21st August | 2018 | Tuesday | 3:25:44 PM

डोनाल्ड ट्रम्प र किम जोङबीच भेटवार्ता–वार्ता सफल भएको ट्रम्पको दावी

  POSTED ON : Tuesday, 12 June, 2018 (4:17:03 PM)

डोनाल्ड ट्रम्प र किम जोङबीच भेटवार्ता–वार्ता सफल भएको ट्रम्पको दावी


सिङ्गापुर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको विश्वले नै तीब्र रुपमा प्रतिक्षा गरेको शिखर वार्ता मङ्गलबार बिहान सिङ्गापुरमा सम्पन्न भएको छ । 

उनीहरु दुवै जनाबीच अनुवादक मात्र राखेर सिङ्गापुरको एक होटलमा एक्लाएक्लै गरिएको सो वार्ता निकै सकारात्मक रुपमा सम्पन्न भएको अमेरिकी राष्ट्रपति ट्रम्पले जानकारी दिएका छन् । 

वार्तापछि राष्ट्रपति ट्रम्पले भने– मलाई सोध्नुहुन्छ भने वार्तामा एकदम राम्रो प्रगति भएको छ, यस वार्ताले हामीलाई एकदम सफलता दिनेछ । 

मङ्गलबार बिहानको छोटो वार्तापछि सम्वाददातालाई प्रतिक्रिया दिँदै उनले वार्तामा निकै धेरै प्रगति भएको छ, यसले हामीलाई भोलिका लागि पनि सकारात्मक वातावरण निर्माण गरेको छ । 


वार्तामा प्रवेश गर्नुअघि पनि उनी पत्रकारहरूसँग आशावादी देखिएका थिए । त्यस समयमा संक्षिप्त कुरागर्दै राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमसँग अहिलेसम्म नभएको सम्बन्धको विकास हुनेछ भनेका थिए । 


वार्ताका लागि एक स्थानीय होटलमा प्रवेश गर्नुअघि उनीहरुले होटल बाहिरै हात मिलाएका थिए । 

यसरी हात मिलाएपछि विश्वका सञ्चारमाध्यमहरुले अमेरिकाको बहालवाला राष्ट्रपति र उत्तर कोरियाली नेताबीच पहिलो पटक ऐतिहासिक भेट भएको भनेर प्रचार सुरु गरेका थिए । 


वार्तामा बस्नुअघि उत्तर कोरियाली नेताले भनेका थिए– यस वार्ताका लागि सिङ्गापुरसम्म आइपुग्न सजिलो थिएन, कैयौँ अप्ठ्याराहरू थिए तर हामी आयौँ । 


सिङ्गापुरको पर्यटकीय टापु सेन्टोसास्थित कापेला होटलमा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमले एक अर्कासँग हात मिलाएर हाँसेका थिए । 


उनीहरुले हात मिलाउने स्थानमा अमेरिका र उत्तर कोरियाको झण्डा राखिएको थियो । राष्ट्रपति ट्रम्प अमेरिकाको झण्डा भएतिर गए र नेता किम उत्तर कोरियाको झण्डा भएको स्थानमा पुगे । 


आ–आफ्नो देशका राष्ट्रिय झण्डासामु उभिएर पहिला हात मिलाए, एक अर्काको पिठ्यूँमा धाप मारे र सञ्चारका लागि फोटो खिच्न केही सेकेन्ड उभिएका थिए । 

त्यसपछि सोही स्थानमा उभिएका आ–आफ्ना अनुवादकहरूको सहयोगमा केही शब्द आदानप्रदान गरेर एक्लाएक्लै वार्ताका लागि होटलको अर्कै कक्षमा प्रवेश गरेका थिए ।


उनीहरुले वार्ता कक्षमा प्रवेश गर्दासम्म नै टेलिभिजन र अखबारका क्यामेराले पछ्याइ नै रहेका थिए । फोटो लिनका लागि त्यहाँ सयौँ क्यामेरा पुगेका थिए । 


बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच हुने भनिएको यस वार्ताको यस महत्वपूर्ण घटनाका लागि विश्वका सञ्चारमाध्यमहरुले निकै पहिल्यै देखि नै समाचार सम्प्रेषण गरिरहेका थिए । 


अहिले पनि सिङ्गापुरमा विश्वका हजारौँ पत्रकार उपस्थित भएका छन् । एएफपी