17th February | 2020 | Monday | 6:03:46 AM

राजनेता बन्ने कि भ्रष्टाचारको भाइरस ?

राजन कार्की   POSTED ON : माघ ९, २०७६ (११:०१ AM)

राजनेता बन्ने कि भ्रष्टाचारको भाइरस ?

निर्मला पन्त, गंगामाया अधिकारी र सुन्तली धामी पनि देश हो । निर्मलाले मरेर पनि न्याय पाइनन्, गंगामाया न्याय न्याय भन्दै मर्ने हालतमा पुगिसकिन्, सुन्तली धामी बलात्कृत भएर पनि दबाइएकी छन् । तिनै मातृसमूह हुन् जुन देशमा मातृसमुदाय न्याय न्याय भनेर मर्नुपर्ने स्थिति हुन्छ र राजनीति, प्रशासन र नागरिक समुदाय तमासा हेरेर बस्छन्, त्यो स्वदेशी र विदेशीबाट निरन्तर बलात्कारमा परिरहेको छ भन्ने बुझ्नुपर्छ ।

परिवर्तन भयो, सर्वसुलभ न्याय व्यवस्था कायम हुन सकेन । न्यायकै लागि २५ वर्षमा नेपाल रगतले लथपथ भएको हो । राजनीतिक सत्ता बन्दुकको नालबाट निस्कन्छ भनेका थिए माओले । माओवादी संगठन बनाएर जनयुद्ध हाँकेका प्रचण्डले ठूला परिवर्तन हिंसाबाट हुन्छ भन्ने अर्को नारा निकाले । १७ हजारको हिंसापछि परिवर्तन भयो, हिंसा अर्थात् रगतको खोलो बगाएपछि परिवर्तन भयो । परिवर्तन आयो । न्याय सर्वसुलभ भएन ।

जनयुद्ध सुरु हुनुपूर्व अर्थात् २०४७ सालको आम निर्वाचनको प्रचार गर्ने सन्दर्भमा लौहपुरुष भनेर चर्चित नेपाली कांग्रेसका नेता गणेशमान सिंहले भनेका थिए, ‘कम्युनिष्ट आए भने दाल, भात, तरकारी अरू सबै सरकारी हुन्छ । नभन्दै २०६३ सालको जनआन्दोलनको सफलतापछि परिवर्तन आयो । परिवर्तनपछि प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, डा बाबुराम भट्टराई, केपी ओलीहरू प्रधानमन्त्री बने, ५ जना कम्युनिष्ट पटक–पटक प्रधानमन्त्री हुँदा र अहिले २०७२ सालको संविधानपछि भएको आम निर्वाचनपछि पनि कम्युनिष्टकै एकछत्र शासन हुँदा पनि अन्याय शक्तिशाली नै छ । 

तिनले न्याय र समानताका लागि के के गरे, परिवर्तित माहोलमा के के परिवर्तन ल्याए भन्ने लेखाजोखा गर्ने हो भने माओ र प्रचण्डले भनेजस्तो सत्ता त हिंसाबाटै आयो तर गणेशमानले भनेजस्तो दाल, भात, तरकारी, अरू सबै सरकारी गर्नेबाहेक केही भएको देखिँदैन । सरकारमा बसेर जनताले तिरेको र विदेशीले दिएको दान, ऋणमा फुपूको श्राद्ध गर्नेमात्र काम भएको छ । जीर्ण कम्युनिष्टहरू नव बादशाह बनेका छन् । अन्यायको रातो लाहाछाप प्रत्येक नेताको मुहारमा देख्न सकिन्छ ।

राजनीति गर्नेहरूका लागि जनता भगवान् हुन् । भगवान् खुसी पार्ने, सच्चा सेवक साबित हुने हजयात्रा भनेको चुनाव नै हो । तर, जति पनि व्यक्ति, पार्टी सत्तामा गए, जनताको आँखामा छारो हालेर चुनाव जिते, सत्तामा पुगेपछि संविधान उल्लंघन गर्न र विधि मिच्न थाले । जनताले खबरदारी गर्न सकेनन्, फलतः जवाफदेहीविहीनता बढ्यो । अन्याय र अनियमितता झन् झन् फैलिएर गए ।

कटवाल प्रकरणमा लज्जाबोध भएर राजीनामा दिन पुगेका प्रचण्डले काठमाडौं र रौटहटबाट चुनाव हारेका माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाइदिए । त्यतिबेला मालद्विप्स सरकारको बैठक ५ हजार मिटर समुद्रमुनि बसेको थियो । प्रधानमन्त्री माधव नेपाल के कम ? २०६६ साल मंसिर १९ गते उनले समुद्र सतहभन्दा ५ हजार २ सय ४२ मिटर माथि अर्थात् सगरमाथाको काखमा मन्त्रिमण्डलको बैठक गरे । १० बुँदे सगरमाथा घोषणापत्र पनि जारी गरे । 

त्यसपछि, मौसम परिवर्तनदेखि वातावरण सन्तुलनसम्मको त्यो घोषणापत्रको आजसम्म खोजखबर केही पनि छैन । अग्लो ठाउँमा मन्त्रिपरिषद् बस्दैमा विधिको शासन, कर्तव्यपरायणता आउने होइन रहेछ । त्यो नौटंकी पनि राष्ट्रका लागि अन्याय नै साबित हुन पुग्यो । प्रत्येक सरकारले यस्ता नाटकहरू देखाइरहे, ताŒिवक निष्कर्ष हात लाग्यो शून्य भइरहृयो ।

अहिले पनि प्रधानमन्त्री छन् कम्युनिष्ट केपी ओली । देखाउनका लागि नागरिक सर्वोच्चता र मौलिक तथा मानवाधिकारयुक्त संवैधानिक सरकार हो यो । यो सरकारले पार्टी सर्वोच्चता, भाग शान्ति जय नेपाल सर्वोच्चताको शासन चलाइरहेको छ । यो कम्युन्यालिजम नभए के हो ? अन्याय अर्थात् अरिंगालसम्मको ज्यादती शासन ।

अर्थात् संसद् र सरकार रेडलाइट इलाकाजस्तो उच्छृंखल, स्वेच्छाचारी र नैतिकहीन छ । देशको हित के हो, देशको सीमा किन सुरक्षित छैन, सरकार र संसद्ले बेवास्ता गरेका छन् । विदेशीहरू संसद्, सर्वोच्च, सुरक्षा निकाय जताततै लगानी गरिरहेका छन् र कानुन व्यवस्था चलाउनेहरू स्वाधीनताको गफ गर्छन्, सार्वभौमिक हौँ भन्छन् । विदेशीको चरनक्षेत्र बनेको चाल नपाउनेले समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना पूरा गर्लान् ? नागरिकबाट अन्याय राष्ट्रमाथि समेत भइरहेको छ ।

राजनीति गर्ने सडकमा हुन् कि संसदमा, शक्तिमा हुन् कि सरकारमा, तिनले बताइदिउन्, नेपालको नक्सा कुन हो ? नेपालको राष्ट्रनिर्माता को हो ? नेपालको राष्ट्रिय नीति के हो ?

भनिन्छ, राणा जार संहार रुचाउँछन् । जनयुद्ध संहार थियो, किनकि जनता मारिए । जनआन्दोलन पनि संहार नै हो किनकि राजतन्त्र र हिन्दुधर्मको संहार गरियो । लोकतन्त्र पनि संहार नै हो किनकि लोकले चाहेको, अपेक्षा गरेको, लोकसँग गरेका प्रतिबद्धता केही पनि पूरा गरिएन । जे भयो, बलात्कार र हत्या भयो । नीतिगतदेखि आर्थिक भ्रष्टाचार भइरहेको छ । कमिसन र माफियातन्त्रमा सरकारको समेत संलग्नता देखिन्छ । देशहित देखिँदैन, व्यक्ति र पार्टी हितमा संविधान, सत्ताको दुरुपयोग बढेको छ । संहारलीला लोकतान्त्रिक शासनको विशेषता बन्न पुगेको छ । यो हदसम्मको अन्याय...।

अचम्म त के छ भने, देश र जनताका लागि गर्नैपर्ने कर्तव्य पूरा गर्न नसक्दा पनि पश्चात्ताप गर्न कोही तयार छैनन् । १९०३ मा मान्छे काटेर कोतपर्व भयो, अहिले कुशासनको खुकुरीले जनताको अपेक्षा काट्ने काम भइरहेको छ । नीतिकथामा भष्मासुरको प्रसंग पढ्न सकिन्छ, लोकतन्त्रमा नेताहरूको भष्मासुरे प्रवृत्ति भोगेका छौँ । यसबाट देशका नागरिक र सबै सञ्जालको नैतिकबल नष्ट हुँदै गएको छ ।

नेता, शासक र प्रशासक सुकिलो हुनु परिवर्तन होइन । तिनका ठूला ठूला महल बन्नु, तिनले महंगा गाडी चढ्नु, नयाँपन होइन । बेपत्ता र सत्यनिरूपण तथा मेलमिलाप आयोग भागबण्डामा बन्यो । न्यायाधीश भागबण्डामा नियुक्त भए । राजदूतको पद पैसामा बिक्री भयो । आफन्त जतिसुकै अयोग्य भए पनि योग्य देख्ने र योग्यहरूलाई पन्छाउने परम्परै बस्यो । भ्रष्टाचार र व्यभिचार राजनीतिको नानीदेखिको लत, नमेटिने खतले कसैलाई पिरेको छ भने वर्तमान पुस्तालाई पिरेको छ । वर्तमान पुस्ता पीडित हुनु भनेको देशको भविष्य अन्धकार पार्नु हो ।

सुल्टो बोल्ने र उल्टो गर्ने प्रवृत्तिले राजनीतिज्ञहरूप्रति घृणा फैलिएको छ । प्रशासकहरूप्रति विश्वास छैन । वितण्डा शासन, प्रशासन, नीतिनिर्माणदेखि सर्वत्र महामारी फैलिए जसरी फैलिएको छ । तैपनि, झुसिलकिराहरू गज्जब गरेको आत्मरतिमा रमाउँछन् र पाखण्ड प्रदर्शन गर्छन् । पाखण्ड विध्वंश हो, सर्वनासको बीउ हो । यसकारण पाखण्डीहरू, यी सबै दयाका पात्र हुन् ।

हिंसा जय नेपाल भन्नेले प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेर, सबै भ्रष्टाचार र अनियमिततामा सहभागी भएर, बोलेर नबोलेर गरिरहेकै छन् । हिंसा लालसलाम भन्ने वर्गले गँजडीलेझैँ भ्रष्टाचारलाई भाङ बनाएर खाइरहेको छ र भ्रष्टाचारमै आहाल जमाएर आतुर भोजमेला चलाइरहेछ ।

हिंसा जय राष्ट्रवाद भन्ने कित्ताकित्ताका समूहले यज्ञ, महायज्ञ, रथयात्रा, कलशयात्रा गर्नेले सत्ताको राजनीतिमा लम्पट भएर र प्रतिबद्धता भुलेर गरिरहेकै छन् । जबसम्म गिदी हुनुपर्ने टाउकामा लिदी छ भन्ने व्यवहार देखाउने काम हुन्छ, तबसम्म यो फिरंगी र भिरंगीको प्रभावको राजनीतिक मानसिक दासताबाट मुक्त हुन सकिँदैन । देशको स्वाधीनता र सार्वभौमिकतामा यिनैले प्रहार गरिरहनेछन् ।

संविधान सभादेखि संविधान जारी भएसम्मका ८ वर्षमा के भएन ? झण्डा जल्यो, टोपी बल्यो, एकदेशमा बहुल राष्ट्रवाद भनियो, नेपालको नामै हटाउने षड्यन्त्रसमेत भयो । नेपालको झण्डा र नामसमेत नमान्ने वर्गले बनाएको संविधान यिनैले स्वार्थमा बेकम्मा पारिरहेका छन् । योभन्दा ठूलो राष्ट्रघात के हुन्छ ? यसकारण संविधान असफल भइसक्यो ।

भनिन्छ निषेधको किल्ला चीन हो । सहिष्णुताको मैदान युरोप हो । सत्यको किल्ला अमेरिका हो । पूर्वीय दर्शन र वेदभूमि नेपाल हो । अरू मुलुकका महिमा कायमै छन्, नेपाललाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ । भ्रष्टाचार हुने, विकासका नाममा कागजी घोडा दौडने र झुटको किल्ला भनेको नेपाल हो भन्छन् विदेशीहरू । अझै कति ठूलो अवसर छ प्रचण्डसामु । शेरबहादुर देउवा र केपी ओलीसामु ।

पर्सिया बनाए बिस्मार्कले । नेपाललाई विकासशील बनाउने इच्छाशक्ति राख्ने हो भने यिनीहरू अमर हुन सक्छन् । एउटा प्रजातन्त्रको रथी, अर्काथरि लोकतन्त्रको महारथी । यिनले यत्ति बुझिदिए हुन्छ, ‘मान्छे आस्थाका कारण हनुमानको मन्दिर बनाउँछन् र पूजा गर्छन् । कसैले पनि न विभीषणको मन्दिर बनाउँछन्, न पूजा नै गर्छन् । ठूलो नेताको ठूलो कदको आस्था आर्जन गर्ने कि ठूलो नेताको सानो कदमा विलीन हुने ? राजनेता बनेर मर्ने कि भ्रष्टाचारको भाइरस बन्ने ? निर्णय यिनै नेताले गर्नुपर्छ ।

इतिहास हेरून्, ईसापूर्व ६००–८०० मनिएको अथर्व परिशिष्टमा समेत नेपाल उल्लेख छ । त्यतिबेलाका ६ देशहरूमा समेत नेपाल रहेछ । यति जेठो मुलुकमाथि घात गरेर शासन प्रशासनका नेतृत्व तह वर्तमान र आउने पुस्ताको सराप नबनून् ।

Views: 60