8th July | 2020 | Wednesday | 7:42:16 AM

राष्ट्रिय गौरवको पनि रक्षा गरौँ

श्रीमननारायण   POSTED ON : जेठ १४, २०७७ (१०:२३ AM)

राष्ट्रिय गौरवको पनि रक्षा गरौँ

उत्तरी छिमेकी चीनसित नेपालको १४०० किलोमिटर लामो सीमाना छ । भौगोलिक निकटता, अभावग्रस्त जनजीवन, साह्रै न्युन नागरिक आवादी र मिडियाकर्मीहरूको पनि पहुँच नभएको यस भेगको गतिविधिबारे थाहा पाउन कठिन भईरहेको हुन्छ । जबकि यसको ठिक विपरित दक्षिणी छिमेकी भारतसितको १८०० किलोमिटर लामो खुला सीमानाका कारण प्रत्येक सुक्ष्म घटनाप्रति हामी सबै नेपालीको ध्यान स्वाभाविक रुपमा आकृष्ट भईरहेको हुन्छ । बाक्लो नागरिक आवादी, समाजिक एवं सास्कृतिक समानता, निरन्तरको सहयोग एवं सहकार्य लगायतका बहुआयामिक सम्बन्धका कारण पनि भारतको कुनै पनि गतिविधि हाम्रो जानकारीभन्दा टाढाको विषय रहदैन । नेपालको राजनीतिक दलहरू, सञ्चारकर्मी, नागरिक समाज र वौद्धिक जमात पनि भारतमा हुने गरेको प्रत्येक घटनाप्रति चासो राख्छन् र त्यसबाट अवगत पनि भईरहेका हुन्छन् ।

डेढ साता अघि घटित दुईवटा घटनाक्रमप्रति हाम्रो ध्यानगोचर भएको छ । एकातिर दक्षिणी छिमेकी भारतले तिब्बतको कैलास मानसरोवरसम्म जाने सडक उद्घाटन गरेकोप्रति हाम्रो ध्यान गम्भीरतापुर्वक आकर्षितमात्रै भएन, हाम्रो सरकारले उपरोक्त भूभागलाई समेटी नयाँ नक्सासमेत जारी गरेको छ । भारतले यसलाई आफ्नो भूभागको रुपमा दाबी गरे पनि पुराना तथ्य र प्रमाणहरूले लिपुलेकलाई नेपालको भूभाग प्रमाणित गरिरहेको हाम्रो दाबी छ । नेपाल सरकार कुटनीतिकस्तरमा शान्तिपुर्ण वार्ताको माध्यमबाट यस समस्याको समाधान भएको हेर्न चाहन्छ ।

त्यसकै हाराहारीमा उत्तरी छिमेकी चीनको सी.जी.टी.एन (चाईना ग्लोबल टाईम्स न्यूज र टेलिभिजन नेटवर्क)ले हाम्रो गौरव र विश्वब्यापी पहिचान मानिएको माउन्ट एभरेष्ट अर्थात् सगरमाथालाई आफ्नो देशको भएको दाबीसहितको समाचार प्रसारण ग¥यो । चीनको तिब्बतस्थित क्युओलौगमा (माउन्ट एभरेष्ट)मा आकर्षक सुनौलो घाम उदाएको भन्ने समाचार प्रसारण भएपछि स्वाभाविक रुपमा नै नेपालीहरूको ध्यानआकृष्ट भएको छ । हामी नेपालीहरूले जति पढे, बुझे सुनेसम्म सगरमाथा पुर्णरुपेण नेपाल कै हो । यसमा कसैको अंशियारी अथवा हकदाबी लाग्ने अवस्था रहेको देखिदैन । तर चाईना सरकारको उक्त टेलिभिजन च्यानलले पुनः प्रसारण गरेको समाचारमा पनि सगरमाथालाई चीन र नेपालको सीमाना बताएको छ । कालापानी, लिपुलेक र लिपियाधुरातिर पनि हाम्रो ध्यान जानु पर्दछ । हामीले आफ्नो प्रमाणको आधारमा त्यो भूभाग लिनु पर्दछ । तर शरीरको टाउको नै काटिने अवस्था उत्पन्न हुँदा पनि यसबारे हाम्रो प्रतिक्रिया नदेखिनु र नसुनिनुलाई कुन रुपमा परिभाषित गर्ने ? एउटा छिमेकीको अतिक्रमण राष्ट्रहितमा र अर्काको अतिक्रमण राष्ट्रघात हुने मान्यतालाई तिलाञ्जली दिने बेला आएको छ । नेपालको हितलाई सर्वोपरि देख्ने काम गरौं ।

राजतन्त्र, हिन्दु राष्ट्र तथा सगरमाथा नै हाम्रो पहिचान रहिआएको हो । जनआन्दोलन २ को सफलतापश्चात राजतन्त्र र हिन्दु राष्ट्र रुपि पहिचानलाई तिलाञ्जली दिईयो । सगरमाथा (माउन्ट एवरेष्ट)को देशको रुपमा हाम्रो पहिचान कायम थियो तर सिजिटीएनको उक्त समाचारले सगरमाथा नेपालमा हो कि होइन भन्ने प्रश्न उत्पन्न गरेको छ । न त  नेपालको कुनै राजनीतिक दलले नै यसबारे केही बोल्न आवश्यक ठान्यो, न त कथित राष्ट्रवादी, बुद्धिजिवीहरूले नै । राष्ट्रियताको सवालमा चिन्ता, चिन्तन र अभिब्यक्ति पनि मन पर्ने र नपर्ने बिषयमा भर पर्ने रहेछ । 

प्रत्यक्ष रmपमा चीनसित नेपालको कुनै सम्बंध नै थिएन । सन् १९५१ मा चीनले तिब्बतमाथि कब्जा जमाईसकेपछि मात्रै चीनसित नेपालको सम्बन्ध कायम भएको हो । तिब्बत र नेपालबीच दुई पटक युद्ध पनि भइसकेको छ । सन् १७७९ मा केरुङ युद्ध भएको थियो । सन १७९२मा बेत्रावती सन्धी भएको थियो । सन् १८५३ मा थापाथली सन्धी भएको थियो । तिब्बतका राजा सृंग चंगगम्पोको विवाह नेपालकी राजकुमारी भृकुटीसित भएको थियो । कुनै समयमा तिब्बतमाथि यति बढी प्रभाव थियो कि नेपाली मुद्रामा नै व्यापारीहरूले खरिद बिक्री पनि गर्थे । नेपाली ब्यापारीहरूले त्यहाँ ठुला ठुला गोदाम पनि राखेका थिए । तिब्बतमा बुद्ध धर्म एवं संस्कृतिको गहिरो प्रभाव रहेका कारण नेपालसित यसको घनिष्ट सम्बन्ध पनि थियो । लिच्छबी र मल्लकालमा तिब्बतसित गहिरो सम्बन्ध थियो । जब तिब्बत चीनको अधिनमा हुन पुग्यो अनि नेपाल–तिब्बत सम्बन्ध स्वतः समाप्त हुने भयो । 

टंकप्रसाद आचार्य जतिबेला नेपालका प्रधानमन्त्री थिए, त्यतिबेला नै चीनसित  नेपालको कुटनीतिक सम्बन्ध कायम थियो । २०१७ सालमा  नेपालका तत्कालीन प्रधानमन्त्री बीपी कोइराला चीन भ्रमणमा गएका बेला उनका चिनियाँ समकक्षी चाउ एनलाईले नेपाल–चीन शान्ति एवं मैत्री सन्धीमा हस्ताक्षर गरेका थिए । चीनले त्यतिबेला नै सीमाना सम्झौताको प्रस्ताव राखेका थियो । तर बीपी कोइरालाले आफ्नो देशमा जननिर्वाचित संसद रहेकोले त्यसमा छलफल गर्नु आवश्यक रहेको जवाफ दिएका थिए । उनले चिनियाँ नेताको नेपाल भ्रमणका बेला यस सम्झौतामा हस्ताक्षर हुन सक्ने बिश्वास चिनियाँ पक्षलाई दिलाउन खोजेका थिए । तर चीनले बीपीमाथि विश्वास गरेन ।

राजा महेन्द्रले जब २०१७ साल पौष १ गते संसदीय ब्यवस्था अन्तगरी देशमा निर्दलीय पञ्चायती ब्यवस्थाको घोषणा गरेका थिए । त्यसबेला उनको यस अभियानलाई पहिलो समर्थन चीनबाट नै प्राप्त भएको थियो । स्व बीपी कोइरालाले नमानेको सीमाना सम्बन्धी प्रस्ताव चीनले राजा महेन्द्रसमक्ष राख्दा उनले त्यसमा समर्थन जनाएका थिए । त्यतिबेला चीनमा चाउएनलाई नै प्रधानमन्त्री थिए । नेपाली कांग्रेसका दिग्गज नेता स्व. खुमबहादुर खड्काले राजा महेन्द्रले पञ्चायत टिकाउन भारतलाई कालापानी तथा चीनलाई सगरमाथा सहितलाखौ बिघा नेपालको जग्गा उपहारस्वरुप सुम्पेको आरोप लगाएका थिए । उनले कालापानीको मात्रै कुरा गर्ने नेपालका कमुनिष्टहरूले एभरेष्ट बारेमा पनि चर्चा गर्नुपर्ने चुनौती दिएका थिए ।

नेपालका उपन्यासकार एंव राजनीतिज्ञ डायमण्ड शमशेर राणाको जीवनीमा आधारित ‘सेकेन्ड लेफ्टिनेन्टदेखि नखु जेलसम्म’ शीर्षक पुस्तकको पृष्ठ २४०मा राजा महेन्द्रले सगरमाथा (माउन्ट एभरेष्ट) को उत्तरतर्फको हिस्सा (कालाखाड) सहितको सम्पूर्ण उत्तरी क्षेत्र एवं नेपालभित्रका १५ वर्गमिल भूभाग उपहारस्वरुप चीनलाई प्रदान गरेको कुरा उल्लेख छ । काठमाडौंको अक्सफोर्ड प्रकाशनको उक्त पुुस्तकलाई हेमांगराज गिरीले लेखेका हुन् । डायमण्ड शमशेरको उपरोक्त भनाइले पनि खुमबहादुर खड्काको आरोपलाई पुष्टी गर्दछ । त्यो समझौता हुनुभन्दा अघिसम्म नेपाली गोठालाहरूले सगरमाथाको उत्तरपट्टीको टिंगरी  मैदान क्षेत्रमा आफ्नो भेडाबाख्रा चराउने गरेका थिए । तर समझौतापछि त्यो भुभाग नेपालको रहेन ।

एक पटक ब्यवस्थापिका संसदको कृषि तथा सहकारी समितिको बैठकमा पनि सीमाना विवादको विषय चर्चामा आएको थियो ।  केही बामपन्थी सांसदले भारतद्वारा नेपालको भूभाग मिचिएको आरोप लगाउँदा नेपाली कांग्रेसका सांसद रामजीवन सिंहले उत्तरी हिमालको अवस्थाबारे बताउन आग्रह गरेका थिए । जवाफमा तत्कालीन परराष्ट्रमन्त्री श्रीमती साहना प्रधानले चीनले नेपालको हिमाली पर्वत श्रृङ्खलाको हजारौं हेक्टर भूभाग बलजफ्ती कब्जा गरी राखेको तथा आफनो भूभागबाट विदेशी पर्यटकहरूलाई एभरेष्टमा आरोहण गराउने गरेको तर त्यस बापत प्राप्त हुने करोडौं रुपैयाँबाट नेपाललाई एक सुक्का पनि उपलब्ध नगराएको आरोप लगाएकी थिइन् । उनले यसमा रोक लगाउन सरकारीस्तरबाट कुनै प्रयास नभएको जवाफ दिएकी थिइन् ।

नेपालको पहिलो संविधानसभाको राष्ट्रिय हित संरक्षण समितिको अवधारणापत्रमा शीर्षकको २, ३, ८ एवं ९ को सीमा सम्बन्धमा नेपाल र चीनबीचको सन्धी खुल्ला तथा नक्सा गोप्य रहेको उल्लेख थियो । यो गोप्य भन्नेको के हो ? प्रष्ट हुन सकेन । चीनले एक दशक अघि नै सगरमाथाको उँचाई ८८४४.४३ मिटर जुन कि चिनियाँ क्षेत्रमा अवस्थित छ, त्यसमा समर्थन जनाउन नेपालसित सहमतिको प्रस्ताव गरिसकेको छ । जबकि सगरमाथाको उँचाई ८८४८ मिटर रहेको विश्वब्यापी मान्यता छ । चीनका महान नेता माउत्से तुंगंले तिब्बत कब्जा गरेपछि  तिब्बतलाई हातको हतकेला र नेपाल, भुटान, सिक्कीम, लद्दाख तथा अरmणाञ्चल प्रदेशलाई त्यसको पाँचवटा औंला भनेका थिए । नेपालको चारैतिरको सीमाना सुरक्ष्ीित रहनु पर्दछ । शान्तिपूर्ण वार्ताको माध्यमबाट सीमामा समस्याको समाधानको प्रयास हुनुपर्छ । राष्ट्रिय गौरवको रक्षा गराँै ।


Views: 190