8th April | 2020 | Wednesday | 10:53:38 AM

कोरोना भाइरसको सम्भावित सामाजिक असर

सञ्जीव थापा   POSTED ON : चैत्र ७, २०७६ (४:२५ PM)

कोरोना भाइरसको सम्भावित सामाजिक असर

चीनको हुबेई प्रान्तको वुहानबाट डिसेम्बर अन्तिमतिर फैलिएको कोरोना भाइरस (कोभिड–१९) विश्वव्यापी महामारी बनिसकेको छ । विश्वका १ सय ७० मुलुकका २ लाख भन्दा बढी संक्रमित पुष्टि भइसकेका छन् । यसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार पुगिसकेको छ । यूरोप, अमेरिकाको सयौं मुलुकमा भन्दा भौगोलिक र अन्य पारस्परिक सम्बन्धको हिसावले दक्षिण एशियाको चीन र भारत दुई मुलुकमा संक्रमण फैलदा नेपाल झनै उच्च जोखिममा रहने यथार्थ नकार्न सकिन्न । नेपाल संक्रमणको उच्च जोखिममा रहेको भन्ने विश्व स्वास्थ्य संगठनको घोषणा पश्चात मात्र नेपाल सरकारको यस सम्बन्धमा चासो र चिन्ता बढेको  छ । अझ अपनाउनु पर्ने व्यवहारिक सावधानी, रोकथामका उपाय र पूर्व तयारी सरकारका तर्फबाट अपर्याप्त नै देखिन्छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको सिधा र दीर्घकालिन असर विश्व कै  विविध क्षेत्रमा हुन सक्ने सहजै अनुमान लगाउन सकिन्छ । अप्रत्यक्ष असरको त झन लेखाजोखा नै छैन । बिकसित मुलुकलाई हम्मेहम्मे परेको यो संक्रमणबाट पार पाउन नेपाल जस्तो विकासोन्मुख देशलाई त झन पक्कै सजिलो हुँदैन । हाम्रो स्वास्थ्य क्षेत्र संरचना, प्रविधि, उपकरण, जनशक्ति र जनचेतना सबै हिसावले कमजोर छ । शोधान्तर घाटाको कारण अर्थतन्त्र ऋणात्मक छ । रेमिटेन्सले महत्पूर्ण हिस्सा ओगटेको छ । तसर्थ कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलियो भने हाम्रो देशमा यसको असर झनै दूरगामी, निर्मम र वियोगान्तक हुनसक्छ । नेपाल सरकारले पनि आफ्नो जनस्वास्थ्य र अर्थतन्त्रमा पर्न सकने सम्भावित असरको बारेमा छलफल तथा विश्लेषण थालिसक्यो । तर समाजिक क्षेत्रमा पर्न सक्ने असर र क्षतिप्रति पर्याप्त गाम्भीर्यता देखाएको देखिदैन ।

हाम्रो सामाजिक क्षेत्रमा यस संक्रमणको कस्तो असर पर्न सक्छ त्यस बारे विवेचना गरौ ।

राज्यले हेल्थ क्लव, स्वीमिङ पुल, रेष्टुरेण्ट, डिस्को, डान्सबारलगायत सिनेमा हल समेत बन्द गर्ने घोषणा गरिसक्यो । पच्चीस जना भन्दा बढी जम्मा हुन रोक लगाएकोले ठूला भेला, सभा सम्मेलन, सेमिनारलगायतका कार्यक्रम पनि स्वत बन्द भइनै हाल्ने भए । प्रवेश आज्ञा निलम्वनको निर्णयले पर्यटनसंग संवद्ध सबै व्यवसाय ठप्प जस्तै छन् । सबै खाले पदयात्रा, एक्सपेडिसन लगायतका पर्यटकीय गतिविधि स्थगन गर्न सूचना जारी भइसक्यो । फलत कैयौं श्रमिक तथा मजदुरहरु स्थायी वा अस्थायी रुपमा बेरोजगार बनिसके । यूरोप, अमेरीकालगायत कैयौं मुलुक लक डाउन कै अवस्थामा पुगिसके । खाडी मुलकहरुमा पनि संक्रमणको त्रास तीव्र रुपमा बढ्दो छ । गत सोमबार कतारबाट केही नेपाली कामदारहरु विना सूचना नेपाल फर्काइए । रेमिटेन्स घट्ने क्रम सुरु भइसक्यो । बेरोजगारी र आर्थिक संकट लामो समयसम्म रहिरह्यो भने देशबासीको चुलो नबल्ने मात्र होइन अन्य थुप्रै सामाजिक समस्याहरु निम्ताउन सक्छ । ठूला उद्योगी व्यवसायीहरुको लागि सरकारले व्याज मिनाह लगायतका राहतका प्याकेज ल्याउन सक्छ । तर चर्को मिटर व्याजमा ऋण लिएका साना व्यवसायी तथा बैदेशिक रोजगारीमा जानेहरु चरम पीडा भोग्न वाध्य हुन्छन् ।

एकातिर जनस्वास्थ्य र जनजीवनमा संक्रमणको जोखिम र त्रास अर्कोतिर चरम आर्थिक संकट, यो अवस्थाको कल्पना मात्रले पनि आङजिरिङ हुन्छ । त्यसमाथि देश लक डाउनको अवस्थामा गयो भने पैसा हुनेको लागि त अतिआवश्यक वस्तु तथा सेवा सहज र सुलभ हुँदैन भने बेरोजगार र चरम आर्थिक संकटमा परेका वर्गको के अवस्था होला ? पैसा हुनेहरु पनि त्यस्ता वर्गमात्र अत्यावश्यक उपभोग्य वस्तु तथा सेवा हाशिल गर्न सफल हुन्छन् जसको सत्ता र शक्तिमा सहज पहुँच हुन्छ । भाग्यबस संक्रमण फैलिएन र देश निश्चित समयको लागि लक डाउनमा मात्र भयो भने ठिकै होला यदी महामारीको चपेटामा देश प¥यो भने अवस्था झनै दर्दनाक हुन सक्छ । राज्यको संयन्त्र  रोकथाम, उपचार र नियन्त्रणमा मात्र केन्द्रीत नभएर उपचार र उद्धारमा समेत परिचालित हुनु पर्ने अवस्था सृजना हुनसक्छ । राज्यमा अन्य राहत प्याकेजका पनि भार थपिन्छ । थोरै नियतबस र धैरै नियतिले फेरी पनि पहुँचवालाकै बोलवाला सृजना हुँदा अन्य आम जनतामा नैरास्यता र असन्तुष्टि पैदा हुन्छ । एकातिर महामारीले स्वास्थ्य र जनजीवन आक्रान्त, आफन्त गुमाउनुको पीडा अर्कोतिर राज्यबाट आफू उपेक्षित र विभेदमा परेको पीडादायी अनुभूति र चेत । यो अवस्थाले सर्वसाधारलाई सामूहिक रुपमा डिप्रेशनको शिकार बनाउन सक्छ । सामूहिक आत्महत्या निम्त्याउन सक्छ । सामाजमा सरकार विरुद्ध बिद्रोहको विजारोपण हुन सक्छ । बालबालिकामा गहिरो मानसिक आघात पुग्न सक्छ । साथै चरम आर्थिक संकटका कारण समाजमा हत्या, लुटपाट जस्ता सामाजिक अपराध बढ्न सक्छन् ।

तसर्थ सबै भन्दा पहिले राज्य सरकारले यो संक्रमण रोक्न सबल प्रयास गर्नुपर्छ । सबै किसिमका पूर्व तयारीमा जुटेर हदैसम्मको सावधानी, सर्तकता र रोकथामका उपायहरु अवलम्न गर्नु जरुरी छ । हालसम्म अपनाइएका रोकथामका उपाय र तयारीका बैज्ञानिक समीक्षा गरेर कमिकमजोरीहरु ढिलो नहुँदै सुधार्न तर्फ पनि सरकारको गाम्भीर्यताको खाँचो छ । यो संक्रमणको प्रत्यक्ष प्रभाव जनस्वास्थ्य र अर्थतन्त्रमा हुने भएता पनि अप्रत्यक्ष सम्भावित प्रभावका क्षेत्रहरुको पहिचान गरी असरलाई घटाउने विधि र प्रविधिको तयारीलाई पनि प्राथमिकतामा राख्न पक्कै बिलम्व गर्नुहुँदैन । महामारी फैलिएको खण्डमा राज्य सरकारले उपलव्ध गराउने उपचार र राहतलाई सुलभ र निष्पक्ष रुपमा आम प्रभावित जनतामा पु¥याउन सम्पूर्ण संयन्त्र तयारी अवस्थामा राख्नु पनि त्यति कै महत्वपूर्ण छ । विभिन्न सामाजिक तथा संचार माध्यमबाट जनतामा आत्मबल बढाउने र मनोसामाजिक परामर्शका सामाग्रीहरु प्रसारण गर्नु आवश्यक छ । साथै हरेक नागरिक आफू र आफ्ना परिवार समुदायलाई महामारीको सम्भावित संक्रमणबाट जोगाउन सजक र सावधान बन्नु जरुरी छ । विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारद्धारा जारी निर्देशन र सूचनाको सतर्कता साथ पालना गर्न र गराउन आ–आफ्नो तर्फबाट इमान्दार रुपमा प्रतिवद्ध बन्नुपर्छ ।  संक्रमण फैलि हाल्यो भने जोखिम र मानविय क्षतिलाई न्यूनिकरण गर्न आफ्नो निजी स्तरबाट भौतिक र मानसिक रुपमा तयार रहनुपर्छ । असहज परिस्थितिका कारण राज्य सरकार विभेदपूर्ण भएको आभास हुने सम्भावित घटनालाई नियत कि नियति भन्ने तथ्यको सम्यमित भएर छट्याउनु पर्ने आफ्नो दायित्वको हरेक नागरिकले हेक्का राख्नु जरुरी छ । यो असहज परिस्थितिको फाइदा उठाउँदै जनतामा अनेक भ्रम फैल्याएर राज्य सरकार विरुद्ध सर्वसाधारणलाई उत्तेजित पार्ने धुर्तहरुको चाल र जालबाट पनि हरेक नागरिक सचेत र सजक रहनु उति कै खाँचो छ ।

@sanjeevkthapa20

Views: 564