24th February | 2020 | Monday | 7:57:22 AM

कवि शिरोमणिको जन्मस्थल

वासुदेव पौडेल   POSTED ON : मंसिर ३०, २०७६ (१०:०३ AM)

कवि शिरोमणिको जन्मस्थल

पैहृला अङ्कुरमा हिमाल हँसिलो अग्लो अगाडी स-यो

साथै पर्वत–शृङ्खला विपुल त्यो चौतर्फी देखाप-यो ।

लंबा संथर फाँट तालहरूको झल्क्यो ठूलो चक्चकी

फेरि त्यो गडुवा, विजेपुर खुदी, सेती बगेकी लुकी ।।

प्रस्तुत पद्यांश कवि शिरोमणि लेखनाथ पौड्लालले आफ्नो जन्मस्थन अर्घौं अर्चलेलाई सम्झँदै रचना गरेको पूर्वस्मृति शीर्षकको कवितामा  छ । लेखनाथले भनेजस्तै अर्घौं अर्चलेबाट देखिने टलक्क टल्किएको हिमाल, ठ्याक्कै आँगनमा जस्तै छचल्किइरहेका तालतलैया, सेती नदी आदिले यहाँको आकर्षण बढाएको छ नै पछिल्ला समयमा यो स्थल साहित्यिक पर्यटनको आकर्षक गन्तव्य बन्दै गएको छ ।

कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समितिको विशेष सक्रियतामा यस स्थललाई साहित्यिक पर्यटकीय तीर्थस्थलका रूपमा विकास गर्ने गरी कामहरू तीव्र रूपमा बढाइएको छ । आफ्ना बाल्यकालका स्मृति गर्दै अध्ययनका लागि राजधानी जानुपरेको र जीवनको उत्तरार्धमा अर्घौं अर्चले टाढा भएको भन्दै कवि शिरोमणिले सोही कवितामा भन्नुभएको छ,

चर्को चक्र घुम्यो शनैः समयको, टाढा भयो अर्चले

प्यारा साथी पनि क्रमैसित सबै संसारदेखि–चले ।

देख्दा यो सब तारतम्य विधिको धर्कन्छ छाती सब

त्यो जन्मस्थलमा कठै !! म कसरी कैले पुगूँला अब ? ।।

नेपाली साहित्याकाशमा अतुलनीय योगदान गर्नुभएका लेखनाथको जन्मस्थलमा देश–विदेशका साहित्यानुरागीलाई स्थलमा पु¥याउने लक्ष्यका साथ समितिले बाटोघाटोदेखि उहाँका जीवनका हरेक पक्ष र योगदानलाई जीवन्त बनाउने गरी काम गरिरहेको समितिका अध्यक्ष विश्वप्रकाश लामिछानेको भनाइ छ । 

कवि शिरोमणिको जन्मस्थललाई साहित्यिक पर्यटकीय तीर्थस्थल बनाउने गरी समितिको पहलमा उहाँको जन्मघरको संरक्षणका साथै सङ्ग्रहालय, तरुण तपसी पार्क निर्माणलगायतका कामलाई अघि बढाइसकिएको छ ।

अध्यक्ष लामिछानेका अनुसार कवि शिरोमणिको जन्मस्थल अर्घौं अर्चलेको विकासका लागि अल्पकालीन र दीर्घकालीन योजनाका साथ काम भइरहेको छ । हालसम्म पूर्वाधार निर्माणलगायतमा रु दुई करोडभन्दा बढी खर्च भइसकेको छ ।

‘सम्पन्न पूर्वाधारका अतिरिक्त समितिले तत्कालीनरूपमा अघि अघि सारेका योजना सम्पन्न गर्न पनि लगभग रु १० करोड लाग्ने देखिन्छ’, लामिछाने भन्छन्, ‘ओझेलमा परिसकेको जन्मस्थल क्षेत्रको विकास क्रमिकरूपमा बढेको छ, यसका प्रति स्थानीय तह, प्रदेश र सङ्घ सबैको सकारात्मक सोचका कारण हामीलाई उत्साहित बनाएको छ ।’

समितिले कवि शिरोमणिको जन्मस्थल आएर यही बसी साहित्य सिर्जना गर्न चाहने सर्जकका सिर्जना ग्राम निर्माणको प्रक्रिया अघि बढाएको छ । बहुउद्देश्यीय योजनाअन्तर्गत सिर्जना ग्रामका लागि यसै आर्थिक वर्षमा पोखरा महानगरपालिकाको गौरवपूर्ण आयोजनाका रूपमा रु ५० लाखको लागतमा पूर्वाधार निर्माण अघि बढ्ने लामिछानेको भनाइ छ । 

अर्घौं अर्चले कवि शिरोमणिको जन्मस्थल भएर पनि केही वर्षअघिसम्म उहाँको जन्मजयन्तीसमेत अन्यत्र नै मनाउन थालिएको वास्तविकतामा पछिल्ला वर्षमा यो साहित्यिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको समितिका उपाध्यक्ष एवम् लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्यराज ढकालको भनाइ छ । 

कवि शिरोमणिको जन्मस्थान नै ओझेलमा पर्ने हो कि भन्ने चिन्ता थपिँदै गएको अवस्थामा समितिको पहलमा भइरहेका पूर्वाधार विकासले नेपाली साहित्यप्रेमीमा उत्साह थपिएको उहाँको भनाइ छ । समितिकै पहलमा कवि शिरोमणिको जन्म घरलाई पुरानै स्वरूपमा चिटिक्क सजाएर राखिएको छ ।

जन्मघर परिसरमा नै कवि शिरोमणि सङ्ग्रहालय भवन निर्माण गरी उहाँका बाल्यकालदेखि मृत्युसम्म प्रयोग भएका सामग्री र त्यस समयका रहनसहन तथा रीतिरिवाज झल्कने चलनचल्तीका सामग्री राखिएको छ । सङ्ग्रहालय परिसरमा नै उहाँका जीवनी झल्कने किसिमका श्रव्य दृश्य सामग्री राख्ने सोच अघि बढाइएको छ । शिरोमणिको जन्मस्थलमा गएर कविता रच्ने वा अन्य साहित्य सिर्जना गर्नेका लागि जन्मघर वरपर प्रतीक्षालयलगायतका संरचना तथा पार्क निर्माण गरिएको छ । 

पृथ्वी राजमार्गअन्तर्गतको अर्घौं चोकस्थित कवि शिरोमणिको सालिकदेखि जन्मस्थलसम्म ठाउँठाउँमा उनले रचना गरेका उत्कृष्ट कविताका श्लोक मार्बलमा कुँदेर राखिएका कारण साहित्यप्रेमीहरू ठाउँठाउँमा उहाँका कवितावाचन गर्दै जन्मघरसम्म पुग्ने गरेका छन् । लेखनाथ चोकदेखि कविको जन्मस्थलसम्मको सात किलोमिटर दूरीमा स्यानी चौर, ठूली पोखरी, तरुणतपसी पार्क, बतासे, बूढाचौर, गैरापोखरीलगायतका मुख्य चोकमा उनका मर्मस्पर्शी कविता पढ्ने व्यवस्था मिलाइएको छ ।

अर्घौं चोकदेखि कवि शिरोमणिको जन्मघरबीचको बाटो ठूली पोखरीमा तरुणतपसी पार्क निर्माण गरिएको छ । तालैतालको शहर अवलोकन गर्न आउने स्वदेशी एवम् विदेशी पर्यटकलाई यहाँको अर्को आकर्षणका रूपमा कवि शिरोमणि सङ्ग्रहालयलाई विकास गर्दै साहित्यिक पर्यटनको महत्वपूर्ण आकर्षणका रूपमा अघि बढाउने गरी कामहरू अघि बढेको समितिका सहसचिव रामप्रसाद तिमल्सिनाको भनाइ छ । 

उहाँका अनुसार समितिले कवि शिरोमणिलाई पहिलोपटक कविता लेख्न प्रेरणा मिलेको दोपहरे पाखालाई कविकुञ्ज पार्क बनाउने सोच राखेको छ । तिमल्सिनाका अनुसार जन्मस्थल परिसरमा समितिले निर्माण गरेको वनभोज स्थलका साथै सङ्ग्रहालयका कारण पनि विभिन्न विद्यालयबाट वनभोज र सङ्ग्रहालय अवलोकन गर्न आउने क्रम बढिरहेको छ । 

लेखनाथको जन्मस्थानलाई साहित्यिक पर्यटकीय तीर्थस्थलका रूपमा विकास गर्न खोजिनु नेपाली भाषा साहित्यप्रति उहाँले पु¥याएको योगदानको कदर भएको छब्दी मावि, ढोरफिर्दी तनहँुकी नेपाली विषयकी शिक्षिका शारदा भट्टराई बताउनुहुन्छ । प्रत्येक विद्यालयका विद्यार्थीलाई एक पटक कवि शिरोमणिको जन्मस्थल पु¥याउन सकेमा उनीहरूले कवि शिरोमणिका जीवनीका विविध पक्ष एकसाथ अवलोकन गर्न पाउने उहाँको भनाइ छ ।



Views: 93

सम्बन्धित सामग्री:

नेपालीलाई चाहिएको सहकारी

रिसव गौतम : फाल्गुन ११, २०७६ (३:५६ PM)

कथा : वियोग

राजेश अधिकारी : फाल्गुन १०, २०७६ (११:२२ AM)