18th September | 2018 | Tuesday | 8:58:45 PM

यमनको एडेनमा ब्यापक भिडन्त

  POSTED ON : Tuesday, 13 March, 2018 (6:17:56 PM) Views: 0

यमनको एडेनमा ब्यापक भिडन्त

एडेन ।  यमनको बन्दरगाह सहर एडेनमा यमनी सेना र दक्षिणी सङ्क्रमणकालीन परिषद् सम्बद्ध शक्तिबीच मङ्गलबार ब्यापक भिडन्त भएको समाचार छ । 

यस भिडन्तमा दुवैपक्षका गरी कैयौँ नागरिकको मृत्यु भएको अनुमान गरिएको स्थानीय अधिकारीले बताएका छन् । साउदी अरबको समर्थन प्राप्त यमनी सरकारले एडेनमा सुरक्षा तैनाथ गरेको छ । 

विद्रोहीले आह्वान गरेको ‘शान्तिपूर्ण प्रदर्शन’मा रोक लगाउन सरकारले गरेको कडा निर्देशनलाई पालना नगरेपछि साउदी अरब गठबन्धन अन्तर्गतको सरकारी सेना र विद्रोहीबीच खोरमास्कर क्षेत्रमा भिडन्त सुरु भएका हो । 

घण्टौँ लामो यस भिडन्तपछि यमनी सेनाको शिविरलाई विद्रोही लडाकूले कब्जा गरेको प्रत्यक्षदर्शीले  बताएका छन् । 

सिन्ह्वा न्यूज एजेन्सीका एडेनस्थित समाचारदाताले दुवैपक्षले यहाँका मुख्य सडकहरूमा व्यापक विष्फोट गराइएको तथा तथा गोली चलाइएको सुनिएको बताए । 

दुबैपक्षका कैयौँ सेना उपचारका लागि अस्पताल ल्याइएको अस्पताल स्रोतले जनाएको छ । यहाँ ठूलो संख्यामा मानवीय क्षति भएको अनुमान गरिएको छ । तर यसको यकिन विवरण भने प्राप्त भएको छैन । 

साउदी नेतृत्वको सेनाले घटनास्थललाई निगरानी गर्न हवाई सेना पठाएको तर सेनाले हवाई आक्रमण भने नगरेको स्थानीयले बताएका छन् । यसबारे अन्य बिस्तृत विवरण भने प्राप्त हुन सकेको छैन । 

दक्षिणी बन्दरगाह सहर एडेन यमनको अस्थायी राजधानीका रूपमा सन् २०१५ देखि साउदी अरब गठबन्धन सेनाको सहयोगप्राप्त यमनी सरकारले सञ्चालन गर्दै आएको छ । सिन्ह्वा