24th February | 2020 | Monday | 8:54:28 AM

कांग्रेसले सम्झिनुपर्ने पुस १

विनोद दाहाल   POSTED ON : पुष १, २०७६ (१०:३५ AM)

कांग्रेसले सम्झिनुपर्ने पुस १

पुस १ गते नेपाली कांग्रेसका लागि एउटा अविस्मरणीय दिन हो तर पार्टीले यो दिन कहिल्यै सम्झिएजस्तो लाग्दैन । आफैँले गरेको काम आफैँलाई ठीक नलागेर यसो गरेको पनि हुनसक्छ । जुनबेला यस्ता दिनको स्मरण गर्न सकिने अवस्था थिएन त्यसको कुरै बेग्लै हो तर जब नेपाली कांग्रेस पार्टीकै हातमा शासनको बागडोर आयो र त्यो लामो समयसम्म रहृयो त्यसबेला पनि यसको सम्झना खासै गरिएन । 

प्रसंग हो विसं २०३१ सालको सशस्त्र क्रान्तिको । नेपाली कांग्रेसले २००७ सालको सशस्त्र क्रान्ति गरेकै हो र सफलता पनि पाएकै हो । तर, उसका लागि सधैँ यो परिस्थिति रहिरहेन । पार्टी भने सधैँ यही अवस्था रहिरहन्छ भन्ने भ्रम बोकेर हिँडिरहृयो । सात सालको एक दशकमै राज्य व्यवस्थामा निकै सबलता आइसकेको थियो । पञ्चायत लागु हुनासाथ नेपाली कांग्रेसले त्यसविरुद्ध अर्को सशस्त्र क्रान्ति ग¥यो तर सफल भएन । त्यो क्रान्तिमा पार्टीले निकै ठूलो मानवीय क्षति व्यहोर्नुप¥यो । त्यसको १३ वर्षसम्म खासै उल्लेख गर्न मिल्ने आन्दोलनहरू केही गरेन ।

केही क्षीण तयारी गरेर विसं २०३१ सालको क्रान्ति उद्घोष गरियो तर विभिन्न कारणहरूले गर्दा यो क्रान्ति सफल हुन सकेन । नेपाली कांग्रेसले जम्मा तीनवटा सशस्त्र क्रान्ति ग¥यो तर २००७ सालबाहेका अरूमा पराजित बन्यो । त्यसपछि उसले यो मानसिकता नै बदल्यो र त्यसपछिका आन्दोलनहरूका योजना अहिंसात्मकरूपमा मात्र अगाडि सारियो । 

२०३१ सालको क्रान्ति व्यापक तयारीबिना थालिएको थियो । भारतका केही ठाउँबाट जम्मा गरिएका हातहतियारमा भर गरिएको थियो । तिनको जाँच विशेषज्ञहरूबाट गराइएन । जमिनमुनि लुकाएर लामो समयसम्म राख्नाले तिनमा खिया परेको थियो । ती पड्किन्थे वा पड्किँदैनथे भनेर हेरिएन । दलालहरूबाट केही हतियारहरू नक्कली प्राप्त भएका थिए । लड्न जानेहरूमा युद्ध गर्न सक्नेहरूको सहभागिता कम थियो । क्याप्टेन यज्ञबहादुर थापा, महेश कोर्मोचा, जसधन राई, अगमुनि राई, लोकबहादुर गुरुङलगायतका केहीबाहेक कोही कलिला विद्यार्थी थिए भने कोही तालिम नलिएका सामान्य नागरिकहरू थिए । तिनको संख्या पनि थोरै थियो, जम्मा ३६ जना । 

बाटामा पनि हल्ला गरेर सबैलाई जानकारी दिँदै उनीहरू अघि बढेका थिए । पहाड–मधेस गर्ने बाटोबाट भरियाहरूलाई हातहतियार बोकाएर उनीहरू दिउँसै हिँडेका थिए । सोध्नेहरूलाई पुलका सामान हुन् भनेका थिए । डोकामा बोकेका बन्दुकका आकाशतिर फर्किएका टुप्पा सबैले देखेका थिए । तिनले केही हतियारहरू बाटाबाटामा फालेका पनि थिए । ‘लड्न डराउने र घर जान चाहनेहरू जाओ’ भनेर यज्ञबहादुरले केही सहकर्मीहरूलाई बिदा गरेका थिए । यसभन्दा पहिले नै योजना, नक्सालगायत गोलीका मेक्जिन बोकेका केही व्यक्तिहरू सिराहाबाटै भागिसकेका थिए । 

ओखलढुंगा व्यारेकका प्रमुखसँग व्यारेकमा आक्रमण गर्ने र उनीहरूले आत्मसमर्पण गर्ने भनेर बनाएको योजना पनि असफल हुने परिस्थिति खडा भयो । त्यहाँको व्यारेकको विष्णुदल गुल्म प्रमुख कर्णबहादुर बस्नेतले ‘फर्क नआओ, अवस्था राम्रो छैन’ भनेर पठाएको खबरलाई पनि उनीहरूले टेरेनन् । उनीहरू खुरुखुरु अगाडि बढिरहे । चुरेबाट उत्तर लागिसकेपछि वास्तवमा उनीहरू खोरमा परिसकेका थिए । जाने ठाउँ कहीँ थिएन र केही गर्न सकिने अवस्था पनि थिएन । उनीहरू ओखलढुंगा सदरमुकामभन्दा निकै पश्चिमको बाटो भएर सोलुको टिम्बुरबोटे ओढारमा पुगेर लुके । 

सरकारले यो सबै कुरा थाहा पायो । सोलु ओखलढुंगा र थप सहयोगका लागि काडमाडौंबाट भएको सैनिक बल तथा प्रहरीहरूले संयुक्तरूपमा टिम्बुरबोटे घेराउ गरे । उक्त ओढार छेकेर अग्नि रेखा बनाउन उनीहरूले मट्टितेलका टिनहरू पनि बोके तर पानी र हिउँ परेका कारण यसो गर्नै परेन । २०३१ साल मंसिर मसान्तको राति सेना र प्रहरीले त्यो इलाकामा घेरेका थिए । आन्दोलनकारीले त्यो कुरा थाहा पाएनन् । बिहान उज्यालो हुनेबेलाका सरकारी सुरक्षाकर्मीहरूले त्यहाँ आक्रमण गरे । आन्दोलनकारीहरूले आफूले बोकेका हातहतियारको प्रयोग यहाँमात्र गरेका थिए । त्यहाँ गएकामध्ये धेरै त त्यहीँ मारिए । मारिनेहरूमा महेश कोइराला, पूर्णबहादुर माइला राई, राम उपाध्याय, लक्ष्मण उपाध्याय, प्रजालाल राई, मानबहादुर बखिम लिम्बू, लालबहादुर थापा मगर, पदमप्रकाश पुरी र श्यामकुमार गुरुङ थिए । 

हिउँ परिरहेको चिसो समय लड्न सजिलो थिएन । ब्रिटिस आर्मीबाट फर्किएका लोकबहादुर गुरुङ, अगमनि राई, जसधन राई आदिलाई लडाइँको अनुभव भएका कारण उनीहरू जसोतसो जोगिएर भागे । जसमा न तालिम न अनुभव केही थिएन तिनीहरू त्यहीँ मारिए । भागेकामध्ये तीन घण्टा जति सोलु र ओखलढुंगा सिमानाको ठाडे भन्ने ठाउँमा बाटो ढुकेर बसेका सेनाबाट अगमुनि राई, कृष्णबहादुर लिम्बू, चक्रबहादुर तामाङ, मानबहादुर थापा मगर र शिवकुमार राई थिए । त्यहाँबाट पनि जसोतसो बँचेर भागेका लोकबहादुर गुरुङ हालसम्म पनि जीवित छन् । 

अर्को बाटो सोलुखोलो पछ्याएर खोटाङ हुँदै भोजपुर पुगेका जसधन राई त्यहाँबाट पनि भारतको जोगमनी पुगेर बाँचेका थिए । हाल जिउँदा सहिद भनेर चिनिने यी दुई यस घटनाका जिवित व्यक्ति आर्थिक दूरावस्थामा बाँचिरहेका छन् । त्यही जंगलमा घाइते अवस्थामा भेटिएका रामप्रसाद राईलाई शाही नेपाली सेनाले सोलु सदरमुकाम लगेर गोली हानी मारेको थियो । 

यो घटना सन्दर्भ पारेर विभिन्न ठाउँमा केशव कोइराला, खगेन्द्रप्रसाद दाहाल, गोकर्णबहादुर कार्की, जगतप्रकाश लिम्बू, ठगिराज दाहाल, पेशलकुमार दाहाल, रामकृष्ण श्रेष्ठ र लीलानाथ दाहाल मारिएका थिए । टिम्बुरबोटे भिडन्त स्थलमा १० जना, ठाडेमा ५ जना, सोलुमा १ जना, प्राप्चामा १ जना, टोक्सेलमा लाइन लगाएर गोली हानिएका ८ जना र अन्त फाटफुट मारिएका ६ जना र यो घटनाको पृष्ठभूमिमा मारिएका ८ जनाले यस काण्डसँग सम्बन्धित रहेर ज्यान गुमाए ।

विटारनगर हरिपुर आदि घटनामा पनि मानिसहरू मारिए । यस काण्डको पृष्ठभूमिमा हवाईजहाज अपरहण पनि भएको थियो । विद्रोहीलाई सघाएको भनी विष्णुदल गुल्मका जमदार कर्णबहादर बस्नेत र नायब भवेन्द्रबहादुर बस्नेतलाई सैनिक कोर्टमार्सल गरी मृत्युदण्ड दिइएको थियो । टोक्सेलमा लाइनमा राखेर गोली ठोकिएका आठजनामा अमरबहादुर खड्का, टीकाराम राई, भीमबहादुर कटवाल, रामकुमार सुनुवार, हर्कबहादुर कार्की, होमशेर राई, होमनप्रसाद राई र समशेरबहादुर कार्की रहेका थिए । यीमध्ये पाँचजना सोलु तिंला एउटै गाउँका थिए । मारिँदा भीमबहादर १५ वर्षका थिए । 

यसैगरी नेपालको इतिहासमै पहिलोपटक यस काण्डका कमाण्डर क्या यज्ञबहादुर थापा र सहयोगी भीमनारायण श्रेष्ठलाई कानुनी फैसलाका आधारमा मृत्युदण्ड दिइयो । 

यो काण्डमा केही प्रहरी पनि अपवाद पात्र बनेका थिए । एकजना ललितप्रसाद पोखरेल नामका असईले टिम्बुरबोटे भिडन्तका बेला लक्ष्मण उपाध्यायको तिघ्रामा गोली लागेको अवस्था एकजना प्रहरीले लात हान्दै गर्दा त्यसलाई हप्काएका थिए । अर्का एकजना प्रभुनारायण बस्नेत नामका मानिस समातेर ल्याउँदै गर्दा बाटामै मार्ने तयारी सेनाले गरेका बेला ती असईले उसलाई नमार्न सल्लाह दिएका थिए । ‘यो मानिसबाट अरूका बारेमा जानकारी लिन सकिन्छ मार्नुहुँदैन’ भनेर बँचाएका थिए जो हालसम्म पनि जीवित छन् । 

पछि उनैले बाटामा मार्नु भनेर सोलुका तत्कालीन सिडिओ रामेश्वर श्रेष्ठले आदेश दिएर काठमाडौं लाने बहानामा पठाएका ११ जना मानिसलाई उनले नमारी काठमाडौं ल्याइपु¥याएका थिए । उनले प्रहरी महानिरीक्षक र विशेष अदालतको न्यायाधीशबाट पनि ती कैदीलाई बाटामा नमारेको भनेर गाली खानुपरेको थियो । 

उनलाई पञ्चायतले जागिरबाट निलम्बन ग¥यो तर तत्कालीन सरगमाथा प्रहरी प्रमुख नरेन्द्रकुमार सुनुवारले उनलाई जागिरमा थमौती गरेका थिए । उनले नरेन्द्रले यसपूर्व ओखलढुंगामा समातिएका विद्रोहीहरूलाई मार्नुपर्छ भनेर त्यहाँका पदाधिकारीहरूले भन्दा ‘मार्नु हुँदैन, कानुनी बाटो अवलम्बन गर्नुपर्छ’ भनेका थिए । यिनै प्रहरीहरूको सदासयताबाट बाँचेका चन्द्रकान्त दाहाल, बलबहादुर राईहरू पछि सांसद र मन्त्री पनि भए । यस्ता उदारमना व्यक्तिहरूको खोजी भने पछि पनि भएन । 

माओवादी विद्रोहमा यति धेरै मान्छे मरे । उनीहरूले यसलाई ‘महान् जनयुद्ध’ भनिरहेकै छन् तर अचम्मको कुरो नेपाली कांग्रेसले आफूले गरेको यो क्रान्तिलाई सधैँ लुकाउन खोजेजस्तो देखियो । यसका बारेका कहीँ कतै गौरवपूर्वक देखाउन खोजिएन । इतिहासमा आफूले गरेको क्रान्तिलाई नेपाली कांग्रेसले कि त गल्ती भन्न सक्नुपथ्र्यो कि यसलाई गौरवपूर्ण तरिकाले अगाडि ल्याउनुपथ्र्यो । उसले यी दुवै गरेन । हामी शुभचिन्तकहरू भने यसबारेमा चासो राखिररहेका छौँ । खोज अनुसन्धान गरेर अहिलेसम्म छिपेका तथ्यहरू सार्वजनिक गर्न चाहिरहेका छौँ ।


Views: 89

सम्बन्धित सामग्री:

नेपालीलाई चाहिएको सहकारी

रिसव गौतम : फाल्गुन ११, २०७६ (३:५६ PM)

कथा : वियोग

राजेश अधिकारी : फाल्गुन १०, २०७६ (११:२२ AM)