24th April | 2018 | Tuesday | 5:07:48 PM

शान्तिवार्ता पुनः ब्युताउने पाकिस्तानको प्रस्ताव काबुलद्वारा स्वीकार

  POSTED ON : Monday, 09 April, 2018 (11:12:44 AM)

शान्तिवार्ता पुनः ब्युताउने पाकिस्तानको प्रस्ताव काबुलद्वारा स्वीकार

इश्लामावाद, पाकिस्तान । अफगानिस्तान सरकार र तालिवान विद्रोहीबीच भएको तर विविध कारणले स्थगित रहेको शान्तिवार्तालाई ब्युताउन गरेको प्रस्तावलाई स्वीकार गरेको पाकिस्तानी प्रधानमन्त्री शहिद खकान अब्वासीले बताएका छन् । 

अब्वासीले अफगानिस्तानमा दशकौँदेखि जारी युद्ध समस्याको समाधान नभएको भन्ने आफ्नो प्रस्तावलाई काबुलले गम्भीरताका साथ लिँदै यस बिषयमा सहमति जनाएको बताए । 

उनको यो भनाई उनको भ्रमणबाट स्वदेश फर्केसँगै अफगानी राष्ट्रपति लगायतका उच्च पदस्थ अधिकारीसँगको भेटमा भएका बिषयबारे पत्रकारलाई जानकारी गराउने क्रममा आएका हुन् । 

अब्वासीले अफगानिस्तानका राष्ट्रपति असरफ घानीसँग अफगानिस्तानमा कट्टरपन्थी धार्मिक समूहलाई राजनीतिक दलका रूपमा मान्यता दिन आग्रह गरेको र यसलाई उहाँले सकारात्मक रूपमा लिएको बताए । 

तालिवान समूहले भने आधिकारिक रूपमा यसप्रति कुनै प्रतिक्रिया जनाइसकेको छैन यद्यपि काबुल सरकारसँग छलफल गर्नुपूर्व अमेरिकासँग वार्ता गर्ने दोहोराएका भनाइहरू अनौपचारिक रूपमा आएका बताइएको छ । 

सन् २०१५ मा सुरु भएको अफगान सरकार र तालिवानबीचको पहिलो प्रत्यक्ष शान्तिवार्ता पाकिस्तानको मध्यस्थतामा भएको थियो । तर तालिवान समूहका संस्थापक मुल्लाह मोहम्मद ओमारको मृत्युको खबरपछि वार्ता भाँडिएको थियो । 

रासस÷एपी