19th October | 2018 | Friday | 5:11:29 AM

बेबारिसे घरमा सिरियाली बालबालिकाको पढाइ

(रासस/एएफपी)   POSTED ON : Wednesday, 26 September, 2018 (2:43:04 PM)

बेबारिसे घरमा सिरियाली बालबालिकाको पढाइ

अलेप्पो । विद्रोहीको कब्जामा रहेको उत्तरी सिरियामा विस्थापित बालबालिका एउटा बेबारिसे घरको भूइँमा बसेर कापीमा केही लेख्दै गरेका भेटिन्छन् । 

द्वन्द्वका कारण स्कुल भत्किएपछि चारजना शिक्षकले एक सयजति बालबालिकालाई यही अस्थायी स्कुलमा पढाउन थालेका हुन् ।स्कुलमा अहिले ६ देखि १२ वर्ष उमेरका बालबालिका अध्ययनरत छन् । उत्तरी अलेप्पो प्रान्तको पश्चिमतर्फको यो सानो स्कुलमा केटाकेटी पढाउने प्रयास जारी छ । 

आधा निर्माण सकिएपछि त्यसै अलपत्र परेको यो घरको भूइँमा केटाकेटी सुकुलमै बस्छन् । उनीहरूले कापी किताब राख्ने स–साना झोला साथमै राखेको देख्न सकिन्छ । के गर्नु, ‘भविष्यका कर्णधार’का रूपमा लिइने साना बालबालिका पढ्ने यो स्कुलमा डेस्क, पुस्तकालय वा शौचालय छैन । त्यहाँ घरको वरिपरिको पर्खालमा लथालिंग झुण्डिएका झ्यालबाट बाहिरको तातो हावा भित्रसम्म पुग्छ । 

चम्किलो नीलो टी–सर्ट र जिन्समा सजिएकी एक बालिकाको कपाल राम्रोसँग बाटिएको छ । उनी किताबमा निमग्न मात्र होइन लेखाइमा पनि उत्तिकै होसियार छिन् । 

११ वर्षीय अली अब्देल जवाद भन्छन्, ‘यो स्कुल होइन । यहाँ कक्षाकोठा छैन, बस्ने सिट छैन, केही पनि छैन । हामी त यहाँ भूइँमा बसेर पढिरहेका छौं ।’ एउटा कक्षाकोठामा घुम्टो ओढेका ससाना बालिका हाँसो गरिरहेका छन् । शिक्षकले भने मुश्किलले व्यवस्था गरिएको बोर्डमा लेखेर पाठ पढाउँदैछन् ।

अर्को कोठामा स्कुलकी एकमात्र शिक्षिका प्लाष्टिक कुर्चीमा बसेकी छन् । उनका वरिपरि भित्तामा अढेस लागेर एक हुल केटाकेटी केही सिक्दैछन् । केही बालबालिका प्लाष्टिकबाट बनाइएको कार्पेटमा घुँडाले टेकेर बसेका छन् । कार्पेटको छेउमा उनीहरूका जुत्ता राम्रोसँग मिलाएर राखिएको छ । बालबालिका र शिक्षक सिरियाकै अर्को ठाउँबाट विस्थापित भएर त्यहाँ आइपुगेको एकजना शिक्षकले बताए । 

केही राजधानी दमास्कसको बाहिरी क्षेत्र पूर्वी घोउटाबाट त्यहाँ आइपुगेका छन् । विगतमा विद्रोहीको कब्जामा रहेको घोउटा गत अप्रिलदेखि सरकारको नियन्त्रणमा छ । अरू हामा वा होम्स प्रान्तबाट आएका छन् । यो घरको बाहिर आँगनमा एउटा फोहरासमेत जडान गरिएको छ, तर यसमा पानी छैन । यो फोहरा केटाकेटीका लागि घुमीघुमी खेल्ने ठाउँ भएको छ । 

विपक्षीको अधिनमा रहेका क्षेत्रमा सञ्चालित स्कुलहरूका लागि सामान्यतया दातृ संस्थाहरूले सहयोग गरिरहेका छन्, तर विगतमा यस्ता धेरै स्कुलमा बमबारी भएका थिए । ‘हामी सधै कहिले, कसले बमबारी गर्ला भनेर त्रसित हुन्थ्यौं,’ मोहम्मद नाम गरेका एकजना शिक्षकले बताए । 

स्कुल चलाइएको भवन विद्रोहीकै कब्जामा रहेको क्षेत्रमा छ । त्यहाँबाट नजिकै पूर्वी अलेप्पो सरकारी सेनाको नियन्त्रण छ । पश्चिमतर्फ इडलिब छ जहाँ विद्रोहीको बलियो पकड छ । इडलिब प्रान्त र त्यससँग जोडिएका अलेप्पो र लटाकिया प्रान्तमा करिब ३० लाख मानिस बसोबास गर्दछन् । सिरियाका अरू भागमा भड्किएको युद्धबाट आधाभन्दा बढी विस्थापित भएका छन् ।

यही महिनाको सुरुमा इडलिबमा सरकारी फौजले आक्रमण गर्ने त्रास बढेको थियो, तर गत साता दमास्कस र यसको सहयोगी मस्को तथा विद्रोहीलाई सघाइरहेको टर्कीबीच फौजी कारबाही तत्काल नगर्ने सम्झौता भएको छ । 


Views: 54