8th July | 2020 | Wednesday | 6:45:23 AM

नेपाल–भारत सीमा विवाद र नेपाली कांग्रेस

डा.लक्ष्मीकान्त पौडेल   POSTED ON : जेठ २२, २०७७ (१०:१६ AM)

नेपाल–भारत सीमा विवाद र नेपाली कांग्रेस

नेपाल भारत सम्बन्ध सीमा विवादको कारणले तनावपूर्ण जस्तो देखिएको छ । विवादको मुल थलो माहाकाली वारीको भूभाग स्वतः नेपालको भएकोमा भारतले दावी गरेको र सडकसमेत बनाएको भन्ने नै हो । जनगणना, सन्धीहरू समेतले त्यो भूभाग नेपालको हो भन्ने देखाएकै छन् । तर भारत र चीनवाट नेपालको भूभागको सवन्धमा हेपाहा प्रबृत्ति लिएको देखियो । नेपालको भूमि भन्ने थाहा हुँदाहुँंदै भारत र चीनले मिलेर यस भूमिमा सडक बनाउन दुई पक्षीय सहमति हुनु दुर्भाग्यपूर्ण हो । नेपालको भूमिलाई भारतको देखाएर भारत र चीनले संयुक्त फाइदा लिने प्रयास र कार्यको तयारी भएको प्रमाणहरूले देखाएका छन् । यस सम्बन्धमा धेरै तथ्यगत धारणाहरू आइसकेका छन् ।

नेपाल सरकारले नेपालको नक्सामा नेपालको पश्चिम–उत्तरमा रहेको माहाकाली नदीको वास्तविक शिरबाट पूर्वतर्फको भूमि समेटेर नक्सा सार्वजनिक गरेको छ । यस सम्बन्धमा नेपाली कांग्रेसले पहिलादेखि नै प्रष्ट धारणा र अडान राख्दै आएको देखिन्छ । कांग्रेसले वर्तमान सरकारलाई माहाकाली नदीबाट पूर्वतर्फको जग्गा नेपालको भएकोले यस विषयमा सरकारलाई अडिग रहन दबाब दिदै यसबारे पूर्ण साथ दिने बताएको हो । कतिपय कांग्रेस नेताहरूले सबै कांग्रेसजनको आवाजको प्रतिनिधित्व गरेर नेपालमा हामी प्रतिपक्षमा हौला तर विदेश नीतिमा र विदेशले नेपाललाई गरेको अन्ययपूर्ण ब्यवहारमा सरकारको साथमा छौं भनेर सुझबुझपुर्ण जवाफ दिएका छन् । राष्ट्रहितको लागि कांग्रेस सधैँ कटिवद्ध छ र कांग्रेस राष्ट्रियताको सम्बन्धमा सस्तो राजनीति गर्दैन । यस विषयमा राष्ट्रिय धारणा बनाउनु पर्दछ र यसमा कांग्रेस एक ढिक्का छ भन्ने सन्देश दिएको छ । यस विषयमा कांग्रेस र सरकार एक हुनु खुसीको विषय हो । 

कांग्रेस सभापति शेरबहादुर देउवाले लिएको परिपक्व राजनीतिक ब्यवहार अझै सबैको लागि पाठजस्तै भएको छ । कोरोनाको संक्रमण, देशको सीमामा अतिक्रमण भइरहेको बेलामा सत्ताधारीहरू सत्ताको लागि झगडाको चरम लडाइमा रहेका थिए । कम्युनिष्ट पार्टी फुट्ने र काग्रे्रससँँग मिलेर सरकार बनाउने हल्ला चलिरहेको थियो । तर देउवाले कोरोना संकट समाधान र राष्ट्रियताको संवद्र्धनको आवश्यकता रहेकोमा सत्ताको छिनाझप्टीबाट पर रहनुपर्ने सन्देश दिएकोले पनि वर्तमान सरकार स्थिर रहन सहयोग पुग्यो । सत्तामा रहनेहरूमा विवाद आउँदा प्रतिपक्षीले त्यसमा मलजल गर्ने चलनै छ । तर देउवाले त्यस्ता कार्यलाई अस्वीकार गरेको तथ्य सबैको लागि सह्राहनीय नै हो । त्यतिमात्र होइन, कांग्रेसले नेपालको नक्सालाई सुधार गरिएर अनुसार संसदबाट पारित गर्ने सम्बन्धमा नक्सा संशोधनको पक्षमा मतदान दिने निर्णय गरेको छ । यो नेपाली राजनीतिमा सह्राहनीय काम हो । यसले लोकतन्त्र र राष्ट्रियता एक अर्काका पुरक हुन् भन्ने सन्देश पनि दिएको छ । 

नेपाली कांग्रेसको वैचारिक प्रष्टताका साथमा राष्ट्रियताको सम्बन्धमा छिमेकीसँगको सम्बन्धका वारेमा प्रष्ट रुपमा धारणा आएका छन् । भारतले हतियार लिदा नेपालले भारतसँग सल्लाह गर्नुपर्ने विवाद आउँदा देउवाले भारतले हतियार किन्दा नेपालसँग नसोधेकोले हामीले पनि सोध्न आवश्यक नभएको उल्लेख गरेर भारतसँग सधैँ समान हैसियत हुने प्रष्ट पारेका हुन् । विपीले चीनले सगरमाथा दावी गर्दा सगरमाथाको चुचुरोसमेत नेपालको हो भन्ने स्थापित गराएका हुन् । लोकतन्त्रका पिता गणेशमान सिंहले देशको प्रधानमन्त्री विदेशीको इसारामा चल्नु हुं्ँदैन भन्ने सन्देशमात्र दिएनन् बरु प्रधानमन्त्री पदसमेत त्याग गरे । कांग्रेस सस्तो लोकप्रियता नभइ वास्तविक राष्ट्रियता र जनजीविकाको जगमा उभिएको दल हो भन्ने यी ब्यवहारले देखाएका छन् । त्यो परिपक्वता सरकारमा रहेको नेकपामा पनि क्रमशः देखिंदै गएको छ र जानु पनि पर्दछ ।

विपीले मेलमिलापको आधारमा २०३३ साल पुष १६ गते नेपाल प्रवेश गर्दा नै प्रष्ट भनेका थिए कि आज देशमा स्वार्थपरायणता, साम्प्रदायिकता, ब्यक्तिवादी मनोबृत्ति र विदेश पट्टी आमुख हुने प्रबृत्तिको बोलाबाला छ । यस्तो परिस्थितिमा सबैभन्दा पहिलो हत्या राष्ट्रियताको हुन्छ । विपीको भनाइ अहिले अझै सान्दर्भिक हुन पुगेको छ । नेपालमा कतिपय मानिसहरू जात, भाषा, क्षेत्रको आधारमा विभाजित भएको जस्तो देखिएको छ । हामी पहिला नेपाली हौं भन्ने सोचको पुनर्जागरण आवश्यक छ । यसको कोषे ढुंगाको लागि महाकाली नदीको शिरमा नदीमा आधारित नेपालको सीमा र सगरमाथा नेपालको मात्र हो भन्ने स्थापित तथ्यलाई प्रष्ट पार्न आवश्यक छ । नक्साको माध्यमबाट र प्रतिपक्ष र सरकारको एकताबाट भारतको एक प्रकारले भन्दा हेपाहा प्रवृत्तिको कडा जवाफ नेपालले दिएको छ र चीनसँग पनि सगरमाथाको सम्बन्धमा निकास आउन आवश्यक छ । 

यद्यपि भारतको लागि हाल भारतले विवाद गरेको भूमि रणनीति महत्वको छ भन्ने पनि छ । त्यो सम्बोधन नेपालले गरिदिनु पर्दछ । किनभने नेपाल र भारतको सम्बन्ध धर्म, संस्कृति, परम्परा, भौगोलिकता र रोटीबेटीको छ । त्यसैलाई ध्यान दिदै समानताको आधारमा भारत र नेपालबीचको सम्बन्ध सुमधुर तर प्रष्ट र नेपाल कुनै पनि हालतमा नमिचिएको, नथिचिएको हुनु पर्दछ । नेपालले भारतसँगको सबन्धमा अर्को छिमेकीलाई अगाडि बढाउन र बार्गेनिङको आधार बनाउनु उचित पनि हुंँदैन । प्रष्ट धारणा र प्रमाणका आधारमा समस्याहरू समाधान गरिनु पर्दछ । नेपालले सिमा विवादमा आफ्ना प्रमाणहरू देखाएकोमा अब शान्तिपूर्ण रुपमा साझा मध्यस्थहरूको सल्लाहको आधारमा निकास निकाल्न तयार हुनु पर्दछ । त्यसभन्दा पहिला दु्रत रुपमा दुईपक्षीय वार्ता हनुपर्दछ । 

सरकारले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट पाएको सहयोगलाई संगठित गरेर शिक्षाको रुपमा मात्र हैन, राष्ट्रको लागि प्रतिपक्षको भूमिका कस्तो हुन पर्दछ भन्ने पनि मनन् गर्नु पर्दछ । त्यसका साथै नेपाली कांग्रेसमा सीमाना, कोरोना समेतको जटिल अवस्थामा देखिएको अपूर्व एकतालाई स्थायी बनाउन आवश्यक छ । अहिले नेपाली कांग्रेसमा कुनै गुट उपगुटको अनावश्यक महत्वाकांक्षा हावी छैन । बरु देश, समाज र दलको हित र लोकतन्त्रको माध्यमबाट जनताको गरिवी निवारणको लागि दल अझै मिलेर अगाडि बढेको छ भन्ने देखिंदै छ । यो अत्यन्त सकारात्मक पक्ष हो । अपसी विवादले कही पनि पुगिदैन भन्ने सबैले बुझेको देखिएको छ । 

अबको कांग्रेस भनेको धेरै अनुभव हासिल गरेका वर्तमान सभापति शेरवहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसमेत धेरै अग्रजहरूको सकृय संरक्षकत्वमा त्यसपछिका र युवा पुस्ताहरूलाई अगाडि बढाउने, सक्षम, सकृय र दक्ष बनाउने तथा देश र समाजको लागि समर्पित बनाएर नेतृत्व हस्तान्तरण गर्दै जानु नै हो भन्ने पनि देखिएकै छ । क्षमता र इमान्दारीको आधारमा नै नेताहरूले विना पूर्वाग्रह नयाँ नेतृत्वको लागि तयार गर्ने र त्यसको लागि प्रशिक्षक र अभिभावक बन्ने कार्यले नै कांग्रेस अझै बलियो हुने छ । कांग्रेसको वर्तमान नेतृत्वले नै चुनावमा दुईवटा कम्युनिष्ट पार्टी एक हुँदासमेत सम्मानजनक मत दिलाउन भूमिका निभाउन सकेको हो । त्यो नेतृत्वले अबको लागि पनि दललाई अझै बलियो र सशक्त बनाउने कार्य गर्नको लागि यो सुअवसरलाई प्रयोग गर्न आवस्यक छ । 

भारत नेपाल सम्बन्ध र सीमा विवाद, कोरोना सम्बन्धमा उचित अवतरण, चीनसँँगको सीमा विवाद समेतमा अझै सघन रुपमा ध्यान दिन आवश्यक छ । नेपाली कांग्रेसले यी दुवै पक्षमा काम गर्न युवा र सो क्षेत्रमा अनुभव प्राप्त नेताहरूको उचित सकृयता सुरु गरेर निकासको लागि पहिला सरकारसँग त्यसपछि साझा रुपमा सरकारको साथमा मित्रराष्टहरूसँग विवाद समाधानको लागि पहल गर्नु नै उचित विकल्प हो । यो अवस्था सबैको लागि राष्ट्रहितमा एक हुने अवसर हो र नयाँ पुस्तालाई दक्ष र इमान्दार बनाउँंदै अगाडि बढ्ने अवसर पनि हो । 


Views: 470