20th September | 2018 | Thursday | 4:34:39 AM

बेलायतको राजनीतिमा तरङ्ग : विदेशमन्त्रीद्वारा पनि राजिनामा

  POSTED ON : Tuesday, 10 July, 2018 (11:30:07 AM)

बेलायतको राजनीतिमा तरङ्ग : विदेशमन्त्रीद्वारा पनि राजिनामा

लण्डन ।बेलायतका विदेश मन्त्री बोरिस जोनसनले पदबाट राजिनामा दिएका छन् । 

बेलायती प्रधानमन्त्रीको कार्यालय डाउनीङ स्ट्रीटले जानसोनले पेश गरेको राजिनामा सोमबार स्वीकृत गरिएको एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ । 

ब्रेजिक्ट मन्त्रीले राजिनामा दिएको केही घण्टापछि विदेश मन्त्रीले पनि राजिनामा दिएका हुन् । 

बेलायतका ब्रेजिक्ट मन्त्री डेभिड डेभिसले सोमबार नै मन्त्री पदबाट राजिनामा दिएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् । 

प्रधानमन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “विदेश मन्त्रीको पदबाट बोरिस जोनसनले दिएको राजिनामा प्रधानमन्त्रीबाट स्वीकृत भएकोे छ ।” 

प्रधानमन्त्री टरिजा मेको मन्त्रिपरिषद्मा रहनुभएका डेभिस र जोनसनले राजीनामा दिएपछि बेलायतमा नयाँ राजनीतिक तरङ्ग पैदा भएको छ । 

युरोपेली संघबाट बेलायतको बहिर्गमन विषयमा वार्ता गर्ने जिम्मेवारी पाएका मन्त्रीहरुको राजिनामाले बे्रक्जिटसम्बन्धी मुद्दालाई प्रभाव पार्ने अनुमान गरिएको छ । 

इयुसँगको भावी व्यापार सम्बन्धका विषयमा बेलायतले एउटा नयाँ प्रस्ताव ल्याएकोमा त्यसको दुई दिनपछि नै उनीहरुको राजीनामा आएको हो । 

ब्रेक्जिट वार्ताहरूको विषयमा कैयौँ पटक प्रधानमन्त्री मेले लिएको अडानहरूबारेमा उनीहरुको मतभेद पनि भएको बताइएको छ । 

ब्रेजिक्टको बारेमा बेलायतमा भद्रगोलको अवस्था रहेको र प्रधानमन्त्री मेसँग ब्रेक्जिटको बारेमा सही र समर्थन बाँकी नरहेको लेबर पार्टीका प्रमुख इयान लेभरीले बताए । 

ब्रेक्जिटको विपक्षमा रहेको कन्जरभेटिभ पार्टीका नेताहरुले भने उनीहरुको राजिनामाको स्वागत गरेका छन् । 

प्रधानमन्त्री मेले राजिनामा दिएका मन्त्रीहरूलाई विगतको काम र सहयोगका लागि धन्यवाद दिदै चाडै नै उनीहरूको ठाउँमा नयाँ मन्त्री नियुक्त हुने जानकारी दिइन् । 

एएफपी


Views: 0