17th February | 2020 | Monday | 7:01:15 AM

अर्धस्वीकारोक्तिभित्रको निहितार्थ

श्रीमन् नारायण   POSTED ON : माघ १०, २०७६ (१०:०९ AM)

अर्धस्वीकारोक्तिभित्रको निहितार्थ

माघी महोत्सवलाई सम्बोधन गर्दे सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टीका एक अध्यक्ष पुष्पकमल दाहालले एउटै तीरबाट धेरै सिकार गरेका छन् । उनी बेलाबेलामा यसरी जनभेलालाई सम्बोधन गरेर भावुक बन्न र बनाउन सिपालु छन् । उनले यसपटक प्रतिनिधि सभाको सभामुखमा आफ्ना समर्थकलाई विजय गराएर यसको ठूलो प्रमाण दिइसकेका छन् । उनको लामो समयसम्मको अडानबाटै अग्नि सापकोटा यस पदमा छनोट हुन र विजयी बन्न सफल भएका हुन् । नत्र, जनमानसमा उनको छवि स्वच्छ छैन । उनी द्वन्द्वकालमा भएको हत्याको आरोपी हुन् र त्यही आरोपमा हालसम्म पनि मुद्दा खेपिरहेका छन् । 

पश्चिमी तराईमा बढी नै र सम्पूर्ण तराईमा सर्वाधिक जनसंख्या भएको थारू समुदायलाई आपूmतिर आकर्षित गर्ने उनले भावनात्मक कार्डको उपयोग पनि गरेका छन् । बहुचर्चित कैलाली घटनामा संलग्न मानिएका र अदालतको आदेशमा हिरासतमा राखिएका राजपा नेपालका सांसद रेशम चौधरीप्रति उनले सद्भाव र सहानुभूति जनाउनु यसैको संकेत हो । उनले थारूसितको आफ्नो सानिध्य, सहकार्य र सम्बन्धको चर्चा गरेर थारूहरूलाई मधेसीको रणभुलमा नपरी रेशम चौधरीलाई पनि उनलेमात्र हिरासतमुक्त गर्न सक्ने दाबी गर्दे आफूप्रति आशावादी रहन धम्कीयुक्त सुझाव दिएका छन् । 

आपूmलाई नेपालका भूमिपुत्र दाबी गर्दै आएका थारूहरू मधेसी दलबाट अलिक पृथक् रहन चाहन्छन् । यो मनोभावनाको पनि प्रचण्डले मानसिक उपयोग गरेको पाइयो । माओवादीको एक दशक लामो सशस्त्र संघर्षमा दाङ, बाँकेदेखि लिएर कञ्चनपुरसम्म थारूहरूले पनि ठूलो सहयोग गरेका थिए । कैलालीमा भएको सुरक्षाकर्मी हत्या प्रकरणमा रेशम चौधरीलाई यसको आरोप लगाइएको छ । 

कैलालीमा राजपाको उम्मेदवार जित्नुको अर्थ माओवादीको जनाधारमा ह्रास आउनु हो । प्रचण्डले यस क्षतिको पूर्ति गर्ने भरसक सफल प्रयास गरेका छन् । राजपा नेपाल र अन्य मधेसवादी दलहरूको क्रियाकलापलाई हेर्दा आगामी निर्वाचनमा रेशम चौधरी नेकपा माओवादीतिर आकर्षित हुने सम्भावनालाई इन्कार गर्न सकिँदैन । रेशम चौधरीको बचाउ गर्दै उनका पक्षमा प्रचण्डले खुलेआम यस्तो भाषण गर्नुले मात्र पनि कुनै न कुनै कुरातर्फ संकेत गरेको हुनसक्छ । कतै निकट भविष्यमा कुनै नयाँ राजनीतिक पाइला चालिने संकेत त होइन यो भन्नेतर्फ पनि ध्यान जानु अन्यथाको सोच होइन ।

भनिन्छ, विष नभएको सर्पले पनि यदाकदा फणा देखाउनुपर्छ । नेकपा माओवादीका अध्यक्षले जनयुद्धमा भएको जीउधनको क्षतिको चर्चा गर्नु एउटा संयोगमात्रै होइन । निकै सोच विचारसहित उनले देशको पुरानो घाउलाई यसरी कोट्याउने काम गरेका छन् । जनयुद्धको चर्चामार्फत प्रचण्डले एकातिर सत्ताधारी नेकपाभित्रको एमाले समूहमाथि अत्यधिक दबाब सिर्जना गर्ने काम गरेका छन् भने अर्कोतिर प्रमुख विपक्षी नेपाली कांग्रेस तथा मधेसवादी दलहरूलाई पनि आफूलाई हलुका रूपमा नलिन चेतावनी पनि दिएका छन् । उनको सम्बोेधन भावनात्मक, आक्रामक र केही हदसम्म व्यापारिक मनसायको पनि देखियो । 

माओवादी आन्दोलनमा सहभागीहरूको हकहितको प्राप्ति नहुँदासम्म र तिनको पूर्णरूपमा मुक्ति नहुँदासम्म आफूलाई सबैको ऋणी बताउनु एउटा जिम्मेवारी नेतृत्वको पहिचान दिन आपूm सफल भएको देखाउने उनको चाहना हो जस्तो देखिन्छ । आफ्नो काँधमा जनयुद्धको जिम्मेवारी रहेकाले आफूले बौद्धिकतापूर्वक, आवेगमा होइन, उत्तेजनामा पनि होइन, बुद्धि पु¥याएर सबै जनसमुदायको पूर्णमुक्तिको, आन्दोलनलाई अगाडि लैजान जरुरी भएकाले आफूले जनयुद्ध लडेको र यसलाई अझै अगाडि बढाउन सबैको सहयोग र समर्थन आवश्यक छ भन्ने अभिव्यक्ति उनले दिएका हुन् । यसका लागि उनले सबैसित अनुरोध गरेका छन् । 

आपूmले सबै विषयलाई बुझेर नै आन्दोलनलाई अहिले चौतारीमा बिसाएकाले यस कदमलाई पनि एउटा तत्कालीन रणनीतिका रूपमा बुझ्न सबैसित आग्रह गरेका छन् । नयाँ चिज लिन पोल्टामा प्राप्त भएको कुरा नगुमोस् भन्नु नै रणनीतिक योजनातर्फको संकेत हो । एकातिर यस सन्देशमार्फत पार्टी एकीकरणबाट उपेक्षित कार्यकर्ताहरूलाई र नेकपा (माओवादी) मोहन वैद्य समूहलाई पनि आफ्नो नेतृत्वमा विश्वास गरी पुनः एकजुट भएर सँगै काम गर्न उनले आहृवान गरेका छन् । 

आफूमाथि लागेको १७ हजार मान्छे मारेर आएको आरोपको खण्डन गर्दै उनले हिजोका सामन्ती राजाहरूले (यसमा सत्ताधारी दलका एक घटक एमाले र नेपाली कांग्रेसलगायत अन्य सबैले) १२ हजार मान्छे मारेकोे आरोप लगाए । आफ्नो पार्टीको आहृवानमा भएको जनयुद्धका कारण ५ हजार नेपाली मारिएको जिम्मा उनले लिएका छन् तर उनले कथित राजाहरूले मारेका १२ हजारको चाहिँ कुरा नहुने र राज्यले मारेकालाई पनि आफ्नै टाउकोमा हालिनुलाई उनले आपूmमाथिको अन्याय भनेका छन् । उनले युद्धको जिम्मा आफूले लिने, त्यहाँ भएका सबै राम्रा नराम्रा कामको जिम्मा लिने कुरा पनि उक्त कार्यक्रममा बताएका थिए । 

त्यसबाट कहीँ कतै भाग्ने त कुरै हुँदैन भन्दै उनले आफूले सबै बुझेर नै आन्दोलनलाई अहिले चौतारीमा बिसाएको मात्रै हो भने । यसो भन्नुको तात्पर्य आफूलाई अहिले पनि विगतमा भएको जनयुद्धको जिम्मेवार नेताका रूपमा परिभाषित र दाबी गर्न खोजेका हुन् । उनले यस्तो टिप्पणी गरेर अहिले पनि कथित सशस्त्र संघर्षमा लागेका विप्लव समूहलाई समेत आफूतिर आकर्षित गर्ने चाहना राखेका हुन सक्छन् । अथवा आफूमाथि विश्वास गरेर अहिले पनि काम गर्न सकिने सम्भावना रहेको सन्देश पनि प्रवाहित गर्न खोजेका हुन सक्छन् । 

अर्को शब्दमा भन्नु पर्दा प्रचण्डले तत्कालका निम्ति जनयुद्ध बिसाएको मात्रै हो विसर्जित गरिएको छैन भन्ने सन्देश दिन चाहेका छन् । आन्दोलन साधनमात्र हो साध्य होइन , आफ्नो अन्तिम लक्ष्य भनेको त जनगणतन्त्र नै हो भन्दै आएको माओवादी पार्टीको निहित उद्देश्य उनको यो भाषणबाट फेरि एकपटक सार्वजनिक बन्न पुगेको छ ।

उनको यस धम्कीपूर्ण भाषणले तत्कालै आफ्नो प्रभाव देखायो तथा सभामुखको पदमा कुन समूहको (पूर्वएमाले कि पूर्वमाओवादी ) नेतालाई उम्मेदवार बनाउने भन्ने कुराको तत्कालै छिनोफानो पनि ग¥यो । पूर्वएमालेका नेताहरू आफ्नो पाइला पछाडि हटाउन बाध्य भए । प्रचण्डका खास सहयोगी एवं विश्वासपात्र अग्नि सापकोटाको नाममा सर्वसहमति कायम हुनु र उनी निर्विरोध हुनु पूर्वमाओवादीका लागि ठूलो उपलब्धि हो । 

सभामुख पदमा पूर्वमाओवादी नेताको चयनले यस पक्षको राजनीतिक भविष्यलाई पनि सुरक्षित बनाएको छ । संसदीय व्यवस्थामा दलहरूबीच टुटफुट हँुदै रहन्छ तथा आजसम्म कुनै पनि दुई पार्टीको एकीकरण पाँच वर्ष पनि टिकाउ रहन नसकेको अवस्थामा दुई ठूला पार्टीहरू त्यो पनि वामपन्थी विचारधारा भएकाबीचको गठबन्धन बढी टिकाउ हुने अनुमान गर्नु अतिशय हुनेछ । पार्टी टुटफुटको अवस्थामा सभामुखको भूमिका महŒवपूर्ण हुने गर्छ । कथम् कदाचित नेकपामा विभाजनको अवस्था आयो भने त्यतिबेला सभामुखकै भूमिकाले नै पूर्वमाओवादीको अस्तित्वलाई जोगाउन सक्ने भएकाले सभामुखको पद आफूसित रहुञ्जेलसम्म पूर्वनेकपा माओवादी विभाजित हुने अवस्था उत्पन्न हुने छैन । 

प्रचण्डको अभिव्यक्तिको स्वीकारोक्तिलाई विभिन्न कोणबाट विश्लेषण गर्ने काम भइरहेको छ । कतिपयले उनको यस स्वीकारोक्तिलाई आधार बनाएर भविष्यमा कारबाही गर्न सकिने खालको विश्लेषण गर्न थालेका छन् तर जनआन्दोलन २ का बेला नयाँदिल्लीमा भएको १२ बुँदे सम्झौता, बृहत् शान्ति सम्झौता र देशमा स्थायी शान्ति कायम गर्न संयुक्त राष्ट्रसंघको प्रतिनिधिको उपस्थितिमा भएका कतिपय सम्झौताहरू दृष्टिगत गर्दा यस्ता कुरा महŒवबिनाका हुन जान्छन् । 

उनको यस स्वीकारोक्तिलाई जनतामाझ सम्बोधनका क्रममा घटनाक्रमको उल्लेख भएको मात्रै मान्नुपर्छ । झापा काण्डको चार दशकपछि मात्रै एमाले नेताले त्यसलाई आफ्नो भुलका रूपमा स्वीकार गरेका छन् । नेपाली कांग्रेसले त आजसम्म पनि आफ्नो सशस्त्र संघर्षप्रति पश्चात्ताप गरेको छैन । २०३१ सालको सशस्त्र क्रान्ति र त्यसपूर्वका आन्दोलनप्रति नेपाली कांग्रेसले न गौरव गरेको अभिव्यक्ति नै दिएको छ पश्चात्ताप । कुनै एक समयमा क्रान्तिको आवश्यकता प¥यो तर हाल तिनको सम्झना गरिरहनु आवश्यक छैन भन्ने मानसिकतामा हाल नेपाली कांग्रेस रहेको जस्तो देखिन्छ । 

प्रचण्डको अभिव्यक्तिलाई दुवै अर्थमा लिन सकिन्छ । एक किसिमले यसलाई पश्चात्तापका रूपमा पनि लिन सकिन्छ कि उनले आफूले आहृवान गरेको जनयुद्धमा पार्टीको निर्देशनमा मारिएकाप्रति आफ्नोे समवेदना र जिम्मेवारी छ, उनले सो कुरा व्यक्त गरेका छन् । अर्को शब्दमा विश्लेषण गर्दा जनयुद्धमा संलग्न १७ हजार नेपाली नागरिकले ज्यान गुमाएका घटनाप्रति उनको पार्टी एक्लै जिम्मेवार छैन । देशका अन्य राजनीतिक दलहरूका विगतका शासक पनि जिम्मेवार छन् । अन्य १२ हजार नेपालीको ज्यानको जिम्मेवारी तिनै पक्षको टाउकामा थोपेर उनले सबैलाई एउटै टोकरीमा हालिदिएका छन् । 

उनको यस अभिव्यक्तिलाई सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यलाई तीव्रता दिन अत्यधिक दबाब सिर्जना गर्ने सन्दर्भमा लिन सकिन्छ । प्रचण्डको सम्बोधन दोहरो अर्थ लाग्ने खालको र दूरगामी प्रभावको पनि छ । 


Views: 61