उनले ‘मधुशालामा मदहोस मन’ भनेका छन् । यस खण्डमा उनले चारवटामात्र नियात्रा राखेका छन् । देशअनुसारको भेष, यारा भ्यालीको वाइन्, चिया पिएर जाऊँ र काजफिर्ताको अवस्था यस खण्डमा समावेश गरिएका नियात्राहरू हुन् । यस खण्डमा समावेश नियात्राहरूबाट नियात्राकार मदिरामा पनि सौखिन छन् भन्ने देखिन्छ । यो प्रसंग उनको यो पुस्तक विमोचन समारोहमा पनि चर्चा भएको थियो । नियात्राकार स्वयंले पुस्तकको एउटा खण्डका चारवटा नियात्राको सन्दर्भ नै यसलाई बनाएका कारण समीक्षकहरूले जिब्रो लरबराउनु र हात कमाउनु पर्ने अवस्था नरहेको हो ।

विमोचन समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले पनि यो प्रसंगको चर्चा गरेका थिए । साहित्यकारहरूबाट स्पष्ट विचार भावना प्रस्फुटनमा मदिराले भूमिका खेलेको हुने विचार उनले प्रकट गरेका थिए । यसको समर्थनकै शब्दहरू नियात्राकारबाट पनि अभिव्यक्त भएका थिए । यही भावनाको सार्वजनिक उद्घोष नै हुन् उनको नियात्रा संग्रहको यस खण्डमा रहेका यी चार नियात्रा भन्न सकिन्छ । नियात्रागत रचनाले निबन्धसँग सामञ्जस्य राख्ने गर्छन् । 

नियात्राकार मूलतः कवि, गीतकार, गजलकार, मुक्तककार जे भने पनि कविता विधासँग खेल्दै र रमाउँदै आएका व्यक्ति हुन् । उनले विधान्तरण गरेर लेखेको यो कृति पनि समग्रमा स्तरीय बन्न पुगेको छ । यसपूर्व पनि उनको एउटा नियात्रा संग्रह आइसकेको हुानाले यसमा अझै स्तरीयता थपिएको हुनसक्छ । 

नियात्राकारले यो पुस्तकको तेस्रो वा अन्तिम खण्डमा पाठ्यसामाग्री राखेका छैनन्, दृश्य सामग्री राखेका छन् । उनका विभिन्न समयका र विभिन्न अवसरका पारिवारिक फोटाहरू राखेका छन् । यी ४८ वटा फोटाहरूले उनी अष्ट्रेलिया घुम्दाका विभिन्न ठाउँ र सन्दर्भ समेटेका छन् । यी दृश्य चित्रहरूले त्यतातिरको यात्रा गर्न नपाएकाहरूलाई केही हदसम्म त्यहाँको दृश्यांकन गराएका छन् । 

समग्रमा वियोगी बुढाथोकीले यो नियात्रा संग्रहका माध्यमबाट पाठकहरूलाई आफूसँगै अष्ट्रेलिया घुमाएका छन् । लेखकले पाठकलाई आपूmसँगसँगै हिँडाउन सक्यो भने त्यो नियात्राकार सफल मानिन्छ । यस अर्थमा वियोगीले पाठकलाई अष्ट्रेलिया घुमाउन सकेको जस्तो लाग्छ । यसर्थ उनी सफल नियात्राकार पनि बन्न सकेका छन् । राजनीतिज्ञहरू सरकारी पैसामा विदेश घुमेर पनि रित्तो हात फर्किने तर साहित्यकारहरूले आफ्नो पैसाले घुम्दा पनि देशका लागि केही न केही लिएर आउने गरिरहेका हुन्छन् । यसको प्रमाण उनै वियोगी हुन पुगेका छन् । उनको सिद्धहस्त लेखनबाट अरू पनि यसप्रकारका नियात्रा कृतिहरूको अपेक्षा गर्नु अन्यथा हुनेछैन भन्ने ठान्नु भुल हुनेछैन ।


Views: 99

सम्बन्धित सामग्री:

नेपालीलाई चाहिएको सहकारी

रिसव गौतम : फाल्गुन ११, २०७६ (३:५६ PM)

कथा : वियोग

राजेश अधिकारी : फाल्गुन १०, २०७६ (११:२२ AM)