27th January | 2020 | Monday | 6:18:49 AM

बन्दीपुरको सेरोफेरो

अर्चना लामिछाने   POSTED ON : मंसिर २१, २०७६ (११:५० AM)

बन्दीपुरको सेरोफेरो

शरीरले आनन्द महसुस ग-यो बन्दीपुरको माटो टेक्दा ।

डुम्रेबजारबाट उकालिने तरखर गर्दा केही अलमल भएथ्यो । स्थानीय सडकमा गुड्ने बस चलेनन् बेलामा । यात्रुहरू कोचाकोच नभई नचल्नेजस्तो लाग्यो । पोखराबाट हतारिँदै डुम्रे आइपुगेको हाम्रो टोलीलाई कहिले बन्दीपुर पुगौँलाझैँ भइरहेको थियो ।

बिहानभरि पोखरा घुमेर दिउँसो डुम्रे आइपुगेका हामीलाई बन्दीपुर अघाउञ्जेल घुम्नु थियो । बन्दीपुरको सुन्दरतामा हराउनु थियो । मध्याहृन डुम्रे पुग्दा दुई–तीन वटा स्थानीय बसहरू बन्दीपुर जाने पालोमा थिए । हामी पुग्नासाथ बसवालाहरूले सोधे, ‘कहाँ बन्दीपुर जाने हो ? ल बस्नुस्, गइहाल्छ अब दशपन्ध्र मिनेटमा ।’ यति भन्न भ्याउँदा नभ्याउँदै हाम्रो झोला समातेर छततिर राख्न थालिहाले । 

बसभित्र त के बसिसक्नु र ! धोक्रो, डोको, आलुप्याजका बोरा । मान्छे खचाखच । असारको गर्मी । उकुसमुकुसले एकैछिनमा शरीर खल्खलाउन थाल्यो । भनेको समय पन्ध्र मिनेट बित्दा पनि बस चलेन । पसिनाले शरीर नुहाएको जस्तै भएको छ । मान्छेहरू कराउन थाले, ‘लौ न भरिइसक्यो, किन नचलाएको हो ।’ पाँचसात मिनेट कराएपछि बल्ल ड्राइभर बसमा चढेर ‘ढरढर ढरर्र.....’ गरेर चलाउन थाले ।

डुम्रे बजारबाट बिस्तारै उकालियो माथिमाथि । कस्तो रमाइलो । हरियालीले भरिएका पाखापखेरा । जति माथि गयो उति चिसो हावा चल्न थाल्यो । गर्मीले गुम्सिएको शरीरलाई अमृत पाएसरह भयो चिसो हावा । उकालिँदै जाँदा माथि डाँडाको छेउमा देखिन थाल्यो सुन्दर बस्ती । 

‘उ...देखियो बन्दीपुर बजार,’ हामी बन्दीपुर हेर्न आएको थाहा पाएका एक जना स्थानीय मान्छेले हामीतिर फर्के र भने । बन्दीपुर नजिकिँदै जाँदा मनमा उत्साह चुलिँदै गयो । परम्परागत शैलीमा बनेका घरहरूले पहिलो दृश्यमै लोभ्याइहाले । बेलुकाको वासको बन्दोवस्त गरेर एकैछिन थकाइ मा-यौँ ।

बन्दीपुर साँच्चै सुन्दर रहेछ । आँखाको नानी जस्तो, सानो चुटुक्क परेको । हरियालीले भरिएको । वरपर हेर्न जाँदा एउटा बोर्डमा लेखेर टाँसेको देखियो– पहाडकी रानी बन्दीपुर ।

साँच्चै रानी झैँ आकर्षक र सुन्दर छ बन्दीपुर । हरियोवनको फेदीमा फैलिएको वस्ती । घुम्न निस्किनुअघि एउटा होटेलमा खाजा अर्डर गरेर बन्दीपुरकै बारेमा गफ गर्दा पसलका साहुजीले हामीलाई बन्दीपुरको सङ्क्षिप्त इतिहास पनि सुनाए । खाजाकै पैसामा बन्दीपुरको ऐतिहासिक जानकारी पनि पाइयो ।

यो बस्ती पहिले तनहुँ जिल्लाको सदरमुकाम रहेछ । पछि यसलाई सारेर दमौली झारिएको रहेछ ।

बन्दीपुरमा पहिले मगर बस्ती रहेछ । नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकालाई हराएपछि यहाँका केही नेवारहरू बन्दीपुरतिर पुगेछन् । व्यापारको सिलसिलामा उनीहरू त्यतै बसेपछि बन्दीपुरमा नेवारहरूको बसोबास थालनी भएको रहेछ । उनीहरूले नै बन्दीपुरलाई व्यापारिक केन्द्र बनाएका रहेछन् । 

यो ठाउँ पहाडी क्षेत्रको उत्कृष्ट व्यापारिक केन्द्र बनेको रहेछ । चीन र भारत बीचमा व्यापार गर्ने केन्द्रको रूपमा पनि यो ठाउँ विकसित भएको रहेछ । काठमाडौँ उपत्यकाबाट आएका नेवारहरूले आफूसँगै ल्याएका कला र संस्कृति आज पनि बन्दीपुर चिनाउने वस्तुका रूपमा रहेकोमा उनी गौरवान्वित थिए ।

बन्दीपुरमा आधुनिकताको प्रभाव धेरै कम छ । परम्परागत शैलीका घरहरूले बजार सजाएका छन् । घरहरूको बार्दलीमा मकैका झुत्ता झुण्डिएका देख्न पाइन्छ । खुर्सानीका मालारातै झुण्डिएका छन् घरघरमा । घर अग्ला छैनन् । नयाँ बनाइएका बजारक्षेत्रको परम्परा जोगाउने गरिका छन् । बजारक्षेत्रमा फोहोरको टुक्रो पनि छैन । सरसफाइमा बन्दीपुर धेरै गम्भीर बनेर लागिरहँदो रहेछ मान्यो मेरो मनले ।

खाजा खाइयो जिब्रो पड्काउँदै । पिरोको बढाइँ । बाटैमा रहेछ ‘पद्म पुस्तकालय ।’ राणाकालमै बनेको रहेछ । त्यति वेला पनि बन्दीपुरमा पुस्तकालय व्यवस्था भएबाट यो ठाउँ शिक्षामा अगाडि थियो भन्ने अनुमान गर्न सकिन्छ । बाहिरबाटै सर्सर्ति हेरेर हामी तीनधारातिर गयौं । बजारबाट पूर्वतिर  पन्ध्र मिनेट लाग्दो रहेछ, विन्ध्यवासिनी मन्दिरबाट । 

तीनधारा जाने बाटो सफा छ । फराकिलो पनि । घरहरू लोभलाग्दा छन् । हरियालीले सुन्दरता झनै थपेको छ । बेलुकीपखको घाम लागेको छ । बाटाका छेउछेउमा थरीथरीका फूल फुलेका छन् । केहीबेर हिँडेपछि ओरालो आयो । बहिनीहरू क्यामरामा फोटो उतार्न तल्लीन छन् । म यताउता हेरेर अघाएको छैन । 

आइपुग्यो वरपीपलको चौतारी । पुरानो, भत्किनै थालेको । बटुवाहरू पहिलेजस्तो बाक्लो नभएपछि चौताराको संरक्षणमा कसको ध्यान जाओस् ¤ धन्न, यहाँ यतिसम्म त बाँचेको रहेछ भन्यो मेरो मनले । वरपीपलका रूखहरू लोभ्याउने थिए अझैसम्म । कति बटुवालाई शीतल तपाएर बिदा ग-यो होला त्यो चौतारीले ।

चौतारीमा वरपीपलको चिसो हावाले हामीलाई स्वागत ग-यो । फुर्तिलो भयो शरीर । नजिकै धारा रहेछन् । नाम तीनधारा भए पनि पाँचवटा रहेछन् ढुङ्गेधारा । असारमा धाराले आफ्नो अस्तित्व बल्लबल्ल बचाएका रहेछन्, तिरतिरे पानी । नहाइ धुवाइ गर्ने केटाकेटी र तिनका आमाहरूको भीड रहेछ । 

तीनधारामा अञ्जुली थापेर पानी घुड्क्याउन मन लाग्यो । बल्लबल्ल धाएर पुगेको ठाउँ । पानी चिसो । आँतै शीतल पा¥यो । नजिकै रहेछ पहिले पहिले बटुवाहरू बास बस्ने पाटी । पाटी कस्तो हुन्छ भनेर बन्दीपुरकै तीनधारामा देख्न पाइयो । भ्रमणबाट धेरै नयाँ ज्ञान पाइन्छ भन्थे । त्यो देखेपछि मेरो मनले पनि हो रहेछ भनेर पूरा विश्वास ग-यो ।

फर्किंदा बाटैभरि देखिए स्कुलका विद्यार्थीहरू । पिठ्युँमा झोला बोकेर रमाउँदै फर्किरहेका । केही बेरमा थाहा भयो नजिकै रहेछ नोट्रे डेम स्कुल । बन्दीपुरमा  शिक्षाको ज्योति चम्काउन यसको विशेष भूमिका रहेछ । बन्दीपुरमा शिक्षाको दियो रहेछ नोट्रे डेम स्कुल । नोट्रे डेमकै विद्यार्थीहरू रहेछन् हामीले भेटेका ।

पहाडको काखमा यति सुन्दर शहर पहिलोपटक देखिरहेको छु मैले । बाटो सफा छ । आकाशमा बादलका टुक्राहरू छन्, हेर्दै रहर लाग्दा । यस्तै वातावरणमा रमाउँदै खड्गदेवी मन्दिर पुगियो । पूर्वपट्टि केही माथि डाँडामा । बन्दीपुरवासीहरूको आस्थाकी देवी । खड्ग अर्थात् तरवारकी देवी । पाल्पाली राजा मुकुन्दसेनले भाग्ने क्रममा यहाँ तरवार छाडेका थिए रे । भगवान शिवले उनलाई उपहार दिएको त्यो तरवार त्यहीँ मन्दिर बनाएर पूजा गर्न थालिएको कुरा नजिकै चौतारामा बसेका एकजना वृद्धले सुनाए । विशाल चौतारो छ पीपलको । नजिकै बन्दीपुर गाउँपालिक कार्यालय । अत्यन्तै सुन्दर ठाउँमा ।

टुँडिखेलबाट उत्तर हेर्दा देखिन्छन् बादलसँग लुकामारी खेल्दै गरेका हिमालहरू । धौलागिरि, अन्नपूर्ण मनास्लु । धित मरुञ्जेल हेर्न पाइएको छैन बादलले गर्दा । उत्तरी हावाको झोँकाले चिसो थपिरहेको छ । घाम बिस्तारै ओर्लिदै छ क्षितिजतिर ।

अझै हेर्नु छ धेरै ठाउँ । सिल्कफार्म गएकै छैन । छिटोछिटो गर्नु छ । बाटामा गफिँदै फर्किंदा देखिए धेरै विदेशी पर्यटकहरू । स्वदेशीदेखि विदेशीसम्मलाई आकर्षण गर्न सक्ने कुरा परम्परागत संस्कार र संस्कृति नै रहेछ । प्राकृतिक सुन्दरता र शान्तपनले सुनमा सुगन्ध थपेको हो । 

सिल्कफार्म सर्सर्ति हेरेर हामीले थानीडाँडालाई गन्तव्य बनायौँ बेलुकीपख । दिउँसो होटलमा झोला राख्दा नै भनेका थिए होटेलका साहुले बेलुकीपख मात्र जानुहोला थानीडाँडा बजारको सुन्दरता नियाल्न । सल्लाको सुसेली सुन्न र सूर्यास्त हेर्न । हामीले त्यही सल्लाह मान्यौँ । 

बजारको पश्चिमपट्टि छ भानु माध्यमिक विद्यालय । यसकै छेउबाट थानी डाँडा चढ्ने बाटो छ । ठाडै उकालो र साँघुरो । भीरमा समाई समाई हिँड्नुपर्ने । भिरालो बाटो हिँडेको बानी छैन । बल्लबल्ल चढियो उकालो । साँच्चै सल्लाघारीमा हावा चल्दा आउने सुसेली मैले थानीडाँडा उक्लिँदा अनुभव गर्न पाएँ । जति माथि गयो उति सुन्दर देखिए घरहरू । घामका किरणहरू विस्तारै पहेँलिन थालेका छन् । 

हावाको वेगमा कपालको गुजुल्टो फुकाएर फरर पार्दै हामी दिदीबहिनीले मन हलुङ्गो बनायौँ । बाबा भने निकै माथि पुगिसक्नुभएको छ, हामीलाई छिटो गर्न सङ्केत गर्दै । सूर्यास्तको दृश्य हेर्नै छ । जता जे देखे पनि तेस्र्याएर फोटो खिच्ने हाम्रो भोक सकिएको थिएन । घरहरू देखे त्यसकै, हिमाल देखे त्यसकै, चराको हुल देखिए त्यतै तेस्र्यायो । खिचिक्क पा-यो । 

यसरी शरीरमा थकाइ र मनमा आनन्द बटुल्दै थानीडाँडा पुग्दा घाम पश्चिम क्षितिजमाथि पुग्न लागेका रहेछन् । लाग्यो हामीलाई पर्खेर बसेका हुन् ।

बन्दीपुरको ‘भ्यु प्वाइन्ट’ का रूपमा चिनिने यहाँबाट जता हेर पनि सुन्दर दृश्य छ आँखाभरि । हामी पुगेको केहीबेरमा घाम विस्तारै सुलुलु हिँडेको चिप्ले कीराझैँ क्षितिज मुनि गए । हामीले हातले समाएझैँ फोटो खिच्यौँ । अस्ताउँदो सूर्यलाई नमस्कार ग¥यौँ । घाम अस्ताएपछि थानीडाँडामा हावाको साम्राज्य अनुभव हुन थाल्यो । दिनभरिको थकान बल्ल बौरिँदै आयो । दिनभरि हिँडेर पसिनै पसिना भएको शरीर चिसिँदै छ । भोक पनि जाग्दै छ । 

‘अब त झर्नुपर्छ बन्दीपुर बजार ।’ 

बहिनीहरू कराउन थाले । उत्तरतिरबाट छिन भरमै कालो बादल लिएर आयो हावा । प्रकृतिको जादु । एकैछिन अगाडिको सुन्दर र घमाइलो मौसम फेरियो । पानी पिरपिराएर हामीलाई भिजायो अलिअलि । 

‘हेर्नु भो त सनसेट भ्यु ?’ बन्दीपुर कौसी इनका साहुजीले सोधे । भिजेकै शरीर भए पनि हाम्रो मुहारको खुसी देखेर उनी पनि रमाए ।

साँझको पिरपिरे पानीमा शीतलताको अनुभव गर्दै हामी मीठो खानाको प्रतीक्षामा बस्यौँ । भोलि बिहान त जानु छ मनकामना देवीको दर्शन गर्न गोरखातिर । मनले मनकामना देवीलाई सम्झिरहृयो, हृदयले ढोगिरहृयो । समाप्त

Views: 369