10th April | 2020 | Friday | 4:52:09 PM

विवेकीहरू बोल्ने बेला

राजन कार्की   POSTED ON : फाल्गुन १५, २०७६ (१०:२८ AM)

विवेकीहरू बोल्ने बेला

दार्चुलामा भारतले सडक बनाइरहेको छ । लिम्पियाधुरा–लिपुलेक, कालापानी भारतीय नक्सामा हालिसक्यो । प्रधानमन्त्री केपी ओली र रक्षामन्त्री ईश्वर पोखरेल नेपालको एक इच्च जमिन पनि छाडिने छैन भनेर भाषण गरिरहेका छन् । रक्षामन्त्री त दार्चुला पुगेर पनि १९ किलोमिटर वरैबाट फर्केर आए । यसलगत्तै प्रधानमन्त्रीले जन्मदिन मनाए, नेपालको नक्साको आकारको केक काटेर । पदासीन व्यक्तिले गरेको यति गम्भीर त्रुटी, अक्षम्य अपराधप्रति पनि कमरेडहरूको विवेक बोलेन भने कहिले बोल्ला ? नबोलेर खुसीयाली पो मनाइरहेका हुन् कि भन्ने गरिन्छ, मौनं स्वीकृति लक्षणम् ।

समृद्धिका लागि हात पसार्नेले जन्मदिन मनाउन यत्रो खर्च किन ? केक होइन देश, देश काटेर खान मिल्दैन । विदेशमा पैसा हुनेले राजनीति गर्छन्, नेपालमा पैसा कमाउन राजनीति गरिँदैछ भन्ने टिप्पणी सामयिक छ । जसको नेतृत्वमा सरकार बने पनि गर्ने त भ्रष्टाचार नै हो । नातावाद, व्यभिचार नै हो । देखिएको यही छ ।

हाल केपी ओली प्रधानमन्त्री छन्, उनले ६९औं जन्मोत्सव जन्मघर तेह्रथुमको आठराई पुगेरै मनाए । जन्मदिवस मनाउने राम्रो तरिका थियो, मनाए, त्यो उनको निजी विषय हो । जन्मोत्सवका उपलक्ष्यमा समर्थकले आरती उतारे, विरोधीले बधाई दिए । हाम्रो पूर्वीय संस्कारमा केक काट्नु नेपाली संस्कृति होइन । बत्ती निभाएर जन्मदिन मनाउनु पनि हाम्रो संस्कृति होइन । संस्कृति परिवर्तन गर्न खोजेको हो भने हाम्रो आफ्नै संस्कृति मासिन्छ । हाम्रो संस्कृति भनेको आमाबाबु अथवा मान्यजनले टीका लगाएर आशीर्वाद दिने हो ।

जन्मदिन मनाउनु व्यक्तिगत स्वतन्त्रताको कुरा पनि हो । जसरी मनाए पनि हुन्छ, तर देशको प्रधानमन्त्रीको पदमा बसेकाको यो सार्वजनिक समारोह सार्वजनिक चासोको विषय हुन आउँछ । गाउँमा बिदा नै दिएर जन्मदिन मनाउनु पनि निरंकुशता नै हो । देशको प्रधानमन्त्रीले देशको नक्साकारको केक बनाउन लगाएर त्यसलाई हतियारले काट्नु अर्थपूर्ण छ, सन्देश सकारात्मक छैन । यसबाट केपी ओली देशका लागि खतरनाक अभिष्ट पालेका व्यक्ति हुन् भन्न सकिन्छ । भविष्यमा यस्ता घटना नघटून्, चेतना रहोस् नेकपाको पूर्णपंक्तिलाई ।

उपकारका काम गर्न छाडेर जन्मदिन, बिहे, वार्षिकोत्सव, भोजभतेर गर्ने धनीले हो । सर्वहाराको नेता हुँ भन्नेले फजुल खर्च गर्नु आफैँमा सिद्धान्तहीन हो । प्रधानमन्त्रीको जन्मोत्सव मनाउने जुन तरिका अपनाइयो, यो एउटा सर्वहारा, कम्युनिष्ट, त्यसमाथि देशको प्रधानमन्त्रीका लागि नैतिकहीन नै थियो । श्री ३ राणा अथवा राजाका पालामा समेत नभएको नजिर राख्दै प्रधानमन्त्री केपी ओली ४ वटा हेलिकोप्टरमा आठराई पुगे । सबैभन्दा बदनाम यती समूहले हेलिकोप्टरमा १५ किलोको केक लगेर टुक्र्यायो । 

त्यो केक नेपालको नक्सा आकारको थियो । उनले यो केकलाई छुरीले काटेर खाए, खुवाए । विरोध यो महासामन्त शैलीको हो । यो सबै खर्च देशको ढुकुटीबाट भएको छ, सत्ताको दुरुपयोग गरेर भएको छ । यो नितान्त निन्दनीय तरिका हो । यसकारण प्रधानमन्त्रीको विरोध भइरहेको छ, सर्वत्र आलोचना गरिएको छ । हामी बिस्तारै पश्चिमा संस्कृतिमा घुलिँदै गएका छौँ ।

प्रधानमन्त्रीले २ हजार सारी, पछ्यौरी, २ हजार टोपी, ज्याकेट, २ हजार डायरी र कलम बाँडेछन् । ओलीले तेह्रथुमका सीमान्तकृत, विपन्नवर्गका कुनै बालबालिकालाई गोद लिएनन्, तिनीहरूको खर्च बेहोर्छु भनेनन्, तिनीहरूलाई स्कुल ड्रेस अथवा पुस्तकालय पनि खोलिदिएनन् । सत्ताधारी नेताको चुनावी प्रचारको भ्रमणमा सीमित राखेर जन्मदिन मनाए । 

जन्मेकै थलोमा जन्मदिन मनाउनु स्वागतयोग्य कुरा हो तर तीन घण्टाको बाटो हिँडाएर बालबालिका जम्मा पारेर सकस दिनु कति मानवोचित कर्म हो, प्रधानमन्त्रीको । प्रधानमन्त्रीका लागि अब पनि थप आत्मप्रचारको खाँचो छ र ? प्रधानमन्त्रीमा देखिनुपर्ने नयाँ नेपालको झल्को, नयाँ नेपाली समाजको खाका यही सामन्ती पारा नै हो त ? यो अति भयो भनेर भन्न नसक्ने विवेकी कमरेडहरूको जिब्रो किन तालुमा टाँस्सिरहेको छ ? नेता रिसाए अवसर गुम्छ, केही पाइन्न भन्ने नेताको पछि लाग्ने हीनमानसिकताले विवेकमा बिर्को लागेकै हो त ? 

ओली त्यसै पनि छुच्चो बोल्ने, सस्ता टुक्का हाल्ने र हँसाउने, बतासे सपना देखाउने नेताका रूपमा चिनिन्छन् । भाषण गर्दा प्रधानमन्त्री सरकारको सफलता देखर विश्व चकित छ, विरोधीहरू अरू केही काम नपाएजसरी विरोध गरिरहेका छन् भन्छन् । 

नेकपाभित्र एक से एक विद्वानहरू छन्, तिनले भन्न सक्नुपर्छ, ‘प्रधानमन्त्रीका, सरकारका क्रियाकलाप जनतालाई मन परेको छैन । लोक सरकार लोकप्रति जवाफदेही हुनुपर्छ, हुनसकेको छैन । अरिंगाल, छौंडा, यती, केक, कुशासन, भ्रष्टाचार, अनियमितता, अपराधीको संरक्षण लोकसरकारका कमजोरी हुन् ।’ लोक सरकार हात्ती हुन सक्दैन, हात्तीको जस्तो देखाउने र चपाउने दुई दाँते सरकार लोकसरकार होइन ।

प्रधानमन्त्री हिम्मतिला, साहसी र सपना देख्ने व्यक्ति हुन्, यो प्रशंसनीय छ तर पूरा गर्ने आँट, अक्किल र इच्छाशक्ति नदेखिनु जनमत, जनबलकै दुर्भाग्य हो । दोहोरो चरित्रले नेकपाको ओह्रालो यात्रा सुरु भइसकेको छ । नेकपाभित्रका विवेकीहरू किन नेतृत्वको भाटगिरी गरेर मौन छन् ? मौनता पार्टीका लागिमात्र होइन, पद्धति र देशकै लागि महंगो हुँदै गएको छ । सच्चिन, सच्याउनुपर्ने विवेकीहरूले हो ।

धर्म मानिँदैन भनेर मन्दिरमा पिसाब गर्नेहरूले भैंसीपूजनसम्म गरे । आजकल छठदेखि इन्द्रजात्रासमेत मनाउन थालेका छन् । सत्तामा जाँदा कालो बोको काट्ने र मन्दिरमा पुगेर पूजाआजा गर्ने, व्रत बस्ने काम पनि हुन थालेका छन् । यो राम्रो हो ।

प्रसंग रास पुटिनको, उनी धर्मविरोधी पाखण्डी थिए । जब मान्छे शक्तिमा पुग्छ, सर्वसत्तावादी, सर्वाधिकारी तथा निरंकुश बन्ने प्रयास गर्छ तब ऊ आफैँलाई ईश्वर ठान्न थाल्छ । उसको दिमागमा अहंकारले वास गर्छ । रास पुटिनले टिनको छानाबाट झुत्रे केटो मस्को दरबारसँग काँध जोड्न पुगेपछि राजालाई थर्कायो । दुष्टको भविष्य उज्ज्वल हुँदैन भनेझैँ रास पुटिनको अन्त्य हुन गयो । तुरा नदीको किनारामा पर्ने पोक्रोभ्सकोये गाउँको एउटा झुत्रे केटो मस्कोमा राजाको हर्ताकर्ता भएपछि फुर्ती बढ्ने नै भयो । उसको अन्त्य पनि एउटा अँध्यारो युग बन्यो । कतै नेपालमा पनि रास पुटिनका सामु विवेकीहरू बन्दकीमा परेका त छैनन् ?

नेपाल १ सय २६ जातजाति र प्राचीन धर्मसंस्कृतिको साझा चौतारी नै हो । यस्तो मुलुकमा जब विवेकीहरू रास पुटिनजस्ता विकृत मानसिकताका व्यक्तिबाट शासित भएर पनि बोल्दैनन्, बुझ्दैनन् र भरियाको जस्तो हस् र हजुर भनेर गीत गाइरहेका देखिन्छन् तब लाग्छ देशको भविष्य उज्यालो छैन । त्यसमाथि युवाहरू निकासी गरेर चलेको मुलुकमा वृद्धा, बालकमाथि रास पुटिनको शासन, देशको अपार प्राकृतिक शासन र स्रोत, नेपालको रणनीतिक भूगोलमा विदेशी चलखेल बढ्नु स्वभाविक हो । यो सबैको जिम्मेवार कुनै पनि दल, नागरिक समाज अथवा सत्ताधारी पार्टीका विवेकशीलता अचेतन हुनु हो ।

देशनिर्माता पृथ्वीनारायण शाहको सालिक फोड्ने र अपमानित गर्नेहरू आफूलाई राष्ट्रवादी भन्छन् । राष्ट्रवादका नाममा भोट माग्छन् र सत्तामा पुग्छन् । अनि, तिनै राष्ट्रनिर्मातालाई पटक–पटक चिथोर्छन् । इतिहासको गौरव गिज्याउनेहरू रास पुटिन नभए के हुन् ? यो सब परिदृश्य हेरेर मनले नमाने पनि चुपचाप तमासा हेर्ने विवेकीहरू अन्यायी नै हुन् ।

जो ईश्वर छैन भन्छन् र ईश्वरका नाममा शपथसमेत खाँदैनन्, तिनीहरूको पूजार्चना नौटंकी नभए के हो ? जो देशका विभूतिको बेवास्ता गरेर विदेशी माक्र्स, लेनिन, माओ, स्टालिनको फोटोलाई ईश्वर मान्छन् र तिनीहरूको समेत बदनाम हुनेगरी पुँजीवादी शोषणका सरदार बन्छन् भने तिनीहरूबाट न कमरेडको मान रहन्छ, न नेपालको सान रहन्छ । पाखण्डीबाट कुनै पनि धर्मको रक्षा हुन सक्दैन । नेपालमा जे भइरहेछ पाखण्ड भइरहेछ र विवेकीहरू त्यो पाखण्ड देखेर गँजडी झुलेजसरी झुलिरहेका छन् ।

आज पूर्वराजाको जयजयकार हुनु र परिवर्तनका नायकलाई अधिनायकवादी आरोप लाग्नु भनेको यी असफल भए, यिनबाट लोकतान्त्रिक गणतन्त्र चल्न सक्दैन भन्ने नै हो । परिवर्तनपछिका १३ वर्षमा नेपालको राजनीति भनेको निर्लज्ज व्यवसाय बनिसकेको छ । निर्लज्जहरूबाट इज्जतको आश गर्न सकिँदैन । समयले नेटो काटिसक्यो । नयाँ पुस्ताले, विवेकीहरूले सोच्ने, बोल्ने र केही गर्न अबेर भइसकेको छ । किनकि, प्रश्न अस्तित्वको छ । योग्य र योग्यताको कदर हुनुपर्छ । विवेकीहरू जहाँ पनि अगुवा हुनुपर्छ र वन्दनीय बन्नुपर्छ ।

विवेकीहरू बोल्ने बेला भयो, बोल न ।

Views: 145