29th May | 2020 | Friday | 4:54:06 PM

नेतृत्व स्वप्नदर्शी हुनैपर्छ

विष्णुप्रसाद पौडेल   POSTED ON : जेठ ६, २०७७ (९:४९ AM)

नेतृत्व स्वप्नदर्शी हुनैपर्छ

आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रमका सम्बन्धमा संक्षिप्तमा आफ्नो धाराण राख्न चाहन्छु । 

सर्वप्रथम कोभिड–१९ को विश्वव्यापी महामारीको कारण जीवन गुमाउनु हुने नेपाली तथा संसारभरीका दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । उपचाररत र संक्रमितहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । जीवनको पर्वाह नगरी अग्रभागमा रहेर यस महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि सक्रिय भूमिका निर्वाह गर्नुहुने चिकित्सक, स्वास्थ्यकर्मी, सफाईकर्मी, नेपाली सेना, प्रहरी लगायत सम्पूर्ण सुरक्षा निकाय, सबै तहका जनप्रतिनिधिहरू, सहयोगदाता महानुभावहरू, विदेशी मित्रराष्ट्रहरू, संचार जगत र सरकारी निर्णय पालना गरेर कोभिड– १९ नियन्त्रणमा योगदान गर्नुहुने आम जनसमुदायमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । 

राष्ट्रपतिज्यूको सम्वोधनमार्फत यस सम्मानित संसद समक्ष प्रस्तुत आर्थिक वर्ष २०७७÷७८ को नेपाल सरकारको नीति तथा कार्यक्रमलाई म दृढतापूर्वक समर्थन गर्दछु । 

नीति तथा कार्यक्रमले आगामी आर्थिक वर्षको बजेटलाई निर्देशित गर्नुपर्दछ, वर्षभरीका लागि सरकारको काम र समग्र राज्यप्रणालीलाई मार्गदर्शन गर्नुपर्दछ । प्रधानमन्त्री केपीशर्मा ओलीले जिम्मेवारी सम्हालु भएपश्चात चरणवद्ध रुपमा समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्ने संकल्पका नीति तथा कार्यक्रम आउने गरेको छ । मैले यस पटक पनि त्यसैगरी आएको पाएको छु ।  

यो नीति तथा कार्यक्रम निर्वाचनका बेलमा ५ वर्षका लागि जनतासमक्ष गरिएको प्रतिवद्धताको चरणवद्ध कार्यान्वयनको संकल्प बोकेर आएको छ । आगामी आर्थिक वर्षमा के के गर्ने भन्ने प्रतिवद्धतासहित आएको छ । 

सदनमा सपनाको प्रसंग उठेको छ । सपना नदेखि तस्वीर बनाउन सकिन्न । सपनासम्म पनि देख्न नसक्नेले विकास, निर्माण वा समृद्धिको अभियानलाई नेतृत्व गर्न सक्दैन । त्यसर्थ, नेतृत्व स्वप्नदर्शी हुनैपर्छ । हो, सपना कार्यान्वयन गर्न सकिने नै हुनुपर्दछ । सरकारको नीति तथा कार्यक्रम कोभिड– १९ ले सिर्जना गरेको चुनौतीको सामना गर्ने र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्ने सपना र संकल्पका साथ आएको छ । नीति तथा कार्यक्रमले आधारहीन सपना बाँडेको छैन, बरु यो स्पष्ट उद्देश्य, लक्ष्य, कार्यान्वयनको कार्ययोजना र परिणाम प्राप्त गर्ने अठोटका साथ आएको छ । 

यदाकदा नीति तथा कार्यक्रमलाई महत्वाकांक्षी भनेको पनि सुनियो । मेरो विचारमा यो महत्वाकांक्षी होइन, उच्चआकांक्षी छ । श्रोत, साधन र सामथ्र्यको अधिकतम परिचालन गर्दा कार्यान्वयन गर्न सकिने प्रकृतिको छ । मेरो विचारमा नीति तथा कार्यक्रम संभावनाको न्यूनतम् सीमारेखाको नजिक होइन, उच्चतम सीमारेखाको नजिक भएरै आउनु पर्दछ र यसरी नै आएको पनि छ । 

नीति तथा कार्यक्रम कोभिड– १९ को महामारी र त्यसले मानवजीवनको रक्षा तथा आर्थिक–सामाजिक क्षेत्रमा सिर्जना गरेको चुनौतीको सामना कसरी गर्ने ? कोरोनाको रोकथाम, नियन्त्रण र उपचारलाई कसरी प्रभावकारी बनाउने ? प्रकृतिको सुन्दरतम् श्रृष्टि मानव जीवनको रक्षा कसरी गर्ने ? यसले आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको प्रभावलाई कसरी सामना गर्ने ? भन्ने जस्ता विषयहरूमा तत्कालका अभिभारा निश्चित गरेकोमात्र होइन, पोष्ट कोभिड योजना सहित प्रस्तुत भएको छ । आर्थिक तथा सामाजिक क्षेत्रमा थप क्षति हुन नदिन र अर्थतन्त्रलाई गतिशील तुल्याउँदै उच्चदरको आर्थिक वृद्धि हासिल गर्नमा केन्द्रीत भएको छ । 

सरकार र समग्र राज्यप्रणाली प्रकृति वा मानव सिर्जित साना वा ठूला घटना, दुर्घटना वा चुनौतीबाट विचलित हुँदैन, हुन मिल्दैन । सरकारले, राज्यले जस्तासुकै संकटको पनि सामना गर्न र राष्ट्र तथा जनताको आम वा आधारभूत आवश्यकता पुरा गर्न सकिन्छ भन्ने आत्मविश्वासका साथ अघि बढ्नु पर्दछ । प्रस्ुतत नीति तथा कार्यक्रम त्यसरी नै आएको छ । नीति तथा कार्यक्रम कोविड–१९ ले सिर्जना गरेको चुनौतीमा अल्झिएर बस्ने होइन, त्यसलाई सुझबुझ, साहस र बस्तुनिष्ठ योजनाका साथ सामना गर्ने, आर्थिक–समाजिक जीवनलाई गतिशील बनाउने, विकास, समृद्धि र सामाजिक न्याय हासिल गर्ने र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरागर्ने संकल्पका साथ प्रस्तुत भएको छ ।

यस पटकको नीति तथा कार्यक्रम समस्त मानव जाति र सिङ्गो विश्वले सामना गरिरहेको कोभिड– १९ को चुनौती परास्त गर्दै अगाडि बढ्न रोकथाम, नियन्त्रण र उपचारमा केन्द्रित भएर आएको छ । कोभिड– १९ का विरुद्धमा केन्द्रित भईरहँदा पनि राज्य आफ्ना आम वा आधारभूत अभिभाराबाट विमुख हुन सक्तैन भन्ने मान्यता बोकेर आएको छ ।

नीति तथा कार्यक्रम बदलिएको परिस्थितिअनुरुप कोविड– १९ नियन्त्रण गर्ने र स्वास्थ्य, शिक्षा, कृषि, उद्योग र रोजगारीका क्षेत्रमा लगानी केन्द्रित गर्ने, थप क्षति हुन नदिने र अर्थतन्त्रलाई गतिशील तुल्याउने संकल्पका साथ आएको छ । मितब्ययीता अपनाउने, फजुलखर्च रोक्ने, सुशासन प्रवद्र्धन गर्ने र उत्पादन वृद्धि तथा रोजगारी सृजनामा केन्द्रित हुने अठोटका साथ आएको छ । अर्थतन्त्रलाई सबल, स्वावलम्बी र आत्मनिर्भर तुल्याउने तथा उपलब्ध परिस्थितिमा संभव सीमा सम्मको उच्च आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यका साथ आएको छ । 

नीति तथा कार्यक्रम कोविड– १९ लाई परास्त गर्ने र ऊर्जा, सडक, सिंचाई, रेलमार्ग, खानेपानीजस्ता पूर्वाधारहरूलाई पनि एकसाथ अगाडि बढाउने अठोटका साथ आएको छ । आगामी आर्थिक वर्षमा कृषि उत्पादनमा महत्वपूर्ण योगदान गर्ने र प्रदेश नं. २ को मुहार बदल्ने सुनकोशी–मरिन–बागमती डाईभर्सन आयोजनाको निर्माण कार्य आरम्भ गर्ने तत्परता निकै नै महत्वपूर्ण छ । अन्तरदेशीय तथा अन्तर्राष्ट्रिय आवद्धताका दृष्टिले असाधारण महत्व राख्ने र नेपाली अर्थतन्त्रको जीवनरेखा सावित हुने हैसियतका वीरगञ्ज–काठमाडौं, केरुङ–काठमाडौं तथा पूर्व–पश्चिम रेलमार्गको निर्माण कार्य आगामी वर्षभित्र प्रारम्भ गर्ने अठोट चानेचुने विषय होइन । तमोर–चिसाङ, माडी–दाङ र कालिगण्डकी–तिनाउ डाइभर्सन जस्ता आयोजनाहरूलाई अघि बढाउने तत्परता साधारण बिषय होइन । श्रोतको व्यवस्थापन गरेर बुढी गण्डकी, पश्चिम सेतीजस्ता जलविद्युत आयोजनाहरूलाई अघि बढाउने संकल्प पनि त्यत्तिकै महत्वपूर्ण छ । भूमि बैंक स्थापना गर्ने र खाद्यान्न, दुध, माछामासु, तरकारी तथा फलफूलजस्ता उत्पादनमा आत्मनिर्भर हुन लगानी केन्द्रितगर्ने विषयको महत्वलाई निकट विगत र वर्तमानमा नेपालले भोगको पीडाले दर्शाएको छ । 

कोभिड– १९ द्वारा सिर्जित कल्पनातित चुनौतीका बावजुद श्रोत व्यवस्थापनमा आन्तरिक श्रोत परिचालनलाई मूख्य आधार बनाउने अठोट नीति तथा कार्यक्रमको अर्को महत्वपूर्ण विशेषता हो । मेरो विचारमा नीति तथा कार्यक्रमको महत्व लामो वा छोटामा होइन, त्यसमा अन्तर्निहित अन्तरवस्तुमा खोजिनु उचित हुन्छ । त्यस दृष्टिले यो नीति तथा कार्यक्रम सही, समयोचित र आत्मविश्वासयुक्त छ । यो परिस्थितिको सीमाभित्र रहेर पुरागर्न सकिने स्पष्ट लक्ष्य तथा कार्यान्वयनको मूर्त योजना हो भन्ने कुरा स्पष्ट छ । यसले आगामी जेठ १५ गते अर्थमन्त्रीद्वारा संघीय संसद समक्ष प्रस्तुत हुने बजेट अर्थात राजश्व र व्ययका लागि पनि स्पष्ट दिशानिर्देश गरेको छ । आगामी बजेटमा यस् नीति तथा कार्यक्रमको मर्मलाई आत्मसात गरिने छ, राजश्व परिचालन र विनियोजन कुशलताद्वारा यसको कार्यान्वयन सुनिश्चित गरिनेछ भन्नेमा विश्वास व्यक्त गर्न चाहन्छु । 

नीति तथा कार्यक्रमले वर्तमान सरकार नेपाली भूमिको रक्षा र राष्ट्रिय स्वाधिनताको सबलीकरणका लागि अविचलित छ, त्यस निम्ति सिङ्गो राष्ट्रलाई एकतावद्ध गरेर र राष्ट्रिय सहमति जुटाएर अघि बढ्न चाहन्छ, राष्ट्रिय हितको पक्षमा दृढताका साथ उभिदै छिमेकी मित्रराष्ट्रहरूसँग असल सम्बन्ध राख्न चाहन्छ, विगतदेखि थाती रहँदै आएका वा हाल उत्पन्न भएका समस्यालाई वार्ताका माध्यबाट समाधान गर्न चाहन्छ र तथ्यको जगमा खडा भएर कुटनीतिक वा राजनीतिक वार्ताद्वारा समस्याको समाधान चाहन्छ भन्ने स्पष्ट गरेको छ । सरकारका लागि मातृभूमिको रक्षा तथा सम्पूर्ण नेपालीको सम्मान र स्वाभिमान सर्वोपरी हुनुपर्दछ भन्ने मान्यतालाई आत्मसात गरेको छ । 

कोभिड–१९ ले गर्दा नेपालमात्र होइन, सिङ्गो विश्व र समस्त मानव जातिले नै कल्पनातित संकटको सामना गर्नुपरेको वर्तमान समयमा राष्ट्रका सामु उपस्थित सबै प्रकारका चुनौतीको सामना गर्न हामीमा पनि अभूतपूर्व राष्ट्रिय एकताको खाँचो छ । आजको आवश्यकता हामीले परम्परागत ढाँचाको सत्तापक्षीय वा प्रतिपक्षीय अभ्यास गर्ने होइन, कोभिड– १९ को सामना, सीमा रक्षासहित राष्ट्रिय हितको प्रवद्र्धन, राष्ट्रिय हितअनुकूल सन्तुलित परराष्ट्र नीतिको अवलम्बन र संविधानले दिशानिर्देश गरेझैं विकास, समृद्धि सामाजिक न्याय र समाजवादको आधार निर्माण जस्ता विषयहरूमा साझा दृष्टिकोण निर्माण गर्न र घनिष्ट सहकार्य गर्न जरुरी छ । यिनै अन्तरवस्तुहरूलाई समेटेर आएको नीति तथा कार्यक्रमलाई सहमतिका साथ पारित गर्न र देश तथा दुनियाका सामु अभूतपूर्व राष्ट्रिय एकता प्रदर्शित गर्न सबै राजनीतिक दल तथा सदनका सम्पूर्ण सदस्यहरूमा हार्दिक अनुरोध गर्दछु ।

(सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिवसमेत रहनुभएका पौडेलले प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा व्यक्त गरेको धारणाबाट)


Views: 77