8th July | 2020 | Wednesday | 6:14:54 AM

संस्मरण : पनौतीको मेला, दुर्घटनाले कुबेला

विनोद दाहाल वत्स   POSTED ON : जेठ २४, २०७७ (१०:३४ AM)

संस्मरण : पनौतीको मेला, दुर्घटनाले कुबेला

काभ्रे जिल्लाको पनौतीमा १२÷१२ वर्षमा मेला लाग्ने गर्छ । यो मेलाले ललितपुरको गोदावरीको बाह्रवर्षे मेलाको जस्तै महत्व राख्दछ । १२ वर्षमा एक पटक लाग्ने मेला भएका कारणले पनि यस मेलाले विशेष महत्व राख्दोरहेछ । कुरो २०४२ सालको हो । म काठमाडौं आएर क्याम्पस पढ्न थालेको भरखरै थियो मेरालागि काठमाडौं नौलो थियो । यहाँका दर्शनीय स्थलहरू घुमेर कहिल्यै नसकिने, घुमेको घुम्यै गर्दा पैसा पनि खर्च हुन्थ्यो र आफू विद्यार्थी भएका कारण पैसाको पनि सधैँ अभाव हुन्थ्यो । त्यसैले उपत्यकाभित्रका मठ मन्दिर र ऐतिहासिक तथा पुरातात्विक महत्वका ठाउँ, पार्क, पोखरी र दरवारहरू क्रमिक रूपमा हेर्ने गरिन्थ्यो, खुरुखुरु घुम्न सकिँदैनथ्यो ।  

पनौतीमा १२ वर्षे मेला लाग्यो २०४२ सालमा । यो मेला हेर्न अहिले नजाने हो भने अब अर्को १२ वर्ष पर्खिनुपर्छ, २०५४ सालसम्म । जुनबेलासम्म आफू कहाँ पुगिन्छ ¤ त्यसैले त्यहाँ जाने निर्णयमा पुगियो । मैतिदेवी मूल सडकको दक्षिणतिर बाटाका एक लहरबाहेक घर थिएनन् । त्यहाँ ठुलो खुला फाँट थियो । किसानहरू त्यहाँ धान तथा अन्य मौसमी तरकारी खेती गर्थे । त्यतैतिर कतै स्थानीय किसानको एक्लो घर थियो र त्यही घरमा म र मेरो जिल्लाबासी साथी घनश्याम सुनुवार डेरा गरेर बस्थ्यौँ । घनश्यामले होटल सोल्टीमा काम थालेको हुनाले  उनीसँग पैसाको खाँचो थिएन । त्यसैले उनले मसँग ‘भोलि पनौती जाऔँ’ भनेर प्रस्ताव राखे । 

म बोलिनँ किनभने कतै जाँन भनेर खुट्टा उचाल्नेबित्तिकै पैसा खर्च भइहाल्थ्यो । घरबाट ल्याएको सीमित पैसाले यहाँ बसेर खर्च धान्नुपथ्र्यो । कोठाभाडा खाना तथा खाजा खर्च, लुगा, क्याम्पसको शुल्क, किताब, कपी कलम, मसी तिनलाई पु¥याएर मात्र अनि अन्य फुर्मासी खर्च गर्ने हो । आधारभूत कुरालाई मात्र पनि खर्च पु¥याउन गाह्रो हुन्थ्यो । अनि कहाँबाट पाउनु फुर्मासी खर्च ¤

घनश्यामले म नबोल्नाको कुरो बुझे । ‘तिमी तिम्रो बसभाडा मात्र तिर, खाना र खाजाको पैसा म तिरुँला’ उनले भने । उनलाई जाने चाहना थियो र साथी पनि चाहिएको थियो । त्यसैले उनले मलाई यति खर्च ब्यहोरेर पनि लाने भए । उनले यति भनिसकेपछि मैले नाइँ भन्न सुहाएन, ‘हुन्छ’ भनेँ । भोलि बिहान सबेरै उठ्नु छ, त्यसैले हामी त्यस रात अलिक छिटै सुत्यौँ ।

हिउँदको महिना थियो, पुस, माघ वा फागुन । काठमाडौंले डम्म कुहिराको खास्टो ओढेको थियो । हामी सबेरै उठेर आफ्ना दैनिक प्रातकर्म सकेर बस चढ्न रत्नपार्क पुग्यौँ । त्यहाँ पनौती जाने अभिलासीहरू पनि बाक्लै थिए र मिनीबसहरू पनि लाइन लागेर रोकिएका थिए । बसहरू अहिलेका जस्ता आधुनिक र अरामदायी थिएनन् । त्यस समयमा पछाडिबाट ढोका भएका र तोर्सो लामो सिट भएका मिनीबसहरू हुन्थे । हामी यस्तै एउटा मिनीबसमा चढ्यौँ र पनौतीको यात्रा प्रारम्भ ग¥यौँ । 

बसले आफ्नो गति लियो । राष्ट्रिय सभा गृह, भद्रकाली, सिंहदरबार, माइतीघर, बबरमहल नयाँबानेश्वर मीनभवन अनि तीनकुने पुग्यो गाडी । तीनकुने त्यसबेला एउटा आवादी खेतका रूपमा थियो । विभिन्न व्यक्तिहरूका नाममा रहेको उक्त खेतमा धान तथा अन्य खेती गरिन्थ्यो । त्यो बेला हिउँद महिना भएको हुँदा गहुँ भरखर भरखर बढेर एक फिट जतिको भएको थियो । बिहान बैंसालु बनेकै थिएन, कलिलो बिहान अझै कुहिराभित्रै उँघिरहेको थियो । दुध ब्यापारीहरू ट्यामीमा दुध बोकेर सडक किनारामा हिँडिरहेका देखिन्थे । अनि सेना परेडमा थिए । 

हाम्रो गाडी तीनकुनेबाट कोटेश्वर हुइँकियो । कोटेश्वरतिरबाट सेनाको गन्जी र कटु लाएको एउटा समूह दौडिँदै तीनकुनेतिर आयो । यहीँनेर गाडी र सेनाको कुनै सन्तुलन बिग्रियो । गाडी एकैचोटि ढुन्मुनिएर तीनकुनेभित्र पुग्यो र पल्टियो । सेनालाई बाटो दिँदा बाटो छोडेर तल्ला गरामा पुगेको हो भनेर अगाडि बसेका यात्रीहरूले पछि भनेको सुनेँ मैले । 

म र घनश्याम तेर्सो सिटमा बसेर अनन्दले गफ गरिरहेका थियौँ गाडी सन्तुलनमै थियो । तर, अचानक एकपटक बुरुक्क उफ्रियो र कान्लामुनि पुगेर पल्टियो । मानिसहरू ‘ए राम ! राम !’ भनेर कहालिँदामात्रै दुर्घटना हुँदैरहेछ भन्ने थाहा पाइयो । किन हो किन, हामीलाई ‘राम’ भन्ने पनि मौका मिलेन । भगवानको नाम जप्ने मौका पनि हामीले पाएनौँ । बस हामी बसेतिरै पल्टियो । हाम्रा विपरीत साइडमा बसेका मानिस हामीतिरै घोप्टिए र हामीलाई थिचे । 

मानिसहरूको थुप्रो एकापटि लाग्यो स्वास्नीमानिस र केटाकेटीहरू रुन कराउन थाले । कसैको काखको नानी काखबाट उछिट्टिए, नारीहरूका बस्त्र सोहोरिएर भित्री बस्त्र देखिए, लुगाहरू च्यातिए । कसैका निधार र टाउकामा घाउ भयो । कसैका हात सिसाले काटेर रगत बगिरहेकोले कोलाहल र चित्कारको वातावरण थियो त्यहाँ त्यसबेला । 

एकछिनपछि हराएको होस आउँदा यस्तो अवस्था देखियो, हेरियो तर आफैँलाई अरू मान्छेले थिचेका हुँदा म उठ्न सकिनँ । झ्याल फुटाएर दुई÷चार जना बाहिर निस्किएछन् । ढोका खुल्दै खुलेनछ । यसरी सबैभन्दा अगाडि निस्किनेहरूको पंक्तिमा मसँगै बसेको साथी घनश्याम पनि रहेछ । त्यही दौडमा सामेल सेनाको समूहले ढोका फुटाएर हामी सबैलाई बाहिर निकाल्यो । सेनाले माथिकालाई पहिले र थिचिएकाहरूलाई क्रमशः  निकालेछ, नत्र तल थिचिएकाहरू माथिकाको थिचाइले घाइते हुने रहेछन् । यस्ता दुर्घटनाहरूमा ठोक्किएर मर्नेहरूबाहेक केही आत्तिएर, डराएर हृदयघात भई मर्छन् अरे र केही अरूको थिचाइबाट उठ्न नसकेर पनि मर्छन् अरे । म पनि केही मानिसहरूबाट थिचिएको थिएँ र मलाई ऐँठन भएझैँ भइरहेको थियो । सेनाले पहिले तिनलाई उठाए अनि मलाई निकाले । 

निकालिएका र आफैँ निस्किएकाहरू खेतमा जम्मा भएर उभिए । केही घाउचोट लागेकाहरू थचक थचक भुईंमै बसे । कोही कोही यात्रीहरू चालक र खलासीलाई कुट्न भनेर खोज्न थाले तर तिनीहरू कहाँ पुगे तिनको नाम–निशाना थिएन । कोटेश्वर पुगेर चौकीमा बसेका छन् भन्ने पनि हल्ला आयो तर त्यतातिर लागिरहनु आवश्यक थिएन । कुनै पनि चालकले बाटामा भएको एउटा सामान्य कुखुराको चल्लालाई समेत किचेर मार्न चाहँदैन भने मान्छे मार्ने र गाडी नै पल्टाउने जस्तो मनसाय त झन् उसको हुँदै हुँदैन । दुर्घटना भनेकै अचानक हुने कुनै अप्रिय घटना हो । त्यसैले उसलाई कुट्नु पिट्नु पनि अनुचित काम हो भन्ने तर्कहरू पनि त्यहाँ उठे । 

एक–दुईजना युवा त सुरिएर गाडीमै आगो लगाएर ध्वस्त पारिदिन तम्सिएका थिए, तिनलाई पनि अरूले रोके । ‘यो निर्जीव गाडीमाथि रिस पोख्नु हुँदैन । यसको केही दोष छैन । यो आफैँ पल्टिएको होइन । कसैले रिनपान गरेर किनेको कमाई खाने भाँडो हो यो । त्यसैले यसमाथि यसरी रिस नपोखौँ । यसलाई आगो लगाएर खरानी पारेर केही पाइँदैन’ भनेर तिनलाई रोक्ने काम भयो ।  

मेरो भरखर बनाएर लगाएको पावरको चस्मा हरायो, भेटिएन । फुटेको वा भाँचिएको भए पनि त्यसका टुक्राटाक्री जस्ता अवशेषहरू त भेटिनुपथ्र्यो, भेटिएनन् । लुगा, अनुहार र कपालभरि धुलैधुलो भएर ढेडुजस्तै भएको थिएँ, घनश्यामको पनि अवस्था उस्तै थियो । एकले अर्काको धुलो टक्टक्याइदियौँ । मानिसको जीवन यात्रा भन्थे हो रहेछ ।  अनि यो यात्राका बिचमा विभिन्न खालका दुर्घटनाहरू पनि आउनसक्छन् भन्थे, त्यो पनि हो रहेछ । त्यही कुरालाई प्रमाणित गर्दै हाम्रासामु त्यसदिन त्यो दुर्घटनाको पहाड खडा भयो । मलाई केही भएन अनि घनश्यामलाई पनि केही भएन । अरू कसैकसैलाई सामान्य घाउचोट लाग्यो तर कोही मरेनन्, गम्भीर घाइते पनि भएनन् र कसैको अङ्गभङ्ग पनि भएन । यो नै खुसीको कुरो थियो । 

केही मानिसहरू त्यहीँबाट घर फर्किए यतै, पनौतीको यात्रालाई छोडेर । केही फेरि अर्को बसमा चढेर उतै जाने भए । हामी दुई दोबाटोमा अलमल्ल परेका यात्रीजस्ता भयौँ । अब यतै फर्किनुपर्छ होला भनेर हामी हिँड्दै हिँड्दै कुरा गरिरहेका थियौँ । एकदुई जना सहयात्रीहरूले हामीलाई नफर्किन सल्लाह दिए । उनीहरू पनि अर्को बस चढेर पनौती नै जाने भए । ‘जाऊँ हिड्नुस्, केही भएको भए पो हरेस खानु, केही भएको छैन किन फर्किनु ? भगवानको धाममा जाने प्रण गरेर हिँडिसकेपछि यति घटनाबाट यसरी निरुत्साहित बन्नु हुँदैन’ उनीहरूले हामीलाई सान्त्वना दिँदै भने । हामीले पनि उनीहरूको सल्लाह मान्यौँ र अर्को बस चढेर पनौतीतिरै लाग्यौँ ।

हामी  कान्लो उक्लिएर बाटामा चढ्यौँ र रत्नपार्कतिरबाट आएको बसलाई हात देखाएर रोक्यौँ । त्यसमा चढेर यात्रा अघि बढायौँ । तर अघिको जस्तो अहिलेको गाडीमा सिट पाएनौँ । गाडी उतैबाट भरिएर आएको थियो । हामी उभिएरै पनौतीसम्मै गयौँ । अगुल्टाले हानेको कुकुर बिजुली चम्किँदा तर्सिइहाल्यो, बसले अलिकति उफार्दामात्र पनि हामी झस्किइहाल्थ्यौँ । मोडमा बस ढल्किन्थ्यो, हामी भित्रैबाट त्यसलाई सिटको फलामे डण्डीमा समातेर सोझ्याउने प्रयास गथ्र्यौं । यसो गरी गरी हामी पनौती पुग्यौँ । त्यहाँको त्रिवेणी मेला भ¥यौँ, भगवानप्रतिको आस्था र मनका भावनाहरू यथासक्य अभिव्यक्त ग¥यौँ । 

त्यहाँको पुरानो बजार घुम्यौँ, माथि डाँडाको गोरखनाथ मन्दिरको पनि अवलोकन ग¥यौँ र भगवानको दर्शन ग¥यौँ । ‘तल नदीको पानी अँजुलीमा लगेर त्यहाँ भगवाललाई चढाउनुपर्छ’ भन्ने मान्यताअनुसार हामीले तलबाट लगेको पानी त्यहाँ पुग्दा चुहेर सकिनै लागेको थियो । बाँकी जति थियो त्यो त्यहाँ चढायौँ । केहीबेर वरपरका वनपाखा, पर्वत, गाउँ बस्ती र खोलानालाको त्यहीँ उभिएर चारैतिर फर्किई फर्किई अवलोकन ग¥यौँ र मन तृप्त भएपछि त्यहाँबाट फर्कियौँ । फर्किदा पनि जाँदा भएको दुर्घटना सम्झिएर मन झस्किइरहेको थियो ।  

साँगा भञ्ज्याङ कटेर बस भक्तपुरको नलिनचोकतिर ओरालो झर्न थाल्यो । मनले फेरि बिहान तीनकुनेमा हाम्रो मिनीबस पल्टिएको घटनाको स्मरण गरिहाल्यो । ‘काल नआई मानिस मर्दैन र काल आएपछि दैलाका ठेलामा ठोकिएर पनि मर्छ’ भन्ने भनाइ अहिले मलाई सही लागिरहेको छ । ठुला ठुला दुर्घटनामा एउटै गाडीका ३५÷४० जना मान्छे मर्दा पनि दुईचार जना बाँचिरहेका हुन्छन्, सामान्य घाइतेमात्र बन्छन् र एकदुई जनालाई त अझ केही पनि नभएको पनि हुनसक्छ । हवाइजहाज, पानीजहाज, रेल दुर्घनामा परेर पनि धेरै मर्छन् । 

मृत्युका रूप अनेक प्रकारका हुन्छन् । रुखबाट र भीरबाट लडेर पनि कति मर्छन् । कति खोलाले बगाएर, बाढी–पहिरोमा परेर पनि मर्छन् । करेन्ट लागेर, सर्पले टोकेर, बाघभालुले खाएर र अन्य जङ्गली जनावरको आक्रमणमा परेर पनि कति मर्छन् । अनि कहिलेकहीँ सामान्य दुर्घटना हुँदामात्र पनि एकदुई जनाको मृत्यु हुने गरेको देखिन्छ । कोही सद्दे पनि हुन्छन् । त्यसैले मृत्यु पनि लेखेअनुसारको हुने रहेछ भन्नेमा मलाई विश्वास लाग्यो । हाम्रो धर्मशास्त्रले भनेको जन्म, विद्या, धन, आयु, विवाह, सन्तान यी लेखेअनुसार हुन्छन् भनेको कुरा सही नै हो जस्तो लाग्छ । त्यसदिन हाम्रो मृत्यु लेखिएको रहेनछ, त्यसैले हामी हाम्रो गाडी पल्टिएर पनि मरेनौँ र पनौती मेला भर्ने लक्ष पूरा गरेरै फर्कियौँ ।  

यात्रा समय ः २०४२ साल हिउँद । 


Views: 106