18th August | 2018 | Saturday | 12:38:56 PM

गोली प्रहार गरिएका पाकिस्तानी गृहमन्त्री खतरामुक्त

  POSTED ON : Monday, 07 May, 2018 (6:47:28 PM)

गोली प्रहार गरिएका पाकिस्तानी गृहमन्त्री खतरामुक्त

इस्लामावाद ।  पाकिस्तानका गृहमन्त्री अहसान इकबालमाथि आइतबार लाहोरमा गोली प्रहार भएको थियो । तर उनी खतरामुक्त रहेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । 

निर्वाचनको प्रचारका लागि लाहोर क्षेत्रमा आफ्नो दलको कार्यक्रममा सहभागी भइरहेका बेला उनीमाथि गोली प्रहार भएको थियो । 

पाकिस्तानको गृहमन्त्रालयले गृहमन्त्री इकबाललाई लक्षितगरी चलाइएको गोली उनको पाखुरामा लागेको र उनको लाहोरस्थित एक अस्पतालमा उपचार भइरहेको जनाएको छ । इकबालको स्वास्थ्य खतरामुक्त रहेको पनि अधिकारीले जनाएका छन् । 

प्रहरीले २० वर्षको जस्तो देखिने एकजना आक्रमणकारीलाई नियन्त्रणमा लिएको जनाएको छ । त्यस व्यक्तिले पहिलो पटक प्रहार गरेपछि प्रहरीले उसको निगरानी तुरुन्तै थालेको र फेरि अर्काे पटकको प्रहार गर्न नपाउँदै उसलाई समातिएको बताएको छ । 


उक्त व्यक्तिले गृहमन्त्रीमाथि किन गोली प्रहार गरेको हो भन्ने बारेमा भने केही बताइएको छैन । प्रहरीले अनुसन्धान थालिएको र यस बारेमा चाँडै नै जानकारी बाहिर ल्याउने बताएको छ । 


तर उनी आइतबार पाकिस्तानमा रहेको एउटा इसाई धर्मको समूहका व्यक्तिसँग बैठक गरेका थिए । उक्त समूहसँग बैठक नगर्न इस्लामिक धर्माबलम्वीहरुले अनुरोध गरिरहेका थिए । 

सोही कारणले पनि उनी माथि गोली प्रहार भएको अनुमान गरिएको छ । तर यस विषयको सत्यतथ्य बाहिर भने आएको छैन । 

पाकिस्तानी प्रधानमन्त्री शहीद खकान अब्बासीले आक्रमणको निन्दागर्दै घाइते मन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले पाकिस्तानी भूमिमा आतंकवाद परास्त भएरै छोड्ने र त्यसका लागि सरकार सक्षम पनि रहेको बताए । 

पाकिस्तानमा आगामी महिना संघीय निर्वाचनको आयोजना गरिएको छ । यहाँका पूर्व प्रधानमन्त्री नवाज शरिफले राजनीति गर्न नपाउनेगरी अदालतले नै प्रतिबन्ध लगाएपछि यहाँको राजनीति अस्थिर बन्दै गएको छ । 

यस कारण पनि पछिल्लो समयमा पाकिस्तानको सत्ताधारी दल र विपक्षी दलबीच विवाद चुलिएको छ र उनीहरुको यस जुहारीले निर्वाचन हुनेमा पनि आशंका गर्न थालिएको छ । 


एएफपी