18th February | 2019 | Monday | 3:41:57 PM

काबुलको मुहार फेर्ने अभियानमा जनताको सहयोग

एजेन्सी   POSTED ON : Monday, 17 September, 2018 (3:22:47 PM)

काबुलको मुहार फेर्ने अभियानमा जनताको सहयोग

काबुल । पुरानो काबुलको माटोले बनेको भव्य पर्खालको बीचको साँघुरो गल्लीमा वकील मोहम्मद सदिकको घर छ । उनी घरमा आउने पाहुनालाई चिया खुवाउन अति लालायित देखिन्छन् । उनी भन्छन्, ‘पैसा चाहिएको छ कि भनी नसोधी सहयोग गर्न खोज्ने तपाइँ पहिलो हो ।’ अफगान राजधानी काबुलमा स्वीकृति बेगर बनाइएका हजारौं घरमध्येको वकीलको घर पनि एक हो । उनको घर वरिपरि युद्धबाट भागेका शरणार्थीले भरिभराउ छ र त्यहाँ युवाको जमात ठूलै छ । आजभोलि काबुलको सरकारी निकायले यी स्वीकृति बेगर बनाइएका घरलाई विधिवत् दर्ता गर्ने योजना अघि सारेको छ । राष्ट्रपति अस्रफ घानीले इतिहासमै पहिलोपटक काबुलका घरजग्गा व्यक्तिका नाममा दर्ता गर्ने घोषणा गरेका छन् । युएन–हृयाबिटाटका सञ्चार प्रमुख कोस्से बोउलाइचले बताए, ‘यहाँको शहरिकरण द्वन्द्व र मानवीय संकटबाट निर्देशित भएको छ ।’ काबुल सरकारसँगको साझेदारीमा युएन–हृयाबिटाटले घरजग्गाको दर्ता परियोजना अघि बढाएको छ ।

उनका अनुसार, सन् १९७० को दशकको अन्त्यतिर सोभियत संघको पहलमा घरजग्गाको दर्ता गर्ने पहिलोपटक प्रयत्न गरिएको थियो । आज काबुलमा ४० लाखभन्दा बढी मानिस बसोबास गर्दछन् । झण्डै ४० वर्षदेखिको अफगान द्वन्द्वका कारण गाउँ–गाउँबाट हजारौं मानिस शहरमा बसाइ सरेका छन् । आश्रयको खोजीमा शहर पसेका मानिसका कारण काबुलमा विना योजना वा अभिलेख घरहरू बनेका छन् । 

त्यहाँ बसोबास गर्ने अधिकांशका लागि सुरक्षाको कुनै प्रबन्ध छैन, र उनीहरू कुनैपनि बखत घरजग्गा छाड्नुपर्ने त्रासमा बाँचेका छन् । तर गाउँघरबाट मानिसको ओइरो थामिने अझै कुनै लक्षण छैन । सन् २०१५ यतामात्र युद्धका कारण गाउँघरबाट विस्थापित भएका २५ लाखभन्दा बढी मानिस काबुलसमेतका शहरी क्षेत्रमा आइपुगेका छन् । 

‘काबुलमा युएन–हृयाबिटाटले अध्ययन गरेका दुई लाख ५५ हजार घरजग्गामध्ये केबल १५ प्रतिशतसँगमात्र कानुनी हक कायम रहेको पाइएको छ भने ४१ प्रतिशतसँग कानुनी महŒव नभएका कागजात छन् । करिब ४४ प्रतिशतसँग कुनै प्रमाण, कागजात नै छैन ।’ बोउलाइचले बताए । 

काबुल उपत्यकाका पहाडी काखमा रहेका धुलाम्ये इलाकामा बनेका यी घरहरूको अवस्था नाजुक मात्र होइन अव्यवस्थित र गैरकानुनी छ । धेरैजसो घर माटोले बनाइएका छन् र त्यहाँ विद्युत र खानेपानीको चरम अभाव छ । तर वकीलसमेतका यी घरले ऐतिहासिक महŒव बोकेका छन्, भलै काबुलका सम्भ्रान्त क्षेत्रमा भने सडक सफा र व्यवस्थित छन् । सीटी फर अल कार्यक्रमका संयोजक सइद सदुल्लाह वाहाबले ‘कुनै घरधनी फेला नपारे त्यस्ता घरमा १५ वर्षको हाराहारीमा रहेबसेका व्यक्तिलाई बसोबासको प्रमाणपत्र दिइने योजना अघि सारिएको छ । घरधनी फेला पार्न युएन–हृयाबिटाटको टोलीले नगरपालिका र यसको अभिलेखको जाँच गर्दछ, त्यसपछि छरछिमेकसँग परामर्श गर्दछ ।’ तर कुनै घरधनी नै फेला नपारे स्थानीय मस्जिदलाई पाँच वर्षका लागि प्रमाणपत्र दिइन्छ । उनले भने, ‘पाँच वर्षपछि पनि यदि कसैले दाबी नगरे जोताहा वा घरधनीलाई नै पूर्ण अधिकारसहितको प्रमाणपत्र उपलब्ध गराइन्छ । ‘छरछिमेकीलाई प्रश्न सोधिएपछि कुनै न कुनै व्यक्ति अघि आउँछ, चाहे त्यो व्यक्ति टाढा अमेरिका वा जर्मनीमा नै किन नहोस् । छिमेकीले त्यस्तो व्यक्तिलाई बोलाइहाल्छन् नि ।’ उनले मुस्कुराउँदै भने ।

वहाबको अनुसन्धान टोलीसँगै एएफपीका संवाददाता अर्को घरमा पनि गए । सलिम अहमद गत वर्ष तालिवानको आक्रमणमा मारिएका थिए । त्यही कारण उनका ज्वाइँ घरको बारेमा कुरा गर्न अघि सरेका थिए । तर त्यो घरजग्गा लिएको बारेमा कुनै आधिकारिक दस्तावेज उनीहरूसँग थिएन । घरजग्गाको दर्तासम्बन्धी ल्यामिनेट गरिएको कागजाताको कुनै वैधानिकता थिएन ।

युएन–हृयाबिटाटको टोलीले दस्तावेज, विद्युतको बिल, घरधनीको परिचयपत्रका साथै घरजग्गाको नापनक्साको अभिलेख राख्दछ । यही तथ्यांकलाई दर्ताका लागि प्रयोग गरिन्छ र त्यही आधारमा घरकर तोकिन्छ । 

राष्ट्रपति घानीले काबुलमा एक समारोहबीच पहिलो प्रमाणपत्र वितरण गरिसकेका छन् । उनले हेरात र जलालाबादमा समेत यस्तो प्रमाणपत्र वितरण गरी कार्यक्रमको शुभारम्भ गरेका छन् । अफगानिस्तानको इतिहासमा पहिलोपटक यस्तो प्रमाणपत्र महिला र पुरुष दुवैलाई वितरण गरिरहेका छन् । हाल, राष्ट्रसंघीय कार्यालयका अनुसार घरजग्गाको स्वामित्व प्राप्त गर्ने महिलाको संख्या करिब पाँच प्रतिशत मात्र छ । 

युएन–हृयाबिटाटले यस परियोजनाका लागि १२ सय जनालाई नियुक्त गरेको छ । सन् २०२० सम्मको अवधि रहेको यस परियोजनाको लागत करिब ६ करोड ३० लाख अमेरिकी डलर छ । परियोजनामा युएसएड र युरोपेली युनियनले लगानी गरेका छन् । वर्षौंदेखिको द्वन्द्व र कानुनबिहीनता पश्चात सञ्चालित यो परियोजनामा पनि समस्या छन् । मानिसले घरजग्गाको कर तिर्नुपर्ने भएको छ । स्थानीयले करको रकमको उपयोगिताका बारेमा प्रश्न उठाउने गरेका छन् । तर, स्थानीयवासीलाई राम्रोसँग कुरा बताएका कारण विस्तारै उनीहरू परियोजनाप्रति सकारात्मक हुन थालेका छन् । यही प्रमाणपत्रका आधारमा महिला, बुढाबुढीले मतदान गर्न पाउँछन् । 

वहाबका अनुसार नोभेम्बरसम्ममा १४ लाख अमेरिकी डलर संकलन भइसकेको छ । काबुलको पुरानै घरतर्फ फर्कौं, सदिकको परिवारले ९० वर्षको इतिहासमा पहिलोपटक १२ डलर कर तिरेको छ । उनले भुक्तानी गर्न पाएकामा खुशी व्यक्त गरे । उनले आशा व्यक्त गरे, ‘उनीहरूले हाम्रा सडक सफा गर्दछन्, उनीहरूले फोहोर पानी तह लगाउँछन्, र हामी यहाँ एउटा क्लिनिक पनि खोल्न चाहन्छौं ।’ 


Views: 30