24th February | 2020 | Monday | 7:33:38 AM

भन्सार सुधारका पाँच पक्ष

कृष्णहरि बास्कोटा   POSTED ON : मंसिर २९, २०७६ (३:५१ PM)

 भन्सार सुधारका पाँच पक्ष

नेपालको कुल राजस्व असुलीका करिब ५० प्रतिशत अंश भन्सार नाकाबाट हुने गरेका छन् । भन्सार नाकामा भन्सार महसुलका साथै मूल्य अभिवृद्धि कर, अन्तर्शुल्कलगायत करहरू असुली गरिन्छन् । मूलतः नेपालको भन्सार प्रशासनले आयातमा आधारित राजस्व असुल गरी मुलुकको ढुकुटी भर्ने काम गर्छ । राणाकालपूर्वदेखि नै नेपालमा कुनै न कुनैरूपमा भन्सार प्रशासन सञ्चालनमा रहेको पाइन्छ । यथार्थमा भन्सार प्रशासनले सीमा सुरक्षा, सिमानामा मानिसको ओहोरदोहोर व्यवस्थापन, मानव शरीरमा असर पु¥याउने र सामाजिक सद्भावमा प्रतिकूल असर पार्ने वस्तु र सेवाको आयात निषेध गर्ने निकाय पनि हो । भन्सार प्रशासनले निकासी प्रवद्र्धन गर्नुका साथै मुलुकको विशेष वस्तु वा संरक्षित वस्तुको अवैध निकासीमा पनि निगरानी गर्ने काम गर्छ । 

यस्तो बहुमुखी कार्यक्षेत्र भएको भन्सार प्रशासनको सधैँ नकारात्मक टिप्पणी हुने गरेको छ । टिप्पणीमात्र गर्नुको सट्टा समयसापेक्ष सुधारको सुझाव प्रस्तुत गर्नु पनि नेपाली नागरिकको कर्तव्य हो । यही कुरालाई आत्मसात् गरी यो पंक्तिकार यहाँ केही लेख्न चाहन्छ ।

यो पंक्तिकार भन्सार विभागको महानिर्देशक हुँदा प्रथमपटक आवधिक सुधारको योजना थालनी भएको थियो । जसले आजसम्म निरन्तरता पाएको छ । साबिकको भन्सार प्रशासनमा हाल युगान्तरकारी परिवर्तन आएको छ । एउटै आलेखमा धेरै कुरा व्यक्त गर्न नसकिने हुँदा अझै सुधारका लागि जोड दिनुपर्ने पाँच ओटा पक्षमा विश्लेषण गर्ने ध्येयले यो आलेख तयार गरेको छु । 

१. नेपालको भन्सार प्रशासनलाई साधनस्रोतयुक्त तुल्याउनुपर्छ । विकसित मुलुकका भन्सार प्रशासनसँग हेलिकोप्टर पनि रहेको देखिन्छ । नेपाल भारतबीचको सम्झौताअनुसार विराटनगर, वीरगञ्ज, भैरहवा तथा नेपालगञ्जमा करिब २ किमि चौडा स्थलमा अत्याधुनिक एकीकृत भन्सार नाका तयार गर्ने गरी पूर्वाधार निर्माण भइरहेको छ । भन्सार नाकामा प्रशस्त यार्ड÷पार्किङस्थल हुनुपर्छ । आंशिक वा पूर्णरूपमा भन्सारबाट सामान जाँचपास गराउन मिल्ने गरी वेयर हाउसको व्यवस्था हुनुपर्छ । हाल नेपाल पारवहन तथा गोदाम व्यवस्था लिमिटेडलगायतले केही सेवाप्रवाह गरेका छन् । यस्तो पार्किङस्थलमा ढुवानी साधनका चालक र सहयोगी कर्मचारीलाई खाने, सरसफाइ गर्ने र आराम गर्ने, सुत्ने व्यवस्था गर्नुपर्छ । 

जसरी एयरपोर्टमा होटलको व्यवस्था हुन्छ, सोही ढंगले भन्सार नाकामा सबै सुविधा उपलब्ध गराउनुपर्छ । प्रत्येक भन्सार नाकामा बैंकको सुविधा हुनुपर्छ । भन्सार प्रशासनले नगद कारोबार गर्नुहुँदैन । पहिल्यै व्यापारीले एकमुष्ठ रकम बुझाउने र भन्सार जाँचपासका आधारमा रकम घटाउँदै जाने परम्परागत बहिखाताको स्थानमा बैंकिङ कारोबारले ठाउँ लिनुपर्छ । निकासी र पैठारीका वस्तुको परीक्षण गर्न भन्सारको आफ्नै प्रयोगशाला हुनुपर्छ । कुन वस्तु कुन शीर्षकमा पर्छ भनी हेर्ने विश्व भन्सार संगठनको वर्गीकरणको पुस्तक र त्यसको व्याख्यात्मक टिप्पणी हरेक भन्सारका कर्मचारीको मोबाइल एपमा उपलब्ध हुनुपर्छ । 

भन्सार प्रशासनको अझै पनि छुट्टै सेवा समूह छैन । यो राजस्व समूहभित्र छ । भन्सार नाकामा चौबीसै घण्टा सेवाप्रवाह गर्नुपर्छ । यसका लागि कर्मचारीलाई सिफ्टमा खटाउनुपर्छ र सोहीअनुसारको सुविधा दिनुपर्छ । भन्सार प्रशासनको आफ्नो छुट्टै प्रहरी हुनुपर्छ । यसले गस्ती गरी खुला सिमानाको अवैध निकासी पैठारी रोक्नुपर्छ । सिमानामा रहने भन्सार प्रशासनको भव्य र नेपाली शैली झल्किने भवन, राष्ट्रिय झण्डा, भन्सार प्रशासनको सरसफाइ र कार्यशैलीले विदेशीलाई नेपालप्रतिको इम्प्रेशन नै परिवर्तन ल्याउन मद्दत गर्छ भन्ने हेक्का राख्नुपर्छ । यसर्थ यस पंक्तिकारले डे वानदेखि उठाउँदै आएको कुरा भन्सार प्रशासनले जे जति असुली गर्छ, त्यसको ०.५ प्रशित रकम यसको पूर्वाधार निर्माण र कर्मचारीको प्रोत्साहन कार्यक्रममा खर्च गर्नेगरी छुट्टै ‘भन्सार सुधार कोष’ खडा गर्नुपर्छ ।

२. भन्सार प्रशासनलाई विशिष्टीकृत निकायका रूपमा विकास गर्नुपर्छ । यसको छुट्टै तालिम केन्द्र हुनुपर्छ । यसमा कार्यरत कर्मचारीको छुट्टै भन्सार सेवा गठन गर्नुपर्छ । भन्सार जाँचपासपछिको परीक्षण गर्ने कार्यालयलाई विभाग समान स्तरोन्नति गरी भन्सार अपराध र राजस्व छली नियन्त्रणसमेतको जिम्मेवारी यस विभागलाई दिनुपर्छ । भन्सार विभाग मातहत विभाग सरहको प्रयोगशाला स्थापना गरी सबै भन्सार नाकामा प्रयोगशाला खडा गर्नुपर्छ । विभिन्न मुलुकमा रहेका नेपाली दूतावासमा आवश्यकता र औचित्य हेरी भन्सार प्रशासनको प्रतिनिधि पनि खटाउनुपर्छ । 

विश्वका उत्कृष्ट भन्सार प्रशासनमा नेपालको भन्सार प्रशासनका कर्मचारीलाई इण्टर्नका रूपमा खटाएर भन्सार आधुनिकीकरणको प्रक्रियामा अघि बढ्नुपर्छ । त्रिभुवन विमानस्थलमा एम.ए. मा अध्ययनरत विद्यार्थीको सयजनाको समूहलाई निरन्तर इण्टर्नका रूपमा लिई यात्रु जाँचपासको काममा सहभागी गराउनुपर्छ । यसरी गरिने सृजनशील सुधारबाट भन्सार प्रशासनको साख समाजमा उच्च हुँदै जानेछ । 

मूल कुरा, यी सबै कामका लागि केन्द्रीय भन्सार बोर्ड गठन गर्नुपर्छ । यस बोर्डमा उच्च मनोबल भएका अध्यक्ष र सदस्य नियुक्ति गर्नुपर्छ । यस बोर्डले कर्मचारीको विनियम निर्माण गरी लागु गर्ने, सरुवा र बढुवाको आधार तयार गर्ने, भन्सारमा व्यावसायिकता विकास गर्ने तथा कुनै पनि प्रकारको भ्रष्टाचार हुन नदिने कुराको सुनिश्चितता गर्नेछ । अर्थात्, यस बोर्डले ‘गर या मर’ को सिद्धान्तमा भन्सार प्रशासनलाई डो¥याउने छ । 

३. तेस्रो र अत्यन्त महŒवपूर्ण कुरा, भन्सार प्रशासनलाई फूल अटोमेशनमा रूपान्तरित गर्नुपर्छ । वर्तमान युगमा पनि जाँचकीले कागज हेरेर, सामान जाँचेर, नगद गनेर भन्सार जाँचपास गर्ने होइन । सामान आएका कण्टेनरहरूमा आधुनिक सिलछाप लागेको हुनेछ । यसमा ‘वान टाइम लक’ प्रयोग गरिएको हुन्छ । विश्व भन्सार संगठनको भन्सार वर्गीकरणअनुसार सामान्य छल गर्नेको पनि सामान तत्कालै जफत गरी कम्तीमा २ वर्ष आयातनिर्यातको काम गर्न नपाउनेगरी कालो सूचीमा राखिन्छ । ब्रोकर मोडल, कार्गो मोडल, पेसिञ्जर क्लियरेन्स मोडल, सेलेक्टिभिटी मोडललगायतका आसिकुडा र युनिपास सफ्टवेयर सिष्टमका सबै प्रणालीलाई प्रयोगमा ल्याइन्छ । सामान्यतः हाल छोटी भन्सारमा गरिआएको पोष्ट डाटा इण्ट्री बन्द गरी रियल टाइम डाटा इण्ट्री गरेर भन्सार जाँचपास हुने प्रबन्ध गर्नुपर्छ । 

भन्सार यार्डमा रहने गोदामहरू निजी क्षेत्रबाट सञ्चालित हुनेछन् । भन्सार यार्डमा रहेको निजी क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरी हुल हुज्जत गर्ने, नाराबाजी गर्ने, जुलुस गर्ने गतिविधिबाट टाढा राखिनेछ । सबै भन्सार नाकामा क्वारेण्टाइन पोष्ट, इमिग्रेशन, पुलिस, बैंकलगायतका एकीकृत सेवा सञ्चालन गरिनेछ । 

भन्सार सुधारअन्तर्गत फुल अटोमेशनअन्तर्गत वेब बेष्ड कष्टममा जानुको विकल्प छैन । भन्सार नाकामा नगद कारोबार तत्कालै शून्य गर्नुपर्छ । पूरै कण्टेनर वा ट्रक जाँच गर्ने एक्सरे मेशिन उपयोग गर्नुपर्छ । अन्तर्राष्ट्रिय मूल्यांकन प्रणालीका सन्दर्भमा मूल्यसहितको सफ्टवेयर खरिद गरी लागु गर्नुपर्छ । निश्चित इजाजत पाएका बाहेक झोले पोके यात्रुलाई सामान ल्याउन लैजान निषेध गर्नुपर्छ । एलसीबाहेकको कारोबार निषेध हुनुपर्छ । यी सबै क्रियाकलाप कसैलाई नजाँच्न पनि सक्छ तर आधुनिक र स्वच्छ भन्सार प्रशासनका लागि यो सञ्जीवनी बुटीसरह भएको कुरा प्रष्ट छ । 

४. नेपालले भन्सार नाकाको संख्या घटाउनुपर्छ । हाल छोटी भन्सार धेरै भए, यिनलाई एकीकृत गरी सबै छोटी भन्सारमा मूल भन्सार नाकाबाटै कर्मचारीलाई आलोपालो खटाउने प्रबन्ध गर्नुपर्छ । भारत र चीनतर्फ भन्सार नाका नभएका स्थानमा सामान्यतः नेपालमा पनि भन्सार नाका खोल्न मिल्दैन । सबै भन्सार नाकामा अन्तर्राष्ट्रियस्तरको पूर्वाधार तयार गर्नुपर्छ । यस्तो लगानी गर्न नसकिने भए टहरामा, भाडाको घरमा वा छाप्रोमा भन्सार प्रशासन सञ्चालन गर्नुको सट्टा बन्द गर्नु उचित हुनेछ । 

५. प्रस्तुत सन्दर्भमा अन्तिम कुरा, भन्सार प्रशासनलाई स्वच्छ तुल्याउनुपर्छ । भ्रष्टाचारमा जिरो टोलोरेन्सको नीति अवलम्बन गर्नुपर्छ । आरुसा कन्भेसनअनुसारको आचारसंहिता अनिवार्य गर्नुपर्छ । केही समयका लागि आवश्यक परे भन्सारमा खटिने कर्मचारीको पोसाक खल्तीरहित हुनुपर्छ । केही मुलुकले सुरुका समयमा कठोर नीति अवलम्बन गरी भन्सार प्रशासनको भ्रष्टाचार शून्य गरेका छन् । यसमा भइरहेका कर्मचारीलाई हटाएर नयाँ कर्मचारी नियुक्ति गर्ने मुलुक पनि छन् । कैयौँ मुलुकले सबै स्थायी कर्मचारी हटाएर करारमा कर्मचारी राखेका पनि छन् । कैयौँ मुलुकमा सरकारी कर्मचारी हटाएर निजी क्षेत्रलाई भन्सार प्रशासन ठेक्कामा दिएर सञ्चालन गरेका पनि छन् । यी सबै गर्नुको कारण भन्सार प्रशासनलाई पूर्णतः सदाचारमा रूपान्तरित गर्नु नै हो । 

साबिकको भन्सार प्रशासनमा आजको दिनसम्म आइपुग्दा युगान्तकारी परिवर्तन भइसकेको छ । दस्तुरी प्रथा हटेको यस पंक्तिकारको विश्वास छ । भन्सार सहजीकरणको माध्यमबाट हृयारेस फ्री भएको अनुभूति गरिएको छ । तर, अझै पनि अण्डर इन्भ्वाइस र खुला सिमाना तस्करी रोक्न सकिएको छैन । केही लोभीपापीलाई सुधार गर्न कठोर नीति अवलम्बन गरी भन्सार प्रशासनको साख र मनोबल उच्च तुल्याउन हामी सबै मन, वचन र कर्मले कार्यक्षेत्रमा खरो उत्रिन आवश्यक छ । 

(लेखक भन्सार विभागका पूर्वमहानिर्देशक तथा हाल राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त हुन् ।) 


Views: 166

सम्बन्धित सामग्री:

नेपालीलाई चाहिएको सहकारी

रिसव गौतम : फाल्गुन ११, २०७६ (३:५६ PM)

कथा : वियोग

राजेश अधिकारी : फाल्गुन १०, २०७६ (११:२२ AM)