19th January | 2020 | Sunday | 7:32:41 AM

केही वर्षदेखिको व्यापारिक स्थिति

डा सुमनकुमार रेग्मी   POSTED ON : पुष २९, २०७६ (१०:३७ AM)

केही वर्षदेखिको व्यापारिक स्थिति

निर्यात बढाउने मुख्य स्थान धागो, गलैँचा, तयारी पोसाक र पश्मिनाले लिँदै आएकोमा २०७६÷७७ का अघिल्ला महिनामा पाम तेलले पहिलो स्थान पाएको देखिन्छ । बेलाबेलामा नेपालको निर्यातमा नौलो वस्तु देखा पर्छ र फेरि त्यो हराएर जान्छ । विगतमा यस्ता निकासी वस्तुमा झुसेतिल, सुपारी, मरिच, सुन, ल्वाङ, दालचिनी आदि छन् । २०७६÷७७ मा आएर पाम आयल देशको पहिलो निर्यात वस्तु भएको छ । 

चालु वर्षको पहिलो चार महिनामा आयातीत पाम तेलले देशको कृत्रिम निकासी बढाएको छ । यस्तो निकासी देशको अर्थतन्त्रका लागि घातक वा मन्दविष हुुन सक्छ । अन्य देशबाट पाम तेल आयात गर्दा थोरै भन्सार लाग्छ । नेपालबाट भारत निकासी गर्दा भने भन्सार महसुल नलाग्ने गरेकाले यसको निकासी बढेको हो । यस्ता निर्यात देशको लागि घातक हुन सक्छन् । 

पाम तेलको कच्चा पदार्थ भारतमा अन्य देशहरूबाट निर्यात गर्दा करिब ४० प्रतिशत भन्सार महसुल लाग्छ । नेपालबाट निर्यात गर्दा भन्सार लाग्दैन । नेपालमा अन्य देशबाट आयात गर्दा गुणस्तरका आधारमा ५–७ प्रतिशतसम्म भन्सार लाग्छ । अन्य देशबाट नेपाल आयात गर्दा थोरै भन्सार लाग्ने र पुनः भारत निकासी गर्दा भन्सार महसुल नलाग्ने गरेकाले व्यापारीहरूले ट्राञ्जिट बनाई प्रशोधन गरेर यो तेल निर्यात गर्ने गरेको देखिन्छ । पाम तेल कच्चा पदार्थका रूपमा नेपालमा मलेसिया र इण्डोनेसियाबाट आयात हुने गरेको छ । प्रशोधित पाम तेल भारतमा निकासी भइरहेको छ । 

यस्ता आयातीत वस्तुहरूमा पेट्रोलियम पदार्थ, तयारी कपडा, एमएस बिलेट, एचआरसिट, हवाईजहाज र हेलिकप्टर बढी छन् । त्यस्तै अन्य वस्तुहरूमा प्रशोधित पाम आयाल, सेन्थेटिक यार्न, ऊनी गलैँचा, तयारी पोसाक, भटमासको प्रशोधित तेल, अलैँची, फलपूmलको जुस रहेका छन् । वर्षको सुरुको चार महिने अवधिमा देशको आयात ४ सय ५० अर्ब, कुल व्यापार ४ खर्ब ८६ अर्ब र निर्यात ३६ अर्ब रुपैयाँभन्दा बढी देखिन्छ । देशको निर्यात चार महिनामा ३६ अर्ब र पाम तेलको निर्यात ८ अर्ब रुपैयाँभन्दा बढी भएको छ । 

बढी फाइदाका लागि पाम तेल तेस्रो देशबाट आयात गरी त्यसलाई प्रशोधन गरेर भारत निर्यात गर्ने कार्य हँुदैआएको छ । विश्व व्यापार संगठनको प्रावधानअनुसार अरूको देशमा वस्तु निकासी गर्न कम्तीमा दुई प्रशोधन प्रक्रिया चाहिन्छ ।

चालु आर्थिक वर्षमा दोस्रो निकासी वस्तुमा धागो देखा परेको छ । आर्थिक वर्ष २०७०÷७१ मा धागो पहिलो निकासी वस्तुमा थियो । अब त गलैँचा र तयारी पोसाक देशको तेस्रो र चौथो स्थानमा परेको छ । धागाको माग बंगलादेशबाट अत्यधिक मात्रामा हुँदै आएको छ तर अवरोधका कारण निर्यात बढाउन सकिएको छैन । आयातीत वस्तुमध्ये पहिलो नम्बरमा डिजेल रहेको छ । तयारी पोसाकको आयात पनि अत्यधिक छ । 

चालु आर्थिक वर्षको महिनागत वैदेशिक व्यापारमध्ये आर्थिक वर्ष २०७६÷७७ को पहिलो तीन महिना अर्थात् साउनदेखि असोजसम्ममा नेपालको बाहृय निर्यात र आयात व्यापारमा सुधारको संकेत देखापरेको छ । २०७५÷७६ का सोही महिनाहरूमा तुलनात्मकरूपमा निर्यात अलिकति भए पनि बढ्दैछ । तर, आयात पनि घट्दै गइरहेको देखिन्छ । यसको प्रभावबाट समग्ररूपमा व्यापार घाटा पनि खुम्चिँदै गएको छ । २०७६÷७७ को असोजसम्म वैदेशिक व्यापार ३ खर्ब ६२ अर्ब ११ करोड रुपैयाँ पुगेको देखिन्छ । 

कुल वैदेशिक व्यापार उक्त अवधिका २०७५÷७६ को तुलनामा ८.८६ प्रतिशतले घटेको देखिन्छ । अघिल्लो वर्षको अघिल्लो तीन महिनामा निर्यात २३ अर्ब ७४ करोड थियो भने चालु वर्षको अघिल्लो तीन महिनामा २७ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । चालु पहिलो तीन महिनामा कुल १२१ देशसँग बाहृय व्यापार भएकोमा २२ देशसँग मात्र व्यापार नाफामा छ । नेपालका प्रमुख पाँच व्यापारिक साझेदारमा भारत, चीन, इण्डोनेसिया, अमेरिका र क्यानाडा छन् । आयात र निर्यात दुवै दृष्टिबाट बाहृय व्यापारको ठूलो भाग भारतसँगै जोडिएको छ । 

केही वर्षअगाडिदेखि अर्थावस्था परिवर्तन हुँदै आएको छ । व्यापार घाटा उच्च छ । रेमिट्यान्स वृद्धिदर घट्दो छ । २०७४÷७५ र २०७५÷७६ का प्रायः सबै महिना चालु खाता र शोधनान्तर ऋणात्मक हुनु यसैको असर हो । 

नेपाल आउने कुल रेमिट्यान्समध्ये ७० प्रतिशतभन्दा बढी खाडी देशहरूबाट आउने गरेको थियो । ती देशहरूमध्ये पनि साउदी अरब, कतार, कुवेत, युएई, र बहराइनबाट मात्र उक्त रकम नेपाल भित्रिएको थियो । ओमानबाट औपचारिकरूपमा नेपालमा रेमिट्यान्स भित्रिएको छैन । हालका वर्षमा रेमिट्यान्स भित्रिने ढाँचा परिवर्तन हुँदै गएको छ । पछिल्ला एकडेढ वर्षयता साउदी र कतारको हिस्सा घट्दै गएको छ । २०७५÷७६ पछि सबैभन्दा धेरै रेमिट्यान्स अमेरिकाबाट आउने गरेको छ । विगतमा अर्थतन्त्रका हिसाबले ठूला र धेरै कमाइ हुने भनिएका जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, क्यानाडा, अमेरिका आदिबाट रेमिट्यान्स आउने गरेको थियो । 

आर्थिक वर्ष २०७५÷७६ मा १४ खर्ब १८ अर्ब ५४ करोडका सामान आयात भएको थियो । यो आयात अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले बढी थियो । यसैगरी अघिल्लो वर्षमा कुल वस्तु निर्यात १९ दशमलव चार प्रतिशतले बढेर जम्मा ९७ अर्ब ११ करोड रुपैयाँ पुगेको थियो । आयात र निर्यातबीचको उच्च असन्तुलनकै कारण कुल व्यापार घाटा १३.५ प्रतिशतले बढेर १३ खर्ब २१ अर्ब ४३ करोड रुपैयाँ भएको थियो । 

निर्यातमा सुधार राम्रो देखिए पनि आयातीत कच्चा पदार्थ प्रशोधन गरेर निर्यात हुँदा सन्तोष मान्न सकिँदैन । भारत नीतिका कारण केही फाइदा देखिए पनि फेरबदलले देशलाई कुनै दिन समग्र अर्थतन्त्रमा नोक्सान हुन जान्छ । भन्सार महसुलको कच्चा पाम आयलमा कम भएको कारण पाम तेल निर्यातमा केही फाइदा देखिएको हो । दिगो गुणस्तरका निर्यात वृद्धिका लागि उद्योग उत्पादन क्षमतामा वृद्धि आवश्यक छ । 

नेपाल भारत पारवहन सन्धि पुनरावलोकनसम्बन्धी प्राविधिक समितिको बैठक चालु आर्थिक वर्षको मार्ग १० र ११ मा सम्पन्न भएको थियो । नेपालले पश्चिम बंगालको कोलकाता बन्दरगाह, हल्दिया बन्दरगाह, आन्द्र प्रदेशको विशाखापटनम बन्दरगाह प्रयोग गर्न पाउने सम्झौता भए पनि हालसम्म कलकाता बन्दरगाह नै प्रयोग हुँदैै आएको छ । नेपालले विद्युतीय कार्गाे निगरानी प्रणाली इलेक्ट्रोनिक कार्गो टेकिङ सिष्टम अर्थात् इटिएस सञ्चालन गर्न माग गर्दै आएको छ । 

सन् १९९९ मा पारवहन सन्धि पुनरावलोकनपछि २०१९ मा पुनरावलोकन गर्ने भनिएको थियो तर भएन । सन् २०१३ मा भएको पारवहन सन्धिको समयावधि २०७६ पुससम्ममा सकिने भएकाले पारवहन सन्धि पुनरावलोकनका लागि दुई देशबीच छलफल सुरु भएको छ ।


Views: 70

सम्बन्धित सामग्री:

भोलिका तिमी हौ

रसिकदेव : माघ ४, २०७६ (१०:३६ AM)