24th July | 2019 | Wednesday | 2:49:47 PM

पाकिस्तानको १३ औं राष्ट्रपतिमा आरिफ निर्वाचित

एजेन्सी   POSTED ON : भदौ २०, २०७५ (८:२९ AM)

पाकिस्तानको १३ औं राष्ट्रपतिमा आरिफ निर्वाचित

इस्लामावाद । पाकिस्तानको नयाँ राष्ट्रपतिका लागि मंगलबार भएको मतदानमा पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) का नेता आरिफ अल्भी निर्वाचित भएका छन् । उनी पाकिस्तानको १३ औं राष्ट्रपतिको रूपमा निर्वाचित भएका हुन् । इमरान खान नेतृत्वको पीटीआई दलको समर्थनमा राष्ट्रपतिकोे उमेद्वारी दिएका आरिफले ३२० इलेक्ट्रोल मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी मौलाना फजलुर रहमानले १५९ मत प्राप्त गरेका छन् ।जामियत उलेमा–इ–इस्लाम पार्टीका नेता फजलुर नवाज शरिफको दल पाकिस्तान मुस्लिम लीग–नवाज (पीएमएलएन)को समर्थनमा उम्मेद्वार बनेका थिए । त्यसैगरी संसद्को तेस्रो ठूलो दल पाकिस्तान पिपुल्स पार्टीका तर्फबाट उम्मेद्वारी दिएका एजाज अहसनले १२० मत प्राप्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

संसद तथा सिनेटको नतिजाअनुसार आरिफले २११ मत, फजलुरले १३१ र एजाजले ८१ मत प्राप्त गरेका छन् । कुल ४२४ मतमध्ये ६ मत रद्ध भएको थियो । संसद्का दुवै सदन र चारवटा प्रान्तीय सभाका एक हजारभन्दा बढी सांसदले मतदानमा भाग लिएका जनाइएको छ ।प्रधानमन्त्री इमरान खानका निकटस्थ पूर्वचिकित्सकसमेत रहेका आरिफ एक कुशल नेताका रूपमा चिनिन्छन् । विपक्षी दलले संयुक्त उम्मेद्वार नउठाएका कारण आरिफको विजयी पहिले नै सुनिश्चित जस्तै रहेको बताइएको थियो । आरिफको विजयले प्रधानमन्त्री इमरान खानलाई सत्ता सञ्चालनमा धेरै ठूलो सहयोग पुग्ने विश्लेषकको अनुमान छ ।


Views: 102

सम्बन्धित सामग्री:

दक्षिण सिरियामा इजरायलको आक्रमण

: श्रावण ८, २०७६ (१०:५२ AM)