Date:2017/11/23 |Thursday

उत्तरकोरियामा आणविक परीक्षणको उत्सव मनाइयो

Posted on: September 08, 2017 | views: 69 |

प्योङ्याङ् (रासस÷एएफपी) । उत्तर कोरियाले गएको आइतबार गरेको शक्तिशाली आणविक परीक्षणको खुसियालीमा बिहीबार उत्तर कोरियाको राजधानी प्योङ्याङ्मा उत्सव मनाएको छ ।

यस समाचारलाई संसारका समाचार समितिहरूले बिहानदेखि निकै प्राथमिकताका साथ सम्प्रेषण गरेका छन् । उक्त परीक्षण गर्ने वैज्ञानिकलाई उत्तर कोरियाली नागरिकले बधाई ज्ञापन गर्दै सो उत्सव मनाएको बताइएको छ । 

उत्तर कोरियाको राजधानी शहरमा दशौँ हजार नागरिक उभिएर ध्वजापताकासहित नाचगान गर्दै उत्सव मनाएको दृश्य सरकारी टेलिभिजनले देखाएको छ । 

उत्तर कोरियाली नागरिकहरूले सो आणविक परीक्षणको सफलताको खुसियालीमा यसरी उत्सव मनाउन सडकमा ओर्लिएको जनाएका छन् । 

गत आइतबार उत्तरले गरेको सो परीक्षणलगत्तै उक्त परीक्षण हाइड्रोजन बम भएको समाचार गर्वका साथ सार्वजनिक गरेको थियो । उत्तरले उक्त परीक्षणलाई निकै सफल भएको भनेको थियो ।

बिहीबार बिहानै दशौँ हजार नागरिक प्योङ्याङ्को किम इल सुङ स्क्वायरमा जम्मा भएका थिए । उनीहरूले विभिन्न रंगीचंगी ध्वजापताका बोकेर आपसमा बधाई ज्ञापन गर्नुका साथै उत्तर कोरियाका नेताको पनि जय जयकार गरेका थिए । 

उनीहरूले उत्तर कोरियाली नेताको जय जयकार र उनको पक्षमा नाराबाजी पनि गरेका थिए । उनीहरूले यस सफलताको पहिलो श्रेय उत्तर कोरियाली नेताको रहेको पनि सो अवसरमा बताएका थिए । 

उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्रहरू परीक्षण गर्दै आएको छ । केही समय मात्र अघि पनि उसले अन्तरमहादेशीय क्षेप्यास्त्र हानेको थियो । जो जापानको समुद्रसम्म पुगेर निस्तेज भई खसेको बताइएको थियो । 

तर पनि यस पटकको परीक्षणलाई यसअघिको भन्दा करिब दश गुणाभन्दा बढी शक्तिशाली रहेको दक्षिण कोरियाले बताएको छ । उसले भनेको छ– उत्तर कोरियाले यसअघि गरेको पाचौँ पटकको परीक्षणभन्दा यो कम्तीमा पनि दश गुणा बढी शक्तिशाली छ । 

विश्वमा उक्त परीक्षणको विपक्षमा निन्दा र विरोधका स्वरहरू चर्किरहेको बेला यता उत्तर कोरियामा भने यसको सफलताका लागि उत्सव नै मनाइएको छ । 

बिहीबारको सो उत्सव सरकारले आयोजना गरेको नभई नागरिक तहबाटै सुरु भएको खुसियाली हुनसक्ने त्यहाँबाट प्राप्त समाचारहरूमा जनाइएको छ । 

बिहीबारको उक्त खुसियाली ¥यालीमा जम्मा भएका नागरिकले उत्तर कोरियालाई अब संसारको कुनै पनि देशले कुनै पनि प्रकारको हानी पु¥याउन नसक्ने बताएका थिए । 

उनीहरूले अब उत्तर कोरियाको आणविक शक्तिमै संसारको र विशेषगरी अमेरिकाको भविष्य रहने जस्तो टिप्पणी पनि सो अवसरमा गरेका थिए । 

उत्तर कोरियालाई कमजोर नठान्न र उसका क्रियाकलापहरूलाई कमजोररूपमा नलिन पनि उनीहरूले संसारलाई सन्देश दिइरहेका थिए । 

उत्तर कोरियाको यो पछिल्लोपटकको परीक्षणका कारण संसारमा नयाँ हलचल पैदा भएको छ । संसारका नेताहरूले उत्तर कोरियाको यो परीक्षणले शान्तिपूर्ण समाधानभन्दा पनि संसारमा नै हतियार र शक्तिको दम्भ सुरु हुने चिन्ता व्यक्त गरेका छन् । 

उत्तर कोरियामाथि थप नाकाबन्दी तथा कारबाहीको घोषणा गरिँदैछ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले पनि उत्तर कोरियाको यस कदमको विरोध गरेको छ । उसले अहिलेसम्मकै सबैभन्दा कडा नाकाबन्दी लगाउन पनि प्रस्ताव गरेको छ । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं