29th February | 2020 | Saturday | 6:09:15 AM

सरकार र नेकपा धक्का

राजन कार्की   POSTED ON : फाल्गुन १, २०७६ (९:५४ AM)

सरकार र नेकपा धक्का

नेपाल–भारत सम्बन्ध सुकिलो छैन । नेपाल चीन सम्बन्धमा चिसोपन छ । नेपाल अमेरिका सम्बन्धमा प्रश्न उठेको छ । बाँकी विश्व सम्बन्धमा नेपाल धुमिल बन्दै गएको छ । आखिर किन भइरहेछ यस्तो ?

माओवादीको जनयुद्ध तेह्र वर्षअघि नै सकियो, व्यवस्था फेरियो । जनयुद्धका मुद्दाहरू अहिले पनि अधकल्चा घाउ बनेर पीडा दिँदै छन् । अहिलेको सत्तामा जनआन्दोलनकारी नै थिए र छन्, तिनले आफ्नो व्यवस्था राम्रैसँग गर्न सके तर पीडितजन र पीडित मुलुकलाई निकास दिन चाहेनन् । के नेताहरू मुलुकलाई द्वन्द्वमै राखेर निरन्तर सत्ताको हाकिम हुन चाहन्छन् ? अहिलेसम्मको अभ्यासमा जे देखियो, त्यसको अर्थ नेताहरूमा विध्वंशको क्षमता छ, व्यवस्थापनको क्षमता छैन भन्ने हो । यही कारणले विश्वजगत नेपाललाई दण्डहीनतायुक्त मुलुक हो भनेर हेर्छ र चिलका आँखाले नियालिरहेको छ । यो नजरले नेपाललाई सजिलै छाड्ने छैन । 

क्यानडाको सिनेटका सभामुख जर्ज जे फुरी भर्खर नेपाल भ्रमण गरेर फर्केका छन् । उनी संघीय संसद् पनि गए, संसद्को क्रियाकलाप पनि नियाले । तर, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटालाई उनको टोलीले भेटेन, भेट्न मानेन । यद्यपि, राष्ट्रिय सभाका सभाध्यक्ष, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलाई भेट्यो र नेपाल क्यानडा मित्रता बढाउनेबारे विचार–विमर्श भयो । विदेशका सभामुख आउने र नेपालका सभामुखलाई नभेट्ने, कूटनीतिक वृत्तमा यो पेचिलो मामिला हो । राष्ट्रियसभका अध्यक्षले निम्ता गरेको र निम्ताका बखत प्रतिनिधिसभाको सभामुख पद रिक्त रहेकोले भेटको कार्यक्रम नभएको भनेर संसद सचिवालयले लाज लुकाउने व्यर्थको प्रयास ग¥यो । 

कुनै मुलुकका सभामुख नेपाल भ्रमणमा आउने, संसद्मा पनि जाने तर सभामुखलाई नभेट्ने, यो आठौं आश्चर्य हो । नेकपालाई लागेको होला यो आश्चर्यमात्र हो, विश्लेषकहरू भन्छन्, ‘यो आश्चर्यमात्र होइन, संक्रमणकालीन न्याय सम्पादन किन हुन सकेन भन्ने प्रश्न हो, प्रष्ट सन्देश हो । दण्डहीनताप्रति नेपाल सरकारसामु यक्ष प्रश्न पनि हो । कूटनीति बुझेकाहरू भन्छन्, ‘यो कूटनीतिक जोल्ट हो ।’

प्रचण्ड र ओली, नेकपाका दुई अध्यक्षबीचको भिडन्तमा प्रचण्ड विजयी भए । प्रचण्डका निकट, पूर्वजनयुद्धकारी अग्नि सापकोटालाई सभामुख बनाएपछि ओली, ओली सरकार र नेकपालाई धीरे से लगा जोडका धक्का हो, यो । यही एउटा घटनाले नेकपाप्रति अनेक प्रश्न उठेका छन् । गुण्डालाई पार्टीको संरक्षण दिने, सांसद बनाउनेदेखि ज्यानमारालाई आम माफी दिने, हत्यारालाई जेलमुक्त गर्ने, भ्रष्टाचारीलाई नियुक्ति, सरुवा, बढुवा गर्ने, माफियालाई पार्टीको जिम्मेवारीमा राख्ने, दलालको पक्षमा उभिने र नीतिगत भ्रष्टाचार गर्ने, विधिको शासन भएन भन्ने सन्देश पनि दिएर गएका छन् ।

त्यसो त नेकपाकै जनयुद्धकारी सभामुख थिए, कृष्णबहादुर महरा । उनी यौनकाण्डमा फसे र उनी जेलजीवन बिताइरहेका छन् । अर्का जनयुद्धकारी सभामुख बनेका छन्, उनी सर्वोच्च अदालतमा ज्यानमारा मुद्दाको तारिख खेपिरहेका छन् । विधि निर्माण गर्ने संसद्को तस्वीर हो, यो ।

चिनियाँ राष्ट्रपतिले सम्पत्ति जोड्ने कम्युनिष्ट हुँदैनन् भनेर गएका थिए, नेकपाका होनहार प्रभाव र दबाब दिन सक्ने नेताहरूले कमाउन छाडेनन् । क्यानडाका सभामुख जे फुरीले अदालतमा ज्यानमारा मुद्दा चलेका व्यक्तिलाई सभामुख बनाएकोमा हात मिलाउन चाहेनन् । अन्तर्राष्ट्रिय समुदायमा नेपालको संसद्, नेपाल सरकारको अनुहार कस्तो रहेछ, स्पष्टै देखिएन र ?

एकजना बुद्धिजीवीले आफूभित्रको औडाह यसरी पोखे, ‘लोकतन्त्रलाई भट्टीजस्तो बनाइयो ।’ अर्थात् नेपालको लोकतान्त्रिक इतिहास महानगरको कण्टेनरजस्तो गनायो । यति भयानक फोहर, राजनीतिभित्रै पसेको नैतिकहीनता, जवाफदेहीहीनता र भ्रष्टाचारको नोबेल कोरोना भाइरसबाट मुक्ति पाउन, पाप मोचन गर्न पूर्वाग्रही बनेर १७५ जनामाथि विशेष अदालतमा मुद्दा हाल्नेजस्तो गौदान गरेर मात्र सकिने अवस्था छैन । यो सर्ने क्यान्सर थियो, जुन नेताबाट राष्ट्रको राजनीतिक शरीरभरि फैलिसकेको छ । नेपाल नैतिकहीनताजस्तोे क्यान्सरबाट ग्रस्त छ ।

एकातिर मिर्गौलाको रोग, अर्केतिर अनियन्त्रित सुगर रोग । सर्जरी गर्नु भनेको मृत्यु, उपचार नगर्नु पनि मृत्यु । राष्ट्र यस्तै गम्भीर अवस्थामा छ । माघ २५ गते शनिबार प्राडा दुर्गाप्रसाद दाहालको पुस्तक अनुभवका अनुभूतिहरू लोकार्पण भयो । तर, उनी उभिन सकेनन्, शौचालय जाँदा बोकाएर जानुप¥यो । किन ? भनेर सोधीखोजी गरेँ, कारण उनको खुट्टा काटिएको रहेछ । 

उनी आफैँ डाक्टर, प्राध्यापक, तर उनको खुट्टाको एउटा औंलामा घाउ भएर टिटानस भएछ । सुगर नियन्त्रण नभएर उनको खुट्टा काट्ने बाध्यता आएको रहेछ । तर, उनमा मनोबल, स्वच्छ विचार र देशप्रतिको गर्वबोध भरिएको देखेँ । देशको माटोप्रतिको गौरव र आत्मबलले मान्छेलाई उत्साही बनाउँछ, बाँच्न सिकाउँछ । हाम्रो राजनीतिमा न देशप्रति गौरव छ, न जनताप्रति जवाफदेहीता, न केही असल गर्ने इच्छाशक्ति नै छ । जे छ, भ्रष्टाचार गर्ने प्रदूषित मानसिकतामात्र छ । यसकारण पनि देश दुर्भाग्यजनक कृष्णभीरमा पुगिसकेको अनुभूत गर्न सकिन्छ । राजनीतिमा बढ्दो नैतिकहीनताको क्यान्सरले देशकै घाँटी रेटिने त होइन ?

यही यथार्थ हो, क्यानडाका सभामुख जे फुरीले नेपाल भ्रमण गरे । नेपाल सरकारलाई भेटे तर संसद्का सभामुख र प्रचण्डलाई भेटेनन् । केही वर्षअघि प्रचण्ड अष्ट्रेलिया भ्रमणमा निस्कन लागेका थिए, माधव नेपालले खबर गरे, नजानू । उनको भ्रमण रोकियो । त्यो सवाल र यो संकेत शुभ होइन । छिटोभन्दा छिटो संक्रमणकालीन न्याय सम्पादन गर्नुको विकल्प देखिँदैन ।

यहाँ पनि प्रश्न खडा छ, राजनीतिक भागबण्डामा गठन गरिएको बेपत्ता र सत्य निरूपण तथा मेलमिलाप आयोगले दण्डहीनतालाई अन्त्य गर्न सक्ला ? पीडितले न्याय र पीडकलाई सजाय हुन सक्ला ? यी प्रश्न तीखा वाणभन्दा कम खतरनाक छैनन् । त्यसै पनि गंगामाया अधिकारीले राष्ट्रसंघ गुहारिसकेको स्थिति छ । निर्मला पन्तदेखि अनेक फौजदारी अपराधले सरकारलाई घेरिरहेको छ ।

अब त्रिशूल कि गाई भन्ने बच्चा खेलले राजनीति चल्दैन, कूटनीतिले निकास पाउँदैन । किनकि, जर्ज अर्वेलको रुसलाई एनिमल फार्म बनाएर लेखिएको ‘एनिमल आर इक्वेल, सब एनिमल आर मोर इक्वेल’ भन्ने कथाले नेपाललाई भेडाफार्ममात्र देखाउँछ ।

संसद् भ्रष्टाचारको भाङले मात्तिएको छ । सरकार दुई तिहाइको मदले मदमस्त छ । प्रशासन भ्रष्ट नेताको अरौटे बनेको छ । कानुन राजनीतिक हतियार बनेको छ, जसले सोझामाथि कोर्रा लगाउने र बलियाको चाकडी गरिरहेको छ । संवैधानिक सबै पद राजनीतिको हाटबजारमा किनबेच भइरहेका छन् । नीति र नैतिकता हराएपछि कोरोना भाइरसमात्र महामारी बन्दैन, नेताको महामारी झन् खतरनाक हुन्छ । जुन, महामारी नेपालमा चलिरहेको छ ।

भर्खरै भारतको दिल्ली राज्यमा निर्वाचन भयो । अरविन्द केजरीवालको आम आदमी पार्टीले प्रचण्ड बहुमत ल्यायो । यसको खास कारण पानी, बिजुली, स्वास्थ्य, शिक्षा, सुशासनको प्रत्याभूति थियो । भारतीय नाकाबन्दीमा देशका पक्षमा उभिएर देशभक्ति देखाएको नेकपाले झण्डै दुई तिहाइ बहुमत ल्यायो तर माफियासँग मिलेर मेलम्ची खायो, स्वास्थ्य, शिक्षा, जमिन पनि खायो । सुशासन र समृद्धि दिनुपर्ने नेकपाको सरकार भ्यू टावर र यति समूहसँग मिलेर कमिसन खाइरहेको छ । जिम्मेवार हुनुप¥यो भनेर लेख्ने पत्रकारलाई मुटु नभएको भन्दै तपाईं भन्न सिकाइरहेका छन् । इज्जत आर्जन गर्न मतको इज्जत गर्नुपर्छ भन्ने सामान्य ज्ञान नभएकाहरू सत्तामा पुगेर कसरी भाइरस बन्छन्, नेकपा ताजा उदाहरण हो ।

राज्यकोष र जनमत नेकपाको रंगशाला हो, जहाँ नेकपा कतै पौडी खेलिरहेको छ, कतै लखनौ लुट गरिरहेको छ । यस्तो सरकार सबैलाई जयजयकार गर्न सिकाइरहेको छ । चरित्र मुनाफाखोर बनियाँको, नारा समृद्ध नेपाल, सुखी नेपालीको, काम माफियासँग सेटिङ व्यापारको । जनयुद्ध सकियो रे, यति भइसकेपछि अर्को आतंक के चाहियो ?

किन चाहिन्छ थिंक टेंक ? किन चाहिन्छ सल्लाहकार ? किन चाहिन्छ विज्ञ विशेषज्ञ ? यिनकै अभाव भएर हो सरकार र भरियामा भिन्नता हुन छाडेको । पद्धतिमा थिति हुन्छ बेथिति हुन्न । लोकतन्त्रमा थिति पनि छैन, बेथितिमात्र छ । यसको अर्थ राजनेता छैनन् । काबुलजस्तो काठमाडौं छ, नाइजर, नामिबियाजस्तो नेपाल छ । क्षेत्रीय र अन्तर्राष्ट्रिय सम्बन्धमा हाम्रो परराष्ट्रनीति के हो, के हो अवस्थामा देखिन्छ । नेपाल पञ्चशील, असंलग्नतामा छ कि छैन ? आन्तरिक नीतिमा विदेशी छिरेपछिको अवस्थाले नेपालमा चलेका अनेक बहस र विदेशी प्रतिस्पर्धा भइरहेको छ र नेपालको स्पष्टनीतिमा तुवाँलो लागेर नेपाल कुहिराको काग बन्न पुगेको छ ।

Views: 100

सम्बन्धित सामग्री:

नेपालमा मातृभाषा

श्रीमन्नारायण : फाल्गुन १६, २०७६ (१०:४२ AM)

विवेकीहरू बोल्ने बेला

राजन कार्की : फाल्गुन १५, २०७६ (१०:२८ AM)