Date:2017/12/17 |Sunday

आत्मघाती आक्रमणमा बाह्रको मृत्यु

Posted on: September 29, 2017 | views: 73 |

अफगानिस्तान । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा भएको एक आत्मघाती आक्रमणमा परी कम्तीमा एक दर्जन सुरक्षा अधिकारीको मृत्यु भएको छ । 

अफगानिस्तानको राजधानी काबुलबाट करिब ४५० किलोमिटर दक्षिणमा पर्ने कान्दाहार प्रान्तको मारुफ जिल्लाको एक प्रहरी चौकीलाई लक्षित गरी भएको आतंककारी आक्रमणमा परी ती सुरक्षा अधिकारी मारिएका प्रहरी प्रवक्ता जिया दुरानीले बताए । 

आतंककारीले बिहीबार बिहानको व्यस्त समयमा मारुफ जिल्लामा रहेको प्रहरी विभागलाई लक्ष्य गरी आत्मघाती कारबमको योजना गरेका र त्यसमा परी १२ सुरक्षा अधिकारीको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएका जिल्ला प्रहरी प्रमुख नादिर खान दुरानीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएको छ । 

यद्यपि एक सुरक्षा अधिकारीले आफ्नो नाम नबताउने शर्तमा १६ सुरक्षा अधिकारीको सो आक्रमणमा मृत्यु भएको बताएका छन् । 

तालिवान आतंककारी समूहका प्रवक्ता कारी युसुफ अहमादीले सञ्चारमाध्यमलाई सम्पर्क गरी यस आक्रमणको दाबी गरेका छन् । साथै यस आक्रमणमा दुई दर्जनभन्दा बढी सुरक्षा अधिकारीको ज्यान गएको पनि उनले दाबी गरेका छन् । (रासस÷सिन्ह्वा)


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं