22nd July | 2018 | Sunday | 12:31:08 PM

सिरियामा रुसी सेनाको कारबाहीमा २४ बिद्रोही मारिए

  POSTED ON : Sunday, 08 October, 2017 (7:56:43 PM)

सिरियामा रुसी सेनाको कारबाहीमा २४ बिद्रोही मारिए

बेरुत । उत्तरपश्चिमी सिरियाली एक सहरमा रुसको हवाई सेनाले गरेको हवाई कारबाहीमा परी शनिबार कम्तीमा पनि २४ जना विद्रोहीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सबैजना विद्रोही रहेको मानवअधिकारकर्मीहरूले पुष्टी गरेका समाचारमा जनाइएको छ । सिरियाको इडलीब प्रान्तमा सो कारबाही भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जानकारी दिएको छ । 

उक्त अधिकारवादी संस्थाका अनुगमनकर्ताले आइतबार बिहान सो जानकारी दिएका प्राप्त समाचारमा जनाइएको छ । 

शनिबार सो हवाई कारबाही अकस्मात भएको थियो । उक्त हवाई हमला किनभयो भन्ने बारेमा अहिलेसम्म रुस वा सिरियाली सरकारले नै कुनै जानकारी दिएका छैनन् । 

रुसी सेनाले फायलाक अल साम आवद्ध विद्रोहीहरूलाई लक्ष्यगरेर सो कारबाही गरेका थिए । घटना भएको इडलिब द्वन्द्व प्रभावित क्षेत्रको रूपमा मानिन्छ । 

सिरियामा जारी गृहयुद्धका कारण गएको कम्तीमा पनि पाँच वर्षदेखि हिंसा भइरहेको छ । यहाँ तीन लाखभन्दा बढी नागरिकले हिंसामा परी ज्यान गुमाएका छन् । 

पछिल्लो समयमा यहाँ आतंककारी समूहहरुको पनि घुसपैठा सुरु भएको छ । जसका कारण सिरियामा हिंसाका नयाँ नयाँ रुप भित्रिएका बताइन्छ । रासस÷एएफपी