Date:2017/11/25 |Saturday

सेना राष्ट्रको गौरव

Posted on: February 23, 2017 | views: 4035 | डा. प्रेमसिंह बस्न्यात

परापूर्वकालमा नेपाल विशाल राज्य थियो । बीचमा यो फुटेर करिब ५३÷५४ वटा साना राज्यमा विभाजित बन्यो । यो ठूलो हुनु र सानो हुनु अनि एउटा हुनु र धेरै हुनु राजनीतिक कारण नै हो । जुन प्रक्रिया जर्मनी, इटाली, भारत, रुस, पूर्व युगोस्लाभिया, ग्रेटर इराक आदि देशमा पनि भयो । नेपालमा भने काठमाडौं उपत्यकाको बस्ती (पछि राज्य) लाई नै नेपाल मानिएको छ । त्यसकै नामबाट नेपाल बनेको इतिहासले बताउँछ । बडामहाराज पृथ्वीनारायण शाहले विसं १८२५ को इन्द्रजात्राका दिन कान्तिपुर राज्य जितेपछि नेपाल एकीकरणको मार्ग प्रशस्त भएको इतिहासले बताउँछ । त्यसपछिका दिनमा फेरि विशाल नेपाल भएको इतिहासको तथ्य हो । 

त्यसपछिका दिनमा हरेक भाषण र लेखाइमा त्यही कुरो बोलिँदै र लेखिँदै आएको छ । प्राज्ञिक वर्गसमेत राजनीतिक बोलीमा लागेर नेपालको इतिहास बिगार्न उद्दत रहेको देखिन्छ । विसं १८२५ भन्दा अगाडि नेपाली सेनाले तिब्बत र चीनस“ग लडेको दुईवटा युद्ध, बंगालको नवाबको फौजविरुद्ध मकवानपुरमा लडेको युद्ध, अंग्रेज क्याप्टेन किनलकको फौजविरुद्ध सिन्धुलीमा लडेको युद्धलाई नेपालले लडेको मान्ने कि नमान्ने ? कान्तिपुरलाई मात्र नेपाल मान्ने हो भने त्यहाँ राज्यमा हमला गर्ने पृथ्वीनारायण शाह र गोर्खा फौजलाई नेपालीको शत्रु मान्ने कि नमान्ने ? विसं १८०१ देखि १८२५ इन्द्रजात्राको दिन अगाडिसम्म पृथ्वीनारायण शाहले जितेको प्रदेश र उनको जीवनयात्रालाई नेपालको इतिहासभित्र पार्ने कि नपार्ने ? 

अझै उदेकलाग्दो कुरो के भने, उपत्यकाको सबैभन्दा पुरानो भक्तपुर राज्यलाई राजा यक्ष मल्लले आफ्ना छोरालाई अंश दिएर उपत्यकामा भक्तपुर, ललितपुर र कान्तिपुर गरी तीनवटा राज्य जन्माए । तत्कालीन राजा ज्ञानेन्द्रको कार्यकालमा भएको माओवादी जनयुद्धपछि बोलिएको ‘२४० वर्ष’ ले नेपालको इतिहास बिग्रिएको स्पष्ट छ । जसबाट नेपाली कुटनीतिक इतिहास पनि अलमलिएको छ । 

विसं १८०१ पछिको समय नेपालको आधुनिक इतिहासले समेटेकोले त्यसपछिका दिनमा नेपालको कुटनीतिक इतिहासमा पृथ्वीनारायण शाहले नेपाललाई दुई ढुंगाबीचको तरुल मात्र नभनी, ती दुवै ठूला ढुंगा मानिएका चीन र हिन्दूस्तानसँग सन्तुलित सम्बन्ध कायम राख्न प्रयत्न गरे । दुवै देशमा कम्तीमा वार्षिकरूपले र जरुरी पर्दा जहिले पनि दूत (राजाको दूत) पठाई कूटनीतिकरूपले व्यवधानहरू समाधान गरिन्थे । सद्भावना पनि साटासाट गरिन्थ्यो । त्यसका लागि सैनिक अधिकृतहरू पठाइन्थ्यो र उत्तरी छिमेकमा पा“डे परिवार र दक्षिणी छिमेकमा बस्न्यात परिवार तोकिएका थिए । यो प्रक्रिया भीमसेन थापाको उदयपछि अन्त्य भयो । विसं १९१२ मा जंगबहादुर राणाले भोटमा हमला गर्नु अगाडिसम्म पनि गड्तौला परिवारका सैनिक अधिकृतहरूले सद्भावना टोलीको नेतृत्व गरेका थिए । 

नेपालको अन्तर्राष्ट्रिय सम्बन्धको इतिहास केलाउँदा चीनसँगको सम्बन्ध सयौं वर्ष पुरानो देखिन्छ भने भारततिरको धेरै नया“ छ । अंग्रेजले कब्जा जमाउनुअघि भारतमा चार सयभन्दा बढी राज्य थिए । काशी, गयालगायतका छिमेकी क्षेत्रमा नेपालको धार्मिक र वैवाहिक सम्बन्ध मात्र थियो । जब विसं २००४ मा अंग्रेजले भारत छाड्यो त्यस उप्रान्त नेपालको भारतस“गको औपचारिक कूटनीतिक सम्बन्ध सुरु भयो ।

सरकारको आदेशमा सेनाले काम गरे तापनि उसले देशको कूटनीतिक पाटोमा गरेको कामलाई सम्बोधन गर्नुपर्छ । नेपालले कूटनीतिक हिसाबले अन्तर्राष्ट्रिय सहयोग दिएको आधुनिककालीन अभिलेख खोतल्दा ब्रिटिस इन्डिया सरकारको अनुरोधमा विजयगढका राजा चेतसिंहले काशीमा बन्धक बनाएका अंग्रेजहरूको रेस्क्यु गर्न काजी धौकलसिंह बस्न्यातको नेतृत्वमा विसं १८३४ मा ५ कम्पनी फौज पठाई उक्त काम सफल गरिएको थियो । ब्रिटिससँगको इतिहासमा नेपाल सरकारले उनीहरूलाई दिएको त्यो पहिलो सैनिक सहयोग थियो । 

त्यसपछि विसं १९१३ (सन् १८५७) मा भारतमा भएको सिपाही विद्रोह (भारतले भने यसलाई स्वतन्त्रताको पहिलो संग्राम लेख्दछ) मा तत्कालीन ब्रिटिस इन्डियाको कूटनीतिक मागअनुसार नेपालले करिब १४ हजार सेना पठाएको थियो । प्रधानमन्त्री जंगबहादुर राणा आफैंले सैनिक कारबाही सञ्चालन गरेका थिए । नेपाली सेनाको बहादुरी र जंगबहादुरको कुटनीतिबाट विद्रोह शान्त पार्न सहयोग गरेबापत नेपाल–अंग्रेज युद्धमा नेपालले गुमाएको भूभागमध्ये बाँके, बर्दिया, कैलाली र कञ्चनपुर अंग्रेजबाट फिर्ता पायो । अन्तर्राष्ट्रिय क्षेत्रको कुटनीतिक सहयोगमा यो कार्य नेपालको दोस्रो पहलकदमी थियो । 

त्यसैगरी विसं १९७१ (सन् १९१४) बाट सुरु भएको प्रथम विश्वयुद्धमा तत्कालीन ब्रिटिस इन्डियाकै कुटनीतिक मागअनुसार नेपालले पहिले १४ हजार र पछि थप २ हजार ५ सय २२ गरी कुल १६ हजार १ सय १८ नेपाली फौज युद्ध भूमिमा पठायो । यसमा नेपाली फौजको कामबाट बेलायत प्रभावित भई नेपाल सरकारलाई ठूलो प्रतिष्ठा प्राप्त भयो । श्री ३ चन्द्रशम्शेरको कूटनीतिबाट नेपालले वार्षिक १० लाख रुपैयाँ पायो । त्योभन्दा ठूलो कुरो एसिया महादेशमै नेपालले एक सार्वभौम राष्ट्रको मान्यता पायो । राजनीतिक पाटोमा यो नेपालको ठूलो उपलब्धि थियो । साथै नेपालको राजालाई ‘हिज हाइनेस’ को सट्टा ‘हिज म्याजेस्ट्री’, प्रधानमन्त्रीलाई ‘हिज एक्सेलेन्सी’ को सट्टा ‘हिज हाइनेस’ र नेपाल सरकारलाई ‘गोर्खा दरबार’ को सट्टा ‘गभर्मेन्ट अफ नेपाल’ भनी सम्बोधन हुन थाल्यो । संसारमै नेपालको मर्यादा बढ्यो । यसभन्दा अघि नेपाललाई पश्चिमा मुलुकमा ‘गोर्खा’ र नेपाली सेनालाई ‘गोर्खा आर्मीज’ भनिन्थ्यो । 

प्रथम विश्वयुद्धपछिका दिनमा नेपालले राजनीतिक र कुटनीतिक प्रतिष्ठा प्राप्त गरेकै हो । चन्द्र शमशेरको पालाबाटै ब्रिटिस इन्डियामा रहने गभर्नर जनरललाई नेपाली सेनाको मानार्थ महारथीको पदले सम्मान गर्ने र नेपालको श्री ३ लाई सन् १९०८ देखि नै फोर्थ गोर्खा रेजिमेन्टको ‘अनररी कर्नेल’ (मानार्थ महासेनानी) दिन थालियो । पछि ब्रिटिसले भारत छाडेपछि पनि नेपाल र भारतबीच एक–अर्को सेनाका प्रधानसेनापतिलाई मानार्थ महारथीको सम्मान दिन थालियो । जुन हाल पनि कायम छ । चिनियाँ सेनासँग हाम्रो यो परम्परा छैन । 

नेपालको कुटनीतिक इतिहासमा श्री ३ जुद्धले पनि अंग्रेजको अनुरोधमा विसं १९९६ (सन् १९३९) मा सुरु भएको दोस्रो विश्वयुद्धमा पनि करिब ८ हजार नेपाली सेना पठाई सहयोग गरेका थिए । नेपाली सेनामा गोर्खा हृयाट लगाउने प्रचलन यही दोस्रो विश्व युद्धपछि भएको थियो । विशेष गरी अंग्रेज र जापान बीचको युद्धमा हाल बर्मामा रहेको विभिन्न स्थलमा जापानीसँग युद्ध लडी धेरै नेपाली सैनिकले तक्मा पाएका थिए । यसपछिका दिनमा नेपाल र बेलायतबीच डिफेन्स डिप्लोमेसीमा वृद्धि भई दुवै देशको सैनिक नेतृत्वको एक आपसमा भ्रमण हुने क्रम बढ्यो । 

उक्त युद्धपछि बेलायतमा नेपाली राजदूतावास खुल्ने र त्यहा“ सैनिक सहचारी पनि रहने व्यवस्था सुरु भयो । एसिया महादेशको नेपालले त्यसबखत बेलायतमा राजदूतावास खोल्न पाउनु भनेको कुटनीतिक इतिहासमा देशले ठूलै फड्को मारेको हो भन्नु अत्युक्ति नहोला । अर्को कुरा प्रथम र दोस्रो विश्वयुद्धमा लड्नका लागि नेपालले ब्रिटिस आर्मीमा भर्ती हुन लाखौं युवाहरू पठाएको थियो । त्यो पनि कुटनीतिक सम्बन्ध बढाउनकै लागि पठाइएको हो । त्यो जमानामा त्यही कुरो ठीक थियो । हाल विरोध गरेर कुनै काम छैन । 

अंग्रेजले भारत छाडेपछि मात्र कुटनीतिकरूपमा नेपाल–भारत सम्बन्धको सुरुवात भएको हो । अंग्रेजले भारत छाड्नुअगाडि भारत र पाकिस्तानको सृजना गरी हिन्दू र मुसलमानका लागि छुट्टा–छुट्टै देश खडा गरिदियो । मुस्लिमहरू पाकिस्तान र हिन्दू भारतमा रहन थाले । सम्झौताअनुसार कतिपय राज्यमा कुरा मिलेन । तीमध्ये हैदरावाद एक थियो । एक पटक हिन्दू र मुसलमानबीचमा दंगा बढ्न गई भारतीय सेनाको नियन्त्रणभन्दा बाहिर हुन गएपछि प्रधानमन्त्री जवाहरलाल नेहरूको अनुरोधमा श्री ३ मोहन शमशेर राणाले २० पल्टन (रेजिमेन्ट), (करिब १८ हजार भन्दा बढी नेपाली फौज) शान्ति स्थापनाका लागि हैदरावाद पठाए । विसं २००५ (४ अगस्त १९४८) मा हिँडेको नेपाली फौजले लाखौं हिन्दु–मुसलमानको ज्यान बचाए । जसका लागि भारत सरकारले ठूलो आभार व्यक्त ग¥यो । नेपालले पठाएको उक्त सैनिक टोली नेपाल–भारत कुटनीतिक सम्बन्धको शुभारम्भ (आइसब्रेक) थियो । 

अर्कोतर्फ हेर्ने हो भने विसं २०३१ (सन् १९७४) मा मुस्ताङ इलाकामा लुकेर रहेका दलाई लामा समर्थित तिब्बती खम्पा फौजले चीनको तिब्बतभित्र पसेर आतंक सृजना गरी जनधनको क्षति गर्न थालेपछि नेपाल–चीन सम्बन्धमा ठूलो संकट छायो । त्यसबेला राजा वीरेन्द्रको संयमता तथा नेपाल सरकार र नेपाली सेनाको बुद्धिमताबाट खम्पा मार्ने नाममा नेपाली भूमिमाथि चीनबाट हुनसक्ने हमलाको खतरा टारियो । अनि २०३१ असार १ गतेबाट नेपाली सेना परिचालन गरी मुस्ताङ जिल्लामा रहेका खम्पाहरू विरुद्ध निःशस्त्रीकरण गर्न सैनिक कारबाही सुरु गरियो । यसरी खम्पा सेनाको सेनापति वाङ्दी मारिएपछि यो कारबाही समाप्त भयो । यो सैनिक कारबाही पछिका दिनमा नेपाल–चीन सम्बन्ध अझै प्रगाढ बनेको छ । 

वर्तमानमा हेर्ने हो भने पनि नेपालको कुटनीतिक पाटोमा संयुक्त राष्ट्र संघको आहृवानमा विसं २०१५ जेठ (सन् १९५८) बाट हालसम्म विश्व शान्ति कार्यमा नेपालले शान्ति सेना पठाएर ठूलो योगदान गरेको छ । नेपाली सेनाले हरेक ‘पिस किपिङ मिसन’ मा गरेको कामको विश्वले प्रशंसा गरेको छ । हालसम्म करिब एक लाख नेपाली सैनिकले शान्ति सेनामा काम गरेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि यस काममा भाग लिएर प्रशंसनीय काम गरेका छन् । विश्व मानचित्रको एउटा कुनामा रहेको नेपाललाई शान्ति सेनामा जाने नेपालीले संसारलाई चिनाएका छन् । यसबाट नेपालको कुटनीतिक क्षेत्र फैलिएको छ र अन्तर्राष्ट्रिय क्षेत्रमा गौरव बढेको छ । दोस्रो विश्वयुद्धपछि बेलायतबाट नेपालले सुरु गरेको सैनिक सहचारी राख्ने काम अहिलेसम्म कायम छ । यसरी डिफेन्स डिप्लोमेसीको पाटो बलियो बनाई अन्ततः कुटनीतिक पक्षको यशवृद्धि गर्ने काम भएको छ । मित्रराष्ट्र रुसमा सैनिक सहचारी केही वर्ष अघि रोकिएको छ । 

जुनसुकै राष्ट्रसेवकले पनि राष्ट्रको नुनको सोझो गर्नै पर्छ । यहीअनुसार नेपाली सेनाले राष्ट्रको कूटनीतिक पाटोमा इटा थप्ने काम गरेको हो । नेपाल एकीकरण गर्नु, विदेशी आक्रमणको विरुद्ध प्रतिकार गर्नु, कुटनीतिक सहयोगका लागि अन्य मुलुकमा सैनिक कारबाही, विश्व शान्ति कार्यमा प्रशंसनीय काम, देशको प्रकृति संरक्षण, आन्तरिक सुरक्षा तथा विकास निर्माण जस्ता काम नेपाली सेनाका इतिहास र वर्तमान दुवै हुन् । 

नेपाली सेनाले राष्ट्रिय इतिहास बनाएको छ । राष्ट्रका लागि हालसम्म हजारौं हजार ज्ञात अज्ञात नेपाली सैनिकले सहादात (वीरगति) प्राप्त गरेका छन् । अन्तमा लिगलिग कोटदेखि वर्तमानसम्म नेपाली सेनाबाट सहादत प्राप्त गर्ने सम्पूर्ण सिपाही, नेपाल एकीकरणको नेतृत्व गर्ने पूर्व राजपरिवार अनि सम्पूर्ण नेपालीमा सलाम ! माटो बचाउन सहादत प्राप्त गर्ने सम्पूर्णमा हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै सेना दिवस २०७३ को यो दिनमा नेपाली सेनाका बहालवाला र भूतपूर्व सबैलाई हार्दिक बधाई ।

(थापा नेपाली सेनाका पूर्व ब्रिगेडियर जनरल हुन् । उनले नेपालको ‘सैनिक इतिहास’ मा विद्यावारिधि गरेका छन् । )


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं