24th February | 2020 | Monday | 7:10:06 AM

जलवायु परिवर्तन र कृषि

डा. श्रीभगवान ठाकुर   POSTED ON : मंसिर २५, २०७६ (४:४४ PM)

जलवायु परिवर्तन र कृषि

नेपाल संसारमा जलवायु परिवर्तनबाट सबैभन्दा बढी संकटासन्न राष्ट्रहरूमध्ये चौथो हो । नेपालमा जलवायु परिवर्तनको असर सबैभन्दा बढी कृषि क्षेत्रमा परेको छ । नेपालको दुई तिहाइ जति जनसंख्या रोजगारी तथा जीविकाका लागि कृषिक्षेत्रमा निर्भर छ । कूल गार्हस्थ उत्पादनमा कृषिक्षेत्रको योगदान करिब एक तिहाइ छ । नेपालको २८.७५ प्रतिशत भूमि कृषियोग्य रहेकोमा २१ प्रतिशतमा मात्र खेती भइरहेको छ । खेती भइरहेको मध्ये २९ प्रतिशत भूमिमा मात्रै वर्षैभर सिँचाइ हुन्छ । 

नेपालमा कृषि खाद्यान्न, पोषण, आयआर्जन र रोजगारीको स्रोत हो । कूल भूभागको २३ प्रतिशत क्षेत्रफल रहेको तराईमा कुल जनसंख्याको आधाभन्दा बढी छ । तराईमा कृषिबाली, पशुपक्षी, मत्स्यपालनलगायतको अपार सम्भावना छ । पहाडमा फलफूल तथा पशुपालनको र हिमाली प्रदेशमा जडिबुटी तथा पशुपालनको अपार सम्भावना छ । कृषिक्षेत्रबाट खाद्यान्न र दैनिक उपभोग्य वस्तु आपूर्तिका साथै प्रत्यक्ष–अप्रत्यक्ष रोजगारी सिर्जना भएको छ । वैदेशिक मुद्रा आर्जनमा कृषिको उल्लेखनीय भूमिका छ । कृषि समूह तथा सहकारीको माध्यमबाट ठूलो जनसंख्या सामाजिक, आर्थिक तथा सांस्कृतिक विकासमा लागेको छ । कृषिको दिगो व्यवस्थापन र उपयोगबाट ग्रामीण भेकका गरिब तथा विपन्नको जीविकोपार्जनमा सुधारका साथै जैविक विविधता र वातावरण संरक्षणमा मद्दत पुगेको छ ।

यति ठूलो महŒव भए पनि कृषिप्रतिको मौजुदा नीतिगत, संस्थागत तथा प्रक्रियागत व्यवस्थापबाट बालीनाली, फलफूल, पशुपक्षी, मत्स्यपालन, मौरीपालन आदि क्षेत्रमा अपेक्षित प्रतिफल हासिल हुनसकेको छैन । फलस्वरूप देशमा चरम गरिबी, बेरोजगारी, खाद्य संकट र कुपोषण व्याप्त छ । उत्पादनशील युवाहरू विदेश पलायन भएका छन् । शहरमुखी बसाइसराइँ बढ्दो छ । खाद्यान्नमा ठूलो रकम विदेशिने गरेको छ । कृषिमा उत्पादकत्व घट्नु प्रमुख समस्या हो । उत्पादकŒव घट्नुमा नीतिगत, संस्थागत तथा प्रक्रियागत व्यवस्थासँगै जलवायु परिवर्तन प्रमुख कारण बनेको छ ।

जलवायु परिवर्तनको प्रभाव : सन् २१०० सम्ममा पृथ्वीको औसत तापक्रम ६.४ डिग्री सेन्टिग्रेड बढ्ने अनुमान छ । तापक्रम २.५ डिग्री सेन्टिग्रेडमात्रै बढ्दा संसारका ३० प्रतिशत प्रजाति लोप हुनेछन् । सन् २१०० सम्ममा समुद्री सतह ४३ सेमि बढ्नेछ । सन् २०५० सम्ममा आर्कटिकको हिउँ सकिनेछ । हरेक वर्ष ६ मध्ये १ देशले खाद्यान्न संकट झेल्नुपर्नेछ । मानिसलाई पानीको ठूलो हाहाकार हुनेछ । 

नेपालमा प्रतिवर्ष ०.०५६ डिग्री सेन्टिग्रेडले तापक्रम बढ्दैछ । साधारणतया जलवायु परिवर्तनबाट खडेरी, बाढीपहिरो, असिना, शीतलहर, कुहिरो, लामो अवधिको सुख्खा तथा चिसो, अति वर्षा, हुरीबतास जस्ता समस्या हुनेछन् । सिँचाइ संरचना गिट्टीढुंगाले पुरिनेछन् । यस्ता समस्या देखिन थालेका छन् । कृषि तथा पशुपालनमा उत्पादकŒव घट्नु, रोगकीराको प्रकोप बढ्नु, प्रजनन् तथा फूल फूल्ने बानीमा परिवर्तन हुनु, जैविक विविधता घट्नु, खाद्यान्न अभावजस्ता समस्या बढ्दै जानेछन् । फलस्वरूप नेपालमा खाद्यान संकट बढ्न थालेको छ । 

जलवायु परिवर्तनले मानव, पशु र वनस्पति सबैमा अनेक नकारात्मक असर पार्न थालेको छ । पारिस्थितिक प्रणाली तथा जैविक विविधतामा असर पर्न थालेको छ । जलस्रोत, पर्यटन, जनस्वास्थ्य, वनजंगल, भौतिक पूर्वाधार तथा बसोबास, सामाजिक–आर्थिक विकासमा पनि प्रत्यक्ष तथा अप्रत्यक्ष असर देखापर्न थालेको छ । 

कृषिमा प्रभाव : यसै पनि पहाडी क्षेत्र तथा जमिनको भिरालोपना, माटोको कमजोर बनावट आदि कारणले नेपालको कृषिक्षेत्र संवेदनशील छ । हाम्रो कृषि प्रणालीमा नीति, प्रविधि, बजार व्यवस्था, वित्तीय सुविधा, जोखिम हस्तान्तरणका लागि बीमासुरक्षा तथा संरक्षणको व्यवस्थापन कमजोर छ । जोखिम न्यूनीकरणका उपायहरू धेरै नभएकाले जलवायु अनुकूलन क्षमता पनि कमजोर छ । यसकारण कृषिक्षेत्र समग्ररूपमा बढी जोखिम तथा संकटमा छ ।

जमिनमा प्रभाव : जलवायु परिवर्तनजनित घट्ना धेरै बाढीपहिरो, लामो खडेरी, चर्को हुरीबतास, नदी कटान, बगरीकरण, भूस्खलन र भूक्षय, उर्वराशक्ति ह्रास, जमिनमा नांगोपना वृद्धि, डढेलो, माटोको गुणस्तर ह्रासजस्ता समस्या देखिन थालेका छन् । यसको सिधा असर उत्पादनमा पर्छ । विस्तारै जमिनमा मरुभूमीकरण देखापर्छ । सिँचाइ अभावले खेतबारी बाँझो हुन थाल्छ । अहिले नै पानीको अभावले वर्षेनी करिब १० प्रतिशत खेतीयोग्य जमिन बाँझो रहने गरेको छ ।


सिँचाइमा प्रभाव : देशका ठूल नदी तथा खोलामा पानीको मात्रा घट्न थालेको छ । नदी ढुंगागिटीले पुरिँदा वर्षातमा क्षति गर्ने र सुख्खामा सिँचाइका लागि पानी नहुने अवस्था देखापर्न थालेको छ । पहाडमा पानीका धेरै मुहानहरू सुकेका छन् । तराईमा खोला र पोखरी सुकेर भूमिगत सिँचाइमा खर्च बढेको छ । डिप ट्युबवेल पनि सुक्न थालेका छन् । वर्षेनी इनारको गहिराइ बढाउनुपरेको छ । करिन, ढोस, पैनीजस्ता परम्परागत सिँचाइ लोप हुन थालेको छ । समयमा चाहिएको मात्रामा पानी नपर्दा बाली प्रणाली बिग्रन थालेको छ । सुख्खा सहने जातको बीउ तथा नयाँ प्रविधिको सिँचाइमा कृषकको व्ययभार बढ्न थालेको छ । 


बालीमा प्रभाव : गहुँमा नपुंसकता हुने, मकैको घोगा धेरै थोतो हुने, धानमा दाना नलाग्नेजस्ता समस्याहरू देखिन थालेका छन् । स्थानीय जातहरूको बीउ पाइन छाडेको छ । बासमती धान, स्थानीय गहुँ, मकै, कोदोका जातहरू लोप हुन थालेका छन् । सुख्खाले गर्दा ठूलो परिमाणमा बाली नष्ट हुन थालेको छ । पराल तथा अन्न विषाक्त हुने समस्या पनि देखिन थालेको छ । प्रतिरोधी जातका बीउ, रासायनिक मल र विषादी खरिदमा खर्च बढेर उत्पादन लागत बढ्न थालेको छ । लागत बढ्ने तर त्यसअनुसार आम्दानी नहुने भएपछि कृषकहरू पेशाबाट पलायन हुन थालेका छन् । 

नवलपरासीमा भएको एक अध्ययनअनुसार छिटो मनसुनका कारण धानको बाली पात्रो १५ दिन अगाडि सरेको छ । मसुरोको भने एक महिनाले ढिलो भएकोले छ । 

बालीमा नयाँ–नयाँ रोगहरू तथा कीराको प्रकोप बढ्न थालेको छ । गोलभेँडामा टुटा अबसोलुटा कीरा, धानमा फौजी कीरा, लोकष्ट, रातोकमिला, हिमाली पाइन खपटे, शंखेकीराको प्रकोप देखिन थालेको छ । खतरनाक र धेरै छिटो फैलिने बाहृय झारपातको प्रकोपले खेती प्रणालीमा बाधा पर्न थालेको छ । सन् २००५÷०६ मा पूर्वी तराईमा वर्षाको कमीले १२.५ प्रतिशतले राष्ट्रिय बालीको उत्पादन घटेको थियो भने अति वर्षाका कारण मध्यपश्चिम तराईमा लगभग ३० प्रतिशतले घटेको थियो । 

फलफूलमा नासपाती र स्याउको फूल लाग्ने समयमा परिवर्तन देखिएको छ । सुन्तला, आँप, लिची र केरामा रोगेको प्रकोप बढेर उत्पादन घट्न थालेको छ ।

माछापालनमा प्रभाव ः पानीमा हानिकारक तथा धेरै फैलिने खालका झारपातहरूले माछा उत्पादन बाधा पर्न थालेको छ । पानीको मात्रा कम हुँदै गएकाले नदीनाला, खोलाखोल्सी, पोखरीमा जलचरको प्रजाति र संख्या घट्न थालेको छ । माछा उत्पादन घट्न थालेपछि पेशाबाट पलायन हुने क्रम बढेको छ । यसले जीविकोपार्जनमै असर पार्न थालेको छ । खेतीपातीमा प्रयोग हुने रासायनिक मल तथा कीटनाशक विषादीको सोझो असर जलचर र माटोमा बस्ने साना जीव भ्यागुत्ता, गँगटा, गँड्यौला आदिमा परेको छ । सार्वजनिक तथा निजी पोखरी र जलाधारमा पानीको सतह घट्दा र तापक्रम बढ्दा माछामा रोग बढेको छ । पोखरीमा पानी भर्न खर्च हुन थालेको छ । अति वर्षाले पनि माछा पालनमा ठूलो असर पु¥याउने गरेको छ । गर्मीमा तापक्रम वृद्धिले माछा मर्ने र प्रजननमा असर पर्ने समस्या छ ।

पशुपालनमा प्रभाव : प्राकृतिक चरनमा घाँस उत्पादन घट्न थालेको छ । एकातिर घाँस प्रजातिको लोप हुँदैछ भने अर्कातिर चरन क्षेत्र विनाश हुँदैछ । आहारा विषाक्तता र पोषणको कमीले पशु मृत्युदर बढेको छ । गर्मीको कारण रेसाको मात्रामा वृद्धि भई घाँसको गुणस्तर ह्रास हुन थालेको छ । सुँगुर, बंगुरमा गर्मीले तनाव बढेको छ । भेडा र बंगुरका नश्लहरूमा क्षयीकरण बढेको छ । पशुमा परजीवीले हुने रोग बढेको छ । पशुको ऋतुकाल र प्रजनन् क्षमतामा परिवर्तन आएको छ । पशुमा पौष्टिक तŒवको कमी र कमजोर स्वास्थ्यका कारण हरितगृह ग्यास उत्सर्जन बढेको छ । पोखरीहरू सुक्नाले भैँसीको उत्पादकत्व घटेको छ । गाईको प्रजनन क्षमता, तन्दुरुस्ती र आयुमा नकारात्मक प्रभाव परेको किसानको अनुभव छ । पशुपक्षीमा नयाँ किसिमका रोगहरू देखापर्न थालेका छन् जसको उपचार कठिन हुँदै गएको छ । 

निष्कर्ष : जलवायु परिवर्तनको बढ्दो प्रभावले खाद्य संकट, कुपोषण, प्रजाति÷नश्लहरू लोप जस्ता समस्या बढ्दै जानेछन् । कृषिमा आश्रित घरपरिवारको जीविकोपार्जनका विकल्पहरू साँघुरिँदै जानेछन् । हालका वर्षमा जलवायु परिवर्तनले कुल ग्राहस्थ उत्पादनमा १.५–२ सम्म प्रभाव पार्नसक्ने अनुमान छ । बढ्दो जनसंख्याको आवश्यकताले माग बढ्दै जाने तर आपूर्तिका स्रोतहरू घट्दै जाने अवस्था छ । जलवायु परिवर्तनले खाद्यसुरक्षा र पोषणमा असर पर्न थालेको छ । जलवायु परिवर्तनका असरहरू कम गर्ने उपाय अवलम्बन गर्ने कार्यक्रम लागू गर्दै जानुपर्छ । यससम्बन्धी नीति तथा ऐन–नियम कार्यान्वयनमा जोड दिनुपर्छ । कृषिमा जलवायु परिवर्तन अनुकूलनका उपायहरूको खोज र अनुसन्धानमा जोड दिनुपर्छ । अन्यथा जलवायु परिवर्तनको असर थेग्नै नसक्ने भई मानव अस्तिŒवमै संकट पर्नेछ । 


Views: 416

सम्बन्धित सामग्री:

नेपालीलाई चाहिएको सहकारी

रिसव गौतम : फाल्गुन ११, २०७६ (३:५६ PM)

कथा : वियोग

राजेश अधिकारी : फाल्गुन १०, २०७६ (११:२२ AM)