24th February | 2020 | Monday | 8:36:42 AM

साइबर अपराधबाट बालबालिकालाई कसरीे जोगाउने ?

कृष्णप्रसाद सुवेदी   POSTED ON : पुष ४, २०७६ (४:३० PM)

साइबर अपराधबाट बालबालिकालाई कसरीे जोगाउने ?

काठमाण्डौंमा एक किशोरीले फेसबुकमा लेखिन्– फिलिङ स्याड, एलोन याट होम फर थ्री डेज । उनी घरमा एक्लै भएको उनका फेसबुके पाखण्डी फ्रेण्डहरुले यसैबाट थाहा पाए । आफ्नै घरमा उनीमाथि सामूहिक बलात्कार हुन पुग्यो । अपराधीलाई अपराध गर्न सजिलो माध्यम बन्यो फेसबूक अनि उनको स्टाटस् ।

कृष्णप्रसाद सुवेदी

भारतको एउटा शहरमा पच्चिस बर्षका एक युवकले फेसबुकमा लाइभ गर्दै आत्म हत्या गरे । २७ सयले यो लाइभ दृश्य हेरेका थिए ।  बिडम्बना ! कसैले पनि यस बारेमा प्रहरी या सम्बन्धित ठाउँमा खबर गरेनन् । के इन्टरनेटको भच्र्यूल संसारमा मानिसको संवेदनशिलता भच्र्यूल नै हुन लागेको हो ? सायद यस्तै घटनामा बढोत्तरी भएर होला फेसबुकले यस्ता घटनालाई निरुत्साहित गर्न कृत्रिम इन्टेलिजेन्स सफ्टवेयर बनाउनु प¥यो ।

बरु टेलिभिजन नभए चल्ला तर इन्टरनेट त चाहियो, चाहियो । आजकल सहरिया जीवन इन्टरनेट बिना कल्पना पनि गर्न नसकिने भयो । इन्टरनेटका माध्यमबाटै बालबालिका विभिन्न सामाजिक सञ्जालमा जोडिएका हुन्छन् । इमेल, फेसबुक एकाउन्ट खोलेका हुन्छन् । इन्टरनेट भनेको बालबालिका, किशोरकिशोरी या वयस्क तथा बुढाबुढी सबैको लागि मनोरञ्जन गर्न, खेल्न तथा साथी बनाउने या अध्ययन गर्ने चौतारी भएको छ । 

फेसबुकमा धेरै साथी बनाउने गजबको प्रतिस्पर्धा चलेको छ ! यस्ता प्रतिस्पर्धामा वयस्कहरु त सरिक छन् भने बालबालिकाको के कुरा । धेरै साथी भए धेरै लाइक खान पाइने । त्यसैले फेसबुकमा अपरिचितलाई साथी बनाउने प्रचलन बढ्दो छ । अझ विदेशी साथी बनाउन झनै लालयित हुन्छौं हामी । फलतः परिचित या अपरिचित, देशभित्र या बाहिरका ब्यक्तिहरु एकअर्कामा जोडिएका हुन्छन् ।

कालिकोट जिल्लाकी १० कक्षामा पढ्ने एक बालिका बाँके जिल्लाको एक युवकसँग फेसबुके साथी बन्दछिन् । फेसबुकमा उनीहरुको भलाकुसारी बढ्दै जान्छ । एक अर्कामा सामिप्यता बढ्दै जान्छ । कल्पनाको दुनियामा नै किन न होस् माया–प्रेममा रमाउन पुग्दछन् । एकले अर्कालाइ फोटो पठाउन थाल्दछन् । भेट भएको हुँदैन तर एक–अर्कामा सम्बन्ध गहिरिदै जान्छ । प्रेमीले विभिन्न पोजमा खिचिएको फोटो पठाउन भन्छ । प्रेमिकाले त्यसै गर्दछिन केटोले फोटो औधी मन पराएको च्याट गर्दछ । अर्ध नग्न फोटो पठाउन भन्छ । उनले पठाउँछिन् । एवं रितले केटोले नग्न फोटो पठाउन भन्दछ । केटी हिकिच्याउँछिन् । विहे गर्ने भएपछी हुनेवाला पतिलाई यति पनि विश्वास् नगर्ने भन्दै केटाले दवाब दिन्छ । केटी फोटो पठाउन बाध्य हुन्छिन् । त्यसै गरी केटाले फेसबुकको पासवर्ड हात पार्दछ । अनी उनको फेसबुकमा उनको नग्न फोटो पोष्ट हुन्छ र भाइरल बन्दछ । अन्तत एउटा कलिलो कोपिला अपराधीको सिकार बन्न पुग्छिन् ।    

के हो त बालबालिका माथि हुने साइबर अपराध ? 

इन्टरनेटको माध्यमबाट गरिने चरित्र हत्या, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा, धोकाधडी, अर्काको पहिचान अनधिकृत रुपमा प्रयोग, क्रेडिट कार्ड तथा एकाउन्ट आदिको चोरी गरी गरिने बैंकिङ कसुर, अर्काको कम्प्यूटर तथा विद्युतीय उपकरण तथा नेटवर्किङमा पु¥याउने क्षति लगायत अबैधानिक कार्यलाइ साइबर अपराध मानिन्छ ।   

बालबालिका माथि हुने साइबर अपराध भनेको कुनैपनि परिचित तथा अपरिचित व्यक्तिले इन्टरनेटको माध्यमबाट बालबालिका माथि गरिने अपराधिक कार्य हो । इन्टरनेट भनेको ब्रम्हाण्डमा रहेका कम्प्यूटर तथा स्मार्ट मोबाइल फोनलाइ एउटै सञ्जालमा जोडी अथाह सूचना तथा ज्ञानको स्रोतको उपलब्ध गराउँदै सञ्चारको पहुँचमा बृहत विस्तार गर्ने साधन हो । 

आजका बालबालिकाले सामाजिक सञ्जाल वेब साइट चलाउनु आम प्रचलनको रुपमा रहेको छ । वेब साइट जसले सामाजिक सम्पर्क स्थापना गर्दछ त्यसलाई सामाजिक मिडिया साइट भनिन्छ । यस अन्तरगत सामाजिक सञ्जाल जस्तै फेसबुक ट्विटर, गेमिङसाइट, भिडियो साइट जस्तै यूट्यूब, ब्लग आदी पर्दछन् ।

साइबर अपराधको मूल्य   

साइबर अपराध नियन्त्रण भन्दा बाहिर छ भन्दा तपाइलाइ आश्चर्य लाग्न सक्ला । सन् २०१८ मा साइबर अपराध मार्फत १.५ ट्रिलियन अमेरिकी डलर (१ डलर बराबर १०० रुपैया मान्दा नेपाली रुपैँया १५०,०००,०००,०००,००० हुन आउँछ) यसमा संलग्न हुने अपराधीहरुले मूनफा गर्ने अनुमान गरेका छन । १८५ देशहरु मध्ये विश्वका १२ धनी देशहरु बाहेकको कूल ग्राहस्थ उत्पादन भन्दा यो रकम बढी हुन आउँछ । सन २०१८ मा ७० करोड मानिस साइबर क्राइमबाट पीडित भएका थिए । साइबर अपराध यत्र तत्र र सर्वत्र छ । अनलाइनको माध्यमबाट हुने अपराध विश्वमा सबैभन्दा दु्रत गतिमा बढ्दै छ । साथै त्यही रफ्तारमा पीडित बालबालिकाको संख्या बढ्दो छ ।  

साइबर अपराधबाट बालबालिकालाई कसरी बचाउने ?

इन्टरनेटको प्रयोग हाम्रो दैनिक जीवनको अभिन्न अंग बनेको छ । व्यापार या कार्यालयहरुमा गरिने काम होस्, सूचना तथा ज्ञान आर्जन गर्न या एक अर्कासँग भलाकुसारी गर्न या साथीभाइको पहुँच विस्तार गर्न इन्टरनेटको प्रयोग दिन प्रतिदिन तिब्र गतिमा बृद्धि भइरहको छ । 

घरको गेट तथा ढोका बन्द गरेर अवाञ्छित व्यक्तिको प्रवेश रोक्न सकिएला । सिसि क्यामेरा राखेर निगरानी पनि गर्न सकिएला । तर इन्टरनेटको माध्यमबाट हुने अपराधलाई रोक्ने कसरी ? इन्टरनेटमा बन्देज लगाएर बालबालिका माथि हुने अपराध रोक्न कतिको बाञ्छनीय हुन्छ ? या मोबाइल फोनबाट टाढा राखेर बालबालिकालाई हुर्काउन सकिन्छ ? त्यसैले बालबालिकालाई इन्टरनेटबाट अलग्ग राख्ने होइन यसको सहि सदुपयोगमा हामी सबैको ध्यान जानु पर्दछ । 

सामाजिक सञ्जालमा एक पोष्ट गरिएका समाग्री तथा फोटा कहिल्यै पनि हटाउन सकिदैन । तपाईको मोबाइल फोन या कम्प्यूटरबाट डिलेट गर्नुहोला तर क्लाउडमा यो रहन्छ, रहन्छ । यसलाई हटाउने कुनै कमान्ड छैन । ह्याकरले कुनैपनि बेला यसलाई डाउनलोड गर्नसक्दछ । त्यसैले कुनै कुरा पोष्ट गर्न भन्दा पहिले एक पटक सोचेर मात्र पोष्ट गर्न कहिल्यै तपाईले आफ्ना छोराछोरीलाई बताउनु भएको छ ? छैन भने बताउन ढिलो नगर्नुहोस् ।

त्यस्तै फेसबुकमा नयाँ साथी बनाउनु भन्दा पहिले एक पटक सोच्नु पर्दछ या कुनै अपरिचितसँग कुरा गर्नुभन्दा पहिले कोसँग के विषयमा च्याट गर्न लागेको भनेर सोच्नु पर्दछ भनेर बताउनु भएको छ ?     

बा–आमाले सामाजिक सञ्जालमा केटाकेटीे झुण्डिएका झुण्डिएई भए र बिग्रिए भनेको सुन्दछौं । तर घरमा बा–आमाले सामाजिक सञ्जाल बढी चलाउँदछन् कि छोराछोरीले भनेर कहिले सोच्नु भएको छ । आफू सामाजिक सञ्जालमा झुण्डिरहने अनि छोराछोरीलाई नचलाउ भन्दै गाली गर्नु कतिको जायज हुन्छ ? बालबालिकाले बा–आमाले भनेको सुनेर हैन, बा–आमाले गरेको हेरेर सिक्दछन् भन्ने तपाईलाई हेक्का हुनु जरुरी छ ।  

सामाजिक सञ्जाल बालबालिका तथा किशोर किशोरीको सामाजिक तथा रचनात्मक जीवनको लागि महत्वपूर्ण छ । सामाजिक सञ्जालले एकअर्कामा जोडिन, ज्ञान आर्जन, रचनात्मक कार्य तथा मनोरञ्जन आदि पर्दछ भने अनूचित सामग्री, साइबर बुलिङ, आपत्तिजनक समाग्रीहरुमा पहूँच आदि यसका वेपmाइदा हुन् । सहि मार्गनिर्देश दिन सके बालबालिकाहरुले सामाजिक सञ्जालबाट लाभान्वित हुन्छन् । 

अहिलेका युवाहरु ईथिकल ह्याकर बन्ने होड चलेको छ । ह्याकर इथिकल हुँदैन । चोरी गर्नु अपराध हो । त्यस्तै अर्काको एकाउन्टमा अनाधिकृत छिर्नु या कुनै वेबसाइट ह्याक गर्नुपनि गैरकानुनी हो भनेर कहिलै छोराछोरीलाई बनाउनु भएको छ ?   

इन्टरनेट या सामाजिक सञ्जालको सही सदुपयोगका लागि जागरुकता आजको आवश्यकता हो । इन्टरनेटको सहि सदुपयोगका लागि परिवारभित्र सबैको पहुँच भएका स्थानमा इन्टरनेट चलाउन प्रोत्साहन गरौं । 

आजको युगमा इन्टरनेट नभइ नहुने साधन भएता पनि इन्टरनेटको दुनिया भनेको कल्पनाको दुनिया (भच्र्यूल वल्र्ड) हो । कल्पनाको दुनियामा बाँच्नको लागि बालबालिकाको प्रतिरोधात्मक (रेजिलेन्श) शक्ति बढाउनु हामी बयस्कको दायित्व हो ।  

अन्त्यमा हावाहुरी रोक्न पर्खाल लगाउने कि टर्बाइन मिल बनाएर हावाबाट बिजुली उत्पादन गर्ने ? इन्टरनेटको प्रयोगमा बन्देज लगाउने कि यसको सहि व्यवस्था पनि गर्ने ? सोच्ने हामी बयस्कले हो । 

(लेखक बाल विकास समाजका कार्यकारी निर्देशक हुन्)


Views: 1676

सम्बन्धित सामग्री:

नेपालीलाई चाहिएको सहकारी

रिसव गौतम : फाल्गुन ११, २०७६ (३:५६ PM)

कथा : वियोग

राजेश अधिकारी : फाल्गुन १०, २०७६ (११:२२ AM)