22nd September | 2018 | Saturday | 5:34:52 PM

अमेरिकी प्रस्तावको चीनद्वारा स्वागत

एजेन्सी   POSTED ON : Friday, 14 September, 2018 (2:43:03 PM)

अमेरिकी प्रस्तावको चीनद्वारा स्वागत

बेइजिङ । अमेरिकाले राखेको नयाँ व्यापार वार्ता प्रस्तावलाई चीनले स्वागत गरेको छ । केही समयदेखि अमेरिका र चीनबीच व्यापारिक विवाद चुलिँदै गएको अवस्थामा अमेरिकाले यस्तो प्रस्ताव राखेको हो ।

विश्वका दुई ठूला अर्थतन्त्र रहेका चीन र अमेरिकाबीचको विवादले व्यापार युद्धकै रूप लिने अनुमान गरिएको थियो । महिनौंदेखि चीन र अमेरिकाले एकअर्काविरुद्ध प्रतिशोधस्वरूप करवृद्धिको घोषणा गरिरहेका थिए । तर बुधबार अमेरिकी अर्थमन्त्री स्टिभेन मुन्चिनले व्यापार विवादका विषयमा छलफल गर्न चिनियाँ उच्च अधिकारीलाई वासिंटन आमन्त्रण गरेका छन् । 

बेइजिङमा आयोजित नियमित पत्रकार भेटघाटमा चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता गाओ फेङले भने, ‘चिनियाँ पक्षको के विश्वास छ भने व्यापारिक विवाद बढ्दै गएमा त्यो कुनै पनि पक्षको हितमा हुने छैन । बेइजिङले अमेरिकाको निमन्त्रणा प्राप्त गरेको साँचो हो र त्यसलाई हामीले स्वागत गरेका छौं ।’ उनले दुवै पक्षले छलफलमा उठाइने खासखास विषयमा कुराकानी अगाडि बढाइसकेको पनि जानकारी दिए । 

चीनमा रहेका अमेरिकी कम्पनीमाथि अमेरिकी करवृद्धिको असर पर्न थालेको समाचार आएसँगै अमेरिकाले वार्ताका लागि आमन्त्रण गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट हुने पाँच सय अर्ब अमेरिकी डलरबराबरको आयातमा करवृद्धि गर्ने चेतावनी दिएको एक सातापछि नै अर्थमन्त्री मुन्चिनको नयाँ वार्ता प्रस्ताव आएको छ । 

वार्ताको प्रस्ताव सार्वजनिक भएलगत्तै एसियाली सेयर बजारमा सकारात्मक प्रभाव परेको छ । साताका पूरै ६ दिन ओरालो लागेको हङकङ सेयर बजारमा सुधार आई २.५ प्रतिशत विन्दुले वृद्धि भएको छ । शाङघाई सेयर बजारमा एक प्रतिशतले वृद्धि भएको छ ।

ट्रम्पले पहिलो चरणमा करिब ५० अर्ब अमेरिकी डलरबराबरका चिनियाँ सामानमा करवृद्धिको घोषणा गरिसकेका छन् । करवृद्धिको चपेटामा उच्च प्रविधिका पार्टपूर्जा र उत्पादित सामग्री छन् । बेइजिङले समेत प्रतिशोधस्वरूप सोही रकम बराबरको अमेरिकी सोयाबिन, सवारीसाधन र अन्य कृषिजन्य वस्तुमा करवृद्धि गरेको छ । 

हृवाइट हाउसका वरिष्ठ आर्थिक सल्लाहकार ल्यारी कुड्लोले फक्स न्यूज नेटवर्कसँगको कुराकानीमा भने, ‘अर्थमन्त्री मुन्चिनले निमन्त्रणा दिनु भएको छ । संवादहीन हुनुको साटो कुराकानी गर्नु नै राम्रो हो । त्यसैले यो मलाई राम्रै लागेको छ ।’ अमेरिकी राष्ट्रपतिले थप दुई सय अर्ब डलरबराबरका चिनियाँ सामानमा २५ प्रतिशत करवृद्धि गर्ने चेतावनी दिइरहेको अवस्थामा दुई देशका अधिकारीबीच हुने वार्तामा यस विषयले पनि प्राथमिकता पाउने सम्भावना छ । 

अमेरिकाले करवृद्धिको घोषणा गरे बेइजिङले पनि करिब ६० अर्ब डलरबराबरका अमेरिकी सामानमा २५ प्रतिशतले करवृद्धि गर्ने चेतावनी यसअघि नै दिइसकेको छ । दुवै देशका व्यवसायीले वासिंटनलाई करवृद्धिका सम्बन्धमा पुनर्विचार गर्न आग्रह गरिरहेका छन् ।

आधाभन्दा बढी अमेरिकी कम्पनीले व्यापारिक विवाद बढ्दै गएपछि पछिल्ला दिनमा अमेरिकी कम्पनीमाथि कडा नियमन गर्ने, निरीक्षण गर्ने तथा भन्सारमा विलम्ब गर्नेजस्ता दुःख दिन थालेको एक सर्भेक्षणमा देखिएको छ । 


Views: 7