23rd May | 2018 | Wednesday | 4:11:10 AM

बाँध फुट्दा ३२ जनाको मृत्यु –२५ सय स्थानीय विस्थापित

  POSTED ON : Thursday, 10 May, 2018 (9:34:58 PM)

बाँध फुट्दा ३२ जनाको मृत्यु –२५ सय स्थानीय विस्थापित

नाकारु । केन्याको नाकुरु प्रदेशमा रहेको एउटा बाँध भत्किँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । 

बाँध भत्किएपछि बाँधको वरीपरी रहेका झण्डै २५ सय स्थानीय बासिन्दा विस्थापित भएको प्रहरी अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । 

क्षेत्रीय अपराध अनुसन्धान कमाण्डर गिडेन किबुन्जाले उनीहरूको मृत्यु भएको, केही व्यक्ति हराइरहेको र मृत्यु हुनेहरूको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको बताए । 

बाँध भत्किएपछि बगेको पानीले घरहरु, विद्यालय भवनहरु र व्यापारिक कार्यालयहरू पनि क्षतिग्रस्त भएको अधिकारीहरूले बताएका छन् । 

“घटनामा परी अहिलेसम्म ३२ जनाको मृत्यु भइसकेको छ, अरु धेरै जना अझै पनि बेपत्ता नै रहेका छन्,” कमाण्डर किबुन्जाले टेलिफोनमा बताए । 

प्रभावितहरूलाई स्थानीय बासिन्दा, रेडक्रसका स्वयम्सेवक, प्रदेश प्रकोप व्यवस्थापन कार्यालयको टोलीलगायतले खोजी तथा उद्धारमा सघाएका थिए । 

उनीहरूले माटो र हिलोमा पुरिएका झण्डै ४० भन्दा बढीलाई उद्धार गरेर अस्पताल लगेको पनि जनाएका छन् । 

हिलो माटोले पुरिएका वा बगाएका अरु पनि धेरै हुनसक्ने भएकाले खोजी तथा उद्धार कार्य जारी रहेको उद्धारकर्मीहरुले बताएका छन् । 

प्रदेशका सरकारी अधिकारीहरूले बाँधको पानी घर तथा मानिसहरू भएको ठाँउतिर गएकाले ठुलो क्षति भएको हो । 

बाढी पहिरोका कारण गत दुई महिनामा देशभर गरेर कुल १३० जनाको मृत्यु भएको छ भने दुई लाख २० हजार भन्दा बढी विस्थापित भएका छन् । सिन्ह्वा