19th November | 2018 | Monday | 1:01:32 PM

गोली लागेर ६ जनाको मृत्यु

एजेन्सी   POSTED ON : Friday, 14 September, 2018 (2:38:34 PM)

गोली लागेर ६ जनाको मृत्यु

लस एन्जलस । अमेरिकाको क्यानिफोर्नियामा एकजना बन्धुकधारीले जथाभावी चलाएको गोली लाग्दा ६ जनाको मृत्यु भएको छ । गोली चलाउने ती नागरिकले आफ्नै श्रीमतीको पनि हत्या गरी आफूलेसमेत आत्महत्या गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गोली बुधबार अपराहृन पाँच बजेतिर चलेको थियो । कर्न काउन्टीका प्रहरी अधिकृत मार्क किङले उक्त खबर पाउनासाथ प्रहरी घटनास्थलमा पुगेको जानकारी दिए । क्यालिफोर्नियाको बेकर्सफिल्डमा भएको उक्त घटनालाई प्रहरीले घरेलु हिंसाको रूपमा व्याख्या गरेको छ । हत्यामा संलग्न व्यक्तिले ट्रक व्यवसायीको हत्या गरेपछि श्रीमतीको हत्या गरेका थिए । उक्त गोलीकाण्डका प्रत्यक्षदर्शीलाई पनि ती व्यक्तिले लखेट्दै हत्या गरेका बताइएको छ । हत्यामा ज्यान गुमाउनेको नाम भने सार्वजनिक भइ सकेको छैन । घटनाको सत्य तथ्य जानकारीको लागि प्रहरीले अनुसन्धान जारी राखेको छ । अनुसन्धानका क्रममा करिब ३० जना जति घटनाका साक्षीलाई सोधपुछ गरेको बताइएको छ । बन्दुकसँग सम्बन्धित हिंसाका घटना दिनहुँ भइरहने अमेरिकामा यो पछिल्लो गोलीकाण्ड हो । पछिल्लो अध्ययनमा अमेरिकाको जनसंख्या विश्वको कूल जनसंख्याको करिब चार प्रतिशत मात्र छ तर करिब ४० प्रतिशत बन्दुक अमेरिकी जनताका हातमा रहेको खुलासा भएको छ ।


Views: 83